युवा संगठन नेपाल प्युठानको दोस्रो जिल्ला सम्मेलन सम्पन्न

विभिन्न पार्टी परित्याग गरि ३ दर्जन बढी युवाहरू संगठनमा प्रवेश

युवा संगठन नेपाल प्युठानको दोस्रो जिल्ला सम्मेलन सम्पन्न

प्युठान : नेपाल कम्युनिस्ट पार्टी युवा संगठन नेपाल प्युठानको दोस्रो जिल्ला सम्मेलन र्याली र मार्चपास सहित हालै सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल प्युठानको ऐतिहासिक दोस्रो जिल्ला सम्मेलनले वसन्त नेपालीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति निर्माण गर्दै सम्पन्न भएको हो ।

राष्ट्रियता, सार्वभौमसत्ता र स्वतन्त्रताको पक्षमा संघर्ष गरौँ ! भ्रष्टाचार निर्मुल समाजको लागि दोस्रो जिल्ला सम्मेलन भव्य रुपमा सफल पारौँ !! भन्ने मुल नारा साथ सयौँ युवाहरूद्वारा र्याली र मार्चपासमा बजार परिक्रमा सहित सम्पन्न कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ३ दर्जन बढी युवाहरू नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

प्रवेश गर्नेहरूमा ने क पा (माओवादी केन्द्र) मल्लारानी गाउँपालिका पार्टी सचिव तथा दलित मुक्तिमोर्चा नेपाल जिल्ला अध्यक्ष, पुर्व जनमुक्ति सेना नेपालका प्लाटुन कमान्डर गोपीलाल सुनार ‘परिवर्तन’, पुर्व जनमुक्ति सेना नेपाल प्लाटुन कमान्डर पदम महरा, नेकपा एमाले निकट युवा संघका जिल्ला नेता विरवल केसी, पुर्व जनमुक्ति सेना नेपाल प्लाटुन सह–कमान्डर दानप्रसाद सुवेदी, राजकुमार नेपाली, महेश केसी लगायत रहेका छन् ।

नव प्रवेशी युवा नेता तथा कार्यकर्ताहरूलाई अविर मार्याल्पान तथा स्वागत गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटनले जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी र पार्टीको सहायक संगठन युवा संगठनमा उहाँहरूको न्यायपूर्ण र उचित मुल्याङ्कनसहित व्यवस्थापन गर्ने बताए । उनले नेपालमा संसदीय व्यवस्था असफल भैसकेकोले अबको एकमात्र विकल्प भनेको वैज्ञानिक समाजवादी व्यवस्था नै भएकोले व्यवस्था स्थापनाको लागि व्यापक कम्युनिस्ट ध्रुवीकरणको अपरिहार्य आवश्यकता रहेको समेत बताए ।

त्यसैगरी नेकपा राप्ती व्युरो सदस्य तथा प्युठान जिल्ला इन्चार्ज विक्रमले सरकार तीन बुँदे सहमति कार्यान्वयनमा उदासिन देखिएको आरोप लगाउँदै भने, “हाम्रो पार्टी शान्तिपूर्ण राजनीतिक गतिविधिहरु सञ्चालन गर्न सहमत भैसकेर तीन बुँदामा हस्ताक्षर गरेको महिना दिन पुगिसक्दा पनि गिरफ्तार पार्टीका नेता, कार्यकर्ता रिहाई नगरिनु, नेता कार्यकर्तामाथि लगाइएको झुट्टा मुद्दा खारेज नगरिनुले सरकार गम्भीर षड्यन्त्र र विभिन्न तानावाना बुन्नमा व्यस्त रहेको भनी शंका गर्न कुनै गाह्रो हुँदैन ।” त्यस्तै कार्यक्रममा नेकपाका व्युरो सदस्य बुलेट कार्की, युवा संगठनका राप्ती ब्युरो इन्चार्ज तिलक योगी, नेकपा प्युठानका सेक्रेटेरी अजय घर्ती, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य याङ्क पुन, जनपत्रकार संगठनका जिल्ला संयोजक राजेन्द्र रावत क्षेत्री, राष्ट्रिय जनमोर्चा निकट युवा संघ प्युठान कार्यवाहक अध्यक्ष कमल पौडेल लगायतले सम्मेलन सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सम्मेलनले वसन्त नेपाली अध्यक्ष रहेको १७ सदस्यीय जिल्ला समिति निर्माण गरेको छ । जसको उपाध्यक्ष हरि बस्नेत, सचिव विरवल केसी र कोषाध्यक्ष शिव थापा लगायत रहेका छन् । वसन्त नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन हरि बस्नेतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :