बलिदानको मूल्यलाई मोलतोलले चुक्ता गर्न सक्दैन

अन्तर्वार्ता

बलिदानको मूल्यलाई मोलतोलले चुक्ता गर्न सक्दैन

१) जनताको मुक्तिको लागि भनेर तपाईंंको परिवार युद्ध लड्नुभयो, सहादत हुनुभयो, अहिले कस्तो महसुस गर्नुहुन्छ ?

✍ हो, जनताको मुक्तिको लागि भनेर युद्ध लडियो, आफन्त गुमाइयो तर मुक्ति र परिवर्तनको सपना पूरा भएन । आफ्ना सपनाको आफैँ मलामी जान अभिशप्त बनाउँदा दुःख, पीडा, आक्रोश र घृणाले उद्वेलित बनाइरहन्छ । तथापि देश र दुनियाँको निम्ति गरिएको बलिदानलाई आफू सत्तामा पुग्ने भर्याङ बनाउने प्रवृत्तिलाई घृणा गर्दै बलिदानको मूल्यलाई जनताको उज्यालो भविष्यमा समर्पित गर्ने प्रवृत्तिलाई सम्मान गर्नुपर्दछ । 

२) जनयुद्धका सहिद परिवारको तर्फबाट जनयुद्धका नेता सहयोद्धालाई के भन्न चाहनुहुन्छ ?

✍ सहिदहरूले देखाएको बाटोमा गोलबन्द भएर अघि बढौँ । एकीकृत र शक्तिशाली आन्दोलनबाट मात्र जनयुद्धका बाँकी कार्यभार पूरा हुन सकिन्छ । जनताको जीवन बदलिने गरी आमूल परिवर्तनकारी अभियानमा लामबद्द बनौँ । जनयुद्धकालीन त्याग, समर्पण, बलिदानलाई आत्मसात् गरौँ । प्रतिक्रान्ति, धोका गद्दारी, लोभलालच, चाकडी, भ्रष्ट, पदलोलुप प्रवृत्तिलाई घृणा गरौँ, तिरस्कार गरौँ ।

३) जनयुद्धका तत्कालीन नेतृत्वले क्रान्तिलाई धोका दिएको भनेर नेत्रविक्रम चन्द विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्ति सञ्चालन गरेको छ । यसबारे जनयुद्धका सहिद परिवारको धारणा के छ ?

✍ हो, जनयुद्धप्रति धोका भएको सत्य हो । कमरेड विप्लवले ठूलो हिम्मत गरेर क्रान्तिकारी एजेन्डा बोकेर एकीकृत जनक्रान्तिको बाटोबाट अगाडि बढेको संकल्प गर्नुभएको छ, यो स्वागतयोग्य कुरा हो । सहिद परिवारले यसको स्यालुट गर्नुपर्छ ।

४) जनयुद्धका सहिद परिवारबारे राज्य वा सरकारको कस्तो नीति वा व्यवहार पाउनुभएको छ ?

✍ राज्यको त के कुरा गर्नु सुरुको सम्झौताअनुसार केही रकम दियो त्यति हो । सहिदलाई पैसामा मोलतोल गर्ने होइन, बलिदानको मूल्य पैसाले चुक्ता गर्न सक्दैन । सहिदका परिवारसँगै सबै नागरिकको स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्था राज्यले गर्नुपर्छ । सहिदहरूलाई राज्यले सधैँ सम्मान गर्नुपर्छ । यहाँ त बलिदानको मूल्यलाई यति हलुङ्गो बनाइयो कुरा गरिसाध्य छैन ।

५) सहिद सप्ताह २०७७ को सन्दर्भमा सहिद परिवारको तर्फबाट सम्पूर्ण सहिद बेपत्ता परिवारलाई के सन्देश दिन चाहनुहुन्छ ?

✍ देश दुनियाँको मुक्तिको सपनामा हामीले आफन्त गुमायौँ, बलिदान गर्याैँ, बलिदानमाथि कुठाराघात भयो, सहिद बेपत्ताका सपनाहरू पूरा हुन पाएन । त्यसैले एकचोटि फेरि देशले क्रान्तिको माग गरिरहेको छ, त्यसको लागि तयार हुनुपर्छ, कुनै पनि क्रान्तिकारी आन्दोलनलाई साथ दिनुपर्छ ।

६) अन्त्यमा रातो खबरबाट केही भन्नु छ कि ?

✍ केही कुरा राख्न दिनुभयो, धन्यवाद । परिवर्तनका आवाजलाई सधैँ मुखरित गरिरहनु शुभकामना !

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :