सरकारी नेकपाको विवाद : वैदेशिक शक्तिकेन्द्रको शक्ति प्रदर्शन

सरकारी नेकपाभित्रको सकस राष्ट्र र जनताको विषय हैन । यो सत्ता बागडोर समाल्ने केपी कम्पनीले आफू शक्तिमा रहन सत्ताको शक्ति वैदेशिक शक्तिकेन्द्रको साथ, अर्को सत्ताको थुक निलेर बसेको पीके कम्पनीले बहुराष्ट्रिय कम्पनीको पैसा, घरेलु दलाल र एजेन्टको प्रयोग र शक्ति प्रदर्शन गरी वैदेशिक शक्तिकेन्द्रको मन जित्न दुई झुण्ड कम्पनीबीच गरेको प्रहसन बाहिरी सतहमा आएको मात्र हो । यो कुनै विचार, सिद्धान्त वा कार्यदिशा र राजनीतिक कार्यक्रमको वादविवाद कदापि हैन । यो त वैदेशिक शक्तिकेन्द्रको शक्ति प्रदर्शन र पद–प्रतिष्ठाको लोलुपताको दलाली मात्र हो ।

इन्डो–अमेरिकनहरू पार्टी विभाजन गरेर भए पनि एमसीसी पास गरेर पनि केपी वली र शेरबहादुर देउवाको सत्ता समीकरण गराउने प्रयत्नमा छन् भने चीन पार्टी विभाजनलाई रोक्ने र एमसीसीलाई समेत बार लगाउने दाउ चालिरहेको छ ।

प्रचण्ड पक्ष एमसीसी तत्काल रोकेर सकेसम्म यसका राष्ट्रघाती बुँदा हटाइएको मुलाहिजा बेचेर वलीले प्राप्त गर्ने विश्वासिलो पदक थाप्ने चाल चाल्दैछ । वली आफ्नो अडानमै प्रचण्डलाई घुँडा टेकाउने कसरतमा देखिन्छन् ।

कोरोना कहरका बीचमा खान नपाएर र पीडा अनि डिप्रेसनले सयौँले मृत्युु रोज्नुपरेको छ । लकडाउन नै गर्नु नपर्ने समयमा लकडाउन गरियो । जब लकडाउन आवश्यक् थियो खुकुलो गरेर सङ्क्रमण झन् बढाइएको छ । सुरुमै सीमानाकामा कडाइ र अन्तर्राष्ट्रिय उडान मात्रै बन्द गरिदिएको भए आज मुलुकमा जनताले यो स्थिति भोग्नुपर्ने थिएन । अहिले सामान्य प्रदेश तहको लकडाउनले जटिल परिस्थितिको सामना गर्न सकिन्थ्यो । १० अर्ब त कोरोना कहरकै नाममा स्वाहा भइसक्यो । अरू कति स्वाहा भइरहेको छ, सार्वजनिक गरिएको छैन । देश र जनतामाथिको विपद्को दुरुपयोग गरेर ब्रह्मलूट मच्चाउने षड्यन्त्र छ । यो हिजोदेखि नै लागेको बानी हो । दलाल पुँजीवादले जनता सकसमा परेको समयमा पनि दलाली गर्छ र खान्छ । यो प्रस्ट देखिइरहेको छ र विद्रोह पनि भइरहेको छ ।

बर्खा लागेसँगै तराईमा बाढीको डुबान र पहाडमा पहिरोले क्षति पुर्याउन सुरु गरिसकेको छ । तीन दिनभित्र तीसको हाराहारीमा मानिसको मृत्यु र चालीसभन्दा बढी सर्वसाधारण पहिरोमा परेर बेपत्ता भइसकेका छन् । दिनप्रतिदिन यसप्रकारका घटना बढिरहेका छन् । सत्ताधारी पार्टीको आन्तरिक किचलोले सरकारको ध्यान सत्ता जोगाउने र प्रतिपक्षी रमिता हेर्दै आफ्नो भविष्य आँकलन गर्न व्यस्त छन् । सत्ताधारी पार्टीका बिचौलिया, तस्कर, घुस्याहा, कमिसनखोर र दलालहरू शक्ति जोगाउने र ब्रह्मलुट गर्न एकता जिन्दवादका नारा लगाइरहेका छन् । पार्टी विधि, पद्धति र थितिले चलेको भए यो रोइलो गर्नुपर्ने दिन नै आउँदैनथ्यो । बुझ्नुपर्ने कुरा यहाँ तीनवटा छन् :

१. यो एकता स्वचालित र स्वाभाविक थिएन । शक्ति प्राप्त गर्ने र बहुमतले बनेको सरकारले आआफ्नो शक्तिकेन्द्रसँग भएको सम्झौता पूरा गरिदिने मन्जुरीनामाको एकता थियो । एक शक्तिकेन्द्रले बोर्डर इन्फोर्समेन्ट अर्थात् वैदेशिक सैन्य हस्तक्षेप भित्र्याउने र अर्कोले रिसोर्सेज अर्थात् पानी, हावा, खनिज, जडीबुटी र बहुमूल्य जैविकता । तर साम्राज्यवाद आलोपालोको नामको सरकारबाट वैधानिक हिसाबले दुवै हात पार्न चाहन्थ्यो तर जनताको चेतना उठेको यो अवस्थामा त्यो रणनीति पूरा गर्न परिस्थिति थप जटिल बन्दै गएको छ ।

२. सत्ता–बागडोर समाल्ने कम्पनीले आफू शक्तिमा रहन सत्ता–शक्ति वैदेशिक शक्तिकेन्द्रको साथ, अर्को सत्ताको थुक निलेर बसेको कम्पनीले बहुराष्ट्रिय कम्पनीको पैसा, घरेलु दलाल र एजेन्टको प्रयोग र शक्ति प्रदर्शन गरी वैदेशिक शक्तिकेन्द्रको मन जित्ने दुई झुण्ड कम्पनीबीचको लडाइँ बाहिरी सतहमा आएको मात्रै हो । दुबै कम्पनीलाई शक्ति र प्रतिष्ठा मात्रै चाहिएको हो । त्योबाहेक सबै भ्रम हो । स्थायित्व, सुशासन र समृद्धि जनता अलमल पार्ने दलाल संसदीय व्यवस्थाका नाराहरू मात्रै हुन् ।

३. स्वचालित दल वा सङ्गठनको निर्माण र स्वाधीन सत्ताको परिकल्पना नै नेपाली राजनीतिमा सुरु भएको छैन । यसर्थ राष्ट्रियताको लडाइँ, स्वाधीनताको सङ्घर्ष त जारी छ ।

सचेतनाको आगो हरेक चुलोमा सल्कनु, राष्ट्रियताको सबालमा जनविद्रोहको सम्भावना बढेर जानु, यो शासकीय स्वरूप र प्रणाली फेर्न नयाँ वैज्ञानिक समाजवादी कार्यदिशा सार्थक बन्दै जानुले भूमण्डलीकृत पुँजीवाद अर्थात् दलाल पुँजीवादी व्यवस्थाका एजेन्टहरूको सातो उडेको छ । आफ्नो कर्तुत खुल्दै गएसँगै आफ्नो सुरक्षा र सम्पत्तिको रक्षा गर्ने दौडधुप केबल जनतालाई फेरि देश र जनताका लागि भनेर यिनका आसेपासे र भरौटेहरू फुकिरहेका छन् ।

यो कुरा हरेक जनतासम्म पुर्याउनु छ, हरेक राष्ट्रप्रेमीबीच पुर्याउनु छ र भ्रम बेचेर आफ्ना स्वार्थ पूरा गर्न लागेका यी परिचालित दलाल र यसका ठेकेदारहरूलाई लखेट्नु छ । हामीलाई थाहा छ– एक दलालका हातबाट अर्को दलालले सत्ता साट्ने कुरा कति जटिलतामा पुगेको छ भने स्वाधीन सत्ता निर्माण गरेर वैज्ञानिक समाजवादी व्यवस्था ल्याउने र श्रमजीवी वर्गको राज्यसत्ता निर्माण गर्ने कुरा अझै चुनौतीपूर्ण तर अवश्यम्भाबी छ । हामी गलेर पनि नथाक्ने यो महान् अभियानमा छौँ र सबै देशभक्त र न्यायप्रेमी जनसमुदायको उत्साह र सहभागिताको विश्वास र भरोसा नयाँ उचाइसम्म उठाउने प्रतिबद्धता गरेका छौँ । आउनुस यो महाअभियानमा जुटौँ ।

प्रतिक्रिया दिनुहोस्