‘आत्मसमर्पणको कुरा नगर, एक ढिक्का एकताको कुरा गर’

लेखक : नारायण नेपाल

के यो सरकारको चरित्र जनपक्षीय छ ? के यो सरकार कम्युनिस्टकै हो ? के यो सरकारसँग राष्ट्रिय विवेक ज्युँदो छ ? के यी सत्ताधारीहरू देश र जनताप्रति जबाफदेही छन् ? कम्युनिस्ट पार्टीको विचार, राजनीति, सिद्धान्तको कसीमा घोषणापत्र केलाएर यी प्रश्नहरूको उत्तर खोज्ने र नेपाली कम्युनिस्ट ट्रेडमार्कको व्यापार गर्ने दलालहरूको चरित्रको लेखाजोखा गर्ने हो भने आकाश–पातालको फरक भेटिन्छ । यतिबेला यहाँ यो व्यवस्था ठीक छैन भन्ने जनमत दबाइएको छ । समाजको भ्रष्ट चरित्रले जनपक्षीय राजनीतिको आधारलाई भत्काउँदै लगेको छ । सामाजिक अगुवा मानिने बौद्धिकहरूको पाखण्डी र भ्रष्ट चरित्रको जगजगी छ । श्रमिकजनको पसिना र गरिब जनताको रगतको आहालमा जन्मिएको नेपाली राजनीतिक व्यवस्थाको पछिल्लो चित्रणले हजारौँ प्रश्नहरू उब्जाएको छ । आज देश प्रतिगमनको ओरालो यात्रामा गएको छ । राष्ट्रघात, जनघात र भ्रष्टाचारको आहालमा देश डुबेको छ । योबेला नेपालको शासकीय चरित्रलाई नियाल्ने हो भने आजको गणतन्त्रमाथि हजारौँ प्रश्न उब्जिएका छन् । त्यस्तै भावको यो कवितांश :

जङ्गबहादुरको जङ्ग
महेन्द्रको पञ्चायत
बीपीको समाजवाद
मदनको जनवाद
पुष्पकमलको प्रचण्डपथ
आजको गणतन्त्र
तपाईँलाई कस्तो लाग्छ कमरेड ? (कविता : कस्तो लाग्छ कमरेडबाट)

यो बेला मलिन स्वरले कसैले प्रश्न उठाउने साहस देखायो भने केही प्रश्नहरू नेपाली समाजमा जन्मिरहेका छन् । के सरकारमा बस्नेहरू कम्युनिस्ट हुन् त ? के यो देशमा सच्चा कम्युनिस्टहरूले देश र जनताका लागि केही सोचेका छैनन् होला त ? के यो देशमा मान्छेले मान्छे भएर बाँच्न पाउने अवस्था छ त ? यो उदास मौसमको कम्युनिस्ट राजनीति र फासिवादी चरित्रको सामाजिक घटनाक्रमका परिदृश्यहरूले पट्ट्यारलाग्दो दैनिकी बनाएको छ भने नेपाली समाजको दर्दनाक चित्रण गरेको छ ।

यो देशको राजनीतिक रङ्गमञ्चमा भ्रष्टाचार, निराशा र कुण्ठाको हुन्डरी मात्रै मौलाएको छैन, जनपक्षीय आशाका मुनाहरू पनि पलाएका छन् । आजको नेपाली कम्युनिस्ट राजनीतिको गर्भमा के खिचडी पाक्दै होला ? हामीले केही अनुमान लगाउन सक्ने आधारहरूको बाछिटा सामाजिक सञ्जालमा देखापरेको छ । तिनै बाछिटाहरूलाई नियालेर केही लेखाजोखा भने पक्कै गर्न सकिन्छ । माओवादी आन्दोलनका एक नेता तथा यतिबेला जसपाका नेता डा. बाबुराम भट्टराईका विश्वास पात्र मानिएका गङ्गानारायण श्रेष्ठले भदौ ३० गते सामाजिक सञ्जालमा टिप्पणी गर्दै लेखेका थिए, ‘आदरणीय नेताहरू ! स्वार्थ त्याग । अहम् छाड । त्याग, बलिदान सम्झ । मुद्दाहरू दह्रो गरी समाऊ । आत्मसमीक्षा गर । एकपटक फेरि बृहत् ध्रुवीकरणका लागि इमानदार प्रयत्न गर । समयको गतिलाई पक्र ।’

श्रेष्ठको धारणाजस्तै केही घोषणापत्र र केही प्रस्तावहरू नेकपा (बोल्सेभिक) को ०७७ भदौमा बसेको बैठकले क्रान्तिकारी जनपक्षीय कम्युनिस्टहरूको बृहत् एकताका लागि क. विप्लव नेतृत्वको नेकपा, क. किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), क. ऋषि, क. लोकनारायण नेतृत्वको नेकपा, क. किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, क. सीपी मैनाली नेतृत्वको नेकपा (माले), क. रोहित नेतृत्वको नेमकिपा, सरकारमा रहेको नेकपा (नेकपा) भित्रका क्रान्तिकारीहरू, नेकपा (मसाल) भित्रका क्रान्तिकारीहरू र स्वतन्त्र रहेका वामपन्थीहरूलाई पठाएको थियो । त्यो सामाजिक सञ्जालमा भेट्न सकिन्छ । त्यसको प्रस्ताव नं. १ को बुँदालाई लिऊँ । त्यहाँ लेखिएको छ, ‘नेपाली क्रान्ति अधुरो रहन गएको छ । नेपाली बहुसङ्ख्यक जनताले सङ्घर्ष गरेर ल्याएको गणतन्त्र मुठीभर दलाल पुँजीपति वर्ग, नोकरशाही पुँजीपति वर्ग, सामन्ती अवशेष वर्ग र साम्राज्यवादी पुँजीवादी वर्गले हत्याएर कब्जामा लिएको छ र सत्तारूढ भएको छ । बहुसङ्ख्यक जनताको श्रम, पसिना र देशको सम्पत्तिमाथि उनीहरूले लुट मच्चाइरहेका छन् । बहुसङ्ख्यक जनतामाथि शोषण, उत्पीडन उनीहरूले सुरु गरेका छन् । सत्तारूढ डबल नेकपा (नेकपा) को मूल नेतृत्व तथा बहुसङ्ख्यक नेताहरूको वर्ग परिवर्तन भएर दलाल तथा नोकरशाही पुँजीपति वर्गमा रूपान्तरण भएको छ । अहिलेको जनविरोधी प्रतिक्रियावादी राष्ट्रघाती मेन्सेभिक सरकार तथा वर्तमान सत्ता व्यवस्थाका विरुद्ध सङ्घर्ष गरी बहुसङ्ख्यक जनताको ‘वैज्ञानिक समाजवाद उन्मुख नयाँ जनपक्षीय गणतन्त्र’ स्थापना गर्नु कम्युनिस्ट पार्टीको तात्कालिक कार्यभार हो । वैज्ञानिक समाजवाद र साम्यवाद त्यसपछिको लक्ष्य हो ।’ नेकपा बोल्सेभिकको यो घोषणाजस्तै केही वामपन्थीहरूले सामाजिक सञ्जालमा ‘माक्र्सवादी एकता अभियान’ नामको एक नयाँ संस्था चलाएका छन् । २९ भदौमा भएको यो घोषणामा उनीहरूले अधुरो रहेको जनगणतान्त्रिक क्रान्ति पूरा गर्दै संविधानको भावनाबमोजिम समाजवादी क्रान्तितर्फ अघि बढ्न सशक्त र संयुक्त जनआन्दोलन आवश्यक देखिएको बताएका छन् ।

वामपन्थी बुद्धिजीवीहरूको यो गन्थनमन्थनजस्तै उही लयमा सामाजिक सञ्जालसमेत सरकारको भ्रष्टाचार तथा राष्ट्रघाती चरित्रका विरुद्ध उर्लिरहेको अनुभूति गर्न सकिन्छ । जन्मँदै रोगी नेपालको संविधान २०७२ ले देशलाई अराजकता र प्रतिगमनको भुमरीतिर क्रमशः धकेलिरहेको देखिन्छ । रोजगारी गुमाएर खुलामञ्चमा एक टपरी भात थाप्ने गरिबहरूका सामु टुँडिखेलमा हेलिकोप्टरबाट फूल बर्साएर मनाइएको संविधान दिवस आफैँमा औचित्यहीन नाटक हो । गरिबको पेटमा लात मार्ने सरकार सडकको किनारामा रङरोगन गर्दै फूल रोपेर समृद्धिको ‘गुड डे’ हाँक्छ र समाजवादको पाठ पठाउँछ । यस्तै संविधानको पाँचौँ वर्षगाँठ मनाउँदाको यो परिदृश्यसँगै प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका हजारौँ कार्यकर्ता जेलनेलको सिकार भएका छन् । राजनीतिक प्रतिबन्ध लागेको नेकपाको पछिल्लो धारणा असोज ४ गते महासचिव कमरेड विप्लवले विज्ञप्तिमार्फत जारी गरेका छन् । त्यसमा भनिएको छ, ‘आज देशको कुशासन, भ्रष्टाचार, राष्ट्रघातलगायत सङ्कटले दलाल पुँजीवादी राज्यसत्ताको असफलता पुुष्टि गरेको छ । यो असफलता र सङ्कटको निकास संविधान संशोधन वा परिमार्जन नभएर राज्यव्यवस्थाको परिवर्तन हो । तसर्थ सबै अग्रगामी, प्रगतिशील, जनवादी, देशभक्त, लोकतान्त्रिक शक्तिहरू राज्यसत्ताको पूर्ण परिवर्तनका लागि नयाँ आधारमा नयाँ पहल अत्यन्त जरुरी हुन गएको छ । हाम्रो पार्टी सबैलाई यस दिशामा अग्रसर हुन विशेष आग्रह गर्दछ ।’

पछिल्लो साता नेपाली राजनीतिमा देखिएका घटनाक्रमको केही सङ्केतका रूपमा यी तथ्यहरूलाई लिन सकिन्छ । माथिका नमुना बाछिटाहरूको थोपा–थोपा केलाएर शल्यक्रिया गर्ने हो भने केही बहस अवश्य उठान भएको छ । ‘कुरो खस्रो मीठो हुन्छ’ भन्ने उखानजस्तै यो अभियानमा केही खस्रा प्रश्नहरू हामीसामु देखापरेका छन् । के हामी घोषणा गर्न सक्छौँ त इतिहासको कठघरामा उभिएर अहम्को बिस्कुन सुकाउन बन्द गरौँ, विचारको भकारीमा एकीकृत हुन इमानदार पहलकदमी लिऔँ । आजको वामपन्थी आन्दोलनमा इमानको खडेरी लागेको बेला मोह, लालसा र अहङ्कारले क्रान्तिको खेत बाँझै राख्ने परम्पराबाट कम्तीमा पुनः एक हात त परै बसौँ । यो एक हात पर बस्नुको अर्थ नयाँ बहसमा एक हात अघि सरेर सहभागी हुनु पनि हो भन्ने यथार्थलाई हृदयङ्गम गर्ने साहस हामीले बटुलेका छौँ ? आज नेपाली क्रान्तिकारी धारलाई पुनः नयाँ शिराबाट उठाउनुपर्ने आवश्यकता छ र जोडदार प्रयास गरे असफल पनि हुनेछैन । एकै स्वरमा सबैले भनौँ : कसले भन्छ क्रान्ति यहाँ सफल हुँदैन भनेर ?

किलोमा बाँधिएको गोरुले खेत जोत्दैन । यो सबैले जानेकै कुरा हो । आखिर खेत जोत्न गोरु हलोमै नारिनुपर्छ । हाम्रो नवीन जनक्रान्तिको कमान्डरप्रति हामी सबै विश्वस्त छौँ र कोही छैन भने हुनुपर्छ । ऐक्यबद्धता, ध्रुवीकरण, सहभागिता र नेतृत्व यी चार पक्ष नयाँ परिवेश र सन्दर्भका लागि ज्यादै महत्वपूर्ण आयाम हुन् । सैद्धान्तिक, वैचारिक रूपमा समानताको मियो समालेपछि नीति, कार्यक्रम, सङ्गठन र संरचना प्रधान नभएर गौण हुन्छन् । त्यो मालेमावादी मान्यता नै हो ।

जति डोरी बाटे पनि गाँठो उही भनेजस्तै निष्कर्ष सधैँ छोटो नै हुन्छ । त्यो एक वाक्यमा निर्माण हुन पनि सक्छ । हामी क्रान्तिमा जोडिने वा सदाबहार अलग हुने ? हामी औँला र औँला मात्र भएर क्रान्तिको पुकार÷याचना मात्र गर्ने वा मुठी र मुड्को भएर जनक्रान्तिमा लामबद्ध हुने ? इतिहासको कठघरामा समयले हामीलाई उभ्याएको छ– के हामी यी प्रश्नहरूको जबाफ दिन तयार छौँ ?

तत्कालीन नेकपा माओवादीको चर्चित चुनबाङ बैठकमा प्रस्तुत गीतको सान्दर्भिकता अझै नसकिएको आभास हुन्छ । हेरौँ । केही हरफ :

टुटफुट खण्डित कुरा नगर
आत्मसमर्पणको कुरा नगर
एक ढिक्का एकताको कुरा गर
वीरताको कुरा गर

कार्ल माक्र्सले अन्तर्राष्ट्रिय मजदुर सङ्घको महापरिषद्को पहिलो आह्वानपत्रमा उल्लेख गर्दै लेख्नुभएको थियो, ‘हामी सम्पूर्ण हृदयले तपाईंहरूको यस प्रतिरोधको समर्थन गर्दछौँ । न विगुलको आवाजको, न तोपको पड्काइले, न विजयले, न त पराजयले नै हामीलाई देशका सबै मजदुरलाई ऐक्यबद्ध तुल्याउने हाम्रो सामूहिक उद्देश्यबाट विमुख तुल्याउन सक्नेछ ।’ माक्र्सको शब्द सापटीमा अन्तर्राष्ट्रिय मजदुर सङ्घको बर्लिन शाखाले पेरिस घोषणापत्रप्रति जनाएको प्रतिक्रियाजस्तै हामी पनि भन्न सक्छौँ– तपाईंहरूका यी प्रतिक्रियाहरू तन, मन, वचन र कर्मले श्रमिक जनताको मुक्ति र देश परिवर्तनका सपनालाई साकार पार्ने शक्तिशाली कम्युनिस्ट आन्दोलन निर्माणको युगान्तकारी अभियानबाट कसैले पनि विमुख बनाउन सक्नेछैन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :