केपी वलीको कदम संसदीय व्यवस्थाको असफलतापछि फासिवादको सहारा : महासचिव विप्लव

महासचिवद्वारा असफल संसद्‌वादी गोलचक्करमा नफस्न र वैज्ञानिक समाजवादका लागि नयाँ आधारमा मोर्चाबन्दीमा जुट्न आह्वान

केपी वलीको कदम संसदीय व्यवस्थाको असफलतापछि फासिवादको सहारा : महासचिव विप्लव

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले केपी वलीले सत्ताको असफलतापछि फासिवादको सहारा लिँदै संसद् विघटन गरेको बताएका छन् । उनले आइतबार विज्ञप्ति जारी गर्दै कथित लोकतन्त्रको उच्च संस्था भनिने संसद्लाई बलात् भङ्ग गर्नुले नेपाली जनताको अग्रगामी एवम् रूपान्तरणकारी चाहना र दलाल पुँजीवादी सत्ताको पश्चगामी, प्रतिक्रियावादी प्रवृत्तिका साथै साम्राज्यवादी घुसपैठका कारण पैदा हुने सङ्घर्षका कारण उनीहरूले जतिसुकै शान्ति र समृद्धिको प्रचार गरे पनि यो असफलता र सङ्कट आउनु अनिवार्य रहेको दृष्टिकोण पनि राखेका छन् ।

महासचिव विप्लवले तीन दशकको प्रयोगमा जनताले मौका दिँदादिँदै पनि पूर्णतः असफल भइसकेको संसदीय व्यवस्थाको गोलचक्करबाट नयाँ समाधान होला भन्ने भ्रममा नपर्न आम जनसमुदायलाई आह्वान गर्दै यो सङ्कटको वास्तविक समाधान, शान्ति, स्थिरता, स्वाधीनता र समृद्धिका लागि वैज्ञानिक समाजवाद स्थापनाका लागि सम्पूर्ण कम्युनिस्ट, वामपन्थी, प्रगतिशील, लोकतन्त्रवादी, देशभक्त शक्तिहरूलाई नयाँ आधारमा ऐतिहासिक संवाद, सहकार्य र मोर्चाबन्दीमा जुट्न विशेष आग्रह गरेका छन् । उनले सम्पूर्ण नागरिकहरूलाई आमूल परिवर्तनकारी सङ्घर्षमा सहभागी बन्न र सहयोग गर्न पनि हार्दिक आह्वान गरेका छन् ।

महासचिव विप्लवद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आज केपी वलीले कथित लोकतन्त्रको उच्च संस्था भनिने संसद्लाई बलात् भङ्ग गरे । नेपाली जनताको अग्रगामी एवम् रूपान्तरणकारी चाहना र दलाल पुँजीवादी सत्ताको पश्चगामी, प्रतिक्रियावादी प्रवृत्तिका साथै साम्राज्यवादी घुसपैठका कारण पैदा हुने सङ्घर्षले उनीहरूले जतिसुकै शान्ति र समृद्धिको प्रचार गरे पनि यो असफलता र सङ्कट आउनु अनिवार्य थियो ।’

महासचिवको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘जनताको शान्ति र प्रगतिको आकाङ्क्षा पूरा गर्न असफल हुँदा फासिवादको सहाराद्वारा आफ्नो सङ्कट टार्न खोज्ने संसद्‌वादी तत्वहरूको विश्वव्यापी चरित्रअनुरूप पर्ने केपी वलीले यो कदम चालेका छन् । परन्तु यसले वस्तुतः दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाको असफलता र वैज्ञानिक समाजवादी राज्यव्यवस्थाको आवश्यकतालाई निर्विकल्प रूपले पुष्टि गरेको छ ।’

महासचिव विप्लवको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘तीन दशकको प्रयोगमा जनताले मौका दिँदादिँदै पनि पूर्णतः असफल भइसकेको संसदीय व्यवस्थाको गोलचक्करबाट नयाँ समाधान होला भन्ने भ्रममा एकरत्ति पर्नु हुँदैन । यो सङ्कटको वास्तविक समाधान, शान्ति, स्थिरता, स्वाधीनता र समृद्धिका लागि वैज्ञानिक समाजवाद स्थापनार्थ सम्पूर्ण कम्युनिस्ट, वामपन्थी, प्रगतिशील, लोकतन्त्रवादी, देशभक्त शक्तिहरूलाई नयाँ आधारमा ऐतिहासिक संवाद, सहकार्य र मोर्चाबन्दीमा जुट्न हाम्रो पार्टी विशेष आग्रह गर्दछ । साथै सम्पूर्ण नागरिकहरूलाई आमूल परिवर्तनकारी सङ्घर्षमा सहभागी बन्न र सहयोग गर्न हार्दिक अपिल गर्दछौँ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :