संस्मरण : स्मृतिमा प्रज्वल

प्रज्वल ! नाम उच्चारण गर्नसाथ हँसिलो गहुगोरो मुहार आँखामा झलझली आउँछ । त्यो दिन म सम्झन चाहन्न जुन दिन हामीले प्रज्वललाई गुमाएका थिएउँ, तर मेरो मानस्पटलमा त्यो दिन एउटा अप्रिय सपना बनेर दोहोरिरहन्छ । लामो समयसम्म सहकार्य गर्ने अवसर त मिलेन तर जति सहकार्य गरेउँ त्यो अविस्मरणीय छ । एउटै संगठनमा हुनुले सहयोद्धाको सम्बन्ध त छँदै थियो, तर हामीबीच प्रगाढ मित्रता पनि थियो । प्रज्वललाई सम्झन्छु मित्रताप्रतिको हार्दिकता, क्रान्तिप्रतिको दृढ निष्ठा, संघर्षमा साहस सायदै व्यक्तिमा होला । आज प्रज्वलको स्मृति दिवस, प्रज्वलको स्मृतिमा लेखिरहेको छु तर मेरो मन अनि यो कलम चलाउँदै गरेको हात विश्वास गर्न मानिरहेको छैन । विडम्बना ! यथार्थलाई नकार्न सकिदैन । यो सत्य स्वीकार्नु बाहेकको विकल्प मसँग छैन ।

क्रान्तिको मार्गमा पाइला राख्नु बित्तिकै शासकको कडा दमन, यातना र आतंक भोग्नुपर्छ । व्यक्तिगत जिन्दगी ध्वस्त हुनसक्छ, मृत्युवरण गर्नुपर्ने हुनसक्छ हामीलाई थाहा थियो । मित्र प्रज्वल र हामी सचेततापुर्वक दलाल पुँजीवादी व्यवस्थाको अन्त्य र मानवजातीको स्वर्णिम व्यवस्था वैज्ञानिक समाजवाद प्राप्त गर्ने सुन्दर सपनाद्वारा प्रेरित भएर चुनौतीको कठिन मार्ग स्वीकार गरेरै एकीकृत जनक्रान्तिको यात्रामा सहयात्री थिएउँ । क्रान्तिले बलिदानी माग्छ तर मित्र प्रज्वल महान् बन्नुभयो । कयौं आशङ्काहरुलाई मिथ्या सावित गरिदिनुभयो र आफूलाई अब्बल सावित गर्नुभयो । क्रान्तिकारी बन्ने स्पर्धामा हामी सबै थिएउँ प्रज्वल महान् बन्नुभयो । समकालीन थिएउँ, प्रज्वल अग्रज बन्नुभयो । सहयोद्धा थिएउँ, श्रदेय बन्नुभयो । हामी सबै योद्धा थिएउँ, प्रज्वल महान् सहिद बन्नुभयो । हामी सबै क्रान्तिमा बाँच्ने संघर्षमा थिएउँ तर प्रज्वल अमर बन्नुभयो । स्वार्थ, लोभ, पद सबै बेकार हो । त्याग समर्पण र बलिदानी महत्वपूर्ण हो भनेर सावित गरिदिनुभयो ।

प्रज्वलको सहादत आकस्मिक घटनाको परिणाम मात्र होइन, नेपालमा क्रान्ति सम्पन्न भएपछि सम्पूर्ण श्रमजीवी जनता शोषण, उत्पिडनबाट मुक्त हुनेछन् भनेर सपना देखाएर हातमा बन्दुक थमाएर आफू चैं पद, प्रतिष्ठा र पैसाको लागि सबै संघर्ष, हजारौंको बलिदानी र उपलब्धिलाई बेचेर खाएका गद्दारहरुको घातको परिणामद्वारा सिर्जित हत्या थियो । हिजोका कमरेडहरु दलाल शासकमा विकृत भइसकेपछि कुहिएको अण्डाभन्दा खराब भएछन् । राजनीतिक रुपमा दलाल पुँजीवादसँग आत्मसमर्पण गरेर सामाजिक दलाल पुँजीवादमा विकृत भएपछि मृत्युुमा सहानुभूति मानवीय स्वभाव हो तर दलाल शासकहरु मित्र प्रज्वल लगायतको सहादतमा खिस्सि गरिरहेका थिए । त्यति मात्र होइन रगतको होली खेलेर कुर्सीमा विराजमान हुन पल्किएका नयाँ महाराजहरु क्रान्तिकारीहरुको हत्या गर्न हौसिएका छन् । मित्र प्रज्वलको सहादत पछि कुमार पौडेल, निरकुमार राई लगायतको क्रान्तिकारी योद्धाहरुको निर्ममतापूर्वक हत्या गरिसकेका छन् । आफैंले बनाएको संविधान विपरीत क्रान्तिकारी विचार र आस्थामाथि प्रतिबन्ध गरेर क्रान्तिकारीहरुलाई झुट्टा मुद्दा लगाई दमन, धरपकड र गिरफ्तारी गरेर आफ्नो घिनलाग्दो फासिवादी चरित्र प्रदर्शित गरिरहेका छन् । विश्व अयखष्म(ज्ञढ भाइरसले आक्रान्त भइरहँदा सबै एक भएर भाइरसको विरुद्ध लड्नुपर्ने परिवेशमा समेत राजनीतिक पुर्वाग्रह राखेर अदालतले छोड्न आदेश दिएको समेतलाई अदालतको गेटबाटै झुट्टा मुद्दामा गिरफ्तार गरेर दलाल शासक निचता, घटियापन र पुर्वाग्रही कुरुपता प्रदर्शित गरिरहेका छन् । हिजोका कमरेडहरु फासिवादी दलाल शासकमा विकृत भएका छन् । भ्रष्टाचार, दलाली उनीहरुको प्राण बनेको छ । मुर्ख शासकहरु सत्ताको मातमा मात्तिएर दमनमार्फत क्रान्तिलाई रोक्ने दुस्साहस गरिरहेका छन् । दमनले क्रान्ति न विगतमा रोकिएको थियो न भविष्यमा रोकिने छ । शरिरहरु बन्दी बनाउन सक्छन् तर विचारहरु स्वतन्त्र छन्, जसले विद्रोह बोल्छ । फासिवादी दमन र विभिन्न बहानामा जनतामाथि गरिएको लुटले क्रान्ति अनिवार्य भएको छ । दमनले साहस दृढ भएको छ, दलाल शासकहरुप्रतिको घृणा झन् संगठित भएको छ ।

मृत्युु संधै अप्रिय हुन्छ । मित्र प्रज्वल गुमाउँदा असाध्यै पिडा भएको छ तर मन विचलित भएको छैन । प्रज्वलको सहादतले अपुरणिय क्षति भएको छ । परिवारले असल छोरा, हामीले असल मित्र, पार्टी र संगठनले एक कुशल इमानदार योद्धा र देशले एक सपूत गुमाएको छ तर क्रान्तिले महान् सहिद जन्माएको छ । बलिदानीले विचलन, स्खलनलाई खबरदारी गरेको छ, त्याग समर्पणको भाव सिकाएको छ । क्रान्तिकारी दाबी गर्दैमा भइने कुरा होइन, त्याग, समर्पण र बलिदानी गरेर मात्र क्रान्तिकारी बन्न सकिन्छ भन्ने कुरा प्रज्वलले सावित गरिदिनु भएको छ । प्रज्वलसँगको सहकार्य त अब पाउने छैनौं तर उहाँको स्वर्णिम सपनासँग सहयात्रा गर्ने छौँ । प्रज्वलको मिलनसार स्वभाव, परिस्थितिको आँकलन क्षमता, क्रान्तिप्रतिको समर्पण, साहसी स्वभाव हाम्रो लागि शिक्षा हुनेछ ।

विद्यार्थी आन्दोलनको गौरवमय इतिहासमा १९९७ मा गंगालाल श्रेष्ठको बलिदानीले राजनीतिक अधिकारको संघर्षको धार निर्माण गरेको थियोे, २००८ मा चिनियाकाजी श्रेष्ठको बलिदानीले राष्ट्रियताको संघर्षको धार निर्माण गरेको थियोे, त्यस्तै २०२९ मा कामेश्वर यादव र कुशेश्वर यादवको बलिदानीले शैक्षिक आन्दोलनको धार निर्माण गरेको थियोे, १० वर्षे जनयुद्धमा सहिद बेनोज अधिकारी र वेपत्ता योद्धा पूर्ण पौडेलको बलिदानीले राज्यसत्ताको आमूल परिवर्तनको संघर्षको धार निर्माण गर्यो र २०७६ मा प्रज्वल शाहीको बलिदानीले दलाल एवम् निगम पुँजीवादी शिक्षाको विरुद्धको संघर्षको धार निर्माण गरेको छ । विद्यार्थी आन्दोलनको इतिहासमा मित्र प्रज्वल सुनौलो तारा बनेर चम्किरहनु हुनेछ, सुनौला अक्षरमा प्रज्वलको नाम दस्तावेजीकरण गरिनेछ । फुल, माला, अविर ,मौनधारण र स्मरण मात्र औपचारिकता हो, प्रज्वल लगायत हजारौं सहिदको साँचो अर्थमा सम्मान दृढतापुर्वक क्रान्तिको मार्गमा हिड्नुमा हुनेछ । क्षति अवस्य भएको छ, तर कमजोर हुने छुट हामी कसैलाई छैन । प्रज्वल हामीले गर्ने क्रान्तिको पहलमा जीवित हुनुहुनेछ र एकीकृत जनक्रान्तिमार्फत प्राप्त हुने वैज्ञानिक समाजवाद अमर हुनुहुनेछ । पद, प्रतिष्ठा, पैसाको लागि घात गर्ने छुट कसैलाई हुनेछैन । प्रज्वलको सपना क्रान्तिको सपना हो, पुरा गर्ने दायित्व अब हाम्रो काँधमा छ । श्रमजीवी वर्गको मुक्तिका लागि क्रान्ति बाहेक अर्को विकल्प छैन, तसर्थ क्रान्तिको मार्गमा निरन्तर लागिरहने सबैले प्रण गरौँ ! उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जली मित्र प्रज्वल !

(लेखक अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य हुन्)

प्रतिक्रिया दिनुहोस्