तपाईंहरू तयार हुनुस्, क्रान्तिको मात्रालाई जुनसुकै स्तरमा उठाउन हामी तयार छौँ – विप्लव

तपाईंहरू तयार हुनुस्, क्रान्तिको मात्रालाई जुनसुकै स्तरमा उठाउन हामी तयार छौँ – विप्लव

महासचिव कमरेड, रातो खबरमा हार्दिक स्वागत छ ।

धन्यवाद ।

सुरुआत एउटा विशेष सन्दर्भबाट गरौँ, नेकपाले हरेक वर्ष मङ्सिर ८ गतेलाई एउटा उत्सवका रूपमा मनाइरहेको छ । यस अवसरमा पार्टीपङ्क्ति र आमजनसमुदायलाई के सन्देश दिन चाहनुहुन्छ ?

सर्वप्रथम जनलोकप्रिय सञ्चार माध्यम रातो खबरलाई धेरैधेरै धन्यवाद । यो उत्वसको कुरा निकै महत्वपूर्ण छ । खासगरी इतिहासमा कुनैकुनै दिनले नयाँ आरम्भको, नयाँ सुरुआतको सन्देश दिन्छन् । मङ्सिर ८ गते त्यस्तै ऐतिहासिक दिन हो जसले देशको राजनीतिमा ऐतिहासिक र विशिष्ट महत्व राख्छ । यसलाई अर्को अर्थमा भन्दा यो एउटा उत्कर्षको दिन हो । एउटा राजनीतिक सन्दर्भको उत्कर्षको दिन । एउटा प्रक्रिया निधेष गरेर नयाँ प्रक्रिया सुरु भएको दिन हो यो । नेपालको राजनीतिमा जनयुद्धबाट आएको माओवादी पार्टीको नेतृत्व र संसद्वादी पार्र्टीहरूको गठजोडबाट नेपालको राजनीतिमा प्रतिगमन वा पश्चगमन सुरु भयो, त्यसलाई तोडेको दिन हो । त्यसलाई निषेध गरेर कम्युनिस्ट आन्दोलनलाई एउटा मोड दिएको दिन हो । यो एउटा क्रमभङ्ग पनि हो, आरम्भ पनि हो । नेपाली जनताका लागि सुखद एवम् गौरवपूर्ण दिन हो ।

नेपाल कम्युनिस्ट पार्टीलाई सरकारले प्रतिबन्ध लगाएको छ । प्रतिबन्धले यो पार्टीलाई सकारात्मक र नकारात्मक रूपले के प्रभाव पारेको छ ? यसले समग्र रूपमा कम्युनिस्ट आन्दोलन वा नेपालको राजनीतिक आन्दोलनलाई के प्रभाव पारेको छ ?

मङ्सिर ८ गते प्रचण्ड र बाबुरामसँगको लडाइँ उत्कर्षमा पुगेर वा अन्त्य भएर नेपालमा नयाँ सुरुआत भयो । स्वाभाविक रूपले त्यसका क्रिया–प्रतिक्रियाहरू अगाडि आए । हामीले भनेका थियौँ– स्वभाविक रूपले नेपाली समाजको रूपान्तरण वा देशको रक्षाका लागि वा नेपाली जनताको पूर्ण अधिकार प्राप्तिका लागि नयाँ आरम्भ हो । त्यहीअनुसार हामीले कामहरू पनि अगाडि बढायौँ । खासगरी जनताका अधिकारहरूमाथि हस्तक्षेप हुँदा देशलाई क्षति पुग्ने र घाटा लाग्ने काम हँुदा, आर्थिक र राजनीतिक कामहरू हुँदा हाम्रो प्रतिरोध सुरु हुँदाखेरि राज्यले हामीमाथि दमन सुरु गर्यो । हामीलाई प्रतिबन्ध घोषणा गर्यो । यो पनि विवादमा छ । सरकारले यो पार्टीलाई प्रतिबन्ध होइन, गतिविधिमाथि प्रतिबन्ध लगाएको हो पनि भन्ने गरेको छ । तर समग्र जनताले बुझेको कुरा यो पार्र्टीमाथिको प्रतिबन्ध हो । यो हाम्रानिम्ति चुनौती र अवसर दुवै बनेको छ । यो खुसीको कुरा पनि बन्ने गरेको छ । माओ त्सेतुङले एकपटक भन्नुभएको थियो– कहिलेकहीँ जनताका विरोधीहरूले पनि गुरुको काम गर्दछन् । विभिन्न खालका आशङ्काहरू भएको सन्दर्भमा प्रतिबन्धले हामीलाई जनतामा फर्किनका लागि, जनतासँग नयाँ आधारमा सहकार्य गर्नका लागि, जनतासँग नजिकमा बसेर सेवा गर्ने अवसर पनि बनाइदिएको छ । हामीलाई जनतामा फर्काएको अर्थमा हामीले केपी वलीजी र यो सरकारलाई धन्यवाद नै दिनुपर्छ । अर्को अर्थमा हामीलाई चुनौती पनि भयो । जनताका पक्षमा बोल्दा, राष्ट्रका पक्षमा बोल्दा, भ्रष्टाचारका विरुद्ध बोल्दा, ठगी धन्दा र महँगीका विरुद्धमा बोल्दा लगाइएको प्रतिबन्धले स्वाभाविक रूपमा केही चुनौती र अप्ठेराहरू परेका छन् । त्यसको सामना गर्दै गएका छौँ । हाम्रो पार्र्टीको निष्कर्ष के छ भने हामी जनताका पक्षमा उभिएको परिणाम नै हामीमाथिको प्रतिबन्ध हो । यसमा धेरै चित्तदुखाइ छैन । हामी जनताका पक्षमा उभिएका कारण नै यस्तो हुन पुगेको हो । यसलाई बिस्तारै अन्त्य गर्दै जाने र जनताले देख्ने गरी उपलब्धि ग्रहण गर्नुपर्दछ भन्ने लाग्छ ।

एउटा कम्युनिस्ट नाउँको पार्टीले अर्को कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने कुरा कत्तिको जायज हो ? यसलाई आमजनताले कसरी बुझ्ने ?

निश्चय नै हामीले व्यावहारिक ढङ्गले पनि यो कुरा बुझ्यौँ । जब प्रतिबन्धको घोषणा गरियो हामीले पनि प्रतिरोध अगाडि बढायौँ । हामी बसेको ठाउँमा जनताले पनि अथवा हाम्रा मित्रहरूले, बुद्धीजीवीहरूले पनि यही जिज्ञासा पर्याप्त रूपमा गरेको र हामीले पनि अनुभूत गरेको के हो भने एउटा कम्युनिस्ट पार्टीको नाम लिने शक्ति लगभग २ तिहाइको बहुमतसहित सरकारमा छ । अर्को कम्युनिस्ट पार्टी फेरि प्रतिबन्धमा छ । उताबाट प्रतिबन्ध लगाइएको छ । यतातिरबाट प्रतिरोध भैरहेको छ । जनतालाई पनि एक छिन बुझ्नका लागि असहज भएको जस्तो, यसलाई पकड्नमा पनि अप्ठेरो, असजिलो भएको जस्तो महसुस भएको थियो । यद्यपि यो नेपालको मात्र नौलो अनुभव थिएन । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा पनि हामी यस्तो अनुभव भेट्टाउँछाैँ । रुसमा पनि यस्तो भएको थियो । मेन्सेबिकहरूले बोल्सेबिकहरूलाई यस्तै व्यवहार गरेका थिए । जर्मनीमा त झन् कम्युनिस्ट नामकै गृहमन्त्री भएर दमन गरेको, रक्तपात मच्चाएको कुरा पनि हामीलाई थाहा छ । भारतमा पनि त्यस्तो अनुभव छ । यद्यपि नेपालको हकमा भने यो नौलो अनुभव हो । हिजो एमाले र माओवादी हुँदा पनि अलिअलि यस्तो खालको अनुभव भएको हो । तर अहिले उत्कर्षमा यो अनुभव भएको हो । हामीले के भनेका छौँ भने यो दुई वर्षको व्यावहारिक अनुभवबाट हामीले पहिलो कुरा त केपी वलीको सरकारले के भन्यो भने हामीले गलत बाटो लिएकाले, हत्याहिंसाको बाटो लिएकाले, सशस्त्र सङ्घर्षको बाटो लिएकाले प्रतिबन्ध लगाउनुपर्यो भने । हामीले के भन्यौँ भने अहिलेको सरकारले जनविरोधी प्रवृत्तिको नेतृत्व गरेकाले, दलाल पुँजीपति वर्गको नेतृत्व गरेको र जनताको हितविपरीतको कार्य गरेको हुनाले हामीले यो बाटो लियौँ । यो बीचमा अहिले व्यावहारिक रूपले के साबित हुन्छ भने जनताले पनि देख्ने गरी वा सरकार, यो राज्य वा व्यवस्था श्रमिक जनता, किसान, मजदुर, दलित, महिला अथवा कसैको पनि हितमा काम गर्दैन । यो सरकार नै जनताका विरुद्ध छ भन्ने जनताले प्रत्यक्ष अनुभूति गरेको अवस्था हो । अर्को कुरा के हो भने कम्युनिस्ट भने पनि केपी–प्रचण्डहरूले अहिले कम्युनिस्ट पार्र्टीको नेतृत्व गर्नुहुन्न, दलाल पुँजीपति वर्गकै रक्षा गर्ने, एउटा वर्गको रक्षा गर्नुहुन्छ हामीले भनेका थियौँ । यो सही हो र जनताले बुझ्दै गएका छन् । यस अर्थमा हामीलाई ठिकै पनि लागेको छ ।

अहिले विश्व र नेपाल पनि कोरोना महामारीले आक्रान्त छ । नागरिकहरूको जीवनस्तरको रोजीरोटीको समस्या जटिल छ । किसानहरूहरूको अवस्था सङ्कटमा छ । यो अवस्थामा मध्यम वर्गको अवस्था पनि जर्जर छ । आर्थिक अवस्था पनि जर्जर छ । सरकार भनेको कोरोनाको उपचारको त कुरै छोडौँ, परीक्षणसमेत गर्न नसक्ने अवस्था छ । जनताको अवस्था दयनीय छ । यो समग्र परिस्थितिलाई कसरी विश्लेषण गर्नुभएको छ ?

केपी वली सरकार बनेदेखि नै हामीले भनेका थियौँ, यो संविधान जनताको संविधान होइन । देशमा जुन खालको आमूल परिवर्तनको सम्भावना थियो, त्यसलाई रोकेर फेरि पनि घुमेर दलाल पुँजीपति वर्गकै पक्षमा, उसकै संरक्षणमा लेखिएको संविधान हो भनेको थियौँ । जब सत्ता जनताको हातमा हुँदैन, जनताको हातमा सत्ता नहुँदासम्म जुनसुकै व्यवस्थाको नाम दिए पनि, सरकारमा गए पनि हुनेचाहिँ जनताकै, देशकै विरुद्धमा हो । त्यही भएर हामीले अलग पार्टी पनि बनायौँ, सङ्घर्ष पनि गर्याैँ । यो एउटा पाटो थियो । यो कुरा सीधै मान्छेहरूलाई घुसेको थिएन । हामीले भनेकै थियौँ– केपी–प्रचण्डहरूले जिते पनि जनतालाई खास दिनसक्ने केही होइन । काङ्ग्रेस त झन् काङ्ग्रेस नै भैहाल्यो । यही अवस्थामा यो संविधान र यो संसदीय व्यवस्था हुँदैन भनेर हिजो हामीले भनेकै थियाैँ । तर मान्छेलाई एकपटक हेरौँ न त भन्ने थियो । चुनावमा दुई तिहाइको सरकार आएपछि जनताका केही अपेक्षाहरू पनि थिए । केपी वली सरकारले केही गर्ला र गर्नुपर्छ भन्ने अपेक्षा पनि मान्छेमा थियो । राजनीतिक, सैद्धान्तिक ढङ्गले हेर्यौ भने सक्दैन भन्ने प्रस्ट नै थियो । तर व्यावहारिक ढङ्गले हेर्दाखेरि कस्तो थियो भने केही गरिहाल्छ कि त भन्ने थियो । अहिले व्यावहारिक रूपले के साबित भयो भने कोरोना महामारी कि त राष्ट्रियता, जनतन्त्र, जनजीविकाका सवालहरूमा केपी वलीजीको सरकारले फेल खाएको छ अथवा यो व्यवस्थाले फेल खाएको छ । यसले के देखाउँछ भने जनताले नै आफ्नो शासन व्यवस्थामा आफ्नो हैसियत अथवा आफ्नो स्वामित्व लिने अवस्था नपुगेसम्म, शोषणकारी प्रणाली अन्त्य नभएसम्म जनताको हितमा काम हुँदैन भन्ने कुरा साबित गर्दछ । कतिसम्म भने एकातिर कोरोनाले जनतालाई सङ्कटमा पार्दै ल्याएको छ, अर्कोतिर कोरोना नै व्यापारको विषय बनिरहेको छ । रोगलाई दलालहरूको मुनाफाका लागि व्यापार गर्ने अथवा लाखाैँ मान्छे सङ्कटमा पर्ने तर सीमित मान्छेहरू व्यापार गर्नतिर र अर्बौं कुम्ल्याउनतिर लाग्छन् । यो के हो त भन्दा यो व्यवस्थाले नै मुठीभर मान्छेको संरक्षण गर्दछ । अहिलेको कोरोना भ्रष्टाचारलगायत सबै कुराले यही साबित गरेको हामी देख्छौँ ।

सरकारले जनतासँग गरेका बाँचा पूरा गर्न सकेन । यसले जनतामा निराशा त पैदा गरेको छ नै, यसका साथै सरकारी नेकपाको आन्तरिक कलहका कारण पनि त्यहीँभित्र र बाहिरसमेत अब सरकारको विकल्प वा व्यवस्थाको विकल्प चाहियो भन्ने विषयमा बहस र विश्लेषण भइरहेका छन् । यो सबै समस्याको समाधान के हो ?

यो विषयमा हामीले पहिले नै भनेका छौँ । केपी र प्रचण्डजीहरू मिलेर नेपालमा नयाँ सुरुआत भयो भनेर एकदम ठूलो हल्ला गर्नुभयो । राष्ट्रिय सभागृहबाट हामीलाई समेत एकतामा ल्याउने र सँगै जानुपर्दछ भन्नुभयो । हामीले के भन्यौँ भने एउटा सुस्पष्ट विचार र दृष्टिकोणमा केन्द्रित नभएका एकता र सहकार्यहरू टिकाउ हुँदैनन् र त्यसले झन् ठूला समस्या लिएर आउँछ भनेका थियौँ । दोस्रो कुरा, केपी–प्रचण्डको एकता कुनै विचार तथा नीतिमा भन्दा पनि अस्तित्व सङ्कटले ल्याइदिएको बाध्यात्मक परिस्थितिको परिणाम थियो । उता काङ्ग्रेस एक ढङ्गले आइरहेको र अरू पार्टीहरूको एउटा बनेको अवस्थामा प्रचण्डहरू र केपीहरूले पनि सत्तामा पुग्नुपर्दछ भन्ने आशङ्का राखेको अवस्थामा कतापट्टि गठबन्धन गरेर आफ्नो शक्तिलाई उठाउन सकिन्छ ? कम्तीमा अस्थायी रूपमा भए पनि केन्द्रमा पुग्ने भन्ने मनस्थितिले यस्तो एकता बनेको थियो । त्यो एकताको केन्द्रमा देश र जनताका पक्षमा केही गर्ने भन्दा पनि जसरी पनि सत्तामा पुग्ने र आफ्नो स्वार्थ पूरा गर्ने, आआफ्नो समूहको संरक्षण गर्ने र जसरी पनि केन्द्रमा पुग्ने देखिन्थ्यो । एकैपटक धेरै मान्छेले सत्ताबाट समान अवसर पाउने समान हैसियत लिने भन्ने कुरा त सम्भव हुदैन नि ! त्यहाँ त्यागभन्दा पनि अवसरको खोजी मात्र थियो । त्यसैले त्यो एकता दीर्घकालसम्म जाने भन्ने थिएन । त्यहाँ एउटा अन्तरविरोध आउँछ भन्ने नै थियो र आयो पनि । उहाँहरूको अन्तरविरोधले राज्यकै चरित्र देखाउँछ व्यवस्थाकै चरित्र देखाउँछ । यो व्यवस्थामा जनताको व्यवस्था निर्माण गर्ने, जनताको स्वाधीनता सुनिश्चित गर्ने दृष्टिकोण छैन । यो व्यवस्थाको केन्द्रमा पुग्नु भनेको सुविधा पाउन र अवसर लुट्न पुग्ने हो भन्ने चिन्तनले काम गरेपछि यो अन्तरविरोध त स्वतः आउँछ नि ! एउटा रमाइलो कुरा के छ भने सत्तामा बसेका त बसेका भैहाले, अरू पार्टीको पनि जनताको जीवन र भविष्य निर्माण गर्नेभन्दा पनि व्यक्तिगत खिचातानी र स्वार्थमा अल्झिएको अवस्था छ । अब देश र जनताको स्वार्थलाई केन्द्रबिन्दुमा राखेर काम गरे पो हुन्छ । त्यहाँ त्याग हुन्छ, सर्मपण हुन्छ, एकता हुन्छ । हैन भने आआफ्नो जत्था, समूह र गुटको मात्र संरक्षण गर्ने हो भने त अन्तरविरोध ल्याउँछ । किचलो ल्याउँछ । त्यसले देशलाई नै समस्यामा पार्छ । यसभित्रको लडाइँले के देखाउँछ भने दलाल पुँजीपति वर्ग र दलाल पँुजीपति सत्ताको चरित्र यस्तो हुन्छ भन्ने कुरा छर्लङ्ग देखाएको छ ।

सत्तामा रहेको पार्टी जसले जनतालाई जुन आशाहरू देखाएको थियो, त्यो त पूरा गरेन नै । सरकारले जनताका आशाहरू पूरा गर्न नसकेपछि जनता निराश भएका छन् । सडकमा जनताका असन्तुष्टिहरू व्यक्त भैरहेका छन् तर त्यसले कुनै ठूलो आन्दोलनको अवस्था सिर्जना गरेको छैन । अहिलेका जनता र समग्र देशको समस्याको समाधान के हो अथवा यसको निकास के हो ?

पहिलो कुरा सरकारमा बसेको कम्युनिस्ट पार्टीभित्र अन्तरविरोध पैदा भएपछि जनतामा केही निराशा छायो । जनतालाईचाहिँ एकपटक प्रचण्ड, केपी, माधव नेपाल, झलनाथ खनालहरू एकै ठाउँमा भएको पार्र्टी हेर्न मन थियो अथवा पूर्वएमाले र पूर्वमाओवादी केन्द्र मिलेर एक ठाउँमा भएको पार्र्टी जनतालाई हेर्न मन थियो । हामीले त भनेका थियौँ– यो हुँदैन भनेर । तर छोटो समयमै आन्दोलनबाट आन्दोलन र क्रान्तिबाट क्रान्तिमा जाने चेतना जनताको बनिसकेको हुँदैन । त्यसैले मानिसहरूलाई एकपटक मिलेको पार्टी हेर्ने मन थियो । हेरिसकेपछि जनतामा निराशा त थियो तर मानिसहरूले भनिरहेका छन्– नेकपाले त उहिल्यै भनेको थियो नि । हामीले पार्टी पुनर्गठन गरेर अघि बढाएको कुरा यो हाम्रो होइन, जनताकै कुरा थियो । अब यो संसदीय व्यवस्था र दलाल पुँजीवादी सत्ताले जनताको हितमा काम गर्दो रहेनछ भन्ने कुरा पुष्टि भयो नि त । अब केही नयाँ गर्नुपर्छ, केही नयाँ विकल्प चाहिन्छ भन्नेचाहिँ जनतालाई लागेको छ । अर्को कुरा अब मध्यम वर्ग, व्यवसायीहरूले पनि नयाँ विकल्प के हो त भन्ने कुरा खोजिरहेका छन् । आज बहस घुमिरहेको छ । काङ्ग्रेसले के गर्न खोजेको छ भने व्यवस्थाको कुरा होइन, यो कम्युनिस्ट पार्र्टीको मात्र समस्या हो भनिरहेको छ । कम्युनिस्ट पार्टीको यो कचिङ्गल विघटनमा गएर फुट होला, योबाट हामी आत्तिनु हुँदैन । विकल्प भनेको काङ्ग्रेसको सरकार हो भन्याजस्तो तर्क गरेको छ । त्यसबाट मानिसहरूलाई केही परेको पनि होला तर काङ्ग्रेस पनि इतिहासमा धेरैपटक परीक्षण भैसकेको छ । यो त पार्र्टीको समस्या होइन, व्यवस्थाको समस्या हो । यही व्यवस्थामा काङ्ग्रेसले केही गर्न चाहेर पनि हुँदैन । यसमा अलमलमा पर्नु हुँदैन । यो बेलामा सबैले के सोच्नुपर्दछ भने योभन्दा राम्रो व्यवस्था मध्यम वर्ग, व्यवसायी, उद्योगी सबैको हित रक्षा गर्ने व्यवस्थाकै नयाँ कन्सेप्टमा जानुपर्दछ भन्ने कुरा सबैले बुझ्नुपर्दछ ।

दोस्रो कुरा के छ भने हामीले त पहिलेदेखि नै भनेका थियौँ– सबैले एकपटक सोच्नुपर्यो । नयाँ व्यवस्थाकै नयाँ कन्सेप्सनमा जानुपर्छ भन्ने कुरा हाम्रो छ । हामीले योभन्दा प्रगतिशील व्यवस्था, योभन्दा राम्रो संविधान दिनुपर्दछ । हामीले समाधान के दिएका छौँ भने हाम्रो सुस्पष्ट दृष्टिकोण छ– दलाल पुँजीवादी संसदीय व्यवस्था होइन, जनताको, आधारभूत रूपले श्रमिक जनताको हित गर्ने, उनीहरूको सम्पुर्ण क्षमतालाई ग्रहण गर्नसक्ने, त्यसलाई राष्ट्र र जनताको हितमा प्रयोग गर्नसक्ने, सदुपयोग गर्नसक्ने व्यवस्था वैज्ञानिक समाजवाद नै हो भन्ने हाम्रो सुस्पष्ट दृष्टिकोण छ । यसकै विषयमा हामी सबैले सोच्नुपर्दछ । एउटा सिस्टममै, राज्य व्यवस्थाकै विकल्पका बारेमा छलफल गरौँ भन्नेमा हामी छौँ ।

यहाँहरूले सबैखाले समस्याको समाधान वैज्ञानिक समाजवाद हो भन्नुभयो । वैज्ञानिक समाजवादी व्यवस्था त एकदलीय तानाशाही व्यवस्था हो भन्ने आमखालको बुझाइ छ । तपाईंहरूले किसान, श्रमिक मजदुर मात्रै नभएर नेपालमा मध्यम वर्ग, उद्योगी–व्यवसायी, राष्ट्रिय पुँजीपतिहरूलाई, सच्चा लोकतन्त्रवादीहरूसमेत यो व्यवस्थामा सामेल हुनुपर्दछ भन्नुभएको छ । वैज्ञानिक समाजवादमा यो वर्गले कसरी अपनत्व महसुस गर्न सक्छ ?

पहिलो कुरा के छ भने समाजमा समाजवाद र लोकतन्त्रको बहस छ । यहाँ के भ्रम दिन खोजिएको छ भने लोकतन्त्र भनेको समाजवादबाट अलग हो । समाजवाद भनेको लोकतन्त्रबाट अलग हो । अहिले लोकतन्त्र छ, यो नै समाजवादमा गयो भने लोकतन्त्र हुँदैन । लोकतन्त्र भनेको के हो भने समाजवादमा त मान्छेहरूले बोल्न पनि पाउँदैनन्, लेख्न पनि पाउँदैनन् भन्ने गलत कुराहरू भनिएको छ । यहाँ भ्रम दिन खोजिएको छ । लोकतन्त्र भनेको समाजवादबाट अलग हो र समाजवाद भनेको लोकतन्त्रबाट अलग भन्न खोजिएको छ । एउटा कुरा के हो भने लोकतन्त्र र समाजवाद भनेका फरक कुरा होइनन् । काङ्ग्रेस र पुँजीवादमाथि विश्वास राख्ने मान्छेले के भन्दछन् भने लोकतन्त्र र समाजवाद भनेका विपरीत कुरा हुन् । यो एकदमै गलत कुरा हो । समाजवाद माक्र्सले पनि, लेनिनले पनि र माओले पनि सबैले आधारभूत रूपमा समाजवादी सिद्धान्तको आधारभूत रूपले खोज गर्नुभएकै के हो भने पुँजीवादमा लोकतन्त्र हुँदैन । सामन्तवादमा त लोकतन्त्र हुँदै–हुँदैन । पुँजीवादमा पनि लोकतन्त्र हुँदैन । वास्तविक लोकतन्त्र वैज्ञानिक समाजवादमा मात्र हुन्छ । लोकतन्त्र भनेको के हो त भने मान्छेले आफूसँग भएको क्षमतालाई जसरी सम्पूर्ण रूपले प्रयोग गर्न पाउँछन्, त्यसरी नै आफ्नो आवश्यकतालाई सम्पूर्ण रूपले भोग गर्न पाउँछन । त्यो भनेको समाजवाद हो । पुँजीवादमा के हुन्छ भने आफ्नो क्षमता सबै दिनुपर्छ तर केही पनि भोग गर्न पाइँदैन । हामीमाथिको प्रतिबन्धको कुरा गर्नुस् न, हामीमाथि प्रतिबन्ध लगाइएको छ । हामीले के गरेका छौँ ? हामीले भ्रष्टाचार हुनु हुँदैन भनेका छाैँ । एनसेलले कर छली गर्यो । कैयौँ मानिसहरूले त्यसको पैसा उडाइरहेका छन् र आफ्नो थैली भरिरहेका छन । त्यसो गर्नु हुँदैन भन्यौँ । यसो भन्दा हामीमाथि प्रतिबन्ध लगाउनुपर्छ ? एनसेललाई कारबाही गर भन्दा गरेन । जनताले कारबाही गरे, हामीले त्यसको नेतृत्व गर्यौँ । उल्टै हामीमाथि प्रतिबन्ध लगाइयो ! अनि यो कसरी लोकतन्त्र भयो ? यसले त के गर्यो भने जनताको क्षमता त तानिरहेको छ तर जनतालाई केही प्रयोग गर्न दिएको छैन । मानिसहरूमा अभावैअभाव देखिएको छ । हो, पुँजीवादमा यही अभाव पूरा गर्ने, आफ्नो क्षमता दिने र क्षमताअनुसारको सुविधा प्रयोग गर्न पाउने अधिकार वैज्ञानिक समाजवादले दिन्छ भन्ने कुरा माक्र्स र एङ्गेल्सले लिएर कम्युनिस्ट सिद्धान्तमा जुन विकास गरियो त्यो हो समाजवाद । लोकतन्त्र त समाजवादमा पो हुन्छ त । सबभन्दा मेहनती र श्रम गर्ने मान्छेलाई राज्यको नेतृत्व दिइन्छ । त्यो पो समाजवाद हो त । कम्युनिस्टहरू कहिल्यै पनि लोकतन्त्रको विरोधमा रहँदैनन् । लोकतन्त्रलाई जनताको मत ठान्ने हो भने समाजवाद नै लोकतन्त्रको उत्कृष्ट प्रयोग हो । मानिसले आफ्ना सबैखाले स्वतन्त्रता समाजवादमा पाउँछ । सामन्तवादमा ५ प्रतिशत र पुँजीवादमा १० प्रतिशतजस्तै समाजवादमा ९० प्रतिशत अधिकार पाइन्छ भनेको हो । समाजवादमा मानिसहरूले आफ्नो क्षमता देशका लागि प्रयोग गर्न पाउँछन् । आफ्नो सुविधा पनि देशबाट लिन्छन् । त्यो हो समाजवाद भनेको । बरु आज डाक्टर, इन्जिनियर, वैज्ञानिक, बुद्धिजीवीहरूले त्यो क्षमताको प्रयोग गर्न पाउँदैनन् । अहिले उद्योगी व्यवसायीहरूले पनि प्रयोग गर्न पाउँदैनन् । समाजवादमा त्यो पाउँछन् भन्ने बहसै चलाएका छाैँ । समाजवादमा जनताको हातमा सत्ता नआएसम्म त यो कुरा कन्फ्युजन हुन्छ । मान्छेले सम्पूर्ण रूपले शारीरिक अङ्गको प्रयोग गरेर गर्ने काम श्रमिक हो । आजको दिनमा श्रमिक भनेको खेतमा कोदालो खन्ने मान्छे मात्र होइन । खेतमा कोदालो खन्ने वा तानमा कपडा बुन्ने मात्र श्रमिक होइनन्, वैज्ञानिक, डाक्टर इन्जिनियर, पाइलट, प्रोफेसर सबै श्रमीक हुन् । एउटा प्रोफेसरले ५।६ घन्टा नपढाएसम्म तलब पाउँदैन, खाना पाउँदैन भने त्यो पनि श्रमिक हो । उद्योगी व्यवसायीहरू पनि श्रमिक हुन् । त्यसैले यी वर्गहरूले, उद्योगी व्यवसायीहरूले, मध्यम वर्गले आफूलाई श्रमिक वर्गबाट अलग गर्नु हुँदैन । तेस्रो कुरा समाजवादमा गयो भने एकदलीय हुन्छ कि त ! लोकतन्त्रवादीहरूसँग कसरी सहकार्य गर्छौ ? हामीले अहिलेदेखि नै के कुरा प्रस्ट पार्न खोजिरहेका के छौँ भने समाजवादमा सम्पूर्ण रूपले जनमतको कदर हुन्छ । व्यावहारिक रूपमा हेर्यो भने रुसमा पहिलोपटक महिलाहरूले भोटिङ गर्ने अधिकार पाएको होइन त ? जो ब्रिटेनमा थिएन । अमेरिकामा थिएन । पहिलोपटक चुन्ने र चुनिने अधिकार महिलाहरूले समाजवादमा पाएका हुन् नि ! रुसमा हरेक मानिसका लागि गाँस, बास, कपासको व्यवस्था भएको हो र हरेक मानिसले आफ्नो क्षमताको प्रयोग गर्न पाएका हुन् । पछि बिग्रियो होला तर अमेरिका र ब्रिटेनमा खण्डखण्ड रूपमा भोट हाल्दै आएका छन् । २ प्रतिशतले, ४ प्रतिशतले, १६ प्रतिशतले हुँदै रुसभन्दा धेरै पछि आएको हो त्यो अधिकार । समाजवादमा सम्पूर्ण रूपले जनमतको प्रयोग हुन्छ । हामीले नेपालमा मान्छेलाई हेरेर विरोध गरेको होइन । सिद्धान्तको विरोध गरेको हो । जुन पार्र्टीहरूले हामीसँग सहकार्य भन्छन् उनीहरूसँग दृष्टिकोण प्रस्ट हुनुपर्यो । दृष्टिकोण मिल्यो भने हाम्रो त काङ्ग्रेससँग पनि सहकार्य हुन सक्छ नि । राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर काम गरेपछि त हामी पार्र्टीभित्रै छलफल गरेर प्रतिस्पर्धाको कुरा गर्छौं नि त । काङ्ग्रेससँग किन नगर्ने ? देशभक्तहरूको कुरा पनि नगर्ने ? कम्युनिस्टहरू देशभक्त हुँदैनन् भन्ने कुरा गलत हो । चीनमा आएपछि घटनाक्रमले के पुष्टि गर्यो भने जसले देशभक्त छौँ भने उनीहरूले गद्दारी गर्दै गए, जापानसँग मिल्दै गए । माओले के भन्नुभयो भने– सच्चा श्रम गर्ने देशभक्त हुन्छ । किसान, मजदुर, आफ्नो श्रममाथि विश्वास गर्ने देशभक्त हो । व्यावहारिक रूपले हेर्ने हो भने जसले शोषण गर्छ, उसैसँग मिल्न जाने ! एउटा घटनामा जनताको दबाबमा परेर अडान लिएको जस्तो गरेको देखिन्छ नि यहाँ ! असल र सच्चा देशभक्तहरूलाई के भनेका छौँ भने सच्चा कम्युनिस्टहरूसँग मिलेर समाजवाद बनाएपछि नै देशको रक्षा गर्दछ । समाजवादले नै देशभक्तहरूलाई सम्पूर्ण क्षमताको प्रयोग गर्न दिन्छ । यो कुरामा स्पस्ट हुनका लागि देशभक्त र सच्चा लोकतन्त्रवादी शक्तिहरूलाई अपिल गर्ने कुरा हुन्छ ।

नेपालको अर्थतन्त्र धराशायी छ । कोरोनाकै कारणले मात्र नभएर राज्यको उचित संरक्षणको अभावले यहाँका उद्योगी व्यवसायीहरू प्रताडित छन् । यस्तो अवस्थामा नेकपाले चन्दा मागेर हैरान पारेको भन्ने पनि प्रचारमा आउँछ । पार्टीले उनीहरूसँग चन्दा मात्र लिने हो कि उनीहरूको संरक्षण पनि गर्ने हो ?

महत्वपूर्ण प्रश्न गर्नुभयो । मैले सुनिरहेको छु र पढी पनि रहेको छु । हामीले सबैलाई प्रस्ट गर्ने कुरा के छ भने यो नितान्त गलत प्रचार हो । पहिलो कुरा नेपालको राज्य सङ्कटमा पर्नुको नम्बर १ कारण के हो भने यहाँका उद्योगधन्दा, कलकारखानाहरूको विकास नहुनु हो । अर्थतन्त्रमा एउटा प्रगतिशील अर्थतन्त्र जसलाई हामी के भन्दछौँ भने औद्योगिक अर्थसम्बन्ध, त्यसले संरक्षण गर्न नपाउनु, त्यसले संरक्षण, फल्ने फुल्ने वातावरण नपाउनु नै समस्या हो । यहाँ दलाल पुँजीवादी अर्थतन्त्र र सम्बन्ध हो । यहाँ पैसा बेचेर खाने दलाल पुँजीवादी अर्थसम्बन्ध छ । जनताको जीवन परिवर्तन हुने गरी आत्मनिर्भर अर्थतन्त्रको विकास नगर्ने प्रगतिशील, वैज्ञानिक र आधुनिक उत्पादन सम्बन्धको, अर्थसम्बन्धको विकास नगर्ने भनेको औद्योगिक उत्पादन सम्बन्धको विकास नगर्ने नै दलाल पुँजीवादको समस्या हो । जहाँ अर्थसम्बन्धकै समस्या छ भने यो राज्यले उद्योगधन्दा, कलकारखाना चलाउनेहरूको संरक्षण गर्दछ अनि औद्योगिक अर्थसम्बन्ध नयाँ आधुनिक र वैज्ञानिक हुनुपर्दछ भनेर लड्ने पार्र्टीले चाहिँ उद्योगी व्यवसायीहरूलाई च्याप्छ वा उनीहरूले सुविधालाई ध्यान दिँदैनन् भन्ने नितान्त गलत कुरा हो । मैले कैयौँ बेला नेपालका उच्च स्तरका व्यवसायीहरूसँग छलफल गर्दा कुरा गरेको छु । उहाँहरू सायद प्रस्ट हुनुहुन्छ र हुनुपर्दछ । जानीजानी भ्रमिपूर्ण कुरा गर्ने कुरा छुट्टै हो । अन्यथा हामीले के भनेका छौँ भने कुनै पनि व्यवसायीले हामीबाट अलिकति, रौँबराबर पनि सशङ्कित र सङ्कुचित हुनुपर्ने, चिन्तित हुनुपर्ने छैन । हामी त सहकार्य गर्न तयार छौँ । हामी उहाँहरूलाई भन्छौँ– हामी सहकार्य गरौँ । तपाईंहरू राज्यबाट संरक्षणविहीन र उपेक्षित हुनुहुन्छ । हामी जतिसक्यो आन्दोलनका बीचबाट गर्दै जान्छौँ । तपाईंहरूका लागि राज्यसँग पनि सङ्घर्ष गर्दछाैँ । हाम्रो पार्टीको नीति के छ भने नेपालमा राज्यले नै उद्योगधन्दा, कलकारखाना र उद्योगी व्यवसायीहरूको संरक्षण गर्दै जानुपर्दछ । राज्यले नै उद्योग व्यवसायको संरक्षणमा ठोस नीति बनाएर जानुपर्दछ । नेपालमा भर्खरै हुर्कंदै गरेको राष्ट्रिय पुँजीलाई बाहिरको निगम पुँजी आएर खाइदिने र बाहिरको बैँकिङ पुँजी आएर खाइदिने खतरा छ । त्यो खतराबाट बचाउनका लागि नेपालका उद्योगी व्यसायीहरूसँग छलफल गर्दै अघि जाने नीति बनाउनुपर्दछ भनेर हामी लडिरहेका छौँ । जहाँ औद्योगिक पुँजीको विकास उद्योग व्यवसाय, बजारको व्यवस्था, कलकारखानाहरूको विकासमा आज हामी आफ्नो तरिकाले गर्ने सहयोग गरिरहेका छौँ, यसमा कुनै अलमल हुनुपर्ने कुरा छैन । हामीले भनेका छौँ, तपाईंहरूको हितका लागि लडिरहेका छौँ । तपाईंहरू पनि हामीलाई मद्दत गर्नुहोस् भनेका छौँ । हामीले के भनेका छौँ भने निगम पुँजी जसले देशको सम्पत्ति लुटेर लान्छ, ऊसँग मिलेर काम गर्दछौँ भन्नुभयो भने, जसले तपाईंहरूको पुँजी खाइदिने गरी आइरहेको छ त्यसैसँग मिलेर फेरि काम गर्दछाैँ भन्नुभयो भने त्यो आफैँ सक्किने कुरा हो । हामीले आपसमा सहकार्य गरेर जाने भनेका हाैँ । त्यसैले हामीले आज मात्र हेरेर हुँदैन नि, आज उद्योगमन्त्रीसँग सहकार्य गरेर पुगिहाल्छ भन्ने होइन । नेकपा भनेको जनतासँग जोडिएको पार्टी हो । सहरमा नभए पनि गाउँमा त हाम्रो जनसत्ता छ नि त । गाउँमा न्याय खोज्नका लागि बाहिर जानु पर्दैन नि त । संरक्षण गर्न अरूहरूसँग जानु पर्दैन नि त । अहिले त्यो कैयौँ ठाउँमा प्रचारात्मक र कैयौँ ठाउँमा कामकाजी भए पनि गाउँमा त जनसत्ता छ र यो अघि बढ्दैछ । तपाईंहरू बुझ्नुहोस्, केन्द्रमा लेखिएको नियम र विनियमले मात्रै हुँदैन । संरक्षण त जनताको सत्ताले तलबाट पनि गर्दछ । जनताकै हितमा र राष्टङ्को हितमा काम गर्नुभयो भने जनसत्ताले तपाई हरूको हितमा काम गर्दै जान्छ । तर बाहिर हेर्दा उद्योग खोलेको जस्तो गर्ने, भित्र राज्यसँग मिलेर जनतालाई दोहन गर्ने गरे त हाम्रो सत्ताले पनि मान्दैन नि । उदाहरणका लागि एनसेलले के तर्क गर्दछ भने हामीले नेपालका हजारौँलाई रोजगार दिएका छौँ । ठीक छ, एनसेलले गरोस् तर सुविधाका नाममा जनतालाई थाहै नहुने गरी अत्याचार मच्चाउनुभएन नि ! अनि गरिब देशबाट वर्षमा अर्बौंखर्बौं पुँजी विदेश पलायन गर्नु भएन नि । यसो भन्नु उद्योगी व्यवसायीका विरुद्ध हुन्छ कि संरक्षण हुन्छ । जस्तो एनटीसी, आफ्नो सूचना सञ्चारलाई करप्सन गरेर ध्वस्त पार्ने एनटीसी राम्रो बनाएर राज्यलाई फाइदा हुन्छ नि, त्यो ध्वस्त पार्ने तर पैसाजति एनसेलमा सोझ्याउने, खेतको कुलो अर्कोतिर फर्काएको जस्तो गर्ने प्रवृत्ति देशलाई ठगेर विदेश पलायन गर्ने प्रवृत्ति हो । हामी यसका विरुद्ध त लड्छौँ नि । वैज्ञानिक समाजवादमा मात्रै वास्तविक रूपले उद्योगधन्दाहरूको विकास र संरक्षण हुन्छ । चीनमा माओले विकास गरेको नयाँ शिक्षानीतिले हरेक जनता, हरेक किसानको छोरालाई चेतना उठाएपछि आज चीन औद्योगिकीकरण भएको हो नि ! समाजवादले यो ल्याउँछ । यसमा ढुक्क भए हुन्छ ।

पछिल्लो चरणमा नेपालको भूभागमा भारतले हस्तक्षेप गरेपछि ठूलो स्तरमा राष्ट्रिय आन्दोलनको उठान पनि भयो । नेपालको हस्तक्षेप गरिएको भूभाग समेटेर नक्सा त सार्वजनिक भयो तर अहिले त्यो विषय त्यत्तिकै थन्किएको अवस्था छ । यो भूभाग नेपालले पूर्ण रूपले प्राप्त गरिसकेको अवस्था छैन । यही क्रममा भारतीय सेना प्रमुख, ‘र’ का प्रमुखलगायतको नेपाल भ्रमण भयो । नेपालमा फेरि ठूलो राष्ट्रघातको आशङ्का गरिएको अवस्था छ । यसलाई कसरी बुझ्नुपर्छ ?

नेपालमा राष्ट्रियताका विषयमा लामो बहस छ । अहिले कालापानी, लिम्पियाधुरा, लिपुलेकको बहस अगाडि आए पनि ब्रिटिसकालदेखिकै कैयौँ बहसहरू छन् हामीले खोज्दै गयाैँ भने । तर नढाँटेर भित्रदेखि नै भन्ने हो भने नेपालीहरूलाई के लागेको छ भने अङ्ग्रेजसँग सम्झौता गर्दाखेरिको समयदेखिकै समीक्षा गर्नुपर्दछ । नेपालको ठूलो जनमत यसमा छ । कतिसम्म तर्क छ भने अङ्ग्रेजहरू छोडेर जाँदाखेरि दार्जिलिङका जनता नेपालमा आउन चाहन्थे । त्यो स्वतः हुन्थ्यो । अङ्ग्रेजहरू पनि त्यो नेपालकै हो भन्नेमा थिए तर नेपालका राणा शासकहरू नेपालमा दार्जिलिङ आयो भने सबै नेपालीमा चेतना आउँछ र आफ्नो सत्तामा दख्खल पुग्छ भनेर दार्जिलिङलाई त्यहीँ छोडेर आएका हुन् भन्ने तर्क त्यहाँ पुग्छ । अहिले कालापानी, लिम्पियाधुरासहितलाई यता मिलाएको जस्तो गरेर सिङ्गो देशको स्वाधीनता र सार्वभौमिकतामाथि नै हस्तक्षेप गर्ने खतरा पनि छ यहाँ साम्राज्यवादी र उत्तरसाम्राज्यवादीहरूको । अझ हामीले अहिले ग्लोबल भनेका छौँ । भूमण्डलीकृत पुँजीवादको चरित्र के देखिन्छ भने नेपालको राज्यसत्ता देश र जनताको बलियो नेतृत्व गर्न लायक नबनेसम्म जताबाट पनि हस्तक्षेप हुनसक्छ भन्ने बुझ्नुपर्दछ । यहाँ कसैले लिपुलेकबाट, कसैले एयरपोर्टतिरबाट, कसैले सुस्तातिर मात्र हेर्ने भन्दा पनि समग्र रूपले आइरहेको छ । जनताले हेर्दाखेरि कालापानी र लिपुलेकमा केही गरेको जस्तो देखिने तर अर्को ठाउँबाट झन् ठुलो समस्या देखिने जस्तो भइरहेको छ । यसमा त जनता सचेत हुनैपर्दछ । हामीले के भनेका छौँ भने जनताकै बलमा नक्सा जारी भयो । यो केपी सरकारको प्रगतिशील कदम भनेका छौँ तर फेरि कालापानी, लिम्पियाधुरा, लिपुलेक समेटिएको नक्सा राखिएको किताब किन रोक्ने ? पछिल्लो चरणमा चीनसँगको सीमा विवादको कुरा छ । यसमा राम्रो अध्ययन गर्न आवश्यक छ । सारमा अतिक्रमणकारी चरित्र चीनको देखिँदैन । सहज ढङ्गले समस्याको समाधान भएको भनेको चीनसँगै हो । नेपाल र चीनका विषयमा समस्या भए दुईवटै सरकारले बसेर समस्या समाधान गरे हुन्छ नि । यसलाई विषयान्तर गर्नु हुँदैन । यही विषयलाई लिएर काङ्ग्रेसले जसरी गर्न खोजेको देखिन्छ, त्यो विषयमा काङ्ग्रेसको चाहिँ विश्वराजनीतिमा आउन थालेको धु्रवीकरणको प्रभाव होला । त्यसो गर्नु हुँदैन । नेपालमा अहिले उत्तरको होइन, दक्षिणतिरको समस्या ठूलो हो । यी सबै विषयमा नेपालका जनताको समस्या समाधान हुनुपर्दछ भन्ने नै हो ।

सत्ताधारी पार्टीको किचलोको कुरा, राष्ट्रिय स्वाधीनताको कुरा, देशभक्तहरूसँगको सहकार्यको कुरा, भारतीय सेना प्रमुखको कुरामा मुख्य कुरा के हो भने हाम्रो देशको स्वाधीनताको रक्षाका लागि र जनताका अधिकारहरू सुनिश्चितताका लागि हाम्रा तर्फबाट गरिने पहलमा कुनै सङ्कुचित हुन जरुरी हुँदैन तर के छ भने हामी सचेत हुन सकेनाैँ भने यसका पछाडि अतिक्रमणकारी, नियन्त्रणकारी दृष्टिकोण छिपेर आइरहेको छ । यसमा सचेत हुनुपर्दछ । हामीले भारतीय सेना प्रमुख आउँदा विरोध गर्याैँ । उनले खुलेआम रूपले कालापानीका विषयमा चाइनाको उक्साहटमा नेपालले यसो गरेको हो भन्नेजस्तो कुरो गरे । एउटा सेनाको प्रमुखले खुलेआम रूपमा यसो भन्न पाइन्छ ? आफ्नो देशको सेना लगेर नेपालको भूभागमा राख्ने, आफैँले त्यसो भन्न मिल्छ ? तिनै मान्छे आएर कूटनीतिबाट हल हुन्छ भन्ने ? यो कुराले के देखाउँछ भने भारतीय साम्राज्यवादको नयाँ नीति छिपेर आएको हुनसक्छ भनेर सचेत हुनुपर्दछ भनेर हामीले भनिरहेका छाैँ । निचोडमा भन्ने हो भने भारतजस्तो क्षेत्रीय शक्तिका रूपमा उदाइरहेको देशले आफ्नो गोटी त्यसैअनुसार चालिरहेको छ । त्यस्तो देशबाट हामी आफ्नो स्वाधीनता सीधै पाइहाल्छौँ भन्ने कुरा हुँदैन र त्यसैले आफ्नो देशको रक्षाका लागि सबै कुरा मसिनो गरी हेर्नुपर्दछ भन्नेमा हामी छौँ ।

अमेरिकी परियोजना एमसीसीबारे राजनीतिक पार्टी र सबैको कित्ताबन्दीजस्तो देखएको छ । यस विषयमा के भन्नुहुन्छ ?

यसका विषयमा त पर्याप्त बहस छ । अनौठो कुरा के छ भने अहिले रेडियोमा समेत एमसीसीको विज्ञापन गर्ने गरिएको छ । काङ्ग्रेसनजिकका देखिन खोज्ने मिडियाहरूबाट एमसीसीका पक्षमा वातावरण बनाउन खोजेको जस्तो देखिन्छ । खुलेआम रूपमा विज्ञापन गर्ने गरिएको छ । यस्तो बेलामा राज्य निरीह देखिन्छ । हुनत केपी वली नै पास गर्नुपर्छ भन्ने पक्षमा छन् । यस विषयमा अमेरिकी मन्त्रीहरूले नै बारम्बार भनिसकेका छन्– यो २००४ मा जर्ज बुसकै पालाबाट सुरु गरेको र जहाँजहाँ आफ्नो पकड कम छ त्यहाँ आफ्नो प्रभाव बढाउनलाई गरेको रणनीति हो । यो सैन्य रणनीतिलाई सेवा पुर्याउने उद्देश्य हो । यसको उद्देश्य नै जहाँजहाँ आफ्नो पकड कमजोर छ, त्यहाँ क्षेत्रीय स्तरबाट, महादेशीय स्तरबाट र ग्लोबल स्तरबाट विश्वमा आफ्नो पकड बनाउने हो । यसरी उनीहरूले भनेकै छन् । दक्षिणएसियामा आफ्नो पकड कमजोर भएकाले यसलाई बलियो बनाउनका लागि विकास गरिएको सैन्य रणनीति हो भनेर अमेरिकाले भनेको छ । अमेरिकाको सैन्य रणनीतिलाई मद्दत गर्ने रणनीति नै एमसीसी हो भनेर अमेरिकाले भनिसकेको छ । विकास निर्माणका नाममा, सहयोगका नाममा आफ्नोअनुसार कानुन बनाउने, सरकार बनाउने र देशलाई उपनिवेश बनाउने अन्तिम लक्ष्य हो । राम्रो कुरा के छ भने यसका बारेमा जनता पनि सचेत हुँदै गएका छन् र सरकारी पार्टीभित्र पनि यसको बहस तीव्र भएको छ । हामीले पनि यसलाई पास हुन दिनु हुन्न भनेका छौँ । नेपालमा कम्युनिस्ट व्यवस्था नआओस्, यो चाइनासँग नजाओस् भन्ने, चाइनालाई घेर्ने, नेपाललाई आफ्नो मुठीमा राख्ने, नेपालमा अमेरिकी सेना राख्ने, आफ्नोअनुसारको कानुन बनाउने भन्ने यसको उद्देश्य हो । एमसीसी प्रोजेक्ट लागू भए नेपालले छुन नपाउने, उनीहरूकै कानुनअनुसार गर्ने, उसको इच्छाअनुसार गर्ने भन्ने छ । यसले के देखाउँछ भने एमसीसी पारित भएमा नेपालको सार्वभौमिकता र स्वाधीनतामाथि पूर्ण रूपले हस्तक्षेप हुनेछ र देश पराधीन हुनेछ भनेर हामीले विरोध गरेका हौँ ।

यो सरकार र व्यवस्थासँग असन्तुष्ट अन्य कम्युनिस्ट पार्टीहरू जो जनवाद वा समाजवादमा विश्वास राख्छन्, उनीहरूका बीचमा क्रान्तिकारी ध्रुवीकरण, पार्र्टी एकता वा संयुक्त मोर्चा, कार्यगत एकतालगायत प्रसङ्ग चलेका छन् । यो प्रक्रिया अहिले कुन अवस्थामा छ र यसबारेमा नेकपाको नीति के छ ?

यो विषयमा सबैको चासो छजस्तो लाग्छ । मानिसहरूले भनेका पनि छन् । हामीलाई खबर पनि पठाइरहनुभएको छ । बुद्धीजीवी, वामपन्थी व्यक्तित्वहरूले । यस्तो बेलामा उहाँहरूले हामीलाई विकल्प दिनुपर्यो भनिरहनुभएको छ । हामीले यसलाई सकारात्मक रूपमा ग्रहण गरेका छौँ । हामीले यस विषयमा के भनेका छौँ भने यो दलाल पुँजीवादी सत्ता र यसका विरुद्धमा जाने सबै कम्युनिस्ट क्रान्तिकारीहरूसँग हाम्रो सहकार्य गर्ने नीति प्रस्टै छ । हामीले पहिलेदेखि नै भन्दै आएका छौँ र पछिल्लो समयमा यो प्रगतितिर गएको छ । ४–५ वटा कम्युनिस्ट पार्र्टीहरूसँग त हाम्रो राम्रै छलफल चलेको छ । पत्रहरू आदानप्रदान पनि भएको छ । कुराकानी पनि भैरहेको छ । अरू विभिन्न व्यक्तित्वहरूसँग पनि विभिन्न माध्यमबाट र प्रत्यक्ष पनि कुरा भैरहेको छ । त्यस हिसाबले हामी निकै उत्साहित छौँ । कार्यगत एकताका विषयमा २१ दल जो बनेको छ त्यसमा हाम्रो समर्थन छ । हाम्रो पार्र्टी नै त छैन तर त्यसलाई हामीले समर्थन गरेका छौँ । अस्ति गृहमन्त्रीले हामीलाई भूमिगत भन्दै पार्टीसँग सहकार्य गर्ने यो मोर्चालाई छोडिँदैन भन्याजस्तो पनि गरे । त्यो त उनको कुरा हो । यो धेरै सङ्कुचित, आतङ्कित, सशङ्कित, त्रसित, अझ यसो भनौँ पूर्वाग्रही, अझ यसो भनौँ अराजनीतिक र अनैतिकजस्तो देखिन्छ तर २१ दलसँग हाम्रो समर्थन छ किनकि २१ दल जो छ त्यसले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा लडिरहेको छ । अर्को कुरा मिल्नेसँग हामी पार्र्टी एकता नै गर्ने भन्ने छ र त्यो कुरा पनि चलिरहेको छ । यसमा हाम्रो प्रस्ट कुरा के छ भने समयमा बुद्धि नपुर्याउने, पछि पछुताउने कुराबाट हामीले सिक्नुपर्छ । पहिले हतारमा एकता गर्ने, पछि एकताको भोलिपल्टबाट लडाइँ सुरु गर्ने र झोला बोकेर हिँड्ने गर्नु हुँदैन किनभने मित्रवत् सम्बन्धहरूलाई मित्रवत् बनाउन जोड गर्नुपर्दछ । मैले साथीहरूसँग भेट्दा पनि यो भन्ने गरेको छु । नेपालको संस्कार के छ भने भित्र पर्यो भने बाहिरकोलाई नदेख्ने, उछित्तो काढ्ने संस्कारको पनि समस्या छ जस्तो लाग्छ भने त्योभन्दा त मैत्रीपूर्ण सम्बन्ध बनाएर हो नि त सहकार्य गर्ने एकतामा राम्रोसँग मेहनत गर्ने तर हतार नगर्ने । हतारमा एकता गरेर अर्को दिनबाट फेरि लडाइँ सुरु गरेर बोलीचाली नै बन्द गरेर भएको मित्रता पनि सक्ने रूढिवादी चिन्तनमा जानु हँुदैन । त्यसका लागि बरु सहकार्य राम्रोसँग गर्ने र एकताका लागि वातावरण बनाउँदै जाने भनेका छौँ । रणनीतिक मोर्चाहरू बनाउने हुनसक्छ । हाम्रो यो छ र यसमा राम्रो प्रगति भएको छ । सायद निकट भविष्यमा नयाँ परिणामहरू पनि आउलान् । यही कुरा हामीले अरूसँग पनि भनेका छौँ । राजनीतिक, सैद्धान्तिक स्तरमा गरिने बहसमा त हामी तयार नै छौँ । सत्ताधारीहरू कम्युनिस्ट होइनन्, हामी त हौँ नि ! हामी त भागेर हिँड्ने पक्षमा छैनौँ । हामी त सँगै बसेर बहस गर्न तयार छौँ नि । हतारमा एकता गर्ने, भोलिपल्टबाट उछित्तो काढ्ने ? अहिले केपी–प्रचण्डहरूको हेरौँ न । सायद हामीजस्तो नजिकबाट कसैले बुझेको छैन होला के, अहिले सायद काङ्ग्रेस पनि दङ खाएर बसिरहेको छ होला । तिनीहरूले एक–अर्कालाई सत्तोसराप गरेको, उछित्तो काढेको, बर्बराएको कुरा, लगाएको आरोपहरूको चाङ देखेर काङ्ग्रेस पनि प्वाक्क परेर बसेको जस्तो लाग्छ । यो अनुभवसहित हामी सबै मित्रहरूसँगको सम्बन्धलाई सुदृढ गर्ने पक्षमा छौँ । हामीलाई वामपन्थी बुद्धिजीवीहरूले दिएको सुझावजस्तै यो व्यवस्थाको विकल्प खोज्ने शक्तिहरूले साहसका साथ नयाँ एकता र नयाँ मोर्चाहरू निर्माण गर्नेतिर जानुपर्दछ भन्ने हाम्रो जोड छ ।

पछिल्लो चरणमा अलि सङ्घर्ष र आन्दोलन गर्नुपर्दछ भन्ने युवाहरूको जोड छ नै तर अलि पाका अग्रज कम्युनिस्ट नेताहरू पनि नेकपाप्रति आकर्षित भएको र उहाँहरू पनि तपाईंहरूसँग सहकार्य गर्न चाहनुहुन्छ । तपाईंहरू यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?

यो राम्रो कुरा हो र हामीबीच विभिन्न स्तरमा प्रत्यक्ष कुराकानी पनि भैरहेको छ । हामी जीवन्त सम्पर्कमा पनि छौँ । स्थापित व्यक्तित्वहरू, वामपन्थी बुद्धिजीवीहरू, लेखकहरू, वामपन्थीहरू, साहित्यकार, कलाकार सबैको, देशभक्तहरूको सुझाव के छ भने सहकार्य गरौँ भन्ने छ । हामी छलफल गरिरहका छौँ । उहाँहरूको सुझाव हामीले हार्दिकतापूर्वक ग्रहण गरेका छौँ । त्यसमा हाम्रो पार्र्टीले कसरी लान्छ, कस्तो स्थान दिन्छ भन्ने कुरामा सबै प्रस्ट भए हुन्छ । हामी सङ्कुचित छैनौँ । मुख्य कुरा देशलाई बदल्ने हो । समाजलाई रूपान्तरण गर्ने हो । राज्यसत्तालाई रूपान्तरण गर्ने कुरा हो । नेपाली जनताका बीचमा जनताको व्यवस्था लिएर आउने कुरा हो । त्यसमा सहकार्य गर्न कुनै कठिनाइ छैन । हामी आनन्दपूर्वक सहकार्य गर्न सक्छौँ । हामीले आधार तयार पार्नुपर्छ भनेका छौँ । हाम्रो देशलाई नयाँ युगतिर प्रवेश गराउने कुरामा कुरा मिल्यो भने हामी तयार रहेको कुरा भनिरहेका छौँ र यसका लागि वातावरण पनि बन्दै गएको छ ।

पछिल्लो समयमा पार्टीका वरिष्ठ नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’, चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ लगायत नेताहरू कोही प्रतिबन्धपछि र कोही प्रतिबन्धअगाडिदेखि नै राज्यको जेल र हिरासतमा हुनुहुन्छ । एउटा पार्टी नेतृत्वको हैसियतले उहाँहरुलाई कसरी सम्झनुहुन्छ र बन्दीहरूप्रति के भन्नुहुन्छ ?

यो गम्भीर विषय पनि हो र भावनात्मक विषय पनि हो । हामीले पार्र्टी पुनर्गठनको बेलादेखि नै के भन्दै आएका छौँ भने हामी नेपाली जनताका लागि नयाँ बाटो, अलि कठिन बाटो र अलि मौलिक बाटो हिँड्छौँ भनेकै थियौँ । त्यसपछि हामीले त्याग, समर्पण र बलिदानको बाटो हिँड्छौ भनेकै थियौँ । यो प्रतिबद्धतासहित हामी महाधिवेशनमा गयौँ र एकताबद्ध भयौँ । जनताका पक्षमा लड्ने कुरा इतिहासदेखि नै अलि जटिल विषय छ । देशका पक्षमा लड्ने कुरा इतिहासदेखि नै पेचिलो बनेको छ । जसले लड्न सक्छ उसले नै जनताको साथ पाएको कुरा इतिहासदेखि नै छ । त्यो बाटोमा हामी प्रतिबद्ध भएर हिँडेका हौँ । त्यो गर्दा हामीले सुरु पनि गर्याैँ र प्रतिरोध आन्दोलन पनि अघि बढायौँ । भ्रष्टाचारविरुद्ध र राष्ट्रिय स्वाधीनताको आन्दोलन अघि बढ्यो । आन्दोलन अघि बढ्दै जाँदा हाम्रा जिम्मेवार कमरेडहरू अहिले राज्यको नियन्त्रणमा, जेल र हिरासतमा हुनुहुन्छ । चरम यातना दिइएको छ र मनोवैज्ञानिक रूपले प्रताडित गर्ने कार्य पनि भएको छ । हामीले बुझेको कुरा के हो भने क्रान्तिमा जनताको भविष्यका पक्षमा लड्दाखेरि विभिन्न क्षेत्रबाट त्याग, योगदान, बलिदान गर्नुपर्ने हुन्छ । त्यसमध्ये जेल, हिरासत पनि एउटा हो । ११ जना साथीहरू त सहिद भैसक्नुभयो । सयौँ कमरेडहरू यातनासहित जेल र हिरासतमा हुनुहन्छ । केहीसँग हाम्रो कुरा पनि भएको छ र लेखी पनि रहनुभएको छ । जनयुद्धमा दिएको यातनाभन्दा तल गिरेर पनि यातना दिने, निच खालका गाली गर्ने काम भएको पाइएकोे छ । हामीले भनेका छौँ– जेल पनि एउटा मोर्चा हो । कैयौँ साथीहरू जेलको मोर्चाबाट पनि लडिरहनुभएको छ । हाम्रा सहयोद्धा वरिष्ठ कमरेडहरू हेमन्तप्रकाश ओली ‘सुदर्शन’, चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’, अनिल, माइला लामा, आदर्श, रणवीर, निर्माण, जोखिमलगायत कमरेडहरू जेलमा हुनुहुन्छ । उहाँहरू जेलको मोर्चामा निर्धक्क लड्नुभएको छ । उहाँहरूलाई हाम्रो सलाम र विशेष सम्मान छ । उहाँहरू यो मोर्चामा सफल र विजयी भैरहनुभएको छ । उहाँहरूलाई झुकाउन चाहन्थे तर उहाँहरू क्रान्तिको अभियानमा लामबद्ध भैरहनुभएको छ । उहाँहरूले लेखहरू, अन्तर्वार्ता र भनाइहरूबाट जनतालाई शिक्षित पनि गरिरहनुभएको छ । यसले हामीलाई ऊर्जा पनि भैरहेको छ । हाम्रो क्रान्तिको सफलतासँगै जेल मोर्चामा पनि विजय हासिल हुन्छ भन्ने कुरामा विश्वास छ । यो पार्र्टी पुनर्गठनको सुखद अवसरमा उहाँहरूलाई म भावपूर्ण सम्मान व्यक्त गर्दै हामी लडौँ र जित्छौँ भन्ने सन्देश सम्प्रेषण गर्न चाहन्छु ।

अहिले पछिल्लो चरणमा जेल परेका नेता–कार्यकर्ताहरूको त्यहाँ सङ्घर्ष गर्दै जेलबाट निस्किसकेपछि जिम्मेवारीको व्यवस्थापनका कुराहरू पनि छन् । कतिपय विभिन्न दबाबमा परेर त्यहाँ कागज गरेर निस्केकाहरू पनि छन् । कतिपयचाहिँ विभिन्न कारणले यो पार्र्टी छोडेर अन्य पार्र्टीमा गएका र त्यहाँ पनि असन्तुस्ट भएर यो पार्र्टी र आन्दोलनलाई माया र सद्भाव राख्नेहरू पनि छन् । सँगसँगै केही समयअगाडि पार्टीले शुद्धीकरण अभियानका क्रममा विभिन्न नेता–कार्यकर्ताहरूलाई अर्को नयाँ जिम्मेवारीमा खटाएको कुरा पनि छ । यी सबैखालका नेता–कार्यकर्ताहरूलाई कसरी बुझ्नुहुन्छ ? ती नेता–कार्यकर्ताहरूको व्यवस्थापनको कुरा के छ ?

हामी विभिन्नखालका अत्याचारहरूलाई फाल्दै यहाँ आएका हौँ । यो क्रान्तिकै परिणाम हो । यहाँ क्रान्ति पूरा भएको छैन । यसमा आत्तिनुपर्ने जरुरी छैन । स्वाधीन मुलुक बनाएर देशलाई समृद्ध बनाउन सक्छौँ । जनताको अधिकार सुनिश्चित गरेर शान्ति हाम्रै हातमा ल्याउन सक्छौँ । अहिले चलिरहेको दलालीकरण, अन्याय, अत्याचार, भ्रष्टाचारको अन्त्य सम्भव छ । अहिले हेर्नुहोस् त सारा जमिन दलालको हातमा गैसक्यो । सारा अर्थतन्त्र उनीहरूको हातमा गएको छ । यो सवै समस्याको समाधान आन्दोलन हो, क्रान्ति हो भन्ने कुरामा विश्वस्त बनौँ । हामीले निरासालाई आशामा बदल्ने भनेको क्रान्ति नै हो । त्यसकारण एकपटक आमूल परिवर्तन गर्ने क्रान्तिमा सहभागी हुन आमजनतालाई आह्वान गर्न चाहन्छु ।

राम्रो कुरा उठाउनुभयो । एउटा शुद्धीकरण अभियानको, एउटा राज्यले नियन्त्रण गरेपछि आएका समस्याहरू र अर्को जेलमा परेर छुटेकाहरूको कुरा छ । जेलमा साथीहरू लडिरहनुभएको छ । त्याग गरिरहुनुभएको छ, अगाडि पनि मैले भनेँ । कैयौँ साथीहरूलाई समस्या पर्यो, टिक्न सक्नुभएन । अलिअलि झुक्नुभयो । त्यसो गर्नु हुँदैनथ्यो । हामीले भनेका पनि छौँ । यो कुनै स्वार्थका लागि त थिएन । यो जनताको स्वार्थका लागि हो भन्ने बुझेपछि त्यति धेरै आत्तिनुपर्ने त थिएन । जो साथीहरूले कागज गरे, आत्मसमर्पण गरे, त्यो अहिले नै केही हुँदैनथ्यो । त्यसो गर्नु जरुरी नै थिएन । कैयौँ ठाउँमा त म के सुन्छु भने पुलिसले नै नआत्तिनुहोस् भनेको अवस्था छ । सबैतिर सकारात्मक अवस्था छ । यही बेला नै आत्तिनुपर्ने त थिएन । उहाँहरूको दिमागमा जनयुद्धको जस्तो भूत चढेको हो । एकीकृत जनक्रान्तिमा हामी आफ्नो स्टेपअनुसार गैरहेका छौँ । यहाँ आत्तिनुपर्ने थिएन । आत्तिएर जो साथीहरू विचलित हुनुभयो, उहाँहरूलाई कारबाही पनि गरेका छौँ र भनेका पनि छौँ । तर हाम्रो भनाइ के छ भने कमीकमजोरी भए पनि रूपान्तरण हुनुपर्छ । जस्तै पूर्वमाकेका साथीहरू त्यहाँ पुग्दा पनि कैयौँले भन्नुहुन्छ– हाम्रो मन त त्यतै छ । हाम्रो साथ त्यतै छ । त्यो त भन्न पाइयो त । थोत्रो घरमा बसे पनि सफा र सुन्दर घरको प्रशंसा गर्न त पाइयो त । सुखद भविष्यको कल्पना गर्न त पाइयो त । तपाईंहरू विचलित हुनुभयो, पार्र्टीले कारबाही गर्यो भने पनि तर सही त यही बाटो नै हो नि त । यो त हामीले जानीबुझीकन आत्मसाथ गरेको बाटो हो । हिँड्न कठिन भयो, लडियो । उपाचार गर्दै, आराम गर्दै अघि बढौँ र रूपान्तरित हौँ भन्ने मेरो भनाइ हो ।

दोस्रो कुरा अलि पर पुगेका साथीहरू जस्तै बादल गएको जस्तो क्या ! नाटकजस्तो । हिजो हामीसँग आउँदाखेरि प्रचण्डलाई सत्तोसराप गर्ने, जमिनमुनि भासिनेजस्तो गरी भन्ने, आएको डेढ वर्ष बितेको छैन, फेरि कमजोरी गरेँ भन्दै उतै भासिन पुग्ने ! यस्तो पनि हुन्छ ? मलाई लाग्छ, प्रचण्डले एक्लै बस्दाखेरि कहिलेकहीँ गौरवपूर्ण इतिहासको स्मरण गर्दा हुन्जस्तो पनि लाग्छ के ! ट्रेन्चमा बसेर, ढिँडो खाएर, गुन्द्री र कम्बलमा सुतेर, जनमुक्ति सेनाको लाममा बसेर देखेको गौरवपूर्ण इतिहासको स्मरण पनि गर्दा हुन्जस्तो लाग्छ के ! अहिले सिंहदरबारमा बसे पनि, आलिसान महलमा बसे पनि त्यो स्मरण त हुँदो हो नि जस्तो लाग्छ । त्यहाँबाट हुनेवाला केही छैन । हुने बाटो यही नै हो । हुने बाटो भनेको रिभुलेसनको, क्रान्तिको बाटोबाट नै हो । त्याग, समर्पण, कठिनाइको बाटो नै हो । रूपान्तरणको बाटोबाटै हुने हो । त्यहाँ पुुगेका साथीहरूलाई पनि म त के भन्छु भने फेरि फर्किनुहोस्, सबै एक ठाउँमा आउनुहोस् । एक ठाउँमा प्रचण्डले भन्नुभा रैछ– सबै माओवादीहरू एक ठाउँमा हौँ । मेरो पनि भनाइ त्यही हो– आउनुहोस्, फर्किनुहोस्– प्रचण्डहरू, बाबुरामहरू । अँध्यारो बाटोतिर गएपछि त्यता बाटो छैन भनेर टाउको ठोकेर मर्नु र सिद्धिनुभन्दा त फर्किनुपर्यो नि त । त्यहाँबाट केही हुनेवाला छैन । आउनुहोस्, क्रान्तिको बाटो यही नै हो । उहाँहरूलाई यस्तो भनाइ छ भने हाम्रा साथीहरूलाई पनि रूपान्तरण भएर जाऔँ भन्ने छ । कैयौँ साथीहरू त्यहाँ गएर, विचलित भएर, हैरान भएर बसेका छन् । आउनुहोस्, दुःख गर्ने, त्याग गर्ने कुरा छ, आउनुहोस् भनेको छु ।

यसैमा अर्को कुरा के छ भने कैयौँ पूर्वसहयोद्धाहरूले के भन्ने गरेको सुनिन्छ भने हाम्रो कसो हुन्छ, के हुन्छ भन्ने गरेको भन्ने सुनिन्छ । यो भनेको क्रान्ति हो । क्रान्तिमा स्थायी स्वामित्व कसैको पनि हुन सक्दैन । यो क्रान्तिकारीहरूको दायित्व र जिम्मेवारी हो । यो कर्तव्य हो । यसमा जो पनि जोडिन पाउँछ । यहाँ कुनै पूर्वाग्रह, यता–उता भन्ने कुरा हुँदैन । आउनुहोस्, सहकार्य गरौँ । नेपाली समाजलाई वैज्ञानिक, महान् सभ्यतातिर लैजाऊँ । हामी सबै मिलेर त्यसको संरक्षण गरौँ । मेरो यो आग्रह छ ।

शुद्धीकरण अभियानमा नयाँ जिम्मेवारीमा खटाइएका नेता–कार्यकर्ताहरूका विषयमा चाहिँ… ?

ठीक हो । मानिसहरूले यसलाई जसरी हेरे पनि यो हामीले चालेको ठूलो कदम हो । हामीले गरेको भनेको नयाँ कार्यविभाजन मात्रै हो । पार्टीको केन्द्रीय समिति भनेको राजनीतिक जनरल स्टाफजस्तै हो । यहाँ बस्नेहरूले पनि नयाँ जिम्मेवारीसहित गरौँ र अरू साथीहरूले पनि नयाँ जिम्मेवारीसहित गरौँ भन्ने भयो । यसलाई हामीले शुद्धीकरण भन्यौँ । यो राम्रैसँग लागू भएको छ । यो खुसीको कुरा हो । जहाँसम्म कतै तालमेल नमिलेको भन्ने कुरा छ, त्यहाँ हामी मजाले छलफल गर्न सक्छौँ । एउटा क्रान्तिकारीले जस्तोसुकै अवस्था र ठाउँमा बसे पनि खुसीका साथ गर्ने कुरा हो । त्यो वातावरण हामी बनाउँछौँ र कमरेडहरूले पनि त्यो गरिरहनुभएको छ । जहाँसम्म विरोधीहरूको कुरा हो, अब दुर्घटना गराउँछन्, बेढङ्गको कदम चाल्छन् भन्ने कुरा छ, राम्रो पार्टी बनाएपछि राम्रो कदम पो हुन्छ त । यसलाई अन्य कुनै कोणबाट, आग्रह–पूर्वाग्रहबाट हेर्न जरुरी छैन ।

यो सरकार नेकपालाई कहिलेकहीँ खतरनाक शक्तिका रूपमा प्रस्तुत गर्छ, कहिलेकहीँ सामान्य हो र यसलाई नियन्त्रणमा लिन्छौँ भन्छ । कहिलेकहीँ वार्ता र संवादका कुरा पनि आउँछन् । सरकारले वार्ता चाहेको तर नेकपाले वार्ता नचाहेको भन्ने कुरा आउँछ । वार्ता र संवाद के हो र यसको खास कुरा के हो ?

तपाईले दुईवटा विषय उठाउनुभयो । पहिलो कुरा राज्यले हामीलाई कस्तो रूपमा लिएको छ भन्ने कुरा हो भन्ने पनि छ । कैयौँ हाम्रा मित्रहरूले के भन्नुहुन्छ भने यो बेलामा त अलि गर्नुपर्ने हो । अलि कम भयो कि के हो ! एकडेढ वर्षमा त केही डाङडुङ पनि सुनिन्न भन्ने कुरा पनि पठाउनुभयो । यो बेलामा अलि ठूलो दनक दिनुपर्छ भन्ने पनि छ । कसैले फेरि होइन, फर्केर आउनुपर्यो । चुनावसुनाबको तयारी गर्नुपर्दछ भन्ने पनि छ । यी सबैखाले बुझाइहरू एकपक्षीय छन् । हामी रिभोलुसनमै छौँ र त्यस्तै खालका कदम चालेका छौँ । यो बडो सुझबुझपूर्ण पनि छ । मैलै एक ठाउँमा यस्तै अन्तर्वार्तामा भनेको पनि छु हामीले गर्ने क्रान्ति जनताले नदेख्ने मोडभन्दा पर जानु हुँदैन । क्रान्ति त हुने तर जनताले नदेख्ने ठाउँमा जाने क्रान्ति हुनु हुँदैन । जनताको आँगनभन्दा पर जाने क्रान्ति हामीले चाहेको होइन । कसैको अपेक्षा योभन्दा अलि बढी हुनुपर्छ भने कति हुनुपर्छ ? हामी जहिले पनि तयार छौँ नि ! जनताले एनसेललाई यतिले पुगेन भन्नुभयो, हामीले गर्यौँ । कैयौँ भ्रष्टाचारीहरूलाई योभन्दा बढी हुनुपर्छ भनियो, त्यो गर्यौँ । तपाईंहरू बन्दुक र बम मात्र नपड्काउनुहोस् है भन्ने सुझाव आयो, ठीक छ त, हामी जनतासँगै छौँ । हामी जेल बसिरहेका छौँ । हामी लडिरहेका छौँ । हामी यस्तो क्रान्तिका पक्षमा छौँ जसलाई जनताले ग्रहण गरोस् र यसलाई उचित ठानोस् । मानाैँ यसलाई घटनाका रूपमा नभएर यसलाई भावना र सद्भावको रूपमा हेरौँ । तिहारपछि एउटा पत्रिकाले के लेख्यो भने तिहारपछि नेकपा चौकी हान्ने तयारी गर्दैछ । होला–होला भनेर मान्छेले हल्ला गर्न थाले । त्यस्तो कुरा होइन । हामी यो भन्छौँ– तपाईंहरू नै भन्नुहोस् यो सत्ताले काम गरेन पनि, हामीले क्रान्तिको मात्रालाई कति उठाउनुपर्छ तपाईंहरू तयार हुनुहोस्, हामी त सधैँ तयार छौँ नि ।

जहाँसम्म राज्यको कुरा छ, अस्ति भर्खरै गृहमन्त्रीले ३ वटा आरोप लगाए ः एउटा कुरा भूमिगत भनेर उनले भने । हामीले भूमिगत कहिल्यै भनेका छैनौँ भने केको भूमिगत ? भूमिगत भन्ने शब्द त हिजो पञ्चायतको बेलाको बाध्यताको शब्द हो । आज केको भूमिगत ? हामी त आज जनताको बीचमा बसेर प्रतिस्पर्धा गरिरहेका छौँ । हामी त खुलामञ्चमा आउन तयार छौँ नि । यो शब्द उनले जे प्रयोग गरे त्यो आतङ्कित शब्द हो । दोस्रो कुरा उनले चन्दा उठाएर आतङ्क मच्चायो भने । हामीलाई चन्दामा मात्रै त विश्वास छैन नि ! त्यो पनि निहुँ खोज्ने र अरूलाई त्रसित पार्ने कुरा हो । उद्योगी व्यवसायीसँग सहकार्य भयो भन्ने आतङ्क हो । तेस्रो कुरा जनताका अधिकारहरूलाई अवरोध गरे भन्ने कुरा । आफूले बोल्नै नदिने र प्रतिबन्ध लगाउने, दमन गर्ने ? यो सबै कुराले के हो भने राज्य आतङ्कित छ । यसो भन्ने हो भने भौतिक रूपले हिजो जनयुद्धको बेला त्यस्ता मान्छेहरू राज्यले मारेको थियो, सक्किएको थियो त ? साढे १० हजार मान्छे मार्दा र तथ्याङ्कमै साढे ८ हजार हाम्रा मान्छे मार्दाखेरि ? अहिले हाम्रा केही हजार साथीहरू समातिएर अथवा केही दर्जन साथीहरू सहिद भएर यो सकिन्छ त ? यो त दृष्टिकोणको कुरा हो नि मान्छे मारेर क्रान्ति सकिने, पार्र्टीमाथि दमन गरेर क्रान्ति सकिने भन्ने कुरा हुन्छ ? त्यो त अज्ञानताको कुरा हो । सत्तामा बसेपछि अहंकार गरेर हुन्छ ? क्रान्ति त कतिबेला सकिन्छ भने जब जनताका समस्याहरू सबै हल हुन्छन् नि, त्यही बेला मात्रै क्रान्ति सकिन्छ । जनता उत्पीडनमा रहेसम्म क्रान्ति सकिँदैन । एउटा पार्र्टीका नेता–कार्यकर्ताहरूको बलिदान हुनसक्छ, केही नेता–कार्यकर्ताहरूमा समस्या आउनसक्छ तर क्रान्ति सकिँदैन । जनता फेरि विद्रोह गरेर आउँछन । जनता फेरि क्रान्ति लिएर आउँछन् । साँचो कुरा के हो भने क्रान्ति एउटा उभारतिर र नयाँ गतितिर गैरहेको छ । भ्रम त जे पाले पनि हुन्छ ।

अर्को वार्ताको कुरा जो छ, यसमा हामीले प्रस्ट भनेका छौँ– बाहिर जे प्रचार छ, त्यो सबै झूट कुरा हो । हाम्रो पार्र्टी बन्ने बेला नै हामीले हाम्रा कुरा सुन भनेका होइनौँ रत्नपार्कमा ? हामीले यो पार्र्टी पुनगर्ठन गर्ने बेला पनि रत्नपार्कमा भनेको होइन ? प्रचण्डसँग विद्रोह गर्दा पनि हामीले भनेको होइन तपाईं जतासुकै जानुहोस्, राज्यले हाम्रो कुरा सुन्नुपर्छ । जनयुद्धको कुरा सुन्नुपर्छ । सुन भनेको के त ? हामी कुरा गर्न तयार छौँ भनेको हो नि । हामीले पार्टी पुनर्गठन गर्दा र महाधिवेशनबाट पनि त्यही भनेका छौँ । हामीले प्रतिरोध सङ्घर्ष सुरु गरे पनि त्यही भनेका थियौँ त, आज पनि त्यही भनिरहेका छौँ । राज्यले हाम्रो कुरा सुन्नुपर्छ भनेका छौँ । हामीले यहाँ थोरै आफ्नो, व्यक्तिको कुरा, परिवारको कुरा, समूहको कुरा गरेका छौँ र ? हामीले त जनताको कुरा गरेका छौँ नि ! कस्तो कानुन लेखे र कस्तो–कस्तो कानुन बने, कस्तोखाले अर्थनीति भयो भने जनता सुखी हुन्छन्, हामीले भनेको त त्यो हो नि त ! हामी भन्छौँ नि त ! यसो भन्दाखेरि लौ वार्ताको पक्षमै छैनन् भन्ने ? यो कसरी कुरा मिल्यो ? हाम्रो इतिहासले उनीहरूकै दाबीलाई खण्डन गर्दछ । जहाँसम्म प्रतिबन्धको कुरा छ, उनीहरू पुगेका छन् । हाम्रा सुदर्शन कमरेडकहाँ पुगेर वार्ता गरिदिनुपर्यो भनेका छन् । हाम्रा कैयौँ जिम्मेवार सीसीएम कमरेडहरूलाई भेटेर पनि वार्ता गरौँ भनेका छन् । खै त ? वार्तालाई षड्यन्त्रमा प्रयोग गर्नु भएन नि ! उनीहरूले चाहेका हुन् भने त राज्यले बोल्नुपर्यो नि ! राज्य त कस्तो भने नि म सुन्छु– सीके राउतजस्तो बनाउने रे । सीके राउत त सीके राउत मात्र हुनसक्छ, नेपाल कम्युनिस्ट पार्र्टी त्यो हुँदैन । कसैले हामीलाई दिल्ली लगेर बार्ता गर्न चाहला, त्यो प्रचण्ड–बाबुराम मात्रै हुन्छन् त्यस्तो । नेकपा त्यस्तो हुँदैन । यो कुरा बुझे हुन्छ, यही सत्तामा पसाउने, यहीँ मात्र घुमाउने जो अहिले घुमिरहेका छन, नि उनीहरूका लागि मात्र हुन्छ, नेपाल कम्युनिस्ट पार्र्टीका लागि त्यो हुँदैन । छलफल केका लागि हो, हामी त सधैँ खुला नै छौँ त । वार्ता हाम्रो कुरा होइन, वार्ता त देशको भविष्य र जनताको स्वार्थलाई केन्द्रमा राखेर मात्र हुन्छ । अहिले कताकता हल्ला पनि चल्यो रे– सरकार इमानदार थियो, नेकपाको लिडरसिपले रुचि राखेन रे ! यो भ्रामक कुरा हो । यो जनतालाई भ्रमित पार्ने कुरा हो, यो सत्य कुरा होइन ।

कोराना महामारीपछि नेकपाले आक्रामक कारबाहीहरू स्थगित गर्यो र कार्यकर्तालाई जनसेवामा लाग्न निर्देशन गर्यो । राज्यका तर्फबाट भने गिरफ्तारी र दमन रोकिएको देखिएन । देशैभरि गिरफ्तार गर्ने र छापामार्ने क्रम बढिरह्यो । तिहारको भाइटीकाकै दिन सङ्खुवासभाको चैनपुरमा गोली चलेको छ । देशमा युद्धको घोषणा पनि भएको छैन । बमगोला पनि पड्किरहेकै अवस्था छ । तपाईंहरूलाई खुला कार्यक्रम गर्न पनि राज्यले दिएको छैन । यो स्थिति के हो ? यो अवस्थामा तपाईंहरूको नीति कार्यक्रम के हुन्छ त ?

पहिलो कुरा कोरोना सुरु भएपछि जनताको जीवनमा जुन सङ्कट पैदा भयो, यो मानवीय संवेदनाको दृष्टिकोणले पनि सङ्कटको अवस्था थियो । यो बेलामा कोरोना सङ्कटबाट पार नलाग्दासम्म अथवा सहज अवस्था नहुँदासम्म फौजी कारबाहीहरू अथवा आक्रामक कारबाहीहरू गर्दैनौँ भनेका थियौँ । सायद सरकारले यसलाई हाम्रो कमजोरीका रूपमा ठान्यो होला । जनताको सेवामा गएका हाम्रा नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गर्ने काम गर्यो । उसले गिरफ्तारी र दमन कहिल्यै रोकेन । औषधी बाँड्न, राहत वितरण गर्न गएका हाम्रा कार्यकर्ताहरूलाई पनि समात्न थालेपछि हामीले जेठमा आएर प्रतिरोध कारबाही गर्ने भनेर खोलेका हौँ । हामी आक्रामक कारबाहीहरू गर्दैनौँ तर अनावश्यक रूपमा पिछा गर्ने, गिरफ्तार गर्ने, जनताको सेवामा जुटेका कार्यकर्ताहरूलाई गिरफ्तार गर्ने, दमन गर्ने गरेको खण्डमा हाम्रो जनमुक्ति सेनाले पनि प्रतिरोध गर्ने भनेका छौँ । हुँदाहुँदा त दसैँतिहारको बेला राज्य त पूरै संवेदनाहीन भएर आयो । हामीले भनेका छौँ– अब त्यो कुरा लागू गर्दैनाँै । हामीले पुलिस–सेनालाई पनि के भनेका छौँ भने सरकारको कानुनको कुरा गरेर मात्र हुँदैन । नागरिकको तरिकाले देशका बारेमा सोच्नुहोस् । आदेशको मात्र पालना गर्दा हिजो के भयो ? आज पनि आदेशको मात्र कुरा नगराैँ । हतियार त हामीसँग पनि होला, जथाभाबी प्रयोग गर्ने ? भन्ने कुरा हुन्छ नि । जनमुक्ति सेना हामीसँग पनि छ त, हामीले खुल्लै भनेका छौँ । हामीले यो संवेदनाको बेलामा सहकार्य गर्न तयार छौँ भनेका छौँ नि । त्यसलाई दमन गरेर, बेवास्ता गरेर सरकार काम गरिरहेको छ । त्यसलाई हामीले अनैतिक भनेका छौँ ।

जहाँसम्म पछिल्लोपटक सङ्खुवासभा र अछाममा जुन प्रतिरोध भयो, त्यो हुन्छ भन्ने कुरा बुझिराखे हुन्छ । हामी खोजेर जाँदैनौँ तर काम गरिरहेको बेला दमन गर्न आए प्रतिरोध हुन्छ । साथीहरू सङ्खुवासभामा काम गरिरहेको बेला २ तिरबाट घेरा हाल्न आएपछि साथीहरूले प्रतिरोध गरेको कुरा हो । त्यो त हुन्छ नै । हामीले आक्रामक कारबाहीहरूको घोषणा गरेका छैनौँ । गर्नुपर्यो भने हामीले राजनीतिक रूपले जनतासँग छलफल गरी निष्कर्ष निकालेर मात्रै गर्दछौँ । हामी शान्तिपूर्ण रूपले आफ्ना कुरा राख्न आउँछौ नि त, यो कुरा पनि सुन्दैन । आफ्नो असफलता ढाकछोप गर्नका लागि राज्य नै हिंसाको बाटोमा छ । आतङ्कको बाटोमा छ भन्ने साबित हुन्छ ।

अबको पार्टीको योजना के छ त ?

पहिलो कुरा जनतामा जुन असन्तुष्टि छ, त्यसबाट जनतालाई निरास हुन नदिन, जनतालाई जागरूक बनाउन र यसको विकल्प छ भनेर सचेतनामूलक कार्यक्रम दिन देशभरि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने रहेको छ । अर्को कुरा जहाँ राज्यले कमजोरी गर्दछ त्यहाँ मित्रहरूसँग मोर्चा बनाई सहकार्य गरेर प्रतिरोध गर्नेमा जाने र त्यसबाट अघि बढ्दै राज्यलाई रूपान्तरण गर्नतिर जाने नै हुन्छ ।

अब केही फरक सन्दर्भमा कुरा गरौँ : सबै राजनीतिक पार्र्टीहरूमा विवादका विषयहरू हुन्छन् । त्यसमा आर्थिक विषय मुख्य कारक हुन्छ । त्यसमा पनि विद्रोही पार्टीमा पार्टी सञ्चालनको महत्वपूर्ण स्रोतका रूपमा चन्दालाई लिइन्छ । अब चन्दा उठाएर मात्रै पार्टी चलाउने विधि छ, हो त ?

तपाईंहरूको पार्टी छ, सारा छ तर पुगेन कि भन्ने पनि छ तर हामीले जनताको मागअनुसार कारबाही गर्दै आएका छौँ । हाम्रो के छ भने कारबाही हाम्रो विषय नबनोस् । कतै पनि गलत चीजविरुद्ध सङ्घर्ष गर्दा नेकपाको मात्र विषय नबनोस् । हाम्रो पार्टीको मात्र बिषय नबनोस् । हामी चाहन्छौँ यो जनताको विषय हो भन्ने कुरा सबैलाई चेतना होस् । अब देशभरि के भन्दै गइरहेको छ भने जनताले माग गर्ने आन्दोलनमा यो पार्टी हामफाल्न तयार छ । अब जनताले भन्नुहोस् न त काठमाडौँमा निस्केर अपिल गर्नुहोस्, हामी तयार छौँ । यो अन्याय–अत्याचार र बेथितिका विरुद्ध अगाडि आउनुहोस्, हामी तयारै छाैँ । आन्दोलनको आँधीबेहरी सृष्टि गर्नुपर्यो भने हामी तयार छौँ । राज्यको लुटखसौट र अत्याचारबाट मुक्त हुनुपर्दछ, नयाँ निकास हुनुपर्दछ भन्ने कुरामा त हामी सधैँ तयार छौँ नि ।

हामीले पार्टी बनेदेखि नै के कुरामा जोड दिएका छौँ भने क्रान्तिको सम्बन्ध पनि अर्थतन्त्रसँग हुन्छ । पार्टीको विनास र विकासको कुरा पनि अर्थसम्बन्धसँगै हुन्छ । क्रान्ति र प्रतिक्रान्तिको सम्बन्ध पनि अर्थतन्त्र र अर्थसम्बन्धसँगै हुन्छ । हामीले भोग्यौँ, देख्यौँ । माओवादीहरूलाई भन्छन् नि कार्यकर्ताहरूलाई व्यक्तिगत सम्पत्ति पार्टीमा बुझाएर सर्वहाराकृत हुन आह्वान गरेपछि, आफू सत्तामा पुगेपछि शान्तिप्रक्रियामा गएपछि अर्बपति, खर्बपति भयो । पार्टीको पैसा लुकाएर खाए मान्छेहरूले । जमिनदारको जमिन कब्जा गरियो । केही मान्छे दलाली गरेर उल्टो जमिनदार बने । जमिनदारको जमिन आफ्ना नाममा पास गरेर बसेका पनि छन् । पूर्वमाओवादीहरू जमिनदारको जमिन कब्जा गरेर आफ्ना नाममा पास गरेर अर्बपति, खर्बपति बनेका छन् नि । यो नेपालको मात्र समस्या होइन, लेलिन र स्टालिनपछि रुसमा भएको पनि यही हो । पार्र्टीभित्र आर्थिक दृष्टिकोण स्पष्ट हुन नसक्दा धनाढ्य वर्ग जन्मियो । पार्र्टीभित्र राजकीय वर्ग जन्मियो । राष्ट्रका निम्ति भनेर पुँजी आफ्नो खल्तीमा हाल्ने वर्ग जन्मियो । हामीले आर्थिकसम्बन्धी ३ वटा आर्थिक दृष्टिकोण अगाडि सारेका छौँ । यसमा नेताहरूको जीवनशैली फरक हुनुपर्दछ । कार्यकर्ताहरूको छुट्टै हुनुपर्दछ र जनताको छुटै हुनुपर्दछ । नेताहरूले समाजवादी दृृष्टिकोण लागू गर्नुपर्दछ । चाहिएको पैसा पार्र्टीले दिनुपर्दछ । सम्पूर्ण क्षमता पार्र्टी र क्रान्तिका लागि प्रयोग गर्नुपर्दछ । कार्यकर्ताको आधा पार्र्टीले गर्नुपर्दछ, आधा आफूले गर्नुपर्दछ । जनतालाई चाहिँ कामअुनसारको दाम दिनुपर्दछ । त्यो पुँजीवादमा हुँदैन, समाजवादमा हुन्छ । पुँजीवादमा थोरै पैसा दिन्छ । समाजवादमा कामअनुसारको दिन्छ । हामीले यो दृष्टिकोण बनाएपछि हाम्रो पार्र्टीमा धेरै समस्या छैन । विभाग बनाएका छौँ । सस्थागत प्रणालीबाट काम हुन्छ । हामीकहाँ कुनै समस्या छैन । हामीले काङ्ग्रेस, एमालेजस्तो करोडौँकरोड रकम उठाएको छैन । उनीहरूले त सत्तामा बसेर कत्रा करप्सन गरेका छन् । सुन्यौँ नि गोकुल बास्कोटाको कुरा । कर्मचारीलाई फोहोरी गाली गरेर सुन्ने मान्छे पनि डराउनेजस्तो, कमिसन पनि लाख, करोड पनि होइन, अर्बमा के ! अर्ब पनि एक अर्ब होइन, १० अर्ब, २० अर्ब एकैपटक, एउटै प्रोजेक्टमा । त्यस्तो त हामीले पैसा उठाएको होइन नि । हो, हामीले जनतलाई सेवा–सहयोग गरेर, खुसी पारेर ल्याएको अवस्था हो । त्यहाँ कुनै समस्या छैन । जहाँसम्म चन्दाको कुुरा हो, हामीले चन्दा त स्वेच्छिक मागेका छौँ । अलिकति हाम्रो जनसत्तालाई कर पनि तिर भनेका छौँ । हामीले एनसेललाई भनेका छाैँ– तिम्रो एनसेल त हाम्रो जनताले पनि चालएका छन् त । हाम्रा लाखौँ समर्थक जनताको पनि पैसा लिइरहेका छौ त । यो सत्ता मान्ने मान्छेको मात्र पैसा लिएका छैनौ । तिमीले उता मात्र होइन, यता पनि कर तिर्नुपर्दछ पनि भनेका हौँ । व्यवसायी साथीहरू सबैलाई के भनेका छौँ भने नयाँ सत्ता हामी रोक्दिऊँ त ? तपाईंहरू किन भाग्नुहुन्छ त ! हाम्रो सत्तालाई नटेरेर पुलिस ल्याउनुुहुन्छ ? सक्नुहुन्न । हामी हान्दिन्छौँ, तपाईंहरू भाग्नुहुन्छ । मिलाएर गरौँ न । चन्दाबाहेक नयाँ सत्तालाई कर पनि तिर्नुहोस् अलिकति । हाम्रा नागिरकहरूले तपाईंहरूको सुविधा लिएबापत कर तिरिरहेका छन् । अर्को कुरा हामीलाई कर र चन्दामा मात्र विश्वास छैन । हामी आफैँ उत्पादनमा पनि छौँ । जनयुद्धमा प्रचण्डले कहिल्यै एउटा लेख लेखेनन् आर्थिक नीति कस्तो हुनुपर्दछ ? नेता कसरी उत्पादनमा जोडिनुपर्दछ भनेर । नेताको हातमा कहिलेकहीँ त फोका पनि उठ्नुपर्दछ । नेताको काँधमा डाम पनि बस्नुपर्दछ । श्रमको महत्व नजिकबाट बोध नगरेकाले अर्थतन्त्रको महत्व पनि बुझेको हुँदैन । अर्थतन्त्र सही तरिकाले बोध गर्नका लागि श्रमिकसँग पनि गाँसिनुपर्दछ । म एउटा थेसिस लेख्न खोज्दैछु । हामीले नीति बनाएर लागू गरेका छौँ । हाम्रो जनमुक्ति सेना आफ्नै उत्पादनमा टिकेर लड्न सक्नुपर्दछ । उद्योगधन्दा, कलकारखाना सञ्चालन गर्ने साथीहरूसँग सहकार्य गर्ने हाम्रो यस्तो सोचाइ छ । यसका बारेमा निकै समय लाग्छ, अहिले यति भनौँ ।

एकछिन देशबाहिर जाऔँ । कोरोनाको महामारीपछि विश्वराजनीति र अर्थव्यवस्थामा असाध्यै ठूलो प्रभाव पर्यो । यसले राजनीतिक र अर्थतन्त्रमा ठूलो प्रभाव पार्यो । यसले पुँजीवादमा ठूलो प्रभाव पार्यो भन्ने कुरा छ । अमेरिका र चीनबीचको शीतयुद्धले विश्वलाई ठूलो प्रभाव पार्छ भन्ने छ । यहाँको के विश्लेषण छ ?

कोरोना स्वास्थ्य समस्या हो । कहिलेकहीँ स्वास्थ्य वा कुनैकुनै समस्याले राज्यसत्तामा भएको प्रणाली र सङ्कटहरूलाई उजागर गर्ने गर्दछ । भर्खरै मैले राज्य किन असफल हुन्छन् भन्ने किताब पढेको छु । रमाइलो खालको छ । फ्रान्स वा ब्रिटेनमा राजतन्त्र जाँदाखेरि यही स्वास्थ्य समस्याले गर्दा नै राजतन्त्र उल्टेको भन्ने तथ्याङ्क रहेको छ । त्यहाँ यस्तै एउटा महामारी गएको बेला राजाले के लाइदिएछ भने सबैले प्रार्थना गरेपछि निको हुन्छ । मान्छेहरू भकाभक मरिरहेको बेला त्यहाँको सम्राट्ले चर्चमा गएर प्रार्थना गरेपछि निको हुन्छ भन्ने लाइदिएछ । चर्चमा त झन् मानिसहरू भेला हुने भए । भीडभाड हुने भयो । झन् मानिसहरू भकाभक मर्न थालेछन् । आधा मानिसहरू मर्न थालेपछि राजाकै विरुद्धमा विद्रोह भयो । अस्ति हरारेले पनि एउटा लेखेका रहेछन् । कम्तीमा योपटकमा मान्छेले त चर्चमा गएर प्रार्थना गर भनेर पुजारीहरूले भनेनन् । यो खालको स्वास्थ्य समस्याले के देखायो भने सङ्कटको बेला पुँजीवादले जनताको सुरक्षा गर्न सक्दो रहेनछ । पुँजीवाद त निकै अमानवीय प्रकारले भाग्यो । जस्तै स्पेनमा वृद्धाश्रममा मानिसहरू छोेडेर भागे । ब्रिटेन र अमेरिकामा शव गाड्ने ठाउँसम्म भेटिएन । पैसा घाटा लाग्ने भयो भन्दै मान्छे छोडेर भागे नि त । विकसित भनिएका देशमा पैसा हुनेले उपचार गर्न पाए, मरेको बेला संस्कार गर्न पाए तर नहुने त्यसै मरे । भन्दाभन्दै ट्रम्पले त के भने भने मान्छे मरेर के भो त ? हामीलाई त पैसा चाहिएको छ । ब्राजिल र भारतमा समेत मान्छे मरे पनि मरून् तर अर्थतन्त्र नबिग्रियोस् भने नि । आखिरमा पुँजीवादको कुरा के रहेछ त भन्ने प्रस्ट भयो । पैसा भए जनता त भोलि जन्मिहाल्छन् भन्नेजस्तो कुरा भयो । भारतमा एउटा फिल्म थियो । त्यसमा बच्चाहरू जति जन्मे पनि हुन्छ । बेचेपछि पैसा हुन्छ भन्ने थियो । त्यसैले पुँजीवाद असफल छ । असांस्कृतिक, अमानवीय र अनैतिक छ । जनताको समस्या समाधान गर्न पनि असफल छ भन्ने देखियो । त्यसैले अब युरोपमा एउटा अक्टोबर क्रान्ति चाहियो । अमेरिकामा एउटा अक्टोबर क्रान्ति चाहियो भन्ने हाम्रो छ जसले पुँजीवादी समाजलाई उल्ट्याएर नयाँ समाजको विकास गर्न सकोस् । जस्तै समाजवादी भनिएका देशहरूमा चीन, क्युबा, भियनताम, जनगणतन्त्र कोरियामा ढुक्क, चैन, आशा, भरोसा देखियो नि । अहिलेकै समयमा पुँजीवादभन्दा समाजवादको बाटो लिएका देशहरूमा राम्रो देखियो नि । क्युबामा त नोम चोम्स्कीले स्वास्थ्यको महाशक्ति भनेर नै लेखे । त्यसैले अब पुँजीवादी विश्व होइन, समाजवादी व्यवस्थाबाट नै सबैखाले समस्याहरूको समाधान हुन्छ भन्ने कुरा देखाउँछ ।

अर्को कुरा, एमसीसीको कुरा पनि त्यही हो । चीनको प्रभाव रोक्ने यसको उलक्ष्य हो । अब चीन त परपर, अमेरिकाको नजिकै पुगिसक्यो भन्छन् । तर हाम्रो भनाइ के छ भने यो खालको समस्या, यो खालको शीतयुद्ध अथवा कुनै खालको युद्धले वा कुनै पनि बाटोले विश्वमा शान्ति पाउँदैन । शान्ति त क्रान्तिकै बाटोले पाउँछ ।

अनि अमेरिकी निर्वाचनका बारेमा के भन्नुहुन्छ ?

अमेरिकी चुनावले त्यहाँका प्रजातन्त्रवादी हौँ भन्नेहरूको पसिना निकालिदिएको छ । प्रजातन्त्रकी आमा हौँ भन्ने अमेरिकाले जुन तमासा देखाएको छ, त्यहाँ जनताको विद्रोह चलिरहेको छ । ट्रम्पले आधाले चुनाव हारे पनि मान्दिनँ भनेको छ । यो त उनको कुरा होइन, व्यवस्था र प्रणालीको कुरा हो । ट्रम्पका मान्छेहरू यसरी उनकै तरिकाले हुन्छ भनिरहेका छन् । यो त उनको व्यक्तिको कुरा होइन, त्यहाँको प्रवृत्ति बोलिरहेको अवस्था हो । अब प्रजातन्त्रको केन्द्रमा त्यस्तो आएको छ भने यहाँका चल्ला प्रजातन्त्रवादीहरूले के बुझ्नुपर्दछ भने पुँजीवादमा जनमतको कदर हुन्न । एकपटक गगन थापाले भनेका थिए, चुनाव त लड्नै नसकिने भयो । ३ करोड खर्च गर्नुपर्यो । माकेका साथीहरू त्यही भन्दै थिए । पुँजीवाद यही हो । त्यहाँ जनमतको कदर हुन्न । अमेरिकामा त्यस्तो छ भने त्यो प्रजातन्त्र होइन, पुँजीवादको सङ्कट हो । ट्रम्पको प्रवृत्तिले के सङ्केत गर्दछ भने पुँजीवादीहरूको जसरी हुन्छ सत्ता चलाउने तरिका हो । भोलि बाइडेन आउँदा पनि यही तरिका हो । यसले के देखाउँछ भने विश्वमा नयाँ राजनीतिक प्रणाली र नयाँ सभ्यता दिने बेला भएको छ ।

कुनै पनि सङ्घर्ष वा क्रान्तिका नयाँ आयामहरू हुन्छन् । तपाईंहरूको अन्तर्राष्ट्रिय भाइचारासँग केकस्तो सम्बन्ध छ र सङ्गठनको अवस्था के छ ?

कुनै पनि वर्गका अन्तर्राष्ट्रिय रूप छन्, चाहे मजदुर–किसान, चाहे शोषक–सामन्ती, चाहे गरिब किसान, चाहे पुँजीपति, चाहे शोषक हुन्, चाहे शोषित हुन्, संसारभरि हुन्छन् । त्यसमा पनि कम्युनिस्ट पार्टी भनेको अन्तर्राष्ट्रिय प्रवृत्ति र सिद्धान्त बोकेको र राजनीतिक धार वा आन्दोलन हुन्छ । हामीजस्तो देशको अन्य उत्पीडित राष्ट्र र जनतासँग हुने गर्दछ । हाम्रो सम्बन्ध पनि छ, बन्दै गएको छ र बनाउनु पर्दछ भन्नेमा हामी छौँ । हामीले उठाएको विचार विश्वभरिका कम्युनिस्टहरूले अघि बढाएको विचार हो । कम्युनिस्ट पार्टी संसारभरिका कम्युनिस्टहरूसँग सहकार्य गर्ने एउटा अङ्ग हो । हाम्रो क्रान्ति पनि विश्वभरिका जनताको भावनासँग जोडिएको क्रान्ति हो र यसको नयाँ आयाम पनि हुनेगर्छ तर यसलाई अझ माथि उठाउने कुरामा मेहनत गर्नुपर्नेछ र भैरहेको छ । जहाँसम्म अन्य शक्तिहरूसँग छलफल गर्ने कुरा छ, त्यसमा हाम्रो वैचारिक मान्यता र उद्देश्यमा बाधा नपुग्ने गरी गर्ने कुरामा हामी सधैँ खुलै छौँ ।

पार्टी सङ्घर्षमै छ । जेल, हिरासत, यातना, गिरफ्तारी यो प्रक्रिया पनि चलिरहेकै छ । प्रतिकूलता चिर्दै विभिन्न राजनीतिक पार्र्टी, नागरिक अधिकारकर्मी, बुद्धिजीवी, पत्रकार, लेखक, कानुन व्यवसायी, नागरिक अगुवाहरूले निर्वाह गरेको भूमिकाप्रति के भन्न चाहनुहुन्छ ?

यस विषयमा हामी निकै संवेदनशील छौँ । तपाईंले भन्नुभएजस्तै हामीले अगाडि बढाएको आन्दोलनमा विभिन्न राजनीतिक तथा बौद्धिक व्यक्तित्वहरू, बुद्धिजीवी, विश्लेषक, कलाकार, पत्रकार, मानवअधिकारकर्मी, अधिकारकर्मी कानुन व्यवसायी, विभिन्न क्षेत्रका व्यक्तित्वहरूले आन्दोलनले उठाएका विषयप्रति जुन आवाज उठाउनुभयो हामी निकै अनुग्रही छौँ, आभारी छौँ र धनयवाद दिन चाहन्छाैँ । हामीले भ्रष्टाचारविरुद्धको आन्दोलन, बेथिति, राष्ट्रघातका विरुद्धमा आवाज उठाउँदा आन्दोलनले उठाएका विषयहरूप्रति जसरी उहाँहरूले साथ दिँदै राज्यले लगाएको प्रतिबन्धका विरुद्ध खुलेर अगाडि आउनुभयो, त्यसले हामीलाई धेरै नै झकझक्याएको छ र उद्वेलित बनाएको छ । यसले हामीलाई कस्तो अनुभूति भएको छ भने हामीले अगाडि बढाएको विषयलाई पार्र्टी र स्वार्थभन्दा माथि राखेर न्यायका पक्षमा बोल्ने र उहाँहरूले आफूलाई समेत खतरा मोलेर यो आन्दोलन भनेको फरक हो भनेर र चुनौती मोलेर बहस छेड्नुभयो । यसले के महसुस भएको छ भने यो आन्दोलन हाम्रो मात्र होइन, यो सिङ्गो देशको र जनताको हो भनेर सहयोग, सर्मथन वा सद्भाव हामीलाई प्राप्त भएको छ । त्यसले सत्य र न्यायलाई नै माथि उठायो भन्ने लागेको छ । त्यसका लागि हामीले बेलाबेलामा विभिन्न माध्यमबाट धन्यवाद पनि पठाएका छौँ । बेलाबखतमा आफ्ना कुरा राखेका छौँ । प्रतिबन्ध हटाउनुपर्छ भनेर आवाज उठाउनुभयो, उहाँहरूकै दबाबका कारणले राज्यले गतिविधिमाथि प्रतिबन्ध हो, पार्टीमाथि होइन भन्दै पार्टीमाथि दमन गर्यो । उहाँहरूसहितको दबाब सङ्घर्ष र सहकार्यको अवस्थाबाट नयाँ स्थिति आउँछ भन्नेमा छौँ । यस अर्थमा उहाँहरू सबैलाई धन्यवाद भन्न चाहन्छौँ ।

अब निचोडतिर जाऔँ । देशले अर्को युद्ध थेग्न सक्दैन, आन्दोलन भए पनि देशमा युद्ध हुनु हुँदैन, यसले राजनीति मात्र नभएर अर्थतन्त्र सबै ध्वस्त हुन्छ, मानवीय क्षति बेर्होनुपर्छ । त्यसैले युद्ध नहोस् भन्ने छ । अर्कोतिर राज्यले फेरि आफ्नो दायित्व पूरा नगरिसकेपछि उसको भूमिकाबाट जनता निरास भएपछि देश चल्दैन भन्ने पनि छ । यो अवस्थामा राज्यसत्ताको विकल्प दिएको पार्टीले पनि अपेक्षाकृत कार्यक्रम अघि सार्न सकेको छैन भन्ने अपेक्षा र जिज्ञासा छन् । के भन्नुहुन्छ ?

यस विषयमा मिडियाहरू हेर्दा यसमा पहिलो कुरा हामीले स्पष्ट गर्न खोजेको कुरा क्रान्ति र युद्धलाई छ्यासमिस पार्ने खालको काम नेपालमा पछिल्लो समयमा अलि बढी भयो । त्यसमा हामीले के प्रस्ट पारिरहेका छौँ भने युद्ध र क्रान्ति एउटै होइन । जनताले युद्धको त विरोध गर्नुपर्दछ । युद्ध हुनु हुँदैन भन्नुको पछाडि त शान्ति हुनु हो । शान्ति कसरी हुन्छ त भन्दा जनता अहिले सन्तुष्ट छैनन् भन्ने कुरा छ । राज्यको गतिविधि हेर्नुहोस्, कस्तो नाटक छ । भ्रष्टाचार नियन्त्रण गर्न अख्तियार बनाएको छ तर अख्तियारको मान्छे नै कारबाहीमा पर्दछ । एउटा मात्र होइन, लाम लगाएर । यो कस्तो नाटक हो ? शान्तिसुरक्षा दिने भन्छन्, विध्वंस मच्चाउँछन् । न्याय दिने भन्छन्, त्यहीँ भ्रष्टाचार छ । यस किसिमको परिस्थिति बनेको छ । यो त अशान्ति नै हो नि । न न्याय छ, न त जनताको जीउधनको सुरक्षा छ । यो के हो त ? अहिले देशमा आएका सारा समस्याहरूको समाधान के हो त ? यसको विकल्प त क्रान्ति हो । शान्तिको जननी त क्रान्ति हो । क्रान्ति भनेको युद्ध होइन । शान्ति कसरी हुन्छ भने अशान्ति मच्चाउने तत्वहरूको अन्त्यपछि शान्ति हुन्छ । अहिले कसले मच्चायो र अशान्ति, हामीले हो ? राज्यले हो नि ! राज्यमा बस्नेहरूले भ्रष्टाचार गर्दछन्, अन्याय गर्दछन् । उनीहरू हिंसावादी छन् । जनतामा राहतको अनुभूति छैन । राज्यमा अशान्ति छ । त्यसको अन्त्य क्रान्तिले गर्दछ । यो हामीले जनतामा लगेका थियौँ, राम्रो भएको थियो । प्रचण्ड–बाबुरामहरूको विचलनपछि यो एउटा समस्या बनेको थियो । अब प्रस्ट हुँदै गएको छ ।

अर्को कुरा, जनताको माग हुँदै गएको छ । तपाईंहरूको पार्टी छ, सारा छ तर पुगेन कि भन्ने पनि छ तर हामीले जनताको मागअनुसार कारबाही गर्दै आएका छौँ । हाम्रो के छ भने कारबाही हाम्रो विषय नबनोस् । कतै पनि गलत चीजविरुद्ध सङ्घर्ष गर्दा नेकपाको मात्र विषय नबनोस् । हाम्रो पार्टीको मात्र बिषय नबनोस् । हामी चाहन्छौँ यो जनताको विषय हो भन्ने कुरा सबैलाई चेतना होस् । अब देशभरि के भन्दै गइरहेको छ भने जनताले माग गर्ने आन्दोलनमा यो पार्टी हामफाल्न तयार छ । अब जनताले भन्नुहोस् न त काठमाडौँमा निस्केर अपिल गर्नुहोस्, हामी तयार छौँ । यो अन्याय–अत्याचार र बेथितिका विरुद्ध अगाडि आउनुहोस्, हामी तयारै छाैँ । आन्दोलनको आँधीबेहरी सृष्टि गर्नुपर्यो भने हामी तयार छौँ । राज्यको लुटखसौट र अत्याचारबाट मुक्त हुनुपर्दछ, नयाँ निकास हुनुपर्दछ भन्ने कुरामा त हामी सधैँ तयार छौँ नि ।

धेरै विषयमा कुरा गरियो । महासचिव कमरेडलाई धन्यवाद ! अन्त्यमा जनतालाई भन्नुपर्ने केही विषय बाँकी छन् कि ?

पहिलो कुरा त रातो खबरलाई धन्यवाद । यसले पार्टीका धारणाहरू जनतामा राख्ने मौका प्रदान गर्यो । हामीले फेरि पनि भन्ने कुरा के हो भने नेपाल अग्रगमन र प्रतिगमनका बीचमा, उज्यालो र अँध्यारोका बीचमा, क्रान्ति र प्रतिक्रान्तिका बीचको टक्करमा, समाधान र अवरोधका बीचको टक्करमा आएर उभिएको छ । यतिबेला सबै नागरिकले सोच्ने भनेको के हो भने नेपाली जनतालाई चाहिएको भनेको अग्रगमन हो, पश्चगमन होइन । अराजकता, बेथिति, घात होइन, जनतालाई चाहिएको भ्रष्टाचार, देशघात होइन, जनतालाई चाहिएको भनेको आफ्नो अधिकार सम्पूर्ण रूपले उपभोग गर्ने हो, हस्तक्षेप र बाधाअवरोध होइन । जनतालाई चाहिएको स्वाधीनता हो, पराधीनता र दलाली होइन । क्रान्ति र आन्दोलनबाट थाक्नु हुँदैन । विगतमा सबैलाई गरियो, अब गरेर के होला र भन्ने पनि छ तर त्यो होइन । हामी विभिन्नखालका अत्याचारहरूलाई फाल्दै यहाँ आएका हौँ । यो क्रान्तिकै परिणाम हो । यहाँ क्रान्ति पूरा भएको छैन । यसमा आत्तिनुपर्ने जरुरी छैन । स्वाधीन मुलुक बनाएर देशलाई समृद्ध बनाउन सक्छौँ । जनताको अधिकार सुनिश्चित गरेर शान्ति हाम्रै हातमा ल्याउन सक्छौँ । अहिले चलिरहेको दलालीकरण, अन्याय, अत्याचार, भ्रष्टाचारको अन्त्य सम्भव छ । अहिले हेर्नुहोस् त सारा जमिन दलालको हातमा गैसक्यो । सारा अर्थतन्त्र उनीहरूको हातमा गएको छ । यो सवै समस्याको समाधान आन्दोलन हो, क्रान्ति हो भन्ने कुरामा विश्वस्त बनौँ । हामीले निरासालाई आशामा बदल्ने भनेको क्रान्ति नै हो । त्यसकारण एकपटक आमूल परिवर्तन गर्ने क्रान्तिमा सहभागी हुन आमजनतालाई आह्वान गर्न चाहन्छु ।

निकै प्रतिकूलतालाई चिर्दै समय दिनुभएकोमा तपाईंलाई धेरैधेरै धन्यवाद ।

हवस् त, यहाँहरूलाई पनि धेरै धन्यवाद ।

(नेकपाका महासचिव विप्लवसँग रातो खबरका लागि वसन्त श्रेष्ठले लिएको अन्तर्वार्ताको अंश– सम्पादक ।)

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :