श्रीमतीलाई कुटपिट गरि घरनिकाला गर्ने वडा अध्यक्षलाई जनकारवाही गर्ने नेकपाको चेतावनी

काठमाडौँ : रोल्पाका एक वडा अध्यक्षले आफ्नै श्रीमतीलाई मरनासन्न हुनेगरी कुटपिट गरि घाइते बनाई घरबाट निकालेको घटनाप्रति नेपाल कम्युनिस्ट पार्टी परिवर्तन गाउँ कमिटी रोल्पाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सेक्रेटरी विवशले प्रेस विज्ञप्ति जारी गरि आफ्नै श्रीमतीलाई सम्बन्ध बिच्छेद गर्छु भन्दै मरनासन्न हुनेगरी कुटपिट गरि घाइते बनाइ घर निकाला गर्ने परिवर्तन गाउँपालिका वडा नं २ का अध्यक्ष हरीबहादुर बुढा ‘संबेग’ माफी मागेर नसच्चिए जनकारबाही गर्ने चेतावनी दिएको छ ।

परिवर्तन गाउँ कमिटी रोल्पाका सेक्रेटरी विवशले विज्ञप्तिमा भनेका छन्, ‘विश्व जनसमुदाय यतिबेला नोभेल कोरोना भाइरस (COVID-19) ले आक्रान्त भएको परिस्थितिमा हाम्रो देश नेपाल पनि यसबाट अछुतो रहन सकेन ।संक्रमितहरुको संख्या दिनहुुँ तिब्र रूपमा बढिरहनु र ३ जना व्यक्तिको मृत्यु हुनुले नेपाली जनसमुदायलाई यतिबेला भयभीत र त्रसित बनाएको छ । देशमा लकडाउन भएको लामो समय बितिसक्दा पनि सरकार परिक्षण व्यापक दरमा बढाउन, राहत वितरण गर्न, विभिन्न क्षेत्रमा अलपत्र परेका नागरिक उद्दार गर्न सकिरहेको छैन भने सरकार भ्रष्टाचार, कमिसन, लुटपाट, अपहरण जस्ता घृणित काममा संलग्न भैरहेको छ । देशमा हत्या, हिंसा, बलात्कार, चोरी डकैतीका घटनाहरु दिन दिनै बढिरहेका छन् भने यो बिचमा महिला हिंसाका घटना अत्याधिक मात्रामा बढिरहेका छ्न् ।’

सेक्रेटरी विवशले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘स्थानीय सरकार पनि यतिबेला भ्रष्टाचार, कमिसन, चर्को कर असुली, आफ्ना आसेपासेलाई विभिन्न बिकास निर्माणका कामहरु एकलौटी ढंगले दिने जस्ता काममा सक्रिय छ भने जनताहरु भोकभोकै छ्ट्पटाई रहेका छ्न् भने यस परिवर्तन गाउपालिकाले राहत दिने नाममा लाखौं रकम अनियमितता गरेर मिति सकिएको २ पोका नुन र दुई वटा साबुन वितरण गरेर जनस्तरबाट आलोचित एवम् बद्नामित भएको छ। बिकास निर्माणका कामहरु अलपत्र अबस्थामा छ्न् ।’

विवशले विज्ञाप्तिमा भनेका छन्, ‘यसै सिलसिलामा परिवर्तन गाउपालिका वडा नं २ राङ्सीमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट निर्वाचित वडा अध्यक्ष साबिकको राङ्सी ९ भनभने निबासी हरीबहादुर बुढा ‘संबेग’ ले आफ्नो श्रीमती महान १० बर्षे जनयुद्धको सिपाही पुर्व जनमुक्ति सेनाकी एक सदस्य ऐतिहासिक गाउँ जेल्बाङ माइत भएकीलाई त सँग सम्बन्ध बिच्छेद गर्छु भन्दै मरनासन्न हुनेगरी कुटपिट गरि घाइते बनाइ घरबाट निकालेको घटना प्रति हाम्रो पार्टी परिवर्तन गाउँ कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ । वडा अध्यक्ष जस्तो व्यक्तिले निच व्यबहार प्रदर्शन गर्दै यातना दिने, कुटपिट गर्ने, घर निकाला गर्ने र यसलाई म राख्दैन छोड्छु, अर्कि ल्याउछु भन्ने अभिव्यक्ति दिनुले सिंगो महिलाहरुको अपमान भएको छ, साथै कानुनको उपहास भएको छ र परिवर्तनबासी आम महिलाहरुले असुरक्षित महसुस गरिरहेका छन् । यता परिवर्तन गाउँपालिकाका, सत्ता पक्ष पार्टी भने रमिते बनेर बसिरहेका छ्न् । बिगत २ बर्ष अगाडि पनि यो बिषय बाहिर आएको थियो त्यतिबेला उल्टै पीडित महिलालाई धाक धम्की दिएर राङ्सीका केही सत्ता पक्षका व्यक्तिले ठामठुम पारेका थिए । अहिले पीडितले परिवर्तन गाउपालिकाको न्यायीक समितिमा निवेदन दिदा समेत न्यायिक समितिले न्याय दिनुको साटो सत्ता पक्ष पार्टी र न्यायिक समितिले वडा अध्यक्ष हरी बुढालाई सघाउनुले सबैलाई अचम्मित बनाएको छ ।’

गाउँ कमिटीका सेक्रेटरी विवशले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘स्मरण रहोस् ती वडा अध्यक्ष हरी बुढा विभिन्न काण्डमा समेत मुछिएर बदनामित समेत भएका छन् । वडा भित्रका विभिन्न बिकासे योजनाबाट लाखौं रकम भ्रष्टाचार गरेका छ्न् । प्रत्येक बिकास निर्माणका योजनाबाट चर्को कमिसन समेत लिने गरेका छ्न् यति मात्र होईन महिला वडा सदस्य चाँदनी केसीले गत असारमा वडा सदस्य पदबाट राजिनामा पत्र लेखेर वडा अध्यक्ष हरी बुढालाई बुझाउदा समेत उनले अहिलेसम्म राजीनामा स्वीकृत नगरी आफ्नै पकेटमा राखेका छन् साथै ती चादनी केसीलाई सरकारी नेकपा परिवर्तन गाउँकमितिले समेत पार्टीबाट कार्वाही गरेर निस्कासन गरेको अबस्थामा ती वडा अध्यक्ष हरी बुढाले संस्था (आसा नेपाल) को जागिर पनि खुवाउने र वडा सदस्य भन्दै संगसंगै हिडाउनु रहस्यमय छ ।’

सेक्रेटरी विवशले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘यतिबेला यो कार्यको व्यापक चौतर्फी जनबिरोध भैरहेको छ । जनताले हाम्रो पार्टीमा जनकार्वाहीको माग गरीरहेका छ्न् । अतस् बदानामित वडा अध्यक्ष हरी बुढाले पदबाट तुरुन्त राजीनामा दिइ आफुले गरेका गल्तीहरु सच्याइ श्रीमती र छोराछोरीसमक्ष आइन्दा यस्ता अपराधहरु नगर्ने र सजाय भोग्ने गरि माफी मागेर न्याय दिन र भ्रष्टाचार नगर्न, कमिसन नमाग्न, चादनी केसीको राजीनामा स्वीकृत गर्न, परस्त्रीसंग नहिड्न, घमण्ड नगर्न र हाम्रो पार्टीको सुराकी नगर्न आग्रह गर्दछौं । अन्यथा यी आपराधिक कामहरुलाई निरन्तरता दिने र श्रीमती र ती अबोध बच्चा बच्चीलाई बेवास्ता गरे परिस्थिति गम्भीर हुनेछ साथै जनताको माग बमोजिम हाम्रो पार्टी जनकारबाही गर्न बाध्य हुनेछ त्यसबाट निस्कने परिणामको जिम्मा स्वयं हरी बुढा नै हुनुपर्ने छ ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :