पूर्वमा रातो सलाम कुमार पौडेललाई

साहित्य

नेपालको जनप्रतिरोध आन्दोलनमा पूर्वक्षेत्रको वीरता बलिदानमा अधिक थियो । झापाली विद्रोहदेखि बेथानको वीरतासम्म कूलयोग हेर्दा, जनयुद्वपूर्वको अवधिमा पश्चिम नेपालभन्दा पूर्वी नेपालतिर प्रतिरोध आन्दोलन निकै उचाइमा पुगेको इतिहासको तथ्य साक्षी छ । मोहनचन्द्र अधिकारीको जनताको बहुदलीय जनवाद अस्वीकारको कथा र यानप्रसाद गौतम आलोकको समाधीसम्मको व्यथामा नियत र नियतिका जोडघटाउ र गुणनभाग सबै गरेर गहिरो घोत्लिन जरुरी छ, यो सत्यको गहिराइ नाप्न । तर यो आलेख कुमार पौडेल हत्या सन्दर्भ केन्द्रित गर्ने प्रयास गरेको छु ।

सर्लाहीमा उनीसँग मिलाएको दर्विलो हात र बिदाइको क्षण उनको र मेरो जीवनको अन्तिम बन्यो । आज समयले पनि निकै राजनीतिक जीवनको धुमिल तस्बिर आँखासामु ल्याएको छ । जब मैले सर्लाही र सागरनाथको सुकुमबासी किसानबस्तीमा पाइलो टेकेर केही तथ्य नियाल्न पुगेँ, हाम्रो मौसमी आन्दोलन र उपयोगितावादी संस्कारको सिकार भएको चिनियाँ हुनान विद्रोहजस्तो किसान विद्रोहलाई पैँतालाले कुल्चेर निदाएको लम्पट क्रान्तिकारी रोमान्सको यो किसान आन्दोलनको चित्र । त्यो भ्रूण हत्या गरिएका क्रान्तिको किल्ला थबाङको उर्वर गर्भाशय पनि हो । त्यसपछि नै हो, मेरो मन र आस्थाले चिनेको कुमार पौडेलको पहिचानलाई सत्यरूपमा देखेको । उनी भूमिहीन गरिब किसानहरूको एक अद्भूत आस्था, भरोसा र न्यायको खम्बा रहेछन् । भ्रष्ट जालीझेलीहरूको दिमागमा घुमिरहेको एक जब्बर भूत क्रान्ति वा विप्लव बनेर ।

प्रजातान्त्रिक आन्दोलनमा मुक्ति सेनाको कमान्डर रामप्रसाद राईको नेतृत्वमा भएको सिंहदरबार विद्रोह दमनले समाप्त भयो । टिमुरबोटे ओढारमा तुहिएको विद्रोहको गर्भ र क्याप्टेन यज्ञबहादुर थापाको विद्रोही सपनाहरू उजेल्ने प्रयास अरुणपूर्वतिर जारी थियो । पञ्चायतको बर्बरता र अत्याचारले अरुणमा बगेको आँसु रगतको कथाहरूले मान्छेको मन मनमा उद्वेलना पैदा गरेको थियो । गीतकार गणेश इजमको शब्द र किशोर थुलुङको स्वरमा रहेको गीत अझै उस्तै सान्दर्भिक छ :

खोकु छिन्ताङ दुख्यो कि अरुण सुसाउँदा
मन सबको रुन्छ कि दुःख बिसाउँदा

जनमुखी सहकर्मी रूपचन्द्र बिस्टको शब्द सापटी लिएर भन्ने हो भने पञ्चायतका अर्धमण्डले सूर्यबहादुर थापाको योजनामा खोकु छिन्ताङमा पञ्चसरकारले जनताको रगत पिएको थियो । त्यो पञ्चायती बर्बरताको बज्रप्रहार धनकुटाको खोकु, छिन्ताङ गाउँमा मात्र होइन, सुखानीको जंगलमा समेत परेको थियो । रामनाथ दाहाल, वीरेन राजबंशी, नेत्र घिमिरे, नेत्र कुइँकेल र नारायण श्रेष्ठलगायतका योद्धाहरूको हत्या गरेको थियो । रामवृक्ष यादव, दिलिप चौधरी, ऋषि देवकोटा आजादको हत्या हुँदै कुमार पौडेलसम्मको शृृंखलालाई एउटै मालामा उनेर हेर्ने हो भने दमन र प्रतिरोधको शृङ्खला पूर्वमा वर्तमानसम्म जारी छ । सहिद रामवृक्ष यादवको शब्दमा हामी भन्न सक्छौँ, तपाईंं मान्नुस् या नमान्नुस् पूर्वमा एकदिन रातो झन्डा फहराउनेछ :

आप माने वा नमाने
पेरुमे लाल झन्डा फहराए

पञ्चायती वामपन्थी राजनीतिमा पूर्वमा माले, एमाले र पश्चिमतिर मशालको प्रभाव बढी देखिन्थ्यो । झापा विद्रोहका नायक जबज अस्वीकार गरेर हिँडेका मोहनचन्द्र अधिकारी गेरुवस्त्र धारण गरेर रामनाम जप्दै छन् । समकालीन राजनीतिका योद्धा आरके र सिपी मैनालीहरू एकएक खाल थापेर राजनीतिकै मैदानमा छन् । यतिबेलाका सत्तानायक केपी ओलीको सत्तारोहणको वर्तमान सत्ता र विगतको विरासतमा आकाश–पातालको अन्तर छ । झापाली धर्मप्रसाद ढकालको घाँटी रेटेर आउने ओली ज्यामिरगढीमा कर्णबहादुर गौतमको रगतको सिर्काले झस्किएर संसदवादको पुच्छर समात्न पुगेका थिए । आज उनको सत्ताको खुनी अनुहारमा कुमार पौडेलको रगका छिर्काहरू प्रतिबिम्बित भएको पाइन्छ ।

भोजपुरका तीर्थ राईदेखि सलार्हीका कुमार पौडेल हुँदै नीरकुमारसम्मको रगत पिउन उद्यत किन भएको होला यो सत्ता ? जब मान्छेमा आफ्नै विगतको बलिदानप्रति हीनताबोध र लघुताभास पैदा हुन्छ नि, त्यसपछि हो ऊ पतनको बाटोमा पुग्ने । अरुणझैँ उर्लिएको रगतको भेल तरेर आउनेहरू वीरताका कथा बोकेर आउनेहरूको राजगद्धी सधैँ सधैँ भुइँमान्छेको रगत पिउन किन उद्यत हुन्छ होला ? बडो विचित्रको राजनीतिक दृष्य नेपालमा देखिन्छ । कुमार पौडेलको हत्यापछि गृहमन्त्री रामबहादुर थापा बादल र भूपू गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ बिच संसदीय समितिमा भएको जुहारी दुनियाँलाई भुलभुलैयाको तमासा केवल सावित भयो । आखिर सत्तामा जो भए पनि हुने उही रहेछ, यो त सत्ताको वर्गचरित्र हो । उनै जनार्दन गृहमन्त्री हुँदा पनि माइला लामा जेल परेको दृष्टान्त छ । तथापि नेपाली काँग्रेस संसदमा अवरोधसम्म गर्न पुग्यो । काँग्रेस नेता अर्जुन नरसिंह केसीले सामाजिक सञ्जालमै उल्लेख गरेका थिए, राज्यले व्यक्ति हत्या गर्नु लोकतन्त्रको उपहास हो ।

विराटनगरमा रहेको भारतीय कन्सुलर कार्यालय जुन तराईमा भारतीय घुसपैठ र चलखेल अखडा थियो । त्यहीँमाथिको आक्रमणले सबै राजनीतिक दलले त्यो कार्यालय हटाउन जरुरी छ भन्दै बोल्नैपर्ने अवस्था आयो । हुन त गौर नरसंहार र माओवादी कार्यकर्ताको कत्लेआमको घटनालाई नियाल्ने हो भने त्यो माओवादी आन्दोलन कमजोर गर्ने नियोजित–प्रायोजित मधेस आन्दोलनको डमी थियो । पूर्वी–तराईमा कोशी उच्चबाँध र अरुण तेस्रोमाथिको भारतीय गिद्धेदृष्टि रहँदै आएको छ । काँग्रेसले अघि सारेको त्यो सवाल एमालेले रोकेको थियो । यो कुरा २०५० सालको हो । काँग्रेसले अघि सारेको त्यो सम्झौता असफल पारेको एमालेले २०५४ मा महाकाली सन्धि पारित गरेको थियो । उबेलादेखि योबेलासम्म केपी ओली एमालेका हर्ताकर्ता पात्र थिए । २०५१ सालमा एमालेले रद्द गरेको सप्तकोशी उच्च बाँध सम्झौता अहिले अरुणदेखि कोशीसम्मको गंगाजले मोदीको पाउ पखाल्न व्यस्त छ, तिनै ओली नेतृत्वको सरकार ।

सागरनाथको सुकुमबासी बस्तीमा आश र उत्साहको केन्द्र थिए कुमार । जब खेतबारी जोत्ने बेला सुरु हुन्थ्यो, सुकुमबासी किसानको गाउँ युद्ध मैदानजस्तो देखिन्थ्यो । रातभर ट्याक्टरले बारी जोत्ने र युवाहरूले घरेलु हतियारसहित पहरा दिने । यस्तो दृश्य खेतीबालीको मौसममा हररात देखिइरहन्थ्यो ।

राजधानीका सडक किनारामा फूल रोपेर समृद्धि फुलाउने समाजवादको गँजेडी गफ दिने जनतालाई गोली हान्न आदेश दिँदै सत्तामा उपरखुट्टी लाउने केपी–बादल मण्डलीभन्दा रुख मासेर देश र जनता बचाउने दूरदर्शी अभियानमा थिए कुमार । त्यसैले त गरिबहरूको आशाको दियो बनेका थिए कुमार । उनको हत्यापछि जुलुसमा छाती पिटेर रुँदै गरेकी एक वृद्ध महिलाको भीडीयो सामाजिक सञ्जालमा निक्कै भाइरल भएको थियो । त्यो भाइरल भावना हो, आस्था हो, चुनौती हो, केपी ओलीको सत्ताका लागि जनताको वास्तविक नायक सर्वहाराहरूको नेताको मायामा पोखिएको प्रेमपूर्ण पागलपनको अलाप ।

मेरो बाल मनोविज्ञानमा अमीट छाप बोकेर बसेको थियो एउटा जनवादी गीत । मनु लामाको शब्द र माइला लामाको संगीतमा रहेको सो गीत अझै पनि मन मस्तिष्कमा गुञ्जिइरहन्छ :

पूर्वमा रातो सलाम दिलमाया लामालाई
पश्चिममा रातो सलाम लली रोक्कालाई

आज समय र सन्दर्भले गीतको भावना र मनको उद्वेलनालाई एकै उभारमा ल्याउन थालेपछि मैले फेरि अन्तरहृदयदेखि रातो सलाम गर्न चाहेँ कमरेड कुमार पौडेललाई !

आज माइला लामा पूर्व–संखुवासभातिर जेलमा छन् । हामी पनि खुल्ला जेलमै छौँ जस्तो लाग्छ । फरक यति हो, उनी बन्द पर्खालभित्र छन्, हामी खुल्ला दुनियाँमा बन्धक छौँ । यस्तै उस्तै छ हिजोआजका कथाहरू । लेखक साहित्यकार अनिल शर्मा ‘विरही’ ले यो जनक्रान्तिको यात्रामा पूर्वी–नेपालको पाखा–पखेरातिर चाहर्दै कोरेका गीतका शब्दहरूमा वर्तमानको उत्पीडनका चित्रहरू झल्किन्छन् । हेरौँ, एक अंश :

तमोर उर्लियो लै लै अरुण उर्लियो
वीरहरूको नशा नशामा रगत उर्लियो
सिसमहल मागेको होइन
ओत लाग्ने बास देऊ
मौजा हामीले कहाँ माग्या छौँ र ?
ओत लाग्ने ठाउँ देऊ ।

सुकुमबासीहरूको ओत लाग्ने झुपडी निमार्णको अभियानमा थिए कुमार । एमालेबाट राजीतिमा पाइलो चालेका उनी विद्रोही चेतना बोक्ने एक सच्चा देशभक्त र क्रान्तिकारी नेता थिए । उनको राजनीति र हत्यासम्मको नियतिको तथ्य नाप्न चुरेभावर राजनीतिक दलको उदय र अवसानको कथासम्म उतार्नुपर्ने हुन्छ । विसर्जित चुरेभावरको राजनीतिक अवसानमा कुमार पौडेलको विभत्स हत्या र बाबु थापाको जेलयात्राको योगफल नाप्ने हो भने भारतीय लगानीमा पूर्वी–तराईमा रोपिएको पहाडे र मधेसीबिचको विद्वेषपूर्ण साम्प्रदायिक विभेदको चित्र प्रष्ट हुन आउँछ । कुमारको हत्याले धेरै तथ्यहरूको संकेत गरेको छ ।

कुमार हत्याको प्रतिवेदन दिँदै मानव अधिकार आयोग वा उसम्बद्ध निकाय भन्छ, यो गम्भीर मानव अधिकारको उल्लंघनको घटना हो । कुमारका परिवार भन्छन्, यो योजनाबद्ध नियोजित हत्या हो । तर, मलाई लाग्छ यो हत्या राजनीतिक अपराध हो । उत्पीडित, श्रमिक जनता अधिकार सम्पन्न नहुँदासम्म राजनीतिक आन्दोलन उठ्न जरुरी हुन्छ । तपाईंंले नबोले मैले र मैले नबोले तपाईंंले वा तपाईंं र म कोही नबोले कोही न कोही त बोल्नै जरुरी थियो । यो अन्याय, अत्याचार, विभेद र धोकाधडीको विरुद्ध कसै न कसैले विद्रोहको झन्डा उठाउन जरुरी थियो । कवि नाजिम हिक्मतको कवितांसहित उज्यालोको खोजी गर्दै पूर्वमा रातो सलाम कुमार पौडेललाई !

म जलिनँ भने
तिमी पनि जल्नेछैनौ
हामी कोही जलेनौँ भने
अँध्यारो रात कसरी हट्ला ?

२६ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :