युवा सङ्गठन अर्घाखाँचीमा नयाँ नेतृत्व

युवा सङ्गठन अर्घाखाँचीमा नयाँ नेतृत्व

सन्धिखर्क : युवा सङ्गठन नेपाल अर्घाखाँचीको चौथो भेला सन्धिखर्कमा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न भेलाले पोषबहादुर रास्कोटीको संयोजकत्वमा १५ सदस्यीय जिल्ला कार्यसमिति निर्माण गरेको छ ।

कार्यक्रममा युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणले संसदीय व्यवस्थाले देशलाई निकास दिन नसक्ने बताए । उनले युवाहरूले अब देश निर्माण र समाज परिवर्तनका बारेमा सोच्नुपर्ने धारणा पनि राखे । क्रान्तिकारी विचार भएमा परिवर्तन सम्भव भएकाले सम्पूर्ण देशभक्त, प्रगतिशील युवाहरू एकजुट भएर दलालहरूका विरुद्ध सङ्घर्ष गर्नुपर्ने उनको भनाइ थियो ।

उनले वर्गविभाजन अन्त्य गरी समानतामूलक समाज निर्माणका लागि वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्नेमा जोड दिए । उनले आफूहरूले प्रचण्ड–बाबुरामले फोहोरमा फालेको झन्डा उठाएर नयाँ क्रान्तिको सुरुआत गरेकाले सम्पूर्ण युवाहरू एक भएर सहिदका सुन्दर सपनाहरू पूरा गर्न एकीकृत जनक्रान्ति सम्पन्न गर्नुपर्ने बताए ।

नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी माहुरीले परिवर्तनका एजेन्डा बोक्दा आफूहरूमाथि राज्यले प्रतिबन्ध लगाएको र आफूहरूको निरन्तर सङ्घर्षका कारण सरकारको दमनको सपना धरापमा परेको बताए । उनले अब युवाहरू वैज्ञानिक समाजवादी सत्ताका लागि सङ्घर्ष गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) का पूर्वअध्यक्ष नवीन खड्का, अध्यक्ष बाबुराम नेपालीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम पोषबहादुर रास्कोटीको अध्यक्षता, गिरिजा खड्काको सञ्चालन र पदम नेपालीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :