वैज्ञानिक समाजवाद अब कार्यान्वयनको विषय

वैज्ञानिक समाजवाद अब कार्यान्वयनको विषय

काठमाडौँ : हालै नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच ३ बुँदे सहमति भएपछि राजनीतिक वृत्तमा विभिन्न किसिमका चर्चापरिचर्चा सुरु भएका छन् । कतिपय शक्ति नेपाल कम्युनिस्ट पार्टी पुरानै संसदीय व्यवस्थामा फर्किएको भ्रम फिँजाउन व्यस्त छन् भने कतिपय शक्ति सरकारले सेना र हतियारको व्यवस्थापन नगरीकनै वार्ता गरेको भनेर देशमा अशान्ति मच्चाउने र अस्थिरता पैदा गर्नेतिर उद्यत छन् । यसै विषयमा टिप्पणी गर्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले २ पक्षबीच अनावश्यक टिप्पणी गर्नु आवश्यक नभएको बताएका छन् । तर सरकार र नेकपा दुवै पक्षले इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्ने कुरा महत्वपूर्ण हुन्छ ।

नेपाल कम्युनिस्ट पार्टी भने आफ्ना सबैखाले राजनीतिक गतिविधि शान्तिपूर्ण ढङ्गबाट गर्ने बताउँदै सङ्गठन विस्तार र गठन/पुनर्गठन गर्नतिर लागेको छ । २ वर्ष लामो प्रतिबन्ध सामना गरेपछि खुला रूपले जनताका बीचमा पुगेका नेकपाका महासचिव विप्लवलगायत नेता–कार्यकर्ता राजनीतिक–वैचारिक अभियानमा लागेका छन् ।

यतिबेला नेकपाका नेता–कार्य जनताका अधिकारहरूको रक्षा गर्ने र देशलाई स्वाधीन बनाउने एक मात्र व्यवस्था वैज्ञानिक समाजवाद नै रहेको भन्दै यसलाई बहसको विषय बनाएर जनतामा लैजाने धारणा अघि सारिरहेका छन् ।

यसै विषयमा बहस गर्दै नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले अहिलेको समस्या र यसको निकासका निम्ति आफ्नो पार्टीले भनेको वैज्ञानिक समाजवादद्वारा हल गर्ने कि संसद्वादी दलहरूले चलाएको संसदीय व्यवस्थाले हल गर्छ भन्ने कुरा जनतालाई रोज्न दिनुपर्ने र जनताले जे फैसला गर्छ, त्यो हामी पनि मान्न तयार हुने बताएका छन् । सञ्चार माध्यमसँग कुरा गर्दै वार्ता टोलीको नेतृत्व गरेका उनले देशका समस्यालाई वार्ता, संवाद, जनतासँगको सहकार्यद्वारा हल गर्ने भन्ने अहिलेको सहमतिको मर्म भएको पनि बताए ।

उक्त कुरालाई थप जोड दिँदै नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा देशलाई नयाँ गति दिन वैज्ञानिक समाजवाद नै आवश्यक रहेको बताए । उनले सरकार मात्र नभई पूरै प्रणाली नै बदल्न आवश्यक भएको कुरामा जोड दिए । संसदीय व्यवस्थामा जुन व्यक्ति र पार्टीले सरकार चलाए पनि दीर्घकालीन रूपले जनताका समस्या समाधान नहुने भन्दै व्यवस्थाका विषयमा सबै पक्षले खुला रूपले छलफल गर्नुपर्ने धारणा राखे ।

यसै विषयमा जोड दिँदै नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले आफ्नो पार्टीले अघि सारेको एकीकृत जनक्रान्तिले क्रान्तिको आधारका रूपमा शिक्षा, स्वास्थ्य, सञ्चार, रोजगार सबैलाई जोडेको बताए । उनले यसले नै नेपाली समाजलाई छिटोभन्दा छिटो वैज्ञानिक समाजवादमा पु¥याउने बताएका छन् । यस्तै सुदर्शनले दलाल पुँजीवादीहरूले सत्ताको उपरि संरचना मात्र बदलेर समाजवाद आउँछ भनेर समाजलाई दिग्भ्रमित पारिरहेको तर यसको आधार संरचना नै नबदलीकन वैज्ञानिक समाजवाद नआउने धारणा राखे । उनले यसका लागि दार्शनिक, सामाजिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत माक्र्सवादका आधारभूूत सङ्घटक तत्वहरूमा नै परिवर्तन हुनुपर्ने कुरामा जोड दिएका छन् । वैज्ञानिक समाजवादलाई अब रहस्यको विषय बनाउनु नहुनेमा जोड दिँलै नेता सुदर्शनले अब यो कार्यान्वयनको चरणमा रहेको पनि बताए । माक्र्स–एङ्गेल्सले जुन परिस्थिति र जुन आधारहरूमाथि समाजवादको प्रस्तावना प्रस्तुत गर्नुभयो, नेपाली वस्तुस्थितिमा एकीकृत जनक्रान्तिले थप आधारहरू तय गरेपछि नै वैज्ञानिक समाजवाद छलफल र बहसको विषय नभएर कार्यान्वयनको चरणमा जानसक्ने नेता सुदर्शनको भनाइ थियो ।

वर्तमान संसदीय व्यवस्थामा आएको दार्शनिक, वैचारिक र राजनीतिक सङ्कट, सामाजिक जीवनका सबै पक्षमा आएको अस्थिरताका कारण व्यवस्थाको विकल्पमा गरिएको बहसले आकार ग्रहण गर्दै गएको बेला नेपाल कम्युनिस्ट पार्टीले वैज्ञानिक समाजवादको विषय अब बहसको विषय मात्र नभएर कार्यान्वयनको विषय बनेको बताएको हो । संसदीय व्यवस्थाभित्रै विकल्प खोज्ने भ्रम नपालेर यसलाई राष्ट्रिय छलफल र जनमत सङ्ग्रहको माध्यमबाट निष्कर्षमा पुग्ने तर्क अघि सारेको छ । यो तर्कले नेपाली समाजलाई पनि वैज्ञानिक समाजवादतर्फ अग्रसर गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :