जङ्गबहादुर

कविता

मेरो देशमा
एउटा कमेडी जंगबहादुर जन्मिएको छ
ऊ कहिले धरहराबाट हाम फाल्न खोज्छ
कहिले त्रिशूलीमा हाम फाल्न खोज्छ
उस्तै जुँगा पाल्न खोज्छ
तर जुँगा ढंगिला आउँदैनन्
त्यसैले ऊ फेरि आफैँ फाल्छ
उस्तै हाउभाउ गर्न खोज्छ
तर रंग ढंग पुग्दैन
उस्तै आवाज निकाल्न खोज्छ
तर धुर्मुसले नक्कल गर्न भ्याउँछ
जङ्गबहादरले जस्तै
कहिले पीपल र गाई बोकेर हिड्छ
कहिले होलिवाइन् खान्छ
कहिले पशुपतिमा गई संकल्प पुजा गर्छ
कहिले देवघाटमा कोटीहोम ल्याउन पुग्छ
कहिले श्रीपेज खोज्न नारायणहिटी जान्छ
कहिले पुतली महारानी भेट्न शीतलनिवास जान्छ
कहिले अयोध्या खोज्न ठोरी जान्छ
कहिले बालुवाटारमै रामनाम जप्छ
हो मेरो देशमा
एउटा कमेडी जंगबहादुर जन्मिएको छ
ऊ धरमाधिकरी मै हुँ भन्छ
नसलिय कानुन ल्याउन खोज्छ
धम्क्याउन र तर्साउन कसैलाई बाँकी राख्दैन
अघिपछि सुण्ड मुसुण्डको लर्को लाउँछ
कहिले चोकहरूमा स्ट्याचो भएर उभिन्छ
कहिले पोलहरुम विज्ञापन भएर टंगिन्छ
कहिले भित्तामा टाँसिन्छ
कहिले सडकमा झर्छ
जो नागरिकका विरुद्ध बोल्छ
उसैलाई खोजी खोजी पुरस्कृत गर्छ
जता पनि सेटिङका कुरा गर्छ
शीतलनिवासको डेटिङ्ग गर्छ
हो मेरो देशमा
एउटा कमेडी जंगबहादुर जन्मिएको छ
कहिले ऊ सात समुन्द्र पारका कुरा गर्छ
कहिले हिमाल वारका कुरा गर्छ
कहिले उत्तर ढल्किन्छ
फेरि दक्षिण र पश्चिम फर्किन्छ
उल्टो सुल्टो जेसुकै होस्
बोल्यो त बोल्यो जङ्गे बोल्यो भन्छ
जङ्गे कुँवरबाट राणा भएको सम्झन्छ
अनि उसले पनि ओलीबाट शर्मा लेख्छ
कहिले मादल र बाँसुरी बजाउँछ
कहिले मुर्चुङ्गा र सारङ्गी बजाउँछ
मञ्च पायो भने अन्ट न सन्ट बोल्छ
कहिले टुँडिखेल तिर आउँछ
अहो किन यो चौर खाली भएको भन्छ
कहिले सिंहदरबार छिर्छ
अहो बालकोट भन्दा साँगुरो भो भन्छ
अनि बालुवाटार जान्छ
र यहीँ हो मेरो घरबार भन्छ
म नै पार्टी हुँ भन्छ
पार्टी कार्यालय पनि यहीँ हो भन्छ
म नै सत्ता र सरकार हुँ भन्छ
श्री ५ भन्दा श्री ३ ठूलो हो भन्छ
मेरा विरोधी सबै मूर्ख हुन् भन्छ
म नभए देसै रहँदैन भन्छ
मैले छोड्न परे कुर्सी भाँचिदिन्छु भन्छ
मैले चाहे देशै बेचिदिन्छु भन्छ
हो मेरो देशमा
एउटा कमेडी जंगबहादुर जन्मिएको छ ।।

मिति : २०७७ माघ २९ गते । हाल राजबन्दी – धनगढी कारागार, कैलाली

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :