उदिन

कविता

टाढाको आरनभन्दा नजिकको उदिन
मौकामा धेरै काम आउँछ भन्ने ठानेर
पुर्खाको शंश्लेषणलाई निशर्त मानेर
उत्तरको पहिरोमा परि बल्ढ्याङ खाएको उदिनलाई
काँधै थापेर मेरै खरबारीमा ल्याएर राखेँ
पश्चिमको चक्रवाती तुफानबाट बचाउन
छोराहरुकै बली चढाएँ
तर यसरी सम्हाली राखेको उदिनले धार लगाउँला भन्दा
भएको धारलाई पनि भुत्ते बनाउन थालेपछि
हुँदा हुँदा सिमा साँध मिच्दै मेरै आँगनमा सर्न थालेपछि
मेरा हर कदममा बारबार ठेस लाग्न थालेपछि
‘टाढाको आरन भन्दा नजिकैको उदिन नै वेश’
भन्ने उखानलाई पुनर्परिभाषा पो गर्नुपर्ने
हो कि भन्ने पो लाग्न थाल्यो
यो सहनशिलताको सिमा नाघेपछिको आवेग पनि हुन सक्ला
सहुँनको पनि त सिमा हुँदोरहेछ
करङको ढुंगा बनेपछि निदाउन सकिदो रहेनछ
स्वाभिमान मै आँच आएपछि सहन नसकिदो रहेछ
अझ त्यही उदिनमा उभिएर कुखुरा चोर स्यालहरु
रातोदिन कराएपछि
केही कुलङ्घारहरु स्यालकै हुलमा मिसिन सक्छन्
स्यालहरु लखेट्दा गहुँसँगै केही घुन पिसिन सक्छन्

उदिनको अनुसन्धान गरिरहेछु
किन यसमा धार लाग्दैन ?
किन यो उदिन जस्तो भएको कहिल्यै लाग्दैन ?
त्यसको कारण पत्ता लगाएको छु –
सयौं बर्ष यसलाई बकरीइदमा अचानो बनाइएको रहेछ
रगतले कट्कटिएर मिल्क्याइएको रहेछ
त्यसपछिका सयौं बर्षहरुमा गोराहरुको शौचालयमा राखिएको रहेछ
गोराहरुको बुटमुनि कुल्चिएर
निरन्तर मलमुत्र परिरहँदा मक्किएको मात्रै होइन,
दुषित जीवाणु भरिएछन्

मेरो पनि गल्ती त भएकै छ
कमी कमजोरी रहेकै छ
राम्रोसँग प्रशोधित नगरि
काँध थापेर खरबारीमा राख्न हुँदैनथ्यो
भयले हो वा आशले हो तर थाक्न हुँदैनथ्यो
उसले आफुले भोगेको पीडालाई
अरुमाथि प्रतिशोध साट्दो रहेछ
कालारात्रीमा अचानो बनाउने
उत्तर चढ्ने सिँढी थपाउने
दुस्प्रयास गरिरहदो रहेछ
बारबार जोखना हेरेको छ
तीनतीरैबाट मलाई घेरेको छ
तर
खबरदार ! घनले हिर्काइनेछ
साइजमा ल्याइनेछ
भट्टीमा खारेर प्रशोधित गरिनेछ
जीवाणुरहित बनाइनेछ
र, “सत्य मेव जयन्ते” लाई पुष्टि गरिनेछ
फेरि पनि पुर्खाको उक्तिलाई सार्थक पारिनेछ ।
०००

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :