स्वाभिमान सपनाहरूको सङ्गीतसँगै

उनका शासनका तराजुले
आफ्नै टाउकाको मूल्य तोक्दा
गोलीले छ्यान्द्रा पारेका छातीहरूले
ढल्न नदिई स्वाभिमान बोक्दा
जुन सपनाहरू फुलाएका थियौँ
आज तिनै सपनाहरूको लिलामी बोल्दै
तिमीजस्तै लाचार बनेर
मठअघि हाजिर भएका छैनौँ
उनैको जुठोपुरोको आशामा
तिनैको भतेरअघि लाचार उभिएका छैनौँ ।
तिमीले जस्तै
लाजको लगौँटी घाममा सुकाएर
कुस्तीखानाको पहलवान दाबी गरेका छैनौँ
फूलपातीसहित आफैँ टाउको चढाएर
मूर्कट्टा बनी उनैको आसनछेउ बसेका छैनौँ
बाटाहरू जटिल भए पनि
दुःख, भोक र मृत्यु सहे पनि
सपनाका थँुगाहरूको
आफैँ कत्लेआम गरेका छैनौँ
आफ्नै पेटका नानीहरूलाई
निर्मम बनेर सिस्नोघारी फालेका छैनौँ
आफैँ हिँडेको पैतालाका रगत बिर्सेर
बासी सत्तासँगै
रगत बफाइएका मदिराको चेयर्स गरेका छैनौँ
हिजो
आँखा निकालेर जुनेली मारिँदै गर्दा
हेर्न चाहेको संसार बिर्सेका छैनौँ
ढिकीले कुटी छ्यान्द्रा पारिदिंदै गर्दा कोरेको
लिम्पिया र सुस्ताको मानचित्र बिर्सेका छैनौँ
तातो पानीमा उमाल्दै गर्दा खनाल बाले
गाउँदै गरेको अमरगीत बिर्सिएका छैनौँ
आफ्ना सपना बेपत्ता हुन नदिन
स्वयं बेपत्ता बनेका बेनोजहरू बिर्सिएका छैनौँ
ज्यूँदै पुर्दा नपुरिएका
ज्यूँदै बगाउदा नबगेका
दुध चुस्दै गरेको बच्चासहित
बिदा भएका फूलमायाहरू बिर्सेका छैनौँ
हो महोदय, हामीलाई थाहा छ
शरि गिडिनु पराजय होइन
शिर बेचिनु पराजय हो
शिर झुक्नु पराजय हो
त्योभन्दा ठूलो
शिर आफैँले चढाउनु पराजय हो ।
हामी पराजित होइनौँ
पराजय स्वीकार गरेका छैनौँ
हामी कायर होइनौँ
मैदान छोडेर भागेका छैनौँ
इतिहासमा सबैभन्दा ठूलो कायरता हो
आफ्नै सपनाहरू लावारिस छोडेर बरालिनु
इतिहासमा सबैभन्दा ठूलो पराजय हो
आफ्नै सपनाका लालावाला दुश्मनलाई बुझाउनु
इतिहासको सबैभन्दा ठूलो अश्लीलता हो
आफूले सिँचिएका सपना कुहाएर आफू जाग्नु
इतिहासको सबैभन्दा ठूलो बेइमानी हो
आफ्नै सपनाहरूको लिलामी आफैँले बोल्नु
त्यसैले
हामी हिँडिरहनेछौँ अनन्तसम्म
हामी लडिरहेछौँ निरन्तर
हाम्रा सपना विजेता नबनेसम्म
लक्ष्यसँग आलिगन गर्ने रहर बोकेर
चोट, घाम, पहिरो
पसिना र प्यासलाई साथी बनाएर
रगताम्य पैतलाहरूले बाटो नाप्दै
कैयौँपटक लडे पनि
फेरि उठेर साहस बटुल्दै अघि बढिरहेका छौँ हामी
त्यसैले यो मध्यरात
अनिँदो हिँडिरहेछौँ निरन्तर
ताजा सपनाहरूको उत्प्रेरणा बोकेर
यी सपनाहरू मुस्कुराइरहेछन् हामीसँगै
लक्ष्यको चुली नपुगेसम्म
यी सपनाहरू भर्भरमाइरहेछन् हामीसँगै
समाजवादको सँघारसम्म ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :