क्रान्ति फेरि क्षितिजबाट उषाकिरण बनेर जगमगाउँदैछ

क्रान्ति फेरि क्षितिजबाट उषाकिरण बनेर जगमगाउँदैछ

श्रमजीवी वर्गसङ्घर्ष नयाँ उचाइमा उठाउदै सर्वहारा श्रमिक वर्गको अधिनायकत्व प्राप्त गर्न रोपेको क्रान्तिको बीज संसदीय संशोधनवादमा पतन भयो र आफ्नो आत्मसमर्पणवाद, विसर्जनवाद र प्रतिक्रियावाद अनि सामाजिक दलाल पुँजीवादको बोट बनेर हुर्किन पुग्यो ।

जनयुद्धको गौरवपूर्ण इतिहासले जाज्वल्यमान प्रचण्ड शान्तिवार्तालगत्तै कुरूप अँध्यारोका छविलाल बन्न पुगे । सामन्ती, पुँजीवादी राज्यसत्ताविरुद्ध लडेका जनमुक्ति सेनाको अभूतपूर्व बलिदानले सदियौँदेखिको सामन्तवाद र नोकरशाही दलाल पुँजीवादी व्यवस्थाको अन्त्य भएर श्रमजीवी जनतामाझ समानताको नयाँ सपना साकार हुने प्रस्ट मार्गदर्शन थियो ।

लेखक : हेमबहादुर खड्का

यसबाट अत्तालिएर संशोधनवादमा पतन भएको एमाले एनजीओ र आईएनजीओमार्फत ठूलठूला कर्पोरेट हाउसहरू भित्र्याएर आर्थिक लाभको प्रलोभनले संसदीय व्यवस्थामा आफ्नो उपस्थिति बलियो बनाउन तल्लीन रह्यो ।

त्यसपछि प्रचण्ड–बाबुरामहरूको वैचारिक, राजनीतिक, आर्थिक, सांस्कृतिक र सङ्गठनात्मक पतन सुरु भयो । हिजो संशोधनवादमा पतन हुन पुगेका एमालेहरूसँग मालेमावाद छोडेर विलय हुन पुगेका प्रचण्डको विचलनको प्रक्रिया र बाबुरामले कम्युनिस्ट धार नै छोडेर क्षेत्रीय र जातीय पार्टीमा विलीन हुन पुगेपछि यसको उत्कर्ष देखियो ।

यसबीचमा श्रमजीवी, उत्पीडित, सच्चा क्रान्तिकारीहरू जुट्दै आत्मसमर्पणवादी र विसर्जनवादीका हातबाट क्रान्तिको झन्डा खोसेर विश्वभरका श्रमजीवी वर्गले देख्ने गरी नेकपाको नेतृत्वमा अझै उचाइमा पुर्याएका छन् ।

क्रान्ति फेरि बैज्ञानिक समाजवादको आलोकमा रातो क्षितिजबाट एकीकृत जनक्रान्तिको मार्गदर्शनका रूपमा हरबिहानीको उषाकिरण बनेर जगमगाउँदैछ ।

समाजवादको भाषण दिने बाबुराम कम्युनिस्ट धार नै छोडेर आफ्नो अस्तित्व जोगाउन काङ्ग्रेसको पिँढीमा पुगेका छन् भने प्रचण्ड आफ्नो एक मुठ्ठी प्राण टेकाउन एमालेहरूको चुलोमा लम्पसार पर्न पुगेका छन् ।

यसले नेपालको कम्युनिस्ट आन्दोलनमा प्रचण्ड बर्नस्टिन र बाबुराम मिलेराँमा परिणत हुन पुगेको प्रमाणित गरिदिएको छ । प्रचण्ड र बाबुरामहरूको विचलनकारी कदमकै कारण हिजो पार्टीभित्र उठेका दलित र जातीय मुक्तिका प्रश्नहरू, विभेद र महिला मुक्तिका आवाजहरूलाई दुई लाइन सङ्घर्षमै सकी असमानता र भ्रष्ट, तस्कर, घुस्याहाहरूको प्रतीक्षालयका रक्षक बनेर अवसरवाद हुँदै प्रतिक्रियावादी संसदीय व्यवस्थाको भासमा कहिल्यै निस्कन नसक्ने गरी डुबे ।

प्रचण्ड र केपी वलीहरूले राजनीतिक शक्तिले गर्ने जनसङ्घर्षका कार्यक्रमहरूबाट जनता एकीकृत जनाक्रान्तिमा लामबद्ध हुन थालेपछि अत्तालिएर प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टीले क्रान्तिकारी शक्तिहरूसँग ध्रुवीकरणको पहल सुरु गरिसकेको छ भने प्रतिक्रियावादी र संशोधनवादी–विसर्जनवादीहरूको किल्ला ध्वस्त हुने क्रम आरम्भ भइसकेको छ । क्रान्ति फेरि बैज्ञानिक समाजवादको आलोकमा रातो क्षितिजबाट एकीकृत जनक्रान्तिको मार्गदर्शनका रूपमा हरबिहानीको उषाकिरण बनेर जगमगाउँदैछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :