चीनले रोक्यो कि भारतले रोक्यो दाहाल–नेपाल समूहलाई वलीविरोधी आन्दोलनमा जानबाट ?

चीनले रोक्यो कि भारतले रोक्यो दाहाल–नेपाल समूहलाई वलीविरोधी आन्दोलनमा जानबाट ?

काठमाडौँ : केपी वलीका हर्कतविरुद्ध सडकमा जाने र अन्तिम लडाइँसम्म लड्ने ध्वाँस दिँदै आएको दाहाल–नेपाल समूहले दोस्रो चरणको सडक सङ्घर्ष घोषणा गर्ने भनेर पनि गरेन । फुटिसकेको सरकारी नेकपालाई जोड्ने अन्तिम अस्त्रका रूपमा नेपाल आएको चिनियाँ उच्चस्तरीय प्रमण्डलले पार्टीएकता गराउन नसके पनि दाहाल–नेपाल समूहलाई सडकमा जानबाट रोकेको हो ? वा भारतीय स्वार्थले उक्त समूहलाई आन्दोलनबाट फर्काएको हो ? सदैव विदेशी र विशेषगरी भारतीय साम्राज्यवादी इशारामा गतिविधिहरू गर्दै आएका सरकारी नेकपाका नेताहरूमाथि अर्को प्रश्न सोझिएको छ ।

एउटै पार्टी हुँदा र पार्टी पुनर्गठनपछि पनि सरकारी नेकपाका दोस्रा अध्यक्ष रहेका पुष्पकमल दाहालले हालै एउटा टीभीलाई दिएको अन्तरवार्तामा अधिकांश समय सरकारी नेकपाका प्रथम अध्यक्ष एवम् प्रधानमन्त्री रहेका केपी वलीलाई गाली गर्नमै बिताएका थिए भने बाँकी समय आफूलाई अब्बल दर्जाको सफल नेता घोषणा गर्नमा बिताएका थिए । उनले आफूहरूले भारतको साथ र समर्थन खोजिरहेको पनि बताएका थिए । उनको तामझाम हेर्दा दाहाल साँच्चै वलीको फासिवादी कदमविरुद्ध सडकमै निस्किएका हुन् कि भन्ने भान पथ्र्यो तर दुई दिनमै उनको यात्रा रोकियो ।

सरकारी नेकपाको दाहाल–नेपाल समूहले बुधबार स्थायी समिति बैठक राखेर संसद् विघटन र वलीका हर्कतविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्ने निर्णय गरे पनि आन्दोलन घोषणा नहुनुमा बाहिरी शक्तिको खेलसमेत रहेको हुनसक्ने टिप्पणी बौद्धिक वृत्तले गर्न थालेको छ । रहस्यमय कुरो त स्थायी समिति बैठक बस्ने भनेर उक्त समूहका नेताहरू पेरिसडाँडामा पुगे पनि बैठक बस्न सकेन । संसद्को निष्क्रिय प्रतिपक्ष नेपाली कांग्रेसले संसद् विघटनको औपचारिकता रूपमा विरोध गरे पनि भित्रभित्रै वलीसँग मिलेको आशङ्का बढिरहेको छ भने प्रदेश संसद्मा पनि काङ्ग्रेस खेलिरहेको छ । दाहाल–नेपाल समूह काङ्ग्रेस पनि सडकमा आउँछ भनेर हौसिएका थिए । ज्ञानेन्द्र शाहीलाई प्रतिगमनमा सघाउने देउवा नेतृत्वको काङ्ग्रेसले वलीको प्रतिगमनकारी कदमको विरोध गर्छ भनेर रमाउनु नै उक्त समूहको केटाकेटीपन रहेको विश्लेषकहरू बताउँछन् ।

दाहाल–नेपाल समूहले बाहिर भने संसद् विघटनको विरोधमा रहेको कांग्रेस, जनता समाजवादी पार्टीलगायत राजनीतिक दलहरूसँग छलफल गर्नुपर्ने भएकाले तत्काल आन्दोलनका कार्यक्रम सार्वजनिक नगरिएको जनाएको छ । उक्त समूहका एक नेता योगेश भट्टराईले भनेका छन्, ‘अरू दलहरूसँग पनि छलफल गर्छौं । त्यसपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गर्छौं ।’

काङ्ग्रेसभित्रै आन्दोलनमा जाने कि चुनावमा भन्नेमा भिन्नभिन्न मतहरू छन् । रामचन्द्र पौडेल पक्षले आन्दोलनमा जानुपर्ने जनाएको छ भने शेरबहादुर देउवा पक्ष बाहिरबाहिर वली कदमको विरोध गरेझैँ गरे पनि भित्रभित्रै चुनावमा जाने तयारी गरिरहेको सार्वजनिक भएको छ ।

तराईकेन्द्रित जनता समाजवादी पार्टीले एक्लै सडकमा जाने तयारी गरेको देखिन्छ । उक्त समूहले पनि दाहाल–नेपाल समूह लामो समयसम्म सडकमा टिकिरहन्छ भन्ने विश्वास गरेको छैन । दाहाल–नेपाल समूहले सडक आन्दोलनका लागि नारायणकाजी श्रेष्ठजस्ता चरम अवसरवादी पात्रलाई प्रमुख नेतृत्वमा चयन गरेकाले पनि अरु दलले विश्वास गर्न नसकेको टिप्पणी छ । श्रेष्ठ हालै मात्र कमानसिंह लामा परिवारको एउटा पारिवारिक र आर्थिक विवादमा समेत गम्भीर रूपमा मुछिएका पात्र हुन् ।

स्मरणीय छ, वलीको संसद् विघटनको पछिल्लो कदमपछि नेपाल कम्युनिस्ट पार्टीसहितका चारवटा कम्युनिस्ट पार्टीले विद्यमान दलाल पुँजीवादी सत्ताको पतन भएको निष्कर्ष निकाल्दै यसको विकल्पमा वैज्ञानिक समाजवादी सत्ता स्थापनाका लागि दीर्घकालीन रणनीतिक संयुक्त मोर्चा घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :