के अर्थ ?

कविता

भयानक सुन्सान अँधेरी रातसँग
भीक्षा माग्नु नै छ भने
उसैको मानुमा आश्रित हुनु नै छ भने
उज्यालो खोज्नु किन ?
एकन्तमा एक्लै त्यही मध्यरातलाई
अँगाल्नु छ भने
ज्यान बचाउन स्वाभिमान गुमाउँदै
आत्मसमर्पण गर्नु छ भने
फोस्रो अडम्बर बोकेर विरोधका
आवाजको अर्थ के ?

कालो रातको खुनी नङ्ग्राबाट
चिथोरिइरहनु छ भने
रगतले लत्पतिएका राक्षसी दाह्राबाट
लुछिइरहनुपर्छ भने
खोक्रो विद्रोह किन ?
सामाजिक दायित्व पूरा गर्नका लागि
अँध्यारो चिर्दै अगाडि बढ्दा
मुठी कसेर खुट्टा बजार्दै छाती तन्काएर
काली रात मुर्दावाद भन्दै
दृढ र साहस बोकेर उज्यालाको खोजीमा
निस्किएको महान् यात्रीलाई
मध्यरातको भुँमरीमा हराउने बिलाउने
बाध्यता पर्छ भने
के अर्थ भयो र उज्यालो खोज्नुको
उज्यालो टाढिन्छ भने

उज्यालोको आशामा अँध्यारोसँग जुद्धै गर्दा
अँध्यारोमा हराउनु छ भने
उज्यालो नदेखी अँध्यारोमै अस्ताउनु छ भने
बाँच्नुको अर्थ के छ र
मनभरि व्यथा पिरैपिरको शय्यामा ढल्नु छ भने
हाँस्नु को अर्थ के

ठाडो शिर गरेर बाँच्नका लागि लडिरहँदा
शिर निउराउनुपर्छ भने
अगाडि फड्केका फड्काहरू बाध्यताले
पछाडि फर्किनुपर्छ भने
कालो रात चिर्न लगाएको निशानी जानीजानी
चुकाउनुपर्छ भने
नामनिशान मेटाउनुपर्ने निशानीसँग पुनः
शिर झुकाउनुपर्छ भने
आफैँले गरेका बाचा बन्धन र कसमहरू
आफैँ तोड्नुपर्छ भने
सधैँका लागि तोडिएको नाता सम्बन्धलाई
पुनः जोड्नुपर्छ भने
बिनाउद्देश्य र विचारको लडाइँ अँगाल्दै
नाता तोड्नुको अर्थ के ?

यदि कालो रात हटाउने अभियान
चलाउनु छ भने
हरामको मानो र छानोको आश्रय
लिनु नपरोस्
अपराधीको अपराधलाई बाध्यताले
क्षमा दिनु नपरोस्
राक्षसी कलो रातसँग डराएर भाग्दै
लुक्नु नपरोस्
सत्यमा सधैँ ठडिएको उच्छ ठाडो शिर
झुक्नु नपरोस् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :