पुँजीवादी शिक्षाको विकल्प समाजवादी शिक्षा

पुँजीवादी शिक्षाको विकल्प समाजवादी शिक्षा

शिक्षा मानवजातिले हजारौँ वर्षको व्यवहार, प्रयोग र अनुसन्धानबाट संश्लेषण गरेको ज्ञान हो । अर्को अर्थमा शिक्षा भनेको मानिसले सामाजिक रूपान्तरणका लागि समाजमा र बाँच्नका लागि गरिने सङ्घर्षबाट प्राप्त अनुभव हो । शिक्षा चेतना हो जसले समाज र राज्यलाई बदल्न सहयोग पुर्याउँछ । शिक्षा राजनीति र अर्थनीतिको प्रतिबिम्बन हो । कुनै पनि मुलुकको शिक्षाप्रणाली त्यो मुलुकको राजनीति र अर्थनीतिअनुरूपको हुन्छ । नेपालको वर्तमान राजनीतिक प्रणाली दलाल पुँजीवादी रहेको छ । तसर्थ नेपालको शिक्षा दलाल पुँजीवादी सत्ताको निर्देशन, नियन्त्रण र नेतृत्वमा सञ्चालित छ । नेपालको शिक्षाप्रणाली परम्परागत, रूढिवादी चिन्तनमा आधारित र वैदेशिक पुँजीवादको खिचडीमा आधारित दलाल पुँजीवादी शिक्षाप्रणाली हो । वर्गीवभाजित समाजमा शिक्षा पनि वर्गीय नै हुन्छ । राज्यसत्ताले जुन वर्गको प्रतिनिधित्व गर्दछ, सोही वर्गको सेवा र रक्षा गर्ने गरी शिक्षाप्रणाली लागू गरिएको हुन्छ । वर्गीय दृष्टिकोणअनुसार दुनियाँमा अहिले विद्यमान पुँजीवादी शिक्षाप्रणाली र वैकल्पिक दृष्टिकोणअन्तर्गतको समाजवादी शिक्षाप्रणालीको बहस हुने गरेको छ ।

नेपालको अहिलेको शिक्षाप्रणाली पूर्ण रूपमा ठीक छ भनेर जिकिर गरेको त पाइँदैन तर यही शिक्षाप्रणालीमा आंशिक सुधारको बहस उठाएर दलाल पुँजीवादी शिक्षाप्रणालीलाई दीर्घजीवी बनाउन मुठीभर पुँजीपति वर्ग र शिक्षाका व्यापारीहरूले चतुर्याइँपूर्ण चालबाजी भने गरिरहेका छन् । हाम्रो सङ्गठन अनेरास्ववियू (क्रान्तिकारी) नेपालमा विद्यमान दलाल पुँजीवादी शिक्षाको आंशिक सुधार होइन, आमूल रूपान्तरण गरेर वैज्ञानिक समाजवादी शिक्षाका पक्षमा बहस र सङ्घर्षको नेतृत्व गरिरहेको छ । यो लेखमा पुँजीवादी शिक्षाप्रणाली किन गलत छ र विकल्पमा समाजवादी शिक्षाको आवश्यकता किन ? भन्ने प्रश्नहरूमा केन्द्रित रहने प्रयास गरिएको छ ।

पुँजीवादी शिक्षाका खराबीहरू

शिक्षा विचार हो र यो वर्गीय हुन्छ । पुँजीवादी शिक्षा सबैका लागि शिक्षा भनिए, लेखिए पनि कार्यान्वयनमा मुठीभर पुँजीपति वर्गको मात्र भविष्य सुनिश्चित गर्ने, पैसा हुनेले मात्र पढ्न पाउने शिक्षा हो । पुँजीवादी शिक्षाप्रणालीको खराबीबारे अझ प्रस्ट हुन निम्नानुसार तथ्य प्रस्तुत गर्न सकिन्छ :

क) श्रमबाट अलग गरिएको हुन्छ

लेनिनको शब्दमा ‘पुँजीवादी शिक्षाको आधारभूत कमजोरी भनेकै शिक्षालाई श्रमबाट अलग्याउनु हो ।’ पुँजीवादी शिक्षाले विद्यार्थीलाई श्रम गर्ने बानी छुट्ट्याइदिएर उनीहरूलाई जागिर गर्ने मान्छेका अलावा अरू कुनै पनि कामका लागि काम नलाग्ने बनाइदिन्छ । विद्यार्थीले शिक्षा लिनु भनेको जागिर खानलाई जस्तो मात्र भएको छ । पुँजीवादी शिक्षाले किताबी ज्ञान मात्र दिन्छ, कल्पनावादी विषयहरू पढाउँछ, खोक्रो आदर्श सिकाउँछ जसले गर्दा विद्यार्थी जीवनसँगको वास्तविकताबाट टाढा हुन्छ । श्रम गर्न लाज मान्ने र सुकिलोमुकिलो हुनुमा प्रतिष्ठा ठान्छ । पुँजीवादी शिक्षाले श्रमसँग नजोड्ने भएकाले उत्पादित जनशक्तिलाई उद्यमशील र सिर्जनशील बनाउँदैन । शिक्षालयहरू बेरोजगार उत्पादन गर्ने भट्टीमा परिणत हुन्छन् ।

ख) निजीकरण र चरम व्यापारीकरणले शिक्षा असमान र विभेदयुक्त भएको छ

नेकपाका महासचिव क. विप्लव भन्नुहुन्छ, ‘पुँजीवादले सबै वस्तुलाई व्यापार र पैसा आर्जन गर्ने वस्तु बनाउँछ । सोही चरित्रअनुसार नै पुँजीवादले शिक्षालाई पनि पैसा कमाउने वस्तुमा बदलेको छ ।’ क. विप्लवले भन्नुभएझैँ नेपालको शिक्षा शिक्षा–व्यापारीको पैसा कमाउने व्यापार भएको छ । शिक्षा विशाल बजारमा बदलिएको छ । विद्यालय, क्याम्पसहरू सुपरमार्केट र कम्प्लेक्सजस्ता भएका छन् जहाँ पैसाको तौलअनुसार कथित फरक स्तरको शिक्षा किनबेच हुन्छ । शिक्षा साधारण जनताको पहुँचभन्दा बाहिर गएको छ । शिक्षा पुँजीपति वर्गको विशेष अधिकार नै भएको छ । कानुनी हिसाबमा प्रतिबन्ध नलगाइएको भए पनि व्यवहारमा शिक्षालाई महँगो बनाएर पैसा नहुनेलाई बन्देज लगाइएको छ । प्राविधिक र उच्च शिक्षा त झन् पैसा नहुनेका लागि आकाशको फल नै भएको छ ।

ग) उद्देश्य गलत हुन्छ

क्रुप्स्कायाका अनुसार ‘पुँजीवादी विद्यालयमा विद्यार्थीलाई होसियारीपूर्वक ढङ्ग पुर्याएर, टिकेर काम गर्ने गुण विकसित गर्न ध्यान दिइन्छ तर सोच्ने, विचार गर्ने, नियाल्ने र निष्कर्ष निकाल्ने उनीहरूको क्षमता भने हरतरहले दबाइन्छ ।’ तसर्थ पुँजीवादी शिक्षाको उद्देश्य आलोचनात्मक र स्वतन्त्र चेतना भएको स्वाभिमानी नागरिक उत्पादन गर्ने होइन, बरु पुँजीपतिहरूलाई चाहिने तालिम प्राप्त शिक्षित, आज्ञाकारी र अनुशासित कामदार मात्र तयार गर्नु हो । पुँजीवादी शिक्षाले राष्ट्रको नेता, उद्यमी बन्न सिकाउँदैन, पुँजीपतिहरूका निम्ति चाहिने नोकर बन्न प्रेरित गर्दछ र विद्यार्थीको चौतर्फी क्षमताको विकासमा अवरोध उत्पन्न गर्दछ । पुँजीवादी शिक्षाले सबैको भाग्य ईश्वरको इच्छामा निर्धारण हुन्छ, जे भइरहेको छ ईश्वरको इच्छामा भएको हो, त्यो ठीक छ भन्ने कुरा जबर्जस्ती विद्यार्थीको दिमागमा घुसाउँछ र विद्यार्थीलाई सङ्घर्ष गर्नबाट विमुख गराइन्छ । पुँजीवादी शिक्षाको मुख्य कार्यभार भनेको विद्यार्थीलाई वर्गीय चेतनाबाट विमुख गराएर पुँजीवादी सत्ता चलाउन सजिलो बनाउने हो ।

घ) वैदेशिक हस्तक्षेप

पुँजीवादी शिक्षाले नवउदारवादी पुँजीवादका पक्षमा वकालत गर्ने भएकाले शिक्षामा वैदेशिक लगानीलाई स्वीकार गर्दछ । शिक्षामा वैदेशिक लगानी सर्तसहित आउँछ । सर्तसहितको सहयोग वा लगानी स्वीकार गर्दा शिक्षाले राष्ट्रिय चरित्र गुमाउँछ । शिक्षाको चरित्र राष्ट्रिय भएन भने मान्छेको चेतना पराधीन बन्छ । देशको शिक्षानीति राष्ट्रिय आवश्यकतामा भन्दा अन्तर्राष्ट्रिय दातृ निकाय र लगानीकर्ताको इच्छा र इशारामुताबिक बन्ने हुन्छ जसले गर्दा राष्ट्रिय भाषा, मातृभाषामा ह्रास त ल्याउँछ नै, शिक्षा प्रतिभा र पुँजी पलायन गर्ने माध्यम पनि बन्न पुग्छ ।

ङ) गलत मूल्याङ्कनप्रणाली

पुँजीवादी शिक्षाप्रणालीमा धेरैभन्दा धेरै विद्यार्थी असफल बनाउने र सीमित वर्गकालाई मात्र शिक्षाको अवसर दिने मूल्याङ्कनपद्धति अवलम्बन गरिएको हुन्छ । समाज वर्गीय छ तसर्थ अवसर पनि असमान छ । पुँजीवादी शिक्षामा समान प्रतिस्पर्धा र मूल्याङ्कनप्रणाली लागू गर्नु भनेको निम्नवर्गका कम अवसर पाएकालाई असफल बनाएर शिक्षाबाट वञ्चित गर्ने र मुठीभर पैसा भएकाहरूको एकाधिकार कायम गर्ने षड्यन्त्र नै हो । पुँजीवादी शिक्षामा मूल्याङ्कन, पुरस्कार, सजाय प्राप्ताङ्कले विद्यार्थीका बीचमा आपसमा प्रतिस्पर्धा गराएर भातृत्वको भावना नष्ट गर्छ र ईष्र्यालु बनाउँछ । आजको शिक्षा विद्यार्थीको रुचिको विषय भन्दा पनि जागिर खानुपर्ने र शिक्षित बन्नुपर्ने बाध्यताले मात्र विद्यालय र क्याम्पस जाने गरेको देखिन्छ । घोकेर, रटेर परीक्षा दिनुपर्ने परीक्षाप्रणालीले विद्यार्थीका लागि परीक्षा डराउने विषय भएको छ । विद्यार्थीको दिमागमा परीक्षामा असफल हुने डर उत्पन्न गरिदिएर शिक्षाका व्यापारीले ट्युसन, होस्टल, कोचिङलगायत नाममा व्यापार बढाएका छन् र अभिभावकलाई लुटिरहेका छन् ।

विकल्पमा समाजवादी शिक्षा

जनतालाई शोषणरहित, मुक्त, समान, नयाँ भविष्यतर्फ अग्रसर गराउने शिक्षा समाजवादी शिक्षा हो । यो वैज्ञानिक, समान, व्यावहारिक र जीवन उपयोगी हुन्छ । समाजवादी शिक्षाले मानवजातिलाई स्वतन्त्र र सिर्जनशील बन्न सिकाउँछ । पुँजीवादी शिक्षाको विकल्पमा समाजवादी शिक्षा आमजनताका लागि निम्नकारणले अपरिहार्य र सही छ :

क) समान शिक्षा

‘शिक्षा सिङ्गै मानवजातलिे हजारौँ वर्षको अनुभव र अनुसन्धानबाट प्राप्त गरेको ज्ञान हो । त्यसैले यो कुनै व्यक्तिविशेष र समूहविशेषको मात्र पुँजी हुन सक्दैन । केही मुठीभर तत्वहरूको मात्र कब्जा हुनु हुँदैन । शिक्षामा सबै नागरिकहरूको समान हक हुनुपर्दछ ।’

क. विप्लव

समाजवादी शिक्षा राज्यको दायित्वभित्र हुन्छ । शिक्षामा निजीकरण र विभेदीकरणको अन्त्य गरिन्छ । समाजवादी शिक्षाप्रणालीमा शिक्षा हरेक नागरिकको नैसर्गिक अधिकारका रूपमा कार्यान्वयन गरिन्छ । हरेक नागरिकले समान अवसरसहितको शिक्षा प्राप्त गर्ने सुनिश्चितता गरिन्छ । राज्यको उच्च ओहोदामा रहेकाका सन्तान र साधारण नागरिकको सन्तान अध्ययन गर्ने शिक्षालय एकै स्तरको हुन्छ । शिक्षामा भइरहेको वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक सबै किसिमको विभेद खारेज गरिन्छ ।

ख) उत्पादनमूलक श्रमसँग जोडिएको शिक्षा

माक्र्सको विचारमा श्रमले मानिसलाई पूर्ण बनाउँछ । माक्र्सले श्रमबिनाको शिक्षालाई बेकम्मा भन्नुभयो । समाजवादी शिक्षाप्रणाली उत्पादनमूलक श्रमसँग जोडिने शिक्षा हो । श्रमसँग जोडिएको शिक्षाले व्यावहारिक जीवन र पुस्तकबीचको गहिरो खाडल पुर्दछ । विद्यार्थीलाई उद्यमी र सिर्जनशील बनाउँछ । बेरोजगारीको समस्या हल गर्छ र नागरिकलाई आत्मनिर्भर र स्वाभिमानी बनाउँछ । श्रमप्रति सम्मानभाव पैदा गराउँछ । उत्पादनमूलक श्रम शिक्षाबाट आर्जित ज्ञान भविष्यका लागि मात्र होइन, वर्तमानमा समेत उपयोग गर्न सकिन्छ । यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने श्रमसँग जोडिएको शिक्षाको कुरा गर्दा समाजवादी शिक्षाले बालश्रम शोषणको विरोध गर्दछ तर विद्यार्थीको चौतर्फी विकासशील श्रम गर्ने कुराको समर्थन गर्दछ । उत्पादनमूलक श्रम शिक्षाले राष्ट्रिय उत्पादनमा वृद्धि गराउँछ जसले निर्यातमा वृद्धि भई राष्ट्रिय समृद्धिमा सहयोग पुर्याउँछ ।

ग) श्रमजीवीको हित गर्ने उद्देश्य

शिक्षा वर्गीय भएपछि उद्देश्य पनि वर्गीय नै हुन्छ । समाजवादी शिक्षाको उद्देश्य बहुसङ्ख्यक श्रमजीवी वर्गको हित गर्नु हो । समाजवादी शिक्षाको उद्देश्य विद्यार्थीको चौतर्फी विकास गरेर आफ्नो अधिकारप्रति सचेत, अन्यायका विरुद्ध सङ्घर्ष गर्नसक्ने स्वतन्त्र र आलोचनात्मक चेतना भएको सशक्त नागरिकको निर्माण गर्नु हो । विद्यार्थीलाई श्रम गर्न प्रोत्साहन गरेर आत्मनिर्भर बनाउने, राष्ट्रिय उत्पादन बढाएर राष्ट्रलाई समृद्ध र आत्मनिर्भर बनाउने उद्देश्य समाजवादी शिक्षाले राख्छ । समाजवादी शिक्षाको मुख्य उद्देश्य आमजनतामा सामूहिक भावनाको विकास गरेर समाजमा समानता र समता कायम गर्नु हो ।

घ) राष्ट्रिय चरित्रसहितको वैज्ञानिक शिक्षा

समाजवादी शिक्षाप्रणालीमा शिक्षा राष्ट्रिय चरित्रको हुन्छ । देशको शिक्षानीति र पाठ्यक्रम राष्ट्रिय आवश्यकताका आधारमा निर्माण गरिन्छ । मातृभाषामा पढ्न पाउने व्यवस्था, विविध संस्कृतिको संरक्षण र वैज्ञानिकीकरण गर्ने नीति अख्तियार गरिन्छ । देशको प्राकृतिक स्रोतसाधनको उपयोग गरिन्छ । शिक्षामा वैदेशिक हस्तक्षेप निषेध गरिन्छ । गुणस्तरीय शिक्षाका नाममा विदेशीको हुबहु नक्कल गरिँदैन तर विज्ञान र प्रविधिको विकासलाई भने आत्मसात गरिन्छ । समाजवादी शिक्षाले प्रकृति विज्ञान र समाज विज्ञानलाई जोड्छ । समाजवादी शिक्षा क. माओले भन्नुभएझैँ जनताबाट सिक्ने कुरामा विश्वास राख्दछ । तसर्थ यो व्यावहारिक र वैज्ञानिक हुन्छ । समाजवादी शिक्षाले नागरिक र विद्यार्थीलाई अप्रमाणित काल्पनिक, ईश्वरीय, अध्यात्मवादी, अन्धविश्वासी चेतना निर्माण गर्ने शिक्षालाई खारेज गरेर तथ्यद्वारा प्रमाणित विज्ञानमा आधारित शिक्षा प्रदान गर्दछ र वैज्ञानिक चेतनाको विकास गराउँछ । प्रकृति, मानवसमाज र राज्य व्यवस्थाका बारेमा सही ज्ञान दिने वैज्ञानिक शिक्षा प्रदान गरिन्छ ।

ङ) स्वतन्त्र शिक्षणविधि र रचनात्मक मूल्याङ्कन प्रणाली

समाजवादी शिक्षाप्रणालीमा विद्यार्थीको इच्छा र आवश्यकतामा आधारित स्वतन्त्र शिक्षणविधि अवलम्बन गरिन्छ । घोक्ने, किताबी ज्ञानमा जोड दिने, विद्यार्थी निष्क्रिय स्रोता हुने परम्परागत शिक्षणविधिको विकल्पमा विद्यार्थीले आफ्नो अनुभव, प्रयोग, अन्तरक्रिया र अनुसन्धानबाट सिक्ने रचनात्मक स्वतन्त्र शिक्षणविधि अवलम्बन गरिन्छ । विद्यार्थीलाई दिइएको समस्याको समाधान विद्यार्थी आफैँलाई खोज्न लगाउने पद्धति लागू गरिन्छ ।

समाजवादी शिक्षामा मूल्याङ्कन, विद्यार्थीलाई असफल गराउन, असफल हुने डर उत्पन्न गरेर तर्साउन नभएर विद्यार्थीको रचनात्मक क्षमता र व्यक्तित्व विकास गर्नका लागि हुनुपर्छ भन्ने मान्यता राखिन्छ । परीक्षा लिनु पर्दैन, मूल्याङ्कन घोकेर कति लेख्न सक्छ भन्ने आधारमा होइन, विद्यार्थीको रचनात्मकता, प्राप्त ज्ञानको व्यवहारमा प्रयोग, अनुसन्धानप्रतिको लगाव, क्रियाशीलता, श्रम, सामाजिक प्रभावका आधारमा गरिन्छ । मूल्याङ्कनकर्ता शिक्षक मात्र हुँदैन, सहपाठी, अभिभावक, समाज र स्वयम् विद्यार्थीलाई मूल्याङ्कनकर्ता मानिन्छ । समाजवादी शिक्षाको मूल्याङ्कनप्रणालीले विद्यार्थीलाई सिर्जनशील, रचनात्मक, क्रियाशील र सबैलाई सफल बनाउन सहयोग गर्दछ ।

निष्कर्ष

उल्लिखित विषयहरूका आधारमा समाज, राष्ट्र र मानवसभ्यताका लागि चाहिने वैज्ञानिक शिक्षा समाजवादी शिक्षाप्रणालीबाट मात्र सम्भव छ । मानवजातिले अहिलेसम्म प्राप्त गरेको ज्ञान र अनुभवका आधारमा समाजवादी शिक्षाप्रणाली नै आजको सदीसम्मको उत्कृष्ट शिक्षाप्रणाली हो । मानवजातिको भविष्यको सुनिश्चिततासँग जोडिएको अपरिहार्य आवश्यकता पनि हो । तसर्थ विद्यमान दलाल पुँजीवादी शिक्षाप्रणालीको विकल्पमा समाजवादी शिक्षाप्रणालीका लागि सङ्घर्ष गर्नुको विकल्प छैन । यहाँ स्मरणीय कुरा के छ भने शिक्षा राज्यसत्ताको चरित्रअनुरूपको हुने हुँदा समाजवादी शिक्षाप्रणाली लागू गर्न वैज्ञानिक समाजवादी व्यवस्था हुन जरुरी छ । तसर्थ वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका लागि सङ्घर्ष गर्नु हाम्रो सङ्गठन अनेरास्ववियू (क्रान्तिकारी) र सम्पूर्ण श्रमजीवीको प्रमुख दायित्व हुन जान्छ ।

(लेखक अनेरास्ववियू क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य हुन्– सम्पादक ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :