नेपाल बन्दको तयारी पूरा, बन्दको पूर्वसन्ध्यामा नेकपाद्वारा देशभर मशाल जुलुस

नेपाल बन्दको तयारी पूरा, बन्दको पूर्वसन्ध्यामा नेकपाद्वारा देशभर मशाल जुलुस

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेता–कार्यकर्ताको गिरफ्तारी र केपी वली सरकारको फासिवादी हर्कतविरुद्ध भोलि शनिबारका लागि घोषित नेपाल बन्द कार्यक्रमको तयारी पूरा भएको उक्त पार्टीले जनाएको छ । नेपाल बन्दको पूर्वसन्ध्यामा शुक्रबार साँझ देशभर मशाल जुलुस निकालिएका समाचारहरू प्राप्त भएका छन् ।

प्राप्त समाचारअनुसार नेकपा रोल्पाले जिल्लाका २१ स्थानमा जुलुस प्रदर्शन गरेको छ । पार्टीका केन्द्रीय सचिवालय सदस्य कञ्चनलगायत देशैभरका नेता–कार्यकर्ताहरूको गैरन्यायिक गिरफ्तारीविरुद्ध आह्वान गरिएको माघ १० गतेको नेपाल बन्दको पुर्वसन्ध्यामा आस्थाका बन्दीहरूलाई रिहा गर, एकीकृत जनक्रान्ति– जिन्दावाद ! मालेमावाद जिन्दावादलगायत नारासहित निकालिएको मशाल जुलुसले रोल्पाका डाँडाकाँडा र चोकचौतारा ब्युँझिएको प्राप्त समाचारमा जनाइएको छ ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी रामेछापले भोलिको नेपाल बन्द सफल पार्न आह्वान गर्दै जिल्ला सदरमुकाम मन्थलीमै मशाल जुलुस निकालेको छ ।

मन्थली तामाकोसी पुलबाट करिब पचासजना नेता–कार्यकर्ताले सरकारविरुद्ध विभिन्न नारा लगाउँदै निकालेको मशाल जुलुस करिब चार सय मिटर टाढा एउटा बस्तीनजिक पुगेर कोणसभामा परिणत भएको र जिल्लाका विभिन्न नेताले सम्बोधन गर्दै बन्द सफल पार्न आह्वान गरेको प्राप्त समाचारमा जनाइएको छ ।

मशाल जुलुसमा सहभागीहरूले फासिवादी सरकार मुर्दावाद, आस्थाका बन्दीलाई बिनासर्त रिहा गर, प्रतिबन्ध खारेज गर, दलाल संसदीय व्यवस्था मुर्दावाद, एकीकृत जनक्रान्ति जिन्दावादलगायत गगनभेदी नारा लगाएका थिए ।

यसअघि जिल्ला इन्चार्ज चैतन्य र सेक्रेटरी विवेकले जारी गरेको प्रेस विज्ञप्तिमा भोलिको नेपाल बन्द सफल पार्न आह्वान गरिएको छ ।

यसै क्रममा नेकपा सर्लाही–महोत्तरी संयुक्त जिल्ला समितिले पनि भोलिको नेपाल बन्द सफल पार्न आह्वान गर्दै जिल्लाका विभिन्न स्थानमा मशाल जुलुस निकालेको छ

इन्चार्ज हिमाल, सेक्रेटरी निश्चल, जिल्ला सचिवालय सदस्य बिहानीलगायतले नेतृत्व गरेको मशाल जुलुसमा नेकपा नेता–कार्यकर्ताको रिहाइ, दलाल केपी वली सरकारको विरोध र एकीकृत जनक्रान्ति तथा वैज्ञानिक समाजवादका पक्षमा नारा लगाइएको सर्लाहीबाट प्राप्त समाचारमा उल्लेख छ ।

यसैगरी नेकपाले लुम्बिनी ब्युरोअन्तर्गतका सबै जिल्लामा प्रहरीको दमनलाई छिचोल्दै करिब दुई दर्जन स्थानमा मशाल जुलुस प्रदर्शन गरेको छ

नेकपा कपिलवस्तुले नेपाल बन्दको पूर्वसन्ध्यामा मशाल जुलुस निकालेको छ । जुलुसलाई प्रहरीले अवरोध गर्ने प्रयास गरेको थियो । कपिलवस्तुमा नेकपाले मशाल जुलुसको तयारी गरिरहेको बेला प्रहरीले अवरोध गर्ने प्रयास गरे पनि जिल्लाका विभिन्न स्थानमा मशाल जुलुस प्रदर्शन गरिएको समाचार छ । जिल्लाको पश्चिम क्षेत्रको राजमार्गमा गरिएको मशाल जुलुसमा सयौँको सङ्ख्यामा जनसहभागिता रहेको नेकपा कपिलवस्तुले जनाएको छ ।

ब्युरोअन्तर्गतका जिल्लाहरू रुपन्देही, नवलपुर, पाल्पा, अर्घाखाँची, नवलपरासी र गुल्मीमा नेकपाले मशाल जुलुस निकालेको जानकारी पार्टी स्रोतले दिएको छ ।

रुपन्देहीको बुटवल, सैनामैना, कोटीहवालगायत विभिन्न स्थानमा मशाल जुलुस प्रदर्शन गरेको बताइएको छ । नवलपरासीको राजमार्गका मुख्य–मुख्य चोकहरूमा मशाल जुलुस निकालिएको थियो । त्यसैगरी नवलपुरका तीन स्थानमा मशाल जुलुस सम्पन्न भएको नेकपा नवलपुरले जनाएको छ । नवलपुरमा अखिल (क्रान्तिकारी) ले समेत मशाल जुलुस प्रदर्शन गरेको बताइएको छ ।

त्यसैगरी पाल्पाको तानसेन नगरपालिकाका दुई स्थानमा मशाल जुलुस प्रदर्शन गरेको नेकपा पाल्पाले जनाएको छ । मशाल जुलुसमा सयौँको सङ्ख्यामा जनसहभागिता रहेको थियो ।

अर्घाखाँची र गुल्मीका विभिन्न स्थानमा पनि नेकपाले मशाल जुलुस प्रदर्शन गरेको छ । प्राप्त समाचारअनुसार अर्घाखाँची र गुल्मीका विभिन्न स्थानमा निकालिएको मशाल जुलुसमा पनि व्यापक जनसहभागिता रहेको थियो ।

यसैबीच नेकपा चितवनले नेपाल बन्दको पूर्वसन्धयामा पूर्व–पश्चिम राजमार्गमा भव्य रुपमा मशाल जुलुस निकालेको नेकपा चितवनले जनाएको छ ।

समाचारअनुसार राप्ती नगरपालिकामा युवा सङ्गठन नेपाल र अखिल (क्रान्तिकारी) चितवनले संयुक्त रूपमा मशाल जुलुुस निकालेका हुन् । मशाल जुलुस पूर्वपश्चिम राजमार्ग गड्यौली चोकदेखि सुरु भई साना किसान चोकमा गई सम्पन्न भएको थियो । मशाल जुलुसमा ‘नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद ! वैज्ञानिक समाजवाद जिन्दावाद, सबै कम्युनिस्ट वामपन्थी देशभक्तहरू एक हौँ, क. कञ्चन, सुदर्शन, वीरजङ्ग, अनिल शर्मा, रणवीर, आदर्शलगायत सम्पूर्ण राजबन्दीलाई रिहा गर, राज्यआतङ्क बन्द गरलगायत नारा लगाएका थिए ।


यसैगरी भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका, माडी नगरपालिकामा पनि मशाल जुलुस भब्य रूपमा निकालिएको चितवनबाट प्राप्त समाचरमा जनाइएको छ ।

यसैगरी नेकपा कैलालीले पनि भोलिको नेपाल बन्द सफल पारौँलगायत नाराका साथ जिल्लाका विभिन्न स्थानमा मशाल जुलुस निकालेको छ । पार्टीका जिल्ला सेक्रेटरी करनका अनुसार जिल्लाका विभिन्न स्थानमा सयौँ जनसमुदायको उपस्थितिमा केपी वली सरकारको ज्यादतीको विरोध गर्दै मशाल जुलुस निकालिएको हो ।

यसैबीच अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय टोली सामना परिवार र नेकपा धौलागिरि ब्युरोको बागलुङ जिल्लाले नेपाल बन्दको पूर्वसन्ध्यामा पश्चिम कमान्डको मध्यपहाडी राजमार्गमा मशाल जुलुस निकाल्नुका साथै कोणसभा आयोजना गरेको समाचार प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :