अखिल (क्रान्तिकारी) कपिलवस्तुको अध्यक्षमा राउत

अखिल (क्रान्तिकारी) कपिलवस्तुको अध्यक्षमा राउत

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कपिलवस्तुले ‘वैज्ञानिक समाजवादी शिक्षा र सुदृढ संगठनका लागि २१ औँ जिल्ला सम्मेलन !’ भन्ने नारासहित २१ औँ जिल्ला सम्मेलन सम्पन्न गरेको छ । आइतबार कपिलवस्तुको चार नम्बरमा भएको सम्मेलनले विष्णु राउतको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । जिल्ला उपाध्यक्षमा संगीता विक, सचिवमा विनोद गिरी, सह–सचिवमा करिश्मा भट्टराई र कोषाध्यक्षमा सुशील रोका निर्वाचित भएका छन् ।

सम्मेलनमा प्रमुख अतिथि संगठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले देशमा निजी शिक्षाको अन्त्य गरि वैज्ञानिक समाजवादी शिक्षाको स्थापना गनुपर्ने बताए । उनले शिक्षामा देखिएका तमाम समस्याहरूको एकमात्र विकल्प वैज्ञानिक समाजवादी व्यवस्था रहेको भन्दै सम्पूर्ण विद्यार्थीहरूलाई संगठनमा संगठित भई कडा संघर्ष गर्न अपिल समेत गरेका थिए ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टीका लुम्बिनी ब्युरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह ‘प्रविण’ ले वर्तमान संसदीय व्यवस्थाले देशमा कुनै पनि निकास दिन नसक्ने बताए । उनले पछिल्लो समय देशमा देखिएको सम्पूर्ण राजनीतिक अस्थिरताको मूलजरो संसदीय व्यवस्था नै रहेको बताए । ‘प्रविण’ ले नेकपाले वैज्ञानिक समाजवादको एजेन्डालाई निष्कर्षमा पुर्याउने प्रतिबद्धतासहित सम्पूर्ण जनसमुदायलाई एकीकृत जनक्रान्तिको कार्यदिशामा लामबद्ध हुन आह्वान समेत गरे । त्यस्तै अखिल (क्रान्तिकारी) लुम्बिनी व्युरो संयोजक विरेन्द्र विकले शैक्षिक क्षेत्रमा देखिएको निजीकरण, दलालीकरण, माफियाकरणको अन्त्यको निमित्त संघर्ष गर्न र संगठन विस्तारलाई निरन्तरता दिन समेत निर्देशन गरे । सम्मेलनबाट पुर्ननिर्वाचित अध्यक्ष राउतले संगठनलाई नयाँ कार्ययोजनाका साथ अघि बढाउने प्रतिबद्धता गरेका थिए ।

सम्मेलनमा युवा संगठन नेपाल कपिलवस्तुका अध्यक्ष ‘बादल’, अखिल (क्रान्तिकारी) रूपन्देही जिल्ला इन्चार्ज रूपा बुढामगर लगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । विनोद गिरीको सञ्चालनमा रहेको कार्यक्रमको अध्यक्षता विष्णु राउत, स्वागत मन्तव्य संगिता विक र शुभकामना तथा बधाई मन्तव्य बादलले राखेका थिए । कार्यक्रममा उत्साहजनक हजारौँको सङ्ख्यामा विद्यार्थीहरूको सहभागिता रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :