अखिल (क्रान्तिकारी), पाल्पाको १८ औँ जिल्ला सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी), पाल्पाको १८ औँ जिल्ला सम्मेलन सम्पन्न

पाल्पा : नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), पाल्पाको १८ औँ जिल्ला सम्मेलन भएको छ । पाल्पा सदरमुकाम तानसेनस्थित त्रिभुवन बहुमुखी क्याम्पसको महाकवि देवकोटा हलमा तानसेनमा उद्घाटन समारोहका बिच सम्पन्न भएको थियो । उक्त उद्घाटन समारोहलाई सम्बोधन गर्दै संगठनका पूर्व केन्द्रीय अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टीका पाल्पा जिल्ला इन्चार्ज प्रवीणले वर्तमान शिक्षा प्रणाली उत्पादनमुखी नभएकोले यस शिक्षाले अव्यवहारिकता पैदा गरेको छ, यसले बेरोजगारी मात्रै दिएको छ । तसर्थ, सम्पूर्ण युवा विद्यार्थीहरू एकीकृत जनक्रान्तिले ठोस गरेको वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लाग्नुपर्ने बताउनुभयो । साथै, अहिले हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीले शिक्षालाई व्यावहारिक बनाउँदै प्रत्यक्ष उत्पादन प्रणालीसँग जोडेर आत्मनिर्भर बनाउन पार्टीले पहल गरेको बताउनुभयो । उहाँले युवा विद्यार्थीहरू एकीकृत जनक्रान्तिमा समाहित हुने सबैलाई पार्टीले जिम्मा लिएर उत्पादन पकेट क्षेत्रमा परिचालन गर्दै व्यक्ति, समाज र देशलाई स्वाधीन र आत्मनिर्भर बनाउनेतर्फ आफूहरू लागेको बताउनुभयो ।

यस्तै, अतिथि नेपाल कम्युनिस्ट पार्टी पाल्पाका जिल्ला सचिव प्रभातले शुभकामना मन्तव्य दिँदै हामीले हतियार नउठाएको, आफूहरूसित हातहतियार नभएको बताउनुभयो । विगतमा जे भए त्यो जनतामाथि अन्याय र दमन गरिएको कारणले जनताले प्रतिरोध गरेको बताउनुभयो । उहाँले दमन, विभेद, अन्याय, अत्याचारले सीमा नाघेपछि जनताले जहिले पनि प्रतिरोध गरेको इतिहास नभुल्न आग्रह गर्नुभयो । हाम्रो पार्टीका नेता कार्यकर्ताहरूलाई अनावश्यक दुःख दिने, निगरानी गर्ने, धरपकड गर्ने, जेलनेल, हिरासत थोपेर समस्या समाधान नहुने बरु यसले झन् गहिरो खाडल र प्रतिशोध उत्पन्न गर्नेछ । त्यसैले राज्यका प्रतिनिधिहरूलाई त्यसो नगर्न आग्रह गर्नुभयो । पार्टी संसदीय व्यवस्थाको असफलता र यसको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्थाका पक्षमा राजनीतिक एवम् वैचारिक अभियान चलाइरहेको छ । यो अभियान नेपाली जनता र देशको पक्षमा हो, विचार एवम् चेतनाको अभियान हो, यो अभियानले हातहतियार र युद्ध सामग्री जम्मा नगरेको बताउनुभयो । बरु चेतनाको दियोबाट अत्तालिनेहरूले अफवाह फैलाएको बताउनुभयो । हामी सुन्दै छम्, पढ्दै छम्, झुट्टा मुद्दा लगाएर दशौँ ठाउँमा पु¥याएर पुर्पक्ष कारागार चलानमा रहनुभएका बिरामी अशक्त हाम्रो पार्टीका नेता चन्द्रबहादुर चन्द ‘वीरजंग’ लाई पुनः रूपन्देही जिल्ला अदालतले कहीँ नभेटिएको र उक्त वतनका व्यक्ति २१ दिनभित्र हाजिर हुन जारी गरिएको राष्ट्रिय पत्रिकामा प्रकाशित सूचना हास्यास्पदसहित घोर अन्याय भएको बताउनुभयो । आफ्नै राज्यले छोपेर झुट्टा मुद्दामा कारागार चलान गर्ने, फेरि आफ्नै राज्यको अर्को निकायले नभेटिएको भन्दै फरार अभियुक्त कहीँ नभेटिएको भनेर सूचना जारी गर्ने, यो कस्तो प्रक्रिया हो ? के हामीले गरेको सहमति पालना राज्यले नै तोड्न चाहेको हो त ? राज्य पनि जिम्मेवार बन्नुपर्दैन ? कम्तीमा कानुनभन्दा माथि उठेर यस निकायमा कार्यरत सबैले स्वविवेक प्रयोग गरेर न्याय दिन मिल्दैन् ? यसो गर्दै अगाडि बढे आखिर युद्ध र अशान्ति कसले चाहेको रहेछ, प्रष्ट हुन्न र ? त्यसैले युद्ध घोषणा सरकारलाई नगर्न आग्रह गर्नुभयो । यसो भएमा जनताको शक्तिशाली एकताबाट त्यस्ता युद्धलाई परास्त पारेर शान्ति ल्याएको इतिहास पनि नभुल्न आग्रह गर्नुभयो ।

अर्का अतिथि सोही संगठनका लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक वीरेन्द्र विकले शुभकामना मन्तव्य दिँदै वैज्ञानिक समाजवादी शिक्षाले मात्रै आम विद्यार्थीहरूको समस्या समाधान गर्ने बताउनुभयो । साथै, अहिलेको शिक्षा दलाल पुँजीवादी शिक्षा भएकोले शिक्षालाई व्यावहारिक बनाउन नसकेर बेरोजगारी बनाएको बताउनुभयो । त्यसैले नेपाल कम्युनिस्ट पार्टीले संचालन गरेको एकीकृत जनक्रान्तिमा सामेल भएर समग्र समस्यालाई हल गर्न जोड दिनुपर्ने बताउनुभयो । त्रिभुवन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टंकप्रसाद भट्टराई, क्याम्पसका स्ववियु सभापति हरिबोल भट्टराईले मन्तव्य राख्दै सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

सम्मेलनको पूर्वसन्ध्यामा तानसेन नगर समिति र रामपुर नगर समितिलगायत जिल्लाभरिबाट पुराना र नयाँ समितिबाट प्रतिनिधि, पर्यवेक्षकहरूको उपस्थिति रहेको जानकारी प्राप्त भएको छ । “सम्मेलनको दौरानमा हामीलाई छोटो समयका बाबजुद पनि हामीले २०७७ चैत २२ गतेदेखि २९ गते जिल्लामा रहेका प्रमुख क्याम्पस संगठन सुदृढ तथा विस्तार एवम् एकाइ भेलाहरू सम्पन्न ग¥यौँ, जसअन्तर्गत ८ दिनको समयमा हामीले १२ वटा क्याम्पसमा २८४ जना संगठित गर्न सफल रह्यौँ, जसअन्तर्गत रामपुर नगरपालिका, निस्दि गाउँपालिका, माथागढी गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, तिनाउ गाउँपालिका, पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका, पूर्वखोला गाउँपालिका प्रतिनिधि र पर्यवेक्षकहरू मात्रै उपस्थिति थिऐ भने तानसेन नगरपालिकाका समितिअन्तर्गत रहेका क्याम्पस, स्कुलहरूका रहेका सम्पूर्ण एकाइ समितिमा आबद्ध सबैको उपस्थिति रहेको” नवनिर्वाचित अध्यक्ष लंकबहादुर रानाले बताउनुभयो ।

साथै, सम्मेलनको बन्दसत्रमा राजनीतिक एवम् वैचारिक प्रतिवेदन तथा संगठनात्मक कार्यक्रम प्रस्तुत गर्दै प्रतिनिधि र पर्यवेक्षकको बिचबाट व्यापक छलफल गरी नयाँ जिल्ला कार्यसमिति निर्माण गरेको छ । कार्यसमितिको अध्यक्षमा लंकबहादुर रानासहित १५ सदस्यीय समिति एकमतले पारित गरी निर्वाचित गरेको छ । कार्यक्रमको संचालन विद्या विश्वकर्माले गर्नुभएको थियो भने स्वागत मन्तव्य मनिषा बमरेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :