तानाशाह छ, यहाँ फासिवाद छ

गीत

तानाशाह छ, यहाँ फासिवाद छ

यहाँ तानाशाह छ
यहाँ फासिवाद छ
यो देश हो नेपाल
शासन गर्छ दलाल !!

यहाँ पश्चिममा हेर, महाकाली रुँदैछ
यहाँ पूर्वमा हेर, मेची वारि सर्दैछ
उत्तर हिमालमा हेर, हिउँ परिरहेछ
दक्षिण तराईमा हेर, सीमा सरिरहेछ
यहाँ राष्ट्रघात छ
यहाँ जनघात छ
यो देश हो नेपाल
शासन गर्छ दलाल !!

यहाँ जनतालाई हेर, बेरोजगार हुँदैछन्
यहाँ युवालाई हेर, विदेशतिर जाँदैछन्
सिंहदरबारमा हेर, भ्रष्टाचार हुँदैछ
गाउँ–सहरमा हेर, अत्याचार हुँदैछ
यहाँ पुँजीवाद छ
यहाँ फासिवाद छ
यो देश हो नेपाल
शासन गर्छ दलाल !!

यहाँ महिलालाई हेर, बलात्कार हुँदैछ
यहाँ गरिबलाई हेर, हाहाकार हुँदैछ
जनजातिमा हेर, तिरस्कार हुँदैछ
दलित जातिमा हेर, बहिष्कार हुँदैछ
यहाँ नश्लवाद छ
यहाँ फासिवाद छ
यो देश हो नेपाल
शासन गर्छ दलाल !!

यहाँ बुद्धिजीवीको कुरा सुन्नु हुँदैन
यहाँ इमानदारको कुरा मान्नु हुँदैन
यहाँ सत्य कुरा नि हेर भन्नु हुँदैन
यहाँ अन्यायको विरोध गर्नु हुँदैन
यहाँ निरङ्कुशता छ
यहाँ फासिवाद छ
यो देश हो नेपाल
शासन गर्छ दलाल !!

यहाँ संविधानको कुनै अर्थ छैन
यहाँ अदालतको कुनै मूल्य छैन
यहाँ प्रतिपक्षका कुरा सुन्नु हुँदैन
यहाँ बहुमतका कुरा मान्नु हुँदैन
यहाँ तानाशाह छ
यहाँ फासिवाद छ
यो देश हो नेपाल
शासन गर्छ दलाल !!

यहाँ गाँस–बासको कुनै व्यवस्था छैन
यहाँ शिक्षा–स्वास्थ्यको कुनै सुबिस्ता छैन
हेर शोषकहरूले जनता चुसिरहेछन्
हेर भ्रष्टाचारीले देश लुटिरहेछन्
यहाँ लुटतन्त्र छ
यहाँ झूटतन्त्र छ
यो देश हो नेपाल
शासन गर्छ दलाल !!

यहाँ दलालहरूले देश हाँकिरहेछन्
यहाँ राष्ट्रघातीले देश बेचिरहेछन्
यहाँ लेन्डुपहरू नि हेर नाचिरहेछन्
यहाँ ख्रुस्चेबहरू नि हेर हाँसिरहेछन्
यो दलालतन्त्र हो
यो लोकतन्त्र हो
यो देश हो नेपाल
शासन गर्छ दलाल !!

यहाँ समाजवादका कुरा गर्नै हुँदैन
यहाँ राष्ट्रवादका नारा लाउनै हुँदैन
यहाँ क्रान्तिकारी गीत गाउनै हुँदैन
यहाँ जनताको हित गर्नै हुँदैन
यहाँ तानाशाह छ
यहाँ फासिवाद छ
यो देश हो नेपाल
शासन गर्छ दलाल !!

यहाँ जनताको संविधान छैन
यहाँ जनताको संसद् नि छैन
यहाँ जनताको सत्ता छैन
यहाँ जनताको सरकार नि छैन
यहाँ निरङ्कुशता छ
यहाँ फासिवाद छ
यहाँ तानाशाह छ
यो देश हो नेपाल
शासन गर्छ दलाल !!

२७ पुस, २०७७ -कैलाली, कारागार

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :