कैलाली कारागारमा माघी मिलन कार्यक्रम

कैलाली कारागारमा माघी मिलन कार्यक्रम

धनगढी : कैलाली कारागारमा रहेका कैदीबन्दीले २०७७ सालको माघी मिलन कार्यक्रम सांस्कृतिक कार्यक्रमसहित मनाएका छन् । माघ १ गते बिहीबार सांस्कृतिक तथा साहित्यिक कार्यक्रम गरेर मनाइएको माघी मिलन कार्यक्रम रमेश बटालाको सञ्चालन, नाइके विमल चौधरीको अध्यक्षता र गङ्गाराम चौधरीको स्वागतमा भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुन रहेका थिए ।

माघी मिलन कार्यक्रममा सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य पुनले माघी पर्व थारू र मगर जातिको राष्ट्रिय चाड भए पनि नेपालमा यसलाई सम्पूर्ण जातिले आफ्नै चाडका रूपमा मनाउने भएकाले यो नेपालको महत्वपूर्ण जनसंस्कृति भएको बताएका थिए । आदिवासी पहिचान र शैली बोकेको यो माघी संस्कृतिको वैज्ञानिकता पकड्दै जानुपर्नेमा जोड दिँदै नेता पुनले अहिले देश गम्भीर राष्ट्रिय राजनीतिक सङ्कटमा परेको र त्यसलाई अग्रगामी एजेन्डासहित निकास दिनुपर्नेमा जोड दिएका थिए ।

देशमा संवैधानिक रिक्तता भएको र वैदेशिक हस्तक्षेपसहितको राजनीतिक प्रतिगमन भएको चर्चा गर्दै नेता पुनले अव देश वैज्ञानिक समाजवादतर्फ गएमा परम्परागत जेलको अवधारणामा पनि आमूल परिवर्तन हुने र कोही पनि अपराधीका रूपमा जेलमा बस्नु नपर्ने प्रस्ट पारेका थिए ।

कार्यक्रममा कारागारका मूल चौकीदार परशुराम रानाथारू, आउटडोर नाइके दिनेश जैसी, ‘बी’ ब्लकका मूल नाइके जयबहादुर धानुक, नृप देवकोटा, सञ्जय राणा, गोरख रोकायालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा कलाकारहरू सुवर्ण श्रेष्ठ, कमल थारू, रोहनी चौधरी, दयाराम चौधरी, बिरु थारू, राजु थारू, गणेश मल्ल, सन्तोष परियार, गणेश ऐर, अशोक गौतम, लीला थापामगरलगायतले नृत्य तथा गीतहरू प्रस्तुत गरेका थिए । यसैप्रकारका कार्यक्रम कारागारको ‘ए’ ब्लक र महिला ब्लकमा पनि भएको प्राप्त समाचारमा जनाइएको छ ।

कैलाली कारागारमा कैदीबन्दी क्षमता डेढ सयको भए पनि हाल साढे पाँच सयको हाराहारीमा कैदीबन्दी रहेका छन् । कारागारमा पुस २९ गते माघीका उपलक्ष्यमा खानपानको व्यवस्था बन्दीहरूको आफ्नै पहलमा गरिएको थियो । माघ १ गते मुढा बालेर आगो ताप्नुका साथै चियापान कार्यक्रम राखिएको थियो ।

कारागारभित्रको अत्यासलाग्दो वातावरणलाई बन्दीहरूले गर्ने यसप्रकारका रचनात्मक कार्यक्रमले कारागारको वातावरण मनोरञ्जनपूर्ण बनेको र बन्दीहरूमा सिर्जनशीलताको निकास गरेको अनुभूति भएको बन्दीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :