कोरोनासँग जुध्न स्वयम्सेवक टिम निर्माण गर्ने नेकपा दाङको निर्णय

कोरोनासँग जुध्न स्वयम्सेवक टिम निर्माण गर्ने नेकपा दाङको निर्णय

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङको कार्यालय बैठक कोरोना महामारीसँग जुध्न स्वयम्सेवक टिम निर्माण गर्ने निर्णय गर्दै सकिएको छ । बैठक कोरोना महामारीका बीच जुम अप्लिकेसनमार्फत सम्पन्न भएको समाचारमा जनाइएको छ ।

नेकपा दाङका सेक्रेटरी प्रदीप वलीले बैठकपछि विज्ञप्ति जारी गर्दै दसौँ केन्द्रीय समिति बैठकले गरेका निर्णय, आगामी योजनाबारे केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शीतलले जानकारी गराएको उल्लेख छ ।

विज्ञप्तिमा सोही बैठकमा सहभागी केन्द्रीय सदस्य सविन पोख्रेलले पार्टी योजनाबारे थप स्पष्ट पार्दै कोरोना महामारीमा पार्टी कार्यकर्ताले जनतालाई थप सचेतना दिँदै राज्यलाई बढी जिम्मेवार बनाउने विषयमा जोड दिएको उल्लेख छ ।

यस्तै विज्ञप्तिमा कोरोना महामारी दलाल पुँजीवादी व्यवस्था र राजनीतिक सङ्कटले निम्त्याएको स्वास्थ्य सङ्कट हो भन्ने विषयमा पार्टी स्पष्ट रहेको पनि छ ।

विज्ञप्तिमा कोरोनाका बिरामीको स्वास्थ्य अवस्था, गाम्भीर्यअनुसारको प्राथमिकीकरण गरेर छिटोभन्दा छिटो उपचार गर्नका लागि पार्टी सम्बन्धित निकायलाई गम्भीरतापूर्वक ध्यानाकर्षण गराइएको छ । साथै सबै नागरिकलाई उच्च मनोबलका साथ एकले अर्कोलाई सहयोग, सल्लाह, सुझाब दिँदै र गर्दै स्वास्थ्य मापदण्ड पालना गरी कोरोनाको सामना गर्न अनुरोध गरिएको छ ।

विज्ञप्तिमा सरकारका विभिन्न निकाय, सङ्घसंस्थासँग समन्वय र सहकार्य गरी कोरोनाका बिरामीलाई उपचारमा सहजीकरण गर्न, सचेतना जगाउन, परामर्श गर्ने काममा सहभागी हुने गरी जिल्लामा आवश्यकताका आधारमा तत्काल स्वयम्सेवक टिम निर्माण गरी आवश्यक सहयोग गर्ने विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :