अखिल (क्रान्तिकारी) द्वारा कम्युनिस्ट विद्यार्थी अभियान आरम्भ

जनयुद्धका सहिद योद्धा शेखर सापकोटाको स्मृति सभा

अखिल (क्रान्तिकारी) द्वारा कम्युनिस्ट विद्यार्थी अभियान आरम्भ

काठमाडौँ : सम्पूर्ण बामपन्थी, प्रगतिशील, देशभक्त, जनतान्त्रिक विद्यार्थीहरु एक हौँ ! भन्ने मुल नारासहित अखिल (क्रान्तिकारी) जिल्ला समिति कास्कीले एक कार्यक्रम गर्दै आफ्नो कम्युनिस्ट विद्यार्थी अभियान आरम्भ गरेको छ ।

पोखराको जनप्रिय क्याम्पसमा एक कार्यक्रम आयोजनाका बीच अभियान आरम्भ गरेको हो । अखिल क्रान्तिकारीले आफ्नो अभियान कार्यक्रमसँगै जनयुद्धका सहिद योद्धा शेखर सापकोटाको स्मृति सभा समेत गरेको थियो ।

यस्तै कार्यक्रममा स्वागत मन्तब्य राख्दै अखिल क्रान्तिकारी कास्की जिल्ला सचिव युवराज थापाले विद्यार्थीहरुले राजनीतिलाई बुझ्न जरुरी रहेको बताए । उनले यहाँभित्रको व्यवस्थालाई बुझ्न जरुरी रहेको र भोलि देश बनाउने जिम्मा आजका हरेक विद्यार्थीको काँधमा आएको बताउँदै अभियान तिब्रताका साथ अघि बढ्ने र लक्ष्यमा पुग्ने दिशामा रहेको बताए ।

कार्यक्रममा मन्तब्य राख्ने क्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवम् गण्डक ब्युरो संयोजक अटलले अभियानको सार बिषय परिवर्तन रहेको बताए । उनले मन्तव्यकै क्रममा अहिले हुँदै आएको व्यवस्थाको कारण विद्यार्थीमा आएको गम्भीर समस्या साथै शिक्षा प्रणालीका कारण आजका विद्यार्थी भोली गएर गुलामी बन्नुपर्ने, दासी बन्नुपर्ने भएको र हामीले यसको परिवर्तन साथै वैज्ञानिक समाजवादी व्यवस्था र वैज्ञानिक, व्यवहारिक शिक्षा ल्याउने कदम पनि रहेको प्रष्ट्याए । उनले थप्दै आजको शिक्षा नीतिले विद्यार्थीहरुको भविष्य नै अन्योल रहेको हुँदा राज्यले विद्यार्थीको हक र उचित शिक्षा दिन सकेन भने यसका बिरुद्ध सम्पूर्ण विद्यार्थी एक भएर लड्नुपर्ने बताए । अबका विद्यार्थीहरु अन्यायका बिरुद्ध आवाज उठाउनुपर्ने साथै शिक्षामा भएको दलालिकरणको बिरुद्ध एक ढिक्का भएर आवाज उठाउन जोड दिए ।

कार्यक्रममा प्रमुख अतिथि तथा जिल्ला सेक्रेटरी विश्वासले सहिद सापकोटाको जुन त्याग छ त्यो हामीले मनन् गर्दै, उहाँको सपना पूरा गर्न अर्को सहिद बन्न तयार रहेको बताए ।

संविधानमा कोरिएको जस्तै विद्यार्थीले निशुल्क पढ्न पाउने अधिकार दिए पनि त्यो लागु नभएको, रोजगार, स्वास्थ्य लगायतबाट बन्चित हुनुपरेको र झन एकमाथि एक गर्दै समस्याहरु बढ्दै गइरहेकोमा दुःख व्यक्त गर्दै उनले यसका बिरुद्ध आज संघर्ष गर्नुपर्नेमा जोड दिँदै यसका लागि संगठित हुनुपर्ने बताए । साथै निशुल्क शिक्षा, व्यवहारिक शिक्षा वैज्ञानिक शिक्षा आजको शिक्षा नीति हुनुपर्नेमा जोड दिनुपर्ने उल्लेख गरे ।

मन्तव्यकै क्रममा थप्दै उनले भने, ‘आफ्नै देशमा बस्दा पनि रैति जसरी बस्नुपर्ने अवस्था देशको राज्य प्रणाली छ । यहाँ धेरै विद्यार्थीहरु देशको राष्ट्र राष्ट्रियताका लागि लड्दै गर्दा विद्यार्थीलाई जेल हाल्छ ।’ यस्तो प्रवृत्ति राज्यको रहेको हुँदा राज्यले विद्यार्थीको आवाजलाई स्यालको हुईया नसम्झन चुनौति समेत दिए । यस्तै पढ्न विदेश जाने बेरोजगार शक्ति उत्पादन गर्ने शिक्षा आजको शिक्षा रहेको हुँदा देश विकास हुने, आफ्नो परिवारको गुरजा चल्ने शिक्षा नभएको हुँदा यो खाले शिक्षा नीतिको अन्त्य हुनुपर्नेमा जोड दिए । अहिलेको राज्यव्यवस्थाबाट नेपालका हरेक नागरिकले, विद्यार्थीहरुको भविष्य उज्ज्वल नहुने भन्दै यो व्यवस्थाको अन्त्य गर्दै वैज्ञानिक समाजवादी व्यवस्थाको कल्पना गर्नुपर्ने बताए ।

कार्यक्रम अखिल (क्रान्तिकारी) कास्की जिल्ला अध्यक्ष पवन पुनको अध्यक्षतामा प्रमुख अतिथिमा कास्की जिल्ला सेक्रेटरी विश्वास रहेका थिए भने अखिल (क्रान्तिकारी) कास्की जिल्ला उपाध्यक्ष कमलाले सञ्चालन गरेका थिए । कार्यक्रममा अखिल क्रान्तिकारी केन्द्रीय सदस्य एवम् सहिद पुत्र प्रकाश बास्तोला, गण्डक ब्युरो संयोजक अटल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :