नेपाल बन्द सफल पार्न काठमाडौँ लगायत विभिन्न जिल्लामा निकालियो मशाल जुलुस

नेपाल बन्द सफल पार्न काठमाडौँ लगायत विभिन्न जिल्लामा निकालियो मशाल जुलुस

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले माघ १० गतेको नेपाल बन्दको पूर्वसन्ध्यामा आज काठमाडौँलगायत विभिन्न जिल्लामा मशाल जुलुस निकालेको छ ।

यसैक्रममा माघ १० गतेको नेपाल बन्द सफल पार्न नेकपा तुलसीपुर नगर समितिले नेपाल बन्दको पूर्वसन्ध्यामा तुलसीपुर नगरआसपासका ४ ठाउँमा मशाल जुलुस निकालेको समाचार प्राप्त भएको छ ।

गत पुस २९ गते नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लागयत ब्युरो सदस्यहरू गिरफ्तार गरेको विरोधमा नेकपा केन्द्रीय समितिले चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको थियो ।

मशाल जुलुसमा सहभागी आक्रोशित युवाहरूले दलाल सरकार मुर्दावाद, फासिवादी कदम बन्द गर, राजबन्दीको ससम्मान रिहाइ गर, १० गतेको नेपाल बन्द सफल पारौँलगायत नारा लगाएका थिए । घोषणा गरिएको बन्दको कार्यक्रमलाई सफल पार्न सहयोग गरिदिनुहुन आमउद्योगी, व्यापारी र सार्वजनिक यातायात व्यवसायीहरूलाई नेकपा तुलसीपुर नगर समितिका सेक्रेटरी नवीनले अपिल पनि गरेका छन् ।

बन्दको पूर्वसन्ध्यामा आज पश्चिम महाकालीको बैतडीदेखि सर्लाहीसम्म नेकपाले मशाल जुलुस निकालेको खबर छ ।

नेपाल कम्युनिस्ट पार्टी दैलेखले पनि केपीको सामाजिक दलाल पुँजीवादी सरकारले पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख तथा सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालगायत नेता–कार्यकर्ताहरूको गैरकानुनी गिरफ्तारी, झूट्टा मुद्दा, हत्या र दमनविरुद्ध आज जिल्लाका सबै स्थानीय तहमा मशाल जुलुस निकालेको छ । नेपाल कम्युनिस्ट पार्टी दैलेखका इन्चार्ज दीपेन्द्रले माघ १० गतेको नेपाल बन्द सफल बनाउन जिल्लाका उद्योगी, व्यापारी, शिक्षक, विद्यार्थी, कर्मचारी, नागरिक समाज, पत्रकार र आमजनसमुदायलाई अनुरोध गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रमअनुसार नेपाल कम्युनिस्ट पार्टी बैतडीले पनि केपी सरकारले गैरन्यायिक ढङ्गले गिरफ्तार गरेका कञ्चनलगायत पार्टीका नेता–कार्यकर्ताहरूको रिहाइको माग गर्दै मशाल जुलुस निकालेको समाचार प्राप्त भएको छ ।

यसैगरी मकवानपुर राख्सिराङ गाउँपालिकामा सेक्रेटरी किरणको नेतृत्वमा मशाल जुलुस निकालिएको छ ।

यसैगरी नेपाल बन्दको पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टीले कालीकोट, बर्दिया, कपिलवस्तु, काठमाडौँलगायत देशैभर मशाल जुलुस निकालेको त्यस क्षेत्रका हाम्रा संवाददाताहरूले जनाएका छन् ।

यसैक्रममा नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति नेपालले पार्टीको केन्द्रीय कार्यक्रमअनुसार शुक्रबार साँझ काठमाडौँका विभिन्न ठाउँमा मशाल जुलुस निकालेको काठमाडौँबाट प्राप्त समाचारमा जनाइएको छ ।

जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति नेपालका केन्द्रीय सचिव सफल, जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रयी समन्वय समिति नेपालका केन्द्रीय सदस्य प्रतीकको उपस्थिति रहेको मशाल जुलुसमा नेकपा नेताहरू कञ्चन, सुदर्शनलगायत अन्यायपूर्वक गिरफ्तार गरी हिरासतमा राखिएको विरोधमा नाराबाजी पनि गरिएको थियो । ‘योद्धाहरूलाई रिहा गर, भोलि हुने नेपाल बन्द सफल पारौँ ! एकीकृत जनक्रान्ति जिन्दावाद ! नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद ! केपी–बादल मुर्दावाद ! वैज्ञानिक समाजवाद जिन्दावाद ! दलाल संसदीय व्यवस्था मुर्दावाद, भ्रष्टाचारी दलाल सरकार मुर्दावाद, वीर सहिदहरू लालसलामलगायत नारा लगाइएको प्राप्त समाचारमा जनाइएको छ ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टी सिन्धुलीले पार्टीका केन्द्रीय सचिवालय सदस्य कञ्चनलगायत पार्टीका अन्य नेता–कार्यकर्ताको गिरफ्तारीका विरुद्ध पार्टीद्वारा घोषित नेपाल बन्द सफल पार्न आह्वान गर्दै विशाल मशाल जुलुस निकालेको छ । सिन्धुलीको कमलामाई नगरपालिका, दुधौली नगरपालिका, हरिहरपुरगढी गाउँपालिका, फिक्कल गाउँपालिका, गोलान्जोर गाउँपालिका र तीनपाटन गाउँपालिकामा मशाल जुलुससहितको र्याली निकालिएको समाचारमा जनाइएको छ ।

जुलुसलाई जिल्ला इन्चार्ज प्रगाढले सम्बोधन गरेका थिए । उनले आफ्नो दलाल पुँजीवादी सत्ता टिकाउन केपी वली सरकारले आफ्नो पार्टीका नेता–कार्यकर्तालाई गैरन्यायिक गिरफ्तारी गरेकाले त्यसका विरुद्ध अझै सशक्त सङ्घर्ष गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :