सहिद, वेपत्ता योद्धा आकाशमा चम्कने तारा हुन् सँधै चम्काईरहने प्रयास गरौँ !

सहिद र वेपत्तालाई मागी खाने भाँडो बनाइयो, समस्या र पीडाका कुरा त भोग्नेलाई मात्र थाहा छ

सहिद, वेपत्ता योद्धा आकाशमा चम्कने तारा हुन् सँधै चम्काईरहने प्रयास गरौँ !

भर्खरै २६औं जनयुद्ध दिवस सम्पन्न भएको छ, तपाई जनयुद्धमा पार्टी संगठन र जनमुक्ति सेनाको कमिसार पनि हुनुभयो, विगत १० वर्षको जनयुद्धलाई कसरी स्मरण गर्नुहुन्छ ?

२६औं जनयुद्ध दिवस,उत्पीडित वर्गको लागि मुक्ति दिलाउने आफैमा गौरव गर्ने दिन हो । यसले स्थानीय सामन्तवादको जरा काटिदिएको थियो र केन्द्रीय सामन्ती राजतन्त्रलाई नामेट पारिदियो । विस्तारवाद र साम्राज्यवादको समेत घुँडा टेकाईदिएको थियो । आफू त्यसमा सुरुदेखि पार्टी संगठन र जनमुक्ति सेनाको कमिसार समेत भएर काम गर्न पाउँदा आज गौरवको अनुभूति हुने गर्छ र विगतका हाम्रा अनुभूतिहरु आज पनि ताजगी बनेर आइरहने गर्दछन् ।

जनयुद्धबाट उपलब्धी के भयो ? जनयुद्धको लक्ष्य पूरा भयो कि भएन निष्कर्ष कस्तो रह्यो बताइदिनुहुन्छ कि ?

दुनियाँलाई बदल्ने अथवा आमुल परिवर्तन गर्ने, नयाँ जनवादी क्रान्ति हुँदै समाजवाद साम्यवादसम्म पुग्ने लक्ष्य जनयुद्धको थियो । हामी त्यही बुझेर लागेका हौँ । विडम्वना त्यो हुन सकेन तत्कालिन नेतृत्वले शान्ति प्रक्रिया र लोकतन्त्रको बाटो रोज्यो । विचलन र आत्मसमर्पणको बाटोको सुरुवात भयो, नेताको जीवन बदलियो (फेरियो) नवसामन्तवाद भए तर वलिदान गर्ने कार्यकर्ता जनता झन्झन् पीडित हुँदै गए, भएका सामान्य उपलब्धी जुन जनयुद्धले ल्याएको थियो बोल्न पाउने अधिकार सम्म खोसियो । सहिद, जनमुक्ति सेना, जनसत्ता, जनयुद्धका उपलब्धी थिए सबै खोसिए ।

फागुन १४ देखि २१ गतेको सप्ताहलाई सहिद सप्ताहको रुपमा मनाइँदै आएको छ । तपाई आफै सहिद परिवार हुनुहुन्छ । सहिद परिवारको रुपमा यतिबेला कस्तो अनुभूति गर्नुहुन्छ ? जनयुद्ध लडेका नेतृत्व र सहयोद्धालाईसहिद परिवारको तर्फबाट के सन्देश दिनुहुन्छ ?

नेकपाका महासचिव क. विप्लवको विचारमा सहिद सप्ताह माओवादी र जनसत्ताको घोषणा हो । जसले महान् जनयुद्ध र एकीकृत जनक्रान्तिमा नयाँ जनवाद, वैज्ञानिक समाजवाद र साम्यवादको महान् आदर्श र लक्ष्यका लागि वलिदान गरे, उनीहरुको गाथासँग यसको सम्बन्ध जोडिएको छ । झापा विद्रोहका योद्धाहरुको वलिदान भएको फागुन २१ गते र जनयुद्धका पहिलो सहिद दिल बहादुर रम्तेलको वलिदान भएको फागुन १४ लाई जोडेर आरम्भ भएको यो दिन र एकीकृत जनक्रान्तिका महान् सहिदहरुको बलिदान पनि गाँसिन आएको छ । सुन्दर संसार फुलाउन सहिद बनेकाहरुको सपनालाई निरन्तरता दिने र साकार पार्ने क्रान्तिकारी पार्टी, नेतृत्व र निरन्तर परिवर्तनको पक्षमा उभिएका योद्धाहरुलाई म सहिद परिवारको तर्फबाट के भन्न चाहन्छु भने आज सहिद वेपत्ता योद्धाहरुका सपनामाथि हमला र घात भएको छ । त्यसलाई चिर्दै सहिद, वेपत्ता योद्धा आकाशमा चम्कने तारा हुन, सँधै चम्काईरहने प्रयास गरौँ ।

तपाईको जीवनसाथी सहिद क.नन्द न्यौपाने र उहाँको सहादतबारे संक्षिप्तमा भनिदिनुस् न ?

सहिद नन्द न्यौपाने मेरो जीवनसाथी मात्र नभएर एउटा कुशल नेतृत्व हुनुहुन्थ्यो । उहाँको बारेमा वर्णन गर्ने मसँग त्यस्तो कुनै शब्द नै छैन, किनकी उहाँले त एउटा इतिहास कोरिसक्नुभएको छ । वीरहरुको गाथामा नाम लेखिसक्नुभएको छ । कर्णालीको दुर्गम जिल्ला डोल्पामा बुबा विष्णुरुद्र उपाध्याय र आमा रम्बादेवी न्यौपानेको कोखबाट २०२६ सालमा जन्मनुभएको थियो । वहाँ ४ भाइमध्येका जेठा छोरा हुनुहुन्थ्यो । निम्न मध्यम परिवारमा जन्मेर पनि आफूलाई उत्पीडित वर्गको मुक्तिका लागि वर्गसंघर्षको बीचबाट क्रान्तिकारी जीवनको सुरुवात गर्नुभयो । वहाँ तत्कालीन डोल्पा जिल्ला पार्टी सचिव हुनुहुन्थ्यो । २०५५ वैशाख १४ गते पार्टी कामको सिलसिलामा जाजरकोट जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी शिवप्रसाद नेपाल र प्रहरी प्रमुख रविराज श्रेष्ठको निर्देशनमा प्रहरीले गिरफ्तार गरी ६ दिनसम्म वेपत्ता बनाएर रग्दा प्रहरी चौकीले सदरमुकाम लैजाने बहानामा २१ गते रिम्नमा गोली हानी हत्या गरेका थिए । प्रहरीहरुलाई आधा घन्टा प्रशिक्षण दिएर झुक्न नजानेका न्यौपानेले जीवनको भिख माग्नुभएन । सिपाहीले गोली हान्न नसकेर कमाण्डरले हानेर भेरी नदीमा फालेको कुरा आज पनि जीवित छ । विडम्बना हत्याराहरु प्रमोशन हुँदैछन् । सहिदहरु राष्ट्रियकरण हुन सकेनन् । जे भएपनि महान् मान्छेहरुको पंक्तिमा हुनुहुन्छ नन्द न्यौपाने ।

तपाई जनक्रान्तिका महान् सहिद परिवार संगठनको अध्यक्ष पनि हुनुहुन्छ । तपाईहरुरु सहिद परिवारको समस्यालाई लिएर संघर्ष पनि गरिरहनु भएको छ । अहिले देशभरिका सहिद परिवारको स्थिति कस्तो छ ? सहिद परिवारको समस्याबारे राज्य वा सरकारसँग के कस्ता माग र संघर्ष गरिरहनुभएको छ ?

सहिद र वेपत्ता योद्धा भनेका राष्ट्रकै अमूल्य निधि हुन् र क्रान्तिका प्रतीक पनि हुन् । समाज, राष्ट्र विभिन्न राजनीतिक पार्टीहरु र जनताले सहिदको सम्मान र उचित मूल्यांकन गर्नसक्नुपर्छ आज सहिदहरुको घोर अवमूल्यन भइरहेको छ । सहिद परिवार भनेका बलिदानको उपज हो त्यसैल

सहिद परिवारका समस्या भनेको केवल नीजि समस्या मात्र होइन, वर्गसत्ताकै समस्या हुन् । सहिद परिवारको अवस्थाले राज्यव्यवस्ता कस्तो भन्ने कुरा उजागार गर्छ । हामीले देश भरिका सहिद परिवारहरुलाई संगठित गर्दै सहिद परिवारका विभिन्न समस्याहरु बारे संघर्ष गर्दै आईरहेका छाैँ । हाम्रो माग भनेको जनयुद्धका सहिदहरुलाई राज्यले राष्ट्रिय सहिद घोषणा गर्नुपर्छ, अहिले चलेको एकीकृत जनक्रान्तिका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्छ । जनयुद्धका वेपत्ताहरुको सार्वजनिकीकरण गर्नुपर्छ, हत्यारालाई कारबाही गर्नुपर्छ भन्ने हो र सहिद बेपत्ताका परिवारजनको अभिभावकत्व राज्यले लिनुपर्छ । हामीले राज्यसँग धेरै पटक माग गर्यौँ, संघर्ष गर्यौँ तर सुनुवाई भएन । विडम्वना ! माओवादीकै प्रधानमन्त्री, मन्त्रीहरु भए, त्यो काम गर्न सकेनन्, उल्टो सहिद र परिवारहरुलाई विखण्डन गर्न खोजिदैछ । सहिद, वेपत्तालाई मागी खाने भाँडो बनाइँदैछ, समस्या र पीडाका कुरा त भोग्नेलाई मात्र थाहा छ ।

हिजो सँगै जनयुद्ध लडेको वलिदानी दिएको माओवादी र नेताहरु अहिले टुटफूट र विभिन्न पार्टीमा विभाजन भएका छन् । सहिद परिवारले कसलाई आफ्नो पार्टी ठान्ने, समस्या भएन र ?

पार्टी फुट्नु आफैमा दुःखको कुरा हो तर बाध्यता पनि होला । क्रान्तिकारी मूल्य मान्यताबाट चिप्लिए पछिको परिणाम हो यो भन्ने मलाई लाग्छ । क. प्रचण्ड, बाबुराम, क. किरण, क. विप्लव एकैठाउँमा भएर हिंजोका सबै आदर्शहरुलाई संस्थागत गरेको भए हुने थियो, त्यसो हुन सकेन । क्रान्ति र प्रतिक्रान्तिको संघर्षलाई चिर्दै एकीकृत जनक्रान्तिमार्फत् दुनियाँको सपना पूरा गर्ने विप्लव नेतृत्वको नेकपाले नै हामी सबैको सपना पूरा गर्ने दृष्टि क्षितिजमा देखा परेको छ । अहिले सहिद वेपत्ता परिवार पनि यो पार्टीप्रति विस्वस्त बन्दै गएको छ र सहिदको सपना पूरा गर्ने पार्टीलाई हामी सहिद परिवारले समर्थन गर्नु हाम्रो दायित्व पनि हो ।

जनयुद्धमा धोका भयो अब सहिदका सपना पूरा गर्छौँ भनी नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिको नेतृत्व गरेको बुझिन्छ तपाईको दृष्टिमा यो कस्तो क्रान्ति हो ? अनि यो पार्टी र क्रान्तिबारे सहिद परिवारको धारणा कस्तो पाउनुभएको छ ?

हो, नेपाली क्रान्ति पूरा गर्ने उद्धेश्य बोकेको जनयुद्ध सफलतातिर गइरहेको बेला धोका भयो, तत्कालीन नेतृत्वले निष्कर्षमा पुराना सकेनन् । त्यही अधुरो क्रान्तिलाई एकीकृत क्रान्तिको कार्यदिशाद्वारा पूरा गर्न जोड्ने कडी हो एकीकृत जनक्रान्ति । यसमा सहिद वेपत्ता योद्धा, घाइते, उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग, सबैको भावना र विचार समेटिएको मात्र छैन कि मुक्ति र परिवर्तनको उद्धेश्य पनि गाँसिएको छ । यो पार्टीले अहिलेसम्म सहिद वेपत्ता, घाइते योद्धा र परिवारको अभिभावकत्व लिने प्रतिवद्धता लिएको छ र केही नमूना कार्य पनि गरेको छ । सहिद परिवार यही पार्टी र नेतृत्वप्रति विश्वास र आशा गर्दै संगठित हुदै गरेका अवस्था पनि छ । राम्रो काम गरे सँधै साथ पनि रहन्छ ।

राष्ट्र र जनताको मुक्ति परिवर्तनका लागि वलिदान दिनुहुने सम्पूर्ण सहिद परिवारप्रति राज्य सरकार र समाजले लिने नीति र व्यवहार कस्तो हुनुपर्छ ?

राज्यले अभिभावकत्व लिनुपर्छ, उचित कदर र सम्मान गर्नसक्नुपर्छ । किनकी सहिद र वेपत्ताका परिवार सबैका प्रेरक शक्ति हुन्, परिर्वतन र नयाँ निर्माणका आधार स्तम्भ हुन् ।

क्रान्ति गरिरहेको पार्टी, नेतृत्व र सहकर्मीबाट तपाईसहित सम्पूर्ण शहिद परिवारले के के अपेक्षा गर्नुहुन्छ ?

जस्तोसुकै अवस्था आएपनि सहिद वेपत्ता योद्धाहरुको सपनालाई निरन्तरता दिनुपर्छ । आज बलिदान गर्नेहरुको संस्थागत र मूल्यांकन गर्ने कुरा नै टड्कारो बनेको छ । पार्टीले यो पूरा गर्नुपर्छ र परिवारको अभिभावकत्व लिंदै सम्पूर्ण व्यवस्थापन गर्ने कुरामा ध्यान दिनुपर्छ । यसको लागि तत्कालिन एवम् दीर्घकालीन योजना पार्टीले बनाउनुपर्ने देखिन्छ । हाम्रो अपेक्षा पनि छ र विश्वास पनि छ ।

सहिद सप्ताह २०७७ को अवसरमा जनक्रान्तिका महान् सहिद परिवार संगठनको अध्यक्षको तर्फबाट देशभरिका र देश बाहिर रहनुभएका सम्पूर्ण सहिद परिवारलाई के सन्देश दिन चाहनुहुन्छ ?

आज क्रान्ति र प्रतिक्रान्तिको संघर्ष जटिल मोडमा पुगिरहेको छ । दलाल सत्ताका नाइकेहरु सहिद, वेपत्ताका सपनाहरुमाथि कुठाराघात गरिरहेका छन् । हामी प्रत्यक्ष र परोक्ष रुपले निरन्तर क्रान्ति र क्रान्तिसँग जोडिने परिवार, संगठन । फेरि पनि जीवनलाई क्रान्ति र क्रान्तिलाई जीवनमा बदल्नसक्ने क्षमताको विकास गर्नु अझै आवश्यक छ । त्यसैले सबै परिवारहरु नडग्मगाई अगाडि बढौँ । सहिद सप्ताह २०७७ को अवसरमा यही शुभकामना दिन चाहन्छु ।

अन्तमा रातो खबर मार्फत् थप केही कुरा भन्नुहुन्छ कि ?

हामी समान भावना, एउटै पीडा, साझा मुद्दा भएका परिवारको विषयलाई केन्द्रित ढंगले उठान गर्न जनताको आशालाग्दो पत्रिका रातो खबरले आफ्ना विचार राख्ने मौका दिनुभएकोमा आभार व्यक्त गर्न चाहन्छु र २६औं जनयुद्ध दिवसको अवसरमा तपाई लगायत सम्पूर्ण रातो खबर परिवारलाई शुभकामना दिन चाहन्छु ।

सहिद सप्ताहको सन्दर्भमा तपाईसहित सम्पूर्ण सहिद परिवारप्रति रातो खबरको तर्फबाट पनि हार्दिक सम्मान व्यक्त गर्दछौं । आफ्नो महत्वपूर्ण समय र विचारका लागि धेरै धेरै धन्यवाद ।

धन्यवाद तपाईलाई पनि ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :