जनकलाई अविलम्ब रिहा गर्न विद्यार्थी सङ्गठनको माग

जनकलाई अविलम्ब रिहा गर्न विद्यार्थी सङ्गठनको माग

काठमाडौँ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) उपत्यका जिल्ला समितिले प्रेस विज्ञप्ति जारी गर्दै २२ दलीय मोर्चाको विरोध कार्यक्रमबाट गिरफ्तार गरिएका सीटीईभीटी उपत्यका जिल्ला समितिका सदस्य जनक सार्कीलाई अविलम्ब र बिनासर्त रिहा गर्न माग गरेको छ । उपत्यका संयोजक डीबी चन्दले जारी गरेको विज्ञप्तिमा सार्कीलाई अपहरण शैलीमा गिरफ्तार गरी झूट्टा मुद्दा लगाइएकोमा गृह प्रशासनको उक्त अमानवीय शैलीको निन्दा गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो महान् तथा गौरवशाली सङ्गठन अखिल (क्रान्तिकारी) राष्ट्र, राष्ट्रियता, आमजनता र जनजीविकाका पक्षमा अनवरत सङ्घर्षरत रहेको कुरा सर्वविदितै छ । नेपालका जुनसुकै परिवर्तनका पक्षधर आन्दोलनहरूको संवाहक रहँदै आएको हाम्रो सङ्गठन वर्तमान सन्दर्भमा पनि भ्रष्टाचार, दलालीकरण, व्यापारीकरण, बलात्कार आदिका विरुद्ध उत्तिकै सङ्घर्षरत छ । देश कोरोना महामारीले थिलथिलो भइरहँदा सरकारमा रहेकाहरू कमिसन र भ्रष्टाचारमै लिप्त छन् । उद्योगीद्वारा उखु किसानहरूको रुपैयाँ भुक्तानी नहुँदा कृषकहरू सडकमै तड्पिरहेका छन् तर दुःखको कुरा यस विषयमा सम्बधित पक्षको कुनै चासो छैन ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसै सन्दर्भमा यही पुस ३ गते बानेश्वरस्थित २२ दलीय मोर्चाद्वारा राष्ट्रघाती एमसीसी, भ्रष्टाचार, अनियमितता, राजनीतिक तथा वैचारिक प्रतिबन्धको विरोधमा विरोधसभाको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा सहभागी भै संविधानअनुरूप आफ्नो विरोध गर्न पाउने अधिकारलाई प्रयोग गरी जुलुसमा सहभागी हुँदा केपी–रामबहादुर गृह प्रशासनद्वारा संविधान प्रदत्त अधिकारलाई लगाम लगाउँदै न्यूनतम् मानवीय धर्म र नैतिकताको समेत धज्जी उडाउँदै सीटीईभीटी उपत्यका जिल्ला समिति सदस्य क. जनक सार्कीलाई अपहरण शैलीमा गिरफ्तार गरी झूट्टा मुद्दा लगाइएको छ । गृह प्रशासनको उक्त अमानवीय शैलीको निन्दा गर्दछौँ । साथै क. जनक सार्कीको यथाशीघ्र रिहाइका लागि जोडदार माग गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :