चीनले चुम्यो मङ्गल ग्रहको भूमि

चिनियाँ अन्तरिक्ष रोबोट चु रोङ रोभर ३२ करोड किमि दूरी पार गर्दै मङ्गल ग्रहमा अवतरण

चीनले चुम्यो मङ्गल ग्रहको भूमि

काठमाडौँ : कुनै दिन दुर्लभ र असम्भव ठानिएको मङ्गल ग्रहसम्म पहुँच राख्दै चीनले मङ्गल–भूमि चुमेको छ । चीनको अन्तरिक्ष रोबोट मङ्गल ग्रहमा अवतरण गरेर विज्ञानप्रविधिमा श्रेष्ठता हासिल गरेको हो । मङ्गल ग्रहमा सफलतापूर्वक रोबोट पुर्याउने दोस्रो देश बन्दै चीनले अमेरिकालाई बलियो चुनौती दिएको छ ।

‘चु रोङ रोभर’ नाम दिइएको अन्तरिक्ष रोबोट शनिबार मङ्गल ग्रहमा सफलतापूर्वक अवतरण गरेको चाइना नेसनल एड्मिनिस्ट्रेसनले जनाएको छ । यसलाई चीनको एक ठूलो सफलता मानिएको छ ।

पौराणिक अग्नि र युद्ध देवताको नामबाट रोबोटको नाम ‘चु रोङ रोभर’ राखिएको चीनले जनाएको छ । रोभर एक सानो अन्तरिक्ष रोबोट हो । यसमा पाङ्ग्रा जडान गरिएको हुन्छ । चु रोङमा ६ वटा पाङ्ग्रा जडान गरिएको छ ।

‘चु रोङ रोभर’ मङ्गल ग्रहको उत्तरी गोलार्द्धको युटोपिया प्लेनेसियाको समतल भागमा अवतरण गरेको छ । युटोपियाबाट यस रोभरले मङ्गल ग्रहका तस्बिर पठाउनेछ ।

चीनले यस रोभरमा एक प्रोटेक्टिभ क्याप्सुल, एक प्यारासुट र रकेट प्लेफर्म प्रयोग गरेको छ । चिनियाँ वैज्ञानिक तथा इन्जिनियरहरूले यो मिसनका लागि लामो समयदेखि काम गर्दै आएका थिए ।

पृथ्वीबाट मङ्गल ग्रहसम्मको दूरी ३२ करोड किलोमिटर छ । यस हिसाबले चु रोङ रोभरले मङ्गल ग्रहबाट पृथ्वीसम्म आफ्नो सन्देश पठाउन १८ मिनेट लगाउने बीबीसीले जनाएको छ । बीबीसीले मङ्गल ग्रहमा सफलता हासिल गरेर चीनले अमेरिकालाई चुनौती दिएको पनि जनाएको छ ।

हालै चीनले विश्वको पहिलो क्वान्टम उपग्रहलाई चन्द्रमामा अवतरण गराएको थियो । त्यहाँबाट केही नमुना सङ्कलन गर्न पनि चीन सफल भएको थियो । चीनले आफ्नै अन्तरिक्ष स्टेसनसमेत बनाइरहेको छ ।

चु रोङ अन्तरिक्ष रोबोटले मङ्गल ग्रहबाट सूचना सङ्कलन गरी तस्बिर पठाएपछि यो सफलता हासिल गर्ने चीन अमेरिकापछिकै दोस्रो देश बन्ने छ । रुसले पनि सन् १९७१ मा मङ्गल ग्रहमा अन्तरिक्ष रोबोट पठाएको थियो तर सिग्नल टुटेपछि त्यहाँबाट कुनै पनि सूचना हासिल भएको थिएन ।

मङ्गल ग्रहलाई अप्ठ्यारो र चुनौतीपूर्ण पर्यावरणका लागि पनि चिनिन्छ । त्यहाँ धुलोयुक्त आँधी निकै शक्तिशाली हुन्छ । कुनै पनि अन्तरिक्ष मिसनका लागि यही नै सबैभन्दा ठूलो चुनौती हुने बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :