भागरथी र निर्मलाहरु

कविता

भागरथी र निर्मलाहरु

ए भागरथी भट्टहरू हो
ए निर्मला पन्तहरु हो
ए माया बिकहरु हो
ए मैना सुनारहरु हो
तिम्रो चिरहरण गर्नेहरू
तिम्रा बलात्कारी हत्याराहरू
को हुन भन्ने कुरा
की तिमीहरूले चिनेका छौँ
की राज्यले चिनेको छ
तिम्रो पक्षमा आवाज उठाउनेहरुले
तिम्रो न्यायको माग गर्नेहरूले
न हत्यारा चिन्न सकेका छन्
न चिनेर पनि भन्न सकेका छन्
न तिमीहरू आएर भन्न सक्छौँ
न राज्यले यो कुरा भन्न चाहन्छ
किनकी
राज्य आफैँ बलात्कारी छ
आफै अपराधी छ
आफै हत्यारो छ
त्यसैले
ए भागरथीहरु हो
ए निर्मलाहरु हो
जबसम्म यो वर्गीय राज्य रहन्छ
तबसम्म तिमीहरूले न्याय पाउने छैनौँ
जबसम्म यो अन्यायको राज
दलाल पुँजीवाद रहिरहन्छ
तबसम्म भागरथीहरु बलात्कृत भइरहनेछन्
निर्मलाहरु बलात्कृत भइरहनेछन्
यिनका बलात्कारी जन्मिरहनेछन्
जबसम्म दलाल पुँजीवादी सत्ता रहन्छ
तबसम्म उपभोक्तावादी संस्कृति जन्मिरहनेछ
भोगबादी पुरुषत्व जन्मिरहनेछ
यौन मनोविकार जन्मिरहनेछ
विकृति छाडा संस्कृति जन्मिरहनेछ
किनकी
अपराध जन्माउने जनता होइन
सत्ता हो
अपराध समाजमा होइन
सत्तामा हुन्छ
भागरथी र निर्मलाहरुको
माया र मैनाहरुको
बलात्कार र हत्याको नेतृत्व
बालुवाटारले गरिरहेको छ
त्यसको संरक्षण
शीतल निवासले गरिरहेको छ
दोषी त त्यसको प्रतिनिधि पात्र मात्रै हो
त्यसैले
ए न्याय माग्ने अभियन्ताहरु हो
ए अपराध शास्त्रीहरु हो
ए कानुनी अध्यताहरु हो
ए न्यायको आवाज बोक्नेहरु हो
ए सुशासनका नारा लगाउनेहरू हो
बलात्कारीको अनुहार हेर्ने हो भने
बालुवाटार जाऊ
बलात्कारीको संरक्षक हेर्ने हो भने शीतनिवास जाऊ
अपराधी खोज्ने हो भने
प्रहरी कार्यालय जाऊ
अपराधीको अनुहार हेर्ने हो भने
गृहमन्त्रालय जाऊ
अन्याय हेर्ने हो भने
अदालत जाऊ
अन्यायको अनुहार हेर्ने हो भने
सिंहदरबार जाऊ
भ्रष्टाचार र अनियमितता हेर्ने हो भने
विकासे अडाहरू जोमा जाऊ
अपराध कानुनका पानाहरूमा नखोज
अपराधको समाधान
कडा कानुन बनाएर गर्न नखोज
भागरथी र निर्मलाका अपराधीहरू
जनता र समाजमा नखोज
बरु
तिमी सवार पुँजीवादको बग्गीमा खोज
राज्यको चरित्रमा खोज
शासकको मानसिकतामा खोज
यसलाई जन्मदिने
दर्शन र विचारधारामा खोज
तिमीले अनुसरण गरेको
पुँजीवादी संस्कृति र जीवनशैलीमा खोज
अनि वर्गीय सत्ता बदल्ने आँट गर
अन्यायको राज पल्टाउने शाहस गर
तब मात्र हाम्रा
भागरथी र निर्मला जस्ता
हजारौँ चेलीहरुले न्याय पाउने छन्
भविष्यमा यस्तो नहुने मुक्ति पाउनेछन् ।।।

२५ माघ, २०७७ हाल कैलाली कारागार –राजबन्दी

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :