देशमा कस्तो सत्ता र व्यवस्था हुने भन्ने कुरा जनतालाई फैसला गर्न दिऊँ – प्रकाण्ड

देशमा कस्तो सत्ता र व्यवस्था हुने भन्ने कुरा जनतालाई फैसला गर्न दिऊँ – प्रकाण्ड

प्रवक्ता कमरेड, भर्खरै नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी बीचकोे बार्ता सहमतिमा सम्पन्न भएकोछ । वार्ता अघिका समस्याका पृष्ठभुमी के हो र यो सहमतिको मुख्य विषयवस्तु के के हुन् ?

आजको सहमतिको मुल विषय भनेको राजनीतिक विषय हो । देशमा अहिले जुन किसिमको संकट पैदा भएका छ, त्यो राष्ट्रिय संकट विगतको भन्दा हजारौ गुणा खतरामा रहेको र विगतमा नेपाली जनताले गरेका विभिन्न संघर्षहरूबाट उपलब्ध राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक सबै खालका अधिकारहरू खोसिँदै गएको, नेपाली समाज जर्जर हुँदै गएको एवम् यसको योगमा चरम राष्ट्रिय संकट पैदा भएको छ ।

यसको कारक तत्व ०६२/०६३ मा क्रान्तिका विरुद्ध भएको प्रतिक्रान्ति हो । अहिले नेपालमा नेपाली जनताले यो देशको मुक्ति र स्वाधिनता चाहेका थिए । त्यसको खिलाफमा प्रतिक्रान्ति भयो । यहाँ आउने बेलामा उत्पीडित वर्ग, समुदाय, लिङ्ग, क्षेत्रलगायत समग्र नेपाली जनताले आफ्नो राज्य सत्ता चाहेका थिए । शासन व्यवस्था र पार्टी चाहेका थिए । तर त्यसका विरुद्ध देशमा दलाल पूजीँवादी व्यवस्था आयो । जनता र श्रमजीविवर्ग सडकमा आयो । त्यसको शासन व्यवस्था बलात स्थापित गरियो । त्यो देशका प्रतिक्रियावादी दललाहरूलाई विदेशी शक्तिहरूको षड्यन्त्रमा थुपारियो । त्यसको परिणाम अहिलेको राष्ट्रिय संकट हो । यो संकट दलाल संसदीय व्यवस्थाले निम्त्यायो । यसको समाधान भनेको यो सबैको अन्त्य हो । राजनीतिक रुपमा हामी यसको लागि तयार छौँ । के सरकार तयार छ ? हामी सबै समस्याको समाधान दिन्छौँ । हामीसँग प्रतिस्पर्धा गर्न जुन राजनीतिक पार्टी आउँछ हामी त्यसमा तयार छौँ । त्यहाँ जनताले फैसला गर्ने विधि र नीति सुनिश्चित गरिनुपर्छ । यसमा सरकार सकरात्मक भयो । शान्तिपूर्ण ढंगले आफ्ना विचार, नीति, कार्यक्रमलाई अगाडि लिने सन्दर्भमा ठीक छ भन्ने ठाउँमा सरकार आएपछि अहिले समस्याको अग्रगामी निकास, क्रान्तिकारी निकास, अहिलेको व्यवस्था सत्ता र अहिलेको संविधान र अहिलेका शासन परिवर्तन गरेर जनताको वैकल्पिक र अग्रगामी निकाश दिनको निम्ति तयार भएपछि समाधान निस्केको हो । त्यससँगै वैदेशिक कर्पोेट पुँजीले राष्ट्रिय पूजीँलाई कमजोर पार्ने परिस्थितिको अन्त्य गर्नुपर्छ । राष्ट्रिय अर्थतन्त्रको जग बसाल्ने, उद्योग धन्दालाई संगठित गर्ने र अगाडि बढाउने त्यो जनताको श्रम शक्तिद्वारा निर्मीत हुने अर्थव्यवस्था चाहियो । यो देशमा त्यो जरुरी छ । हामीले यो कुरा भनेपछि सरकार पनि यसमा तयार भयो । मुख्य छलफल त्यहाँ भएको छ, समझदारी पनि त्यही हो । हामीले त्यसलाई शान्तिपूर्ण ढंगले अगाडि बढाउँछौ भनेका छौँ । बाँकी विषयमा भोलि सरकार र अन्य राजनीतिक दलहरूसँग कुरा होला । यो वातावारण बनाउने कुरा हो । राजनीतिक मुद्दामा छलफलमा शान्तिपूर्ण ढंगले अघि बढ्ने सहमति भएको छ ।

वार्ता र संवादबारे यस अघि पनि विभिन्न ढंगले चर्चा परिचर्चा हुदै आएको थियो ? अहिले वार्ताको र सहमतिका लागि सचेत पहल र वस्तुगत आधारहरु के रहे ?

सरकार र हामीबीच विगत दुई वर्षदेखि टसल पर्दै आएपछि हामीले आ–आफ्ना कार्यक्रम अघि बढाइरहेका थियौँ । त्यो राजनीतिक संघर्ष थियो । त्यो जनसंघर्ष र सशस्त्र मोर्चाका रुपमा अघि बढेको थियो । तर अहिलेको परिस्थितिले राजनीतिक संघर्षलाई मुख्य बनाउने ठाउँमा ल्यायो । यो सहमति र सम्झौताको कुरा मुख्य हो । यो विषय हाम्रो टसल सुरु भएदेखि नै सँगै चलिरहेको छ । त्यतिबेला संघर्ष मुख्य र वार्ता सहायक थियो । अहिले आएर वार्ताको विषय मुख्य बनेको हो । सचेतता र विवेकपूर्ण ढंगले राष्ट्र र देशको हितविपरित कसैले खेल्न नपाओस भनेर हामीले कदम चालेर यसरी छिटो सम्भव तुल्याएका हौँ । बाहिरबाट हेर्दा यो छिटो भए जस्तो लागेपनि तर यथार्थ त्यस्तो होइन । परिणाम छिटो लागे पनि कारण विगत डेढ वर्षदेखि पहल भइरहेको थियो ।

नेपालमा संसदीय व्यवस्था र सत्तालाई जनताले पटक पटक अवसर दिएपनि समस्या समाधान हुने भन्दा झन डर लाग्दो र संकटमा पर्ने स्थिति आयो । त्यसो भएपछि जनताले हामी आउनुपर्यो भनेर सडकबाट मागगर्यो । जनताले जताबाट हेर्दा पनि संकट मात्रै देखियो । जुनकीरी बलेको पनि नदेख्ने स्थिति बन्यो । यस्तो बेलामा हामीले पहल नलिने हो भने बढो दुर्दशा हुन्छ भन्ने हामीले निष्कर्ष, विश्लेषण र दायित्वबोध गर्यौँ ।

सरकारले पनि हामीलाई प्रत्यक्ष अप्रत्यक्ष छलफल गर्दै जाँदा हामी गम्भीर राजनीतिक शक्ति हौँ भन्नेमा स्वीकार गर्यो । त्यसैले शान्तिपूर्ण मोर्चामा आउँछ भने यसलाई राजनीतिक वातावरण बनाउनु पर्छ भन्नेमा सरकार पुग्यो ।

यतिबेला तपाईंहरुलाईं वार्ता र सहमतिका लागि के कुराले प्रेरित गरयो ?

मुख्य प्रेरणा त जनता नै हो । जनताबाट हाम्रो पार्टी नयाँ ढंगबाट संघर्षको पहल गरोस् भन्ने माग आएको हो । जनता क्रान्ति चाहन्छ, आफ्नो अधिकार स्थापित गराउन चाहन्छ, आमुल परिवर्तन होस् भन्ने चाहन्छ, देशको प्रगति उन्नती सबै चाहन्छ । जनताको यो आकांक्षालाई परिपुर्ती गर्ने गरी हामीले आफूलाई तयार गर्नु नै सबैभन्दा उत्तम ठान्यौँ । त्यसका लागि हामीले पहलकदमी लिएका हौँ । यसलाई राम्रोसँग व्यवस्थापन गर्नसक्दा सरकारलाई पनि फाइदा नै हुन्छ । तर मुख्य त राष्ट्र र जनतालाई नै फाइदा हुन्छ ।

यो सहमतिले नेपाल कम्युनिस्ट पार्टीलाई के उपलब्धी भयो ? र यो सहमतिले राष्ट्र र सर्वसाधारण जनसमुदायमा के महत्व राख्दछ ?

हामीले नयाँ ढंगले अघि बढ्दा देशका लागि फाइदा छ । नयाँ वातावरण बन्नु भनेको हाम्रो पार्टीका लागि पनि फाइदा छ । जनतामा जाने, राष्ट्र र जनताको सेवा गर्ने सुनौलो अवसर हो यो । गिरफतार नेता कार्यकर्ताहरु पनि रिहा हुदै हुनुहन्छ, पार्टीलाई भएको फाइदा यती मात्र हो । अरु त देश र जनताका लागि भएको फाइदा हो ।

अब नेपाल कम्युनिस्ट पार्टी आगामी दिनमा कसरी अघि बढ्छ ?

अव हामीले नयाँ ढंगबाट पहलकदमी गर्दा, राजनीतिक रुपमा देशको स्थिति क्रान्तिकारी ढंगबाट अगाडी बढ्छ र क्रान्तिको नेतृत्व हामी गछौं । हामीले हाम्रा गतिविधि संचालन गर्ने मूख्य हतियार भनेको शान्तिपूर्ण हो । हाम्रो उद्देश्य र हामीले वार्तामा सरकारसँग भनेको पनि के छ भने अहिले देशमा जो विद्यमान समस्या छ यो समस्याको सृजना भनेको ०६२/०६३ पछि नेपालमा भएको राजनीतिक प्रतिक्रान्ति नै हो । जो दस बर्षे जनयुद्धको भावना र १९ दिने जनआन्दोलनको विरुद्धमा थियो । जनताले संघर्ष गरेको जनताको आफ्नो व्यवस्थाको निम्ति, आफ्नो सत्ताको निम्ति थिए । उत्पीडित वर्ग, समुदाय, लिंग, क्षेत्र लगायत समग्र नेपाली जनताले आफ्नो राज्य सत्ता चाहेका थिए । शासन व्यवस्था र पार्टी चाहेका थिए । त्यसका विरुद्ध देशमा दलाल पूँजीवादी व्यवस्था आयो । त्यो अहिले आएको होइन ।

अबको निश्कर्ष भनेको यो व्यवस्थाले समस्याको समाधान गर्दैन भन्ने हो । यसको विकल्पमा बैज्ञानिक समाजवाद अपरिहार्य छ । यसका लागि शान्तिपूर्ण रुपमा जनतामा जाने र त्यसबाट अनुमोदन भएर आउने नै हो । त्यो विभिन्न रुपमा हुनसक्छ । एउटा विकल्प भने जनमत संंग्रह नै हो ।

हामी डेमोके्रसीको उच्च अभ्यास गरौँ भन्ने हो । देशमा कस्तो सत्ता र व्यवस्था हुने भन्ने कुरा जनतालाई फैसला गर्न दिनुपर्छ । सत्ता र व्यवस्था दलाल संसदीय व्यवस्था हुने वा बैज्ञानिक समाजवाद हुने । अब हामी राष्ट्र र जनताको पक्षमा जो सहमत हुन्छ, उसँग सहकार्य गछौँ, जो सहमत हुँदैन उसँग स्टर्गल गछौँ ।

संसदको पुनस्र्थापनापछि पनि देशको राजनीतिक अवस्था अन्योल पुर्ण र संकटग्रस्त नै छ, अब देशको राजनीतिले कस्तो मोड लेला? कसरी विश्लेषण गर्नु भएकोछ ?

क्राइसिस चरम छ, यो क्राइसिसले अग्रगामी निकास खोज्दछ । जसलाई दृष्टिगत गरेर हामी यहाँसम्म आएका छौँ । समस्यालाई यथास्थितिवादी वा दलाल पुँजीवादी ढंगले समाधान गर्ने कुरा पनि आएको छ । त्यो सही हुन सक्दैन । संसद पुनस्र्थापना मात्र समाधान होइन भनेका छौँ । पात्र फेरेर जनतालाई ढाँटेर सरकारमा जाने कुरा मात्र हो । यसको अन्त्य हुनुपर्छ । व्यवस्थाका हिसाबले वैज्ञानिक समाजवाद चाहिन्छ । सत्ताका हिसाबले उत्पीडित जनता र वर्गको व्यवस्था चाहिन्छ हामीले अब क्रान्तिकारी ढंगले निकास दिनपर्छ । त्यो गर्न सकिएन भने संकट अब झन डरलाग्दो ढंगले आउने छ । किनकी दलाल पुँजीवादी व्यवस्था नै आजको संकटको मुख्य कारण भएकाले दलाल तत्वको मुख हेरेर समस्याको निकास हुँदैन । त्यो जनतालाई मुर्ख बनाउने कुरा हो । क्रान्तिकारी ढंगले निकास दिनसक्ने सम्भावना प्रवल छ । क्रान्तिकारी शक्तिले जिम्मेवारी पूर्वक र तागत लगाएर अगाडी बढ्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :