कलाकार अग्निराज पौडेललाई हिरासतमै आत्मसमर्पण गराउने षड्यन्त्र, पौडेलद्वारा अस्वीकार

कलाकार अग्निराज पौडेललाई हिरासतमै आत्मसमर्पण गराउने षड्यन्त्र, पौडेलद्वारा अस्वीकार

काठमाडौँ : ६ दिनअघि डिल्लीबजारस्थित ‘द आर्ट एन्ड डिजाइन’ कार्यालयबाट बिनाकारण गिरफ्तार गरिएका ग्राफिक डिजाइनर एवम् चित्रकार अग्निराज पौडेल ‘अराप’ लाई आत्मसमर्पण गराएर सरकारी नेकपामा प्रवेश गराउन केही अनाम सरकारी पात्रहरूले गरेको षड्यन्त्रलाई पौडेलले खारेज गरिदिएका छन् ।

स्थापित चित्रकार र ग्राफिक डिजाइनर पौडेल अखिल नेपाल जनसांस्कृतिक महासङ्घका कार्यालय सदस्य, अखिल नेपाल ललितकला सङ्घका अध्यक्ष, कमर्सियल आर्टिस्ट सङ्घका संस्थापक पदाधिकारी तथा नेपाल–कोरिया लेखक–पत्रकार मञ्चका महासचिव हुन् । उनी परिपक्व र नवोदित कवि तथा नियात्राकार पनि हुन् । पौडेल डिल्लीबजारलाई कार्यथलो बनाएर करिब तीन दशकदेखि आफ्नो पेसा–व्यवसाय गर्दै आएका छन् ।

स्रोतका अनुसार आफूलाई सरकारी नेकपा नजिकको, गृहमन्त्रीको विश्वासपात्र, लैनचौरको समेत विश्वास जितेको मानिस हुँ भन्ने केही व्यक्तिले हिरासतदेखि कोठासम्म गएर कलाकार पौडेल र उनको परिवारका सदस्यलाई अमूक पार्टी परित्याग गरेको कागज गरी सरकारी नेकपामा प्रवेश गरेको कागजमा हस्ताक्षर गरे तत्काल रिहा गराइदिने भन्दै फसाउने षड्यन्त्र गरिरहेका छन् तर पौडेलले आफू आस्था राखेर स्वतन्त्र रूपमा ग्राफिक डिजाइनको पेसा गर्दै आएको श्रमजीवी कलाकार भएकाले सीप र कलासँग जोडिएको आस्था समाप्त पारेर जीवनको भिक नमाग्ने भन्दै षड्यन्त्रकारीहरूलाई फर्काइदिएका छन् ।

स्रोतले भन्यो, ‘बन्दी प्रत्यक्षीकरणमा समेत जान नदिएर गृहमन्त्री र सुरक्षा निकायको शक्ति प्रयोग गरेर छुटाइदिन्छु भन्दै केही मानिस आत्मसमर्पणको कागज बोकेर हिरासतमा पुग्ने गरेका छन् तर आफू निर्दोष भएकाले आस्था बेच्दै र आत्मसमर्पण गर्दै भिक माग्ने पक्षमा नरहेको जबाफ पौडेलले दिएका छन् ।’

सोमबार कार्यकक्षबाट गिरफ्तार गरिएका पौडेलको कार्यालयदेखि कोठासम्म छापामारेर खानतलासी गरिएको थियो भने परिवारका सदस्यहरूलाई पनि आतङ्कित पार्दै सामानहरू कब्जा गरिएको थियो ।

पौडेल लामो समयदेखि थाइराइड, उच्च रक्तचाप, निरन्तर टाउको दुख्नेलगायत गम्भीर रोगका कारण कडा औषधी सेवन गरिरहेका दीर्घरोगी हुन् । उनकी पत्नीसमेत विभिन्न रोगको औषधी सेवन गरिरहेकी दीर्घरोगी रहेको र पौडेलको कठोर श्रम–सीपबाटै उनीहरूको परिवार चलेको जानकारी पारिवारिक स्रोतले दिएको छ ।

पौडेलको गिरफ्तारीप्रति चिन्ता व्यक्त गर्दै चित्रकार, कलाकार, साहित्यिक सङ्घ, सङ्गठन र संस्थाहरूले विज्ञप्ति निकालेर उनको निःसर्त रिहाइको माग गरेका छन् । उनी आबद्ध अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव खेम थपलिया र सचिव अशोक सुवेदीले विज्ञप्ति जारी गरी पौडेलको बिनासर्त, यथाशीघ्र रिहाइको माग गरेका छन् ।

प्रगतिशीलदेखि माक्र्सवादी स्रष्टाहरूसम्मले सामाजिक सञ्जालको माध्यमबाट उनको रिहाइका लागि दबाब अभियान नै आरम्भ गरेका छन् । खोमा तरामु मगर, रसुवाली कवि, बीपी विद्रोहीलगायत माक्र्सवादी स्रष्टाले काठमाडौँलगायत विभिन्न स्थानबाट दबाब अभियान आरम्भ गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :