मानवता हराएको देश

कविता

मानवता हराएको देश

बिचरा ! ऊ गरिब रैछ
अक्सिजनको अभावले
ऊ मसानघाट पुगेछ
हुँदैन कोही मालिक बिरामी पर्दा
पल्लाघरे साइलो तड्पिएर मर्दा ।

ए ! हजूर, कसले खोजी गर्ने
कोही रोगसँग अस्पतालको ढोकामा लडिरहेका छन्
कोही भोकसँग झुपडीमा
म एक छिन जिल्ल परेँ
कोरोना–कोरोना जप्दै
हातमा सरकारी छाप छ
उफ् ! काम दलाली गर्छ
बिचरा ! ऊ गरिब रैछ ।

छिमेकी दिदीलाई सुत्केरी व्यथा लागेको छ
सरकारीमा जाऊँ उपचार छैन
निजीमा जाऊँ पैसो छैन
दिदी नेपालकै नागरिक हुन् रे
बिचरा ! पैसाको अभावले अनागरिक बनाइएछ ।

ए हजूर, रोइरहेका छन् ती नाङ्गा र भोकाहरू
पुछ्नै सकिएको छैन आँसुका थोपा
जहाँकहीँ चित्कार सुनिएको छ
म त जिउँदै लास भएको छु
बिचरा, ऊ गरिब रैछ ।

त्यो डाँफे चरी हेर त बनभरि
सिकारीले गरेर मनपरी
कराउँदैछन गुँडका बचेरा
कठै ! बिचरा भन्दिने को छ र !

कोही रोगमा छन्, कोही भोकमा
छैन अक्सिजन, छैन बेड, कहाँ गएर बस्ने ?
धनीलाई मार्दा हत्यारा भन्ने
गरिबलाई मार्न बहादुर बन्ने
ती बूढा बा–आमा
पीडैपीडाले हेर कति रुन्छन्
बिचरा ! ऊ गरिब रैछ ।

कोरोनाको मन्त्र जप्दै
कोही लुट्दैछन, कोही कुट्दैछन्
भोका ती मजदुर बाटोमै मर्दैछन्
मानवता के हो, खोजी गर
अन्धो भई धर्मलाई नसोध
शान्ति देऊ, अब नसताऊ मानव भएर
हे ! मूर्ख हो दुःख नदेऊ दानव भएर ।

पशुभन्दा नराम्रो छ, मानव हुँ भन्छ फगत
सोझामाथि ऊ आफैँले गर्दैछ रजाइँ
बिचरा ! गरिब अक्सिजन, उपचार नपाएर तड्पिएर मर्नुपर्ने
कस्तो खालको हो यो सजायँ
मान्छेले नै मान्छेलाई मारेर
मानव हुँ भन्छ फेरि फगत
कठै ! कस्तो हो यो मानव जगत्

ए, मालिक हो
खुन चुसेर नछोड उसलाई, पीडा हुन्छ
बरु गोली हानी मारेकै ठीक हुन्छ
पैसा, पुँजी सबै बलियाका हातमा
कस्तो अचम्म राक्षस, ईश्वर उनकै साथमा
यो धर्ती सोझाको भन्ने कहाँ हुन्छ
मालिक बनेर काखमा लिए नि
अर्थ हुँदैन आँसु नबगाऊ
एक–अर्कोलाई बुझ, जे सकिन्छ सघाऊ
बिचरा ! ऊ गरिब रैछ ।

हे ,संस्कार नभएका शासकहरू हो
फेरि पनि समाज ढिलोचाँडो फेरबदल होला
खाली हिँड्नुपर्ला भोलि रित्तो झोला बोकी
धेरै भयो अब पुँजीवादी चरित्रलाई फाल्नुपर्छ चाँडै
बनमा जस्तै डढेलो लगाई ।
जागौँ सबै नलडी हुँदैन, अन्तिम लडाइँ छ बाँकी
फाल्नैपर्छ दलाल शासन जरो नै नराखी
अन्यायको विरोधमा कोर्नुपर्छ सलाई
नलडी हुँदैन अन्तिम लडाइँ छ बाँकी ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :