सिराहा–सप्तरीका क्रान्तिकारी युवाहरू युवा सङ्गठनमा सङ्गठित

सिराहा–सप्तरीका क्रान्तिकारी युवाहरू युवा सङ्गठनमा सङ्गठित

काठमाडौँ : युवा सङ्गठन नेपाल सिराहा–सप्तरीको प्रथम विस्तारित बैठक शुक्रबार बसेको छ । बैठकले राष्ट्रिय सम्मेलनका लागि वैशाख २० गते भव्य रूपमा जिल्ला सम्मेलन सम्पन्न गर्ने, प्रचारप्रसारका लागि भित्तेलेखन, मधेसी जनतामाथि लादिएका विभिन्न खालका उत्पीडनविरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको छ ।

बैठकमा युवा सङ्गठन नेपाल चौथो राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य दिनेशको प्रमुख अतिथि र जिल्ला इन्चार्ज विशाल, ब्युरो सदस्य मिथिला (रेखा), जिल्ला सचिव गणेश, युवा सङ्गठन नेपाल जनकपुर ब्युरो इन्चार्ज विचारमान थिङ, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य विकास अतिथिका रूपमा उपस्थित थिए ।

बैठकमा प्रमुख अतिथि दिनेशले सङ्कटग्रस्त हुँदै गएको पुँजीवाद र दलाल संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद रहेको र त्यसका लागि नवजवानहरू एकीकृत जनक्रान्तिमा लामबद्ध हुनुपर्ने बताए । उनले भने, ‘मधेसका नाममा संसद्वादी नेताहरूले जनतालाई जहिले पनि धोका दिए । वास्तविक मधेसका उत्पीडित समुदायका पक्षमा काम नगरी हुनेखानेकै पक्षपोषण गरे ।’ परिवर्तनकारी आन्दोलनमा विगतदेखि मधेसको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै उनले एकीकृत जनक्रान्तिमा युवाहरूको महत्वपूर्ण भूमिका रहेको प्रस्ट पारे ।

बैठकमा जिल्ला इन्चार्ज विशालले पनि मन्तव्य राखेका थिए । बैठकको अध्यक्षता तथा सञ्चालन जिल्ला संयोजक कार्तिकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :