भागिरथी भट्टको हत्याविरुद्ध विभिन्न संगठनद्वारा कडा कारवाहीको माग

भागिरथी भट्टको हत्याविरुद्ध विभिन्न संगठनद्वारा कडा कारवाहीको माग

काठमाडौँ : बैतडीको दोगडाकेदार गाउँपालिकास्थित सनातन धर्म माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत १७ बर्षीया विद्यार्थी भागरथी भट्टको हत्याबारे तत्काल सत्यतथ्य छानविन गरी हत्यारालाई कडा कारवाही गर्न नेकपा निकट जनवर्गीय संगठन लगायत विभिन्न विद्यार्थीहरूले माग गरेका छन् ।

अखिल (क्रान्तिकारी) पृथ्वी नारायण क्याम्पस जिल्ला समिति पोखराका अध्यक्ष उपेन्द्र परियारले एक प्रेस विज्ञप्ति जारी गरि भागरथीलाई न्याय नदिए सम्पूर्ण प्रगतिशिल विद्यार्थीहरुले कलमलाई हतियारमा रुपान्तरण गर्दै विरोधमा उत्रने चेतावनी दिएका छन् ।

यसैगरी अखिल नेपाल महिला संघ क्रान्तिकारी सेती–महाकाली क्षेत्रीय समन्वय समितिले बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका–०७ सनातन धर्म माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको हत्यारालाई कारवाही गर्न संघर्षमा उत्रिन अपिल गरेको छ । संगठनकी ब्युरो संयोजक पुर्णिमा धामीले शुक्रबार एक वक्तव्य जारी गर्दै मानवीय समवेदनाका सम्पूर्ण मुल्यमान्यताहरुको देहावसान गराउने यस्तो क्रुर, हिंस्रक र जघन्य अपराधको घटनामा संलग्न अपराधीलाई कठोर सजाय दिन माग गरेकी छन् ।

वक्तव्यमा भनिएको छ, ‘मानविय समवेदनाका सम्पूर्ण मुल्यमान्यताहरुको देहावसान गराउने यस्तो क्रुर, हिंसक र जघन्य अपराधको घटनामा संलग्न अपराधीलाई कठोर सजाय माग गर्दछौं । साथै सम्पूर्ण महिला दिदीबहिनीहरु र आम जनसमुदायलाई यस्तो अभिव्यक्त गर्न नसकिने पिडादायी र क्रुर महिला हिंसाका घटनाहरु सधैंका लागि समाप्त पार्ने संघर्षमा उत्रिन अपिल गर्दछौं ।’

बैतडीको दोगडाकेदार गाउँपालिकास्थित सनातन धर्म माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत १७ बर्षीया विद्यार्थी भागरथी भट्टको हत्याबारे तत्काल सत्यतथ्य छानविन गरी हत्यारालाई कडा कारवाही गर्न ७ विद्यार्थी संगठनले पनि माग गरेका छन् । शुक्रबार सात विद्यार्थी संगठनले संयुक्त वक्तव्य जारी गर्दै घटनाले स्तब्ध बनाएको भन्दै बुधवार घरबाट विद्यालय गएकी भागरथी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर शव हत्या गरी फालिएको अवस्थामा जङ्गलमा फेला परेको र उनको बलात्कारपछि हत्या गरिएको आशंका गरिएको बताइएको छ ।

वक्तव्यमा नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सह–महामन्त्री अच्युतराज कलौनी अनेरास्ववियु केन्द्रीय सदस्य गणेश सिंह ऐरी, अखिल (क्रान्तिकारी) सेती–महाकाली संयोजक विरेन्द्र शाह, रा.प्र.वि. सं.का केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम इन्चार्ज उमेश विष्ट, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव भरत लिसानी, अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश कार्यबाहक संयोजक पुष्कर जोशी र अखिल (छैठौं) सुदूरप्रदेश सदस्य पुष्कर भट्टले वक्तव्यमा हस्ताक्षर गरेका छन् । वक्तव्यमा भनिएको छ, ‘उक्त घटनाको सत्यतथ्य छानबिन गरि सारा मानवीय मुल्य मान्यतामाथि चुनौती खडा गर्ने यस्तो हिंस्रक र अपराधी घटनामा संलग्न दोषीलाई छिटोभन्दा छिटो कानुनी कठघरामा उभ्याई हदै सम्मको कारवाहीका लागि सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :