अखिल क्रान्तिकारीको सम्मेलनलगत्तै प्रहरीद्वारा विद्यार्थी गिरफ्तार

अखिल क्रान्तिकारीको सम्मेलनलगत्तै प्रहरीद्वारा विद्यार्थी गिरफ्तार

पोखरा : ‘सामाजिक दलाल फासिवादी प्रतिबन्धको प्रतिरोध गरौँ ! २३ औँ जिल्ला सम्मेलन सानदार रूपले सफल पारौँ ! नारासहित १२८ औँ माओ दिवसका अवसरमा आयोजना गरिएको अखिल क्रान्तिकारी कास्कीको २३ औँ जिल्ला सम्मेलनपछि प्रहरीले हस्तक्षेप गरी विद्यार्थीलाई गिरफ्तार गरेको छ ।

प्राप्त समाचारअनुसार अखिल क्रान्तिकारी कास्कीद्वारा सम्मेलनपछि आयोजित बनभोज कार्यक्रममा व्यापक प्रहरी धरकपडसहित नवनिर्वाचित अध्यक्ष पुरण पुन, अखिल क्रान्तिकारी कास्की जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य प्रकाश बास्तोलालगायत दर्जनौँ विद्यार्थीलाई गिरफ्तार गरेको हो । सम्मेलन समाप्त हुनासाथ हतियारसहित ठूलो मात्रामा परिचालित प्रहरीले विद्यार्थी नेताहरुलाई गिरफ्तार गरेका हुन् ।

यसअघि राज्यले लगाएको प्रतिबन्ध चिर्दै अखिल क्रान्तिकारी कास्कीले सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकले प्रतिबन्धबाट कत्ति पनि विचलित नभई अघि बढ्नुपर्ने बताए । प्रतिबन्धलाई झेल्न सकिएमा भोलि सुनौलो बिहानी लिएर उदाउन सकिने र वैज्ञानिक समाजवादी शिक्षा प्राप्त गर्न सकिने उनको भनाइ थियो ।

उनले नेपालको शिक्षाप्रणाली दास बनाउने किसिमको भएकाले यसलाई परिवर्तन गर्दै वैज्ञानिक शिक्षाप्रणाली लागू गर्नका लागि अखिल क्रान्तिकारी दृढ रूपमा लाग्नुपर्ने बताए ।

नेकपा कास्की जिल्ला सेक्रेटरी विश्वासले माओ दिवसको चर्चा गरे । उनले शैक्षिक क्षेत्रमा वैज्ञानिक प्रणाली विस्तार गर्दै विदेशीको गुलाम हुनुभन्दा स्वाधीनताको सिपाही भएर बलिदान गर्न तयार हुनुपर्ने बताए । वैज्ञानिक शिक्षा नै आजको आवश्यकता रहेकाले अखिल क्रान्तिकारी अमूल्य गहना रहेको र यही गहनालाई विद्यार्थीले ग्रहण गर्दै यसको रक्षा र विकासमा लाग्नुपर्नेमा जोड दिए ।

यसैगरी कार्यक्रममा अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य मिलन राई र गण्डक ब्युरो इन्चार्ज काजी गुरुङले पनि शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा अखिल क्रान्तिकारी कास्की जिल्ला इन्चार्ज प्रकाश बास्तोलाले घडी कसरी बनाउने भन्ने शिक्षाभन्दा नेपालमा घडी कसरी हेर्ने भन्ने खालको शिक्षाप्रणाली रहेको भन्दै शिक्षामा धेरै कुरामा सुधार गरिनुपर्ने र यसका लागि वैज्ञानिक शिक्षा आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा नेकपा कास्की जिल्ला इन्चार्ज उभारको पनि उपस्थिति थियो । सम्मेलनमा अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य मिलन राई, अखिल क्रान्तिकारी गण्डक ब्युरो इन्चार्ज काजी गुरुङ, अखिल क्रान्तिकारी केन्द्रीय सदस्य एवम् कास्की जिल्ला इन्चार्ज प्रकाश बास्तोलाको समेत उपस्थिति रहेको थियो । पुरण पुनको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा स्वागत मन्तव्य कमला परियारले राखेकी थिइन् । सम्मेलनले पुरण पुनको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति चयन गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :