मालेमावादको रक्षा, प्रयोग र विकास

मालेमावादको रक्षा, प्रयोग र विकास

आज कार्ल माक्र्सलाई सम्झने र बुझ्ने भनेको आफ्नो देश र कालको परिस्थितिलाई सही ढङ्गले विश्लेषण गरी कार्यदिशा र कार्यक्रम बनाउनु हो । यो कामको थालनी विप्लव नेतृत्वमा पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीले सुरु गरेको छ । यो जनताको अग्रदस्ताले एकीकृत जनक्रान्तिलाई आफ्नो कार्यदिशा बनाएको छ भने वैज्ञानिक समाजवादलाई आफ्नो कार्यक्रम बनाएको छ ।

दोस्रो कुरा, आज हामीले माक्र्सलाई पढ्नु भनेको माक्र्सवादको मालेमावादमा विकास भएको कुरालाई मालेमावादको रक्षा, प्रयोग र विकास गर्नु हो । तेस्रो कुरा, माक्र्सले साम्यवादलाई आफ्नो जीवनको लक्ष्य बनाउनु मात्र भएन, त्यसप्रति निष्ठावान् भएर पूरै लगनशीलताका साथ जीवनभरि अविचल सङ्घर्षरत रहनुभयो । यसप्रक्रियामा उहाँले साम्यवादसम्म पुग्ने द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन मानिसले मानिसमाथि शोषण गर्ने अतिरिक्त मूल्यको राजनीतिक अर्थशास्त्रका विरुद्ध सामूहिक श्रमद्वारा उत्पादित वस्तु र उत्पादनका साधनको सामूहिक स्वामित्व रहने उत्पादनप्रणाली साम्यवादी दलको नेतृत्व वर्गसङ्घर्ष उच्चतम् बिन्दुमा पुर्याई सर्वहारा अधिनायकत्व भएको व्यवस्थाबाट अन्ततः विश्व–साम्यवादमा पुग्ने सामाजिक व्यवस्थाजस्ता ३ सङ्घटक अङ्गको आविष्कार गर्नुभयो । यी ३ सङ्घटक अङ्गको विकास माक्र्सको कोरा कल्पना मात्र होइन, बरु उहाँको जमानासम्म मानव जातिले आर्जन गरेको जब्बर ज्ञानको जगमा उभिएको छ । त्यसकारण माक्र्सको राजनीतिक अर्थशास्त्रको ज्ञान हाम्रो टेक्ने धर्ती द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद सूक्ष्मदर्शक र हाम्रो दूरदर्शक जोडिएको आँखा र वैज्ञानिक समाजवाद हाम्रो गन्तव्य बन्न गएको छ ।

चौथो, आजको युवा पुस्ताले यो २०४ औँ माक्र्स दिवसका अवसरमा माक्र्सलाई उहाँको अध्ययन र अनुसन्धानमा भएको गहिरो समर्पणका दृष्टिकोणबाट हेर्नुपर्छ । कार्ल माक्र्सले युरोपमा आफ्नो समयका दार्शनिक, अर्थशास्त्री, समाजशास्त्री, वैज्ञानिक सौन्दर्यशास्त्री, राजनीतिक शास्त्री इत्यादि कसैलाई पनि अध्ययन गर्न छोड्नुभएन । त्यसैले एक अमेरिकी साम्यवादी मार्टिन निकोलसले माक्र्सको चरित्रचित्रण गर्दै भनेका छन्, ‘लन्डनस्थित झुपडीभित्र रहेको पारिवारिक पक्षको एउटा मुसेदुलोबाट निस्केर फाटेको लुगा लगाएको एकजना विदेशीले बेलायती सङ्ग्रहालयसम्म आफ्नो बाटो बनाउँछन् । सुदूर न्युयोर्कबाट निस्कने एउटा पत्रिकाका लागि दैनिक आलेखहरू लेख्छन् अरू कसैले नपढेका दुर्बाेध्य निबन्धहरू पढ्छन् । सबैले बेवास्ता गरेका टनका टन सरकारी निला किताबहरूको गम्भीरतापूर्वक अध्ययन गर्दछन् । राती अबेरसम्म काम गर्दछन् । अस्पष्ट अक्षरमा टिप्पणी लेखेर पुस्तिकाहरू भर्दै जान्छन् । हेगेल, एडम स्मिथ, रिकार्डो, प्रुँधोँ कसले यो कुरा जानेको थियो र यता ध्यान दिएको थियो ।’

कार्ल माक्र्सले एकपटक आफ्ना घनिष्ट मित्र एङ्गेल्सलाई पत्र लेख्दै भन्नुभएको थियो– म नै त्यस्तो पैसा नभएको कङ्गाल मानिस हुँ जो पैसाबारे लेख्दैछु ।

माक्र्स नै एउटा दार्शनिक अर्थशास्त्री हुनुहुन्छ जसले घोर गरिबीलाई चिरेर आफ्नो अध्ययनलाई निष्कर्षमा पुर्याउन सफल हुनुभयो । माक्र्सका लागि सामाजिक र प्रकृति विज्ञानका कुनै पनि शाखा बिराना थिएनन् तर उहाँले राजनीतिक अर्थशास्त्र र दर्शनशास्त्रमा आफ्नो दख्खल हासिल गर्नु मात्र भएन बरु नयाँ आविष्कार पनि गर्नुभयो ।

पाँचौँ कुरा, माक्र्सले कुनै असल व्यक्तिको सद्गुणको, गुनगानको कुरा मात्र होइन, बरु असल गुणको अनुकरण गर्न र खराबको त्याग गर्न सिकाउनुभएको छ । त्यसकारण हामीले पनि माक्र्सको गुणगान गर्न होइन, माक्र्सको गुणलाई व्यवहारमा लागू गर्न सक्नुपर्छ ।

छैटौँ कुरा, माक्र्सले के भन्नुभएको छ भने (माक्र्सले हामी बन्दीहरूलाई के भन्नुभएको छ भने) खराब शासकहरू भएको देशमा असल मानिसहरूको बस्ने बासस्थान कारागार बन्न जान्छ । त्यसकारण हामी बन्दीहरूका लागि कारागार एउटा यातनागृह मात्र होइन, बरु तपस्या स्थल पनि हो जहाँबाट पौराणिक ग्रन्थका श्रीकृष्णहरू जन्मन्छन् र अत्याचारी कंसको बध गर्दछन् । जहाँबाट कपटी शकुनी र दुर्योधनका विरुद्ध अर्जुन नै अर्जुन तयार हुन्छन् र शोषक कौरवहरूको राज्यसत्ता अन्त्य गर्दछन् । आधुनिककालमा माक्र्स, एङ्गेल्स र स्टालिन जन्मन्छन् र जारशाहीको अन्त्य गर्दछन् ।

अन्तिम कुरा हामी माक्र्सजस्तै धैर्यवान् र निष्ठावान् हुनुपर्छ न कि पुष्पकमल दाहाल र बाबुराम भट्टराईजस्ता अधैर्य । माक्र्सवादी निष्ठाले हामीलाई ढिलो होइन, चाँडै लक्ष्यमा पुर्याउँछ भने संशोधनवादी अधैर्यले पश्चगमनमा पुर्याउँछ ।

(कार्ल माक्र्सको २०४ औँ जन्मदिवसका अवसरमा नख्खु कारागारमा आयोजित कार्यक्रममा नेकपा सचिवालय सदस्य सुदर्शनले गरेको सम्बोधनको अंश– सम्पादक ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :