सरकारको राष्ट्रघाती रबैयाविरुद्ध देशभर २२ दलको प्रदर्शन

सरकारको राष्ट्रघाती रबैयाविरुद्ध देशभर २२ दलको प्रदर्शन

काठमाडौँ : केपी वली नेतृत्वको सरकारले गरेको राष्ट्रघात र जनघातका विरुद्ध आइतबार २२ वटा राजनीतिक सङ्गठनले संयुक्त रूपमा देशैभर प्रदर्शन गरेका छन् ।

प्राप्त जानकारीअनुसार काठमाडौँको माइतीघरमण्डला, पोखराको पृथ्वीचोक, रूपन्देहीको बुटबल, दाङको तुलसीपुर, सुर्खेतको मङ्गलगढी चोक, कैलालीको धनगढी, उदयपुरको गाईघाटलगायत स्थानमा नाराजुलससहित विरोध प्रदर्शन गरिएको हो ।

माइतीघरको कार्यक्रमलाई नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका महासचिव परि थापालगायत नेताहरूले सम्बोधन गरेका छन् ।

सरकारका राष्ट्रघाती एवम् जनघाती कार्यको विरोध गर्दै राष्ट्र र जनताका पक्षमा सङ्घर्षरत २२ राजनीतिक सङ्गठनको २७ कात्तिकमा बसेको बैठकले मङ्सिर ७ गते काठमाडौँलगायत सातवटै प्रदेशमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

राजनीतिक दलहरूले विवादित अमेरिकी परियोजना एमसीसीका साथै नेपालका विभिन्न सरकारद्वारा विभिन्न समयमा गरिएका राष्ट्रघाती सम्झौताको खारेजी, भारतले अतिक्रमण र कब्जा गर्दै आएको लिम्पियाधुरा–कालापानी–लिपुलेक, सुस्ता, महेशपुरलगायत भूभागमाथि नेपालको स्वामित्व कायम गर्ने, कोभिड १९ को रोकथाम, नियन्त्रण र निःशुल्क उपचार, बेरोजगार र विपन्न वर्गलाई खानालगायत न्यूनतम् सुविधा, रोजगारीको व्यवस्था, निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था, उखु किसानको बक्यौता रकम तुरुन्त दिलाउने विषयमा २२ राजनीतिक दलले कार्यगत एकता गर्दै संयुक्त रूपमा सङ्घर्ष गरिरहेका छन् ।

कार्यगत एकतामा सम्मिलित २२ राजनीतिक सङ्गठनहरूमा १. नेकपा (मसाल) २. नेकपा (क्रान्तिकारी माओवादी), ३. नेकपा (माले), ४. राष्ट्रिय जनमोर्चा, नेपाल, ५. देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ६. नेपाल कम्युनिस्ट पार्टी, ७. नेकपा (माओवादी केन्द्र), ८. राष्ट्रिय जागरण मञ्च, ९. जनसमाजवादी पार्टी, १०. नेकपा (संयुक्त), ११. राष्ट्रिय जागरण परिषद्, नेपाल १२. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, १३. नेकपा (बोल्सेबिक), १४. राष्ट्रवादी केन्द्र, नेपाल, १५. एमसीसी खारेज अभियान, १६. पुष्पलाल अध्ययन समाज, १७. सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), १८. माक्र्सवादी एकता अभियान, १९. नेकपा (माक्र्सवादी), २०. नेकपा माक्र्सवादी (पुष्पलाल), २१. ने.क.पा. (माओवादी) र समाजवादी राष्ट्रिय मञ्च, नेपाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :