एक आमा रुवाएर हजार आमा हँसाउनु छ !

कविता

एक आमा रुवाएर हजार आमा हँसाउनु छ !

युगको अविराम यात्रासँगै
हरबिहानीको झिसमिसेमा
दुनियाँ ब्युँझाएर
युगीन क्रान्ति झङ्कारसँगै
संसार बदल्ने साहस गर्नु छ
आज एक आमाको अनुहार रुवाएर
भोलि हजार आमाको मुहार हँसाउनु छ ।

इच्छा, आकाङ्क्षा अनि
मनका कैयौँ रहरहरू
एकपछि अर्को लिलाम गर्दै
हरचुनौती र अभावसँगै
जीवन व्यतित अनि यात्रा गर्नु छ ।
एउटा श्रीमतीको मुहार मूर्छित पार्दै
कैयौ ँनारीको मुहार सिँगार्नु छ ।
आज एक आमाको मुहार रुवाएर
भोलि हजार आमाको मुहार हँसाउनु छ ।

बर्सौं भयो घर नगएको पनि
सायद बच्चाले मेरो अनुहार
भुलिसक्यो होला
त्यही टुहुरेपनको एउटा
बच्चालाई साक्षी राखी
कयौँ कलिला नानी–बाबुहरूको
भविष्य निर्माण गर्ने सपनाहरू बोकिरहेछु ।
आज एक आमाको अनुहार रुवाएर ्
भोलि हजार आमाको अनुहार हँसाउनु छ ।

सामन्त, दलाल अनि
भ्रष्टहरूको लूट अन्त्य गर्न
संसदीय व्यवस्था खारेज गर्दै
एकीकृत जनक्रान्तिमार्फत
श्रमिक तथा उत्पीडित जनताको
युगौँयुगदेखि लुटिएको
मुक्ति अनि स्वतन्त्रता खोज्नु छ ।
जिउनका लागि मात्र नभई
जीवन समृद्धिका लागि
वैज्ञानिक समाजवाद ल्याउनु छ
आज एक आमाको अनुहार रुवाएर
भोलि हजार आमाको मुहार हँसाउनु छ ।
मठ, मन्दिर, मस्जिद, चर्च र गुम्बामा आश्रित
चिन्तन बदल्दै
भ्रमको जालोभित्र लपेटिएको
मानव समाजका
सबै जनको वास्तविक
खुसी ल्याउनु छ ।
गाउँ–सहर सबैतिर
क्रान्तिको रातो झन्डा
फरफराउँदै
नयाँ मानव दृष्टिकोण
विस्तार गर्नु छ ।
अजा एक आमाको अनुहार रुवाएर
भोलि हजार आमाको मुहार हँसाउनु छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :