बाढीको बितण्डा : पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सप्तकोसीमा पानीको बहाव खतराको स्तरभन्दा बढी, म्याग्दीमा ११ र जाजरकोटमा ७ जनाको शव फेला

काठमाडौँ : देशैभर भएको अविरल वर्षाका कारण सप्तकोसीमा पानीको बहावले खतराको स्तर पार गरेको छ । बिहीबारदेखि लगातार परेको पानी नरोकिएपछि कोसी ब्यारेजका ४० वटा ढोका खोलिएको छ ।

पछिल्लो मापनअनुसार सप्तकोसी ब्यारेज भएर २ लाख ५६ हजार ६ सय १५ क्युसेक पानी प्रतिसेकेन्डका दरले बगिरहेको छ । कोसी ब्यारेजमा ५६ वटा ढोका छन् ।

यसैबीच पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटमा बाढीले डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको छ । वर्षापछि आएको बाढीले उक्त डाइभर्सन बगाउँदा गन्तव्यमा हिँडेका सवारीसाधनहरू राजमार्गमै रोकिएका छन् ।

उता म्याग्दीमा बाढीपहिरोले बगाएकामध्ये ११ जनाको शव फेलापरेको छ भने २३ जना अझै हराइरहेका छन् ।

जाजरकोटको बारेकोटमा पहिरोले दुई घर बगाउँदा बेपत्ता भएका १२ जनामध्ये ७ जनाको शव भेटिएको छ । अविरल वर्षापछि बिहीबार राति गएको पहिरोले घरसहित १२ जनालाई बगाएको थियो । लगातार भएको वर्षाका कारण देशैभर बाढीपहिरोबाट ३० जनाभन्दा बढीको ज्यान गएको छ भने कयौँ बेपत्ता अवस्थामा छन् ।

लगातारको वर्षाका कारण तराई क्षेत्रका कयौँ भूभागहरू डुबानमा परेका छन् । बिहीबारदेखि सुरु भएको मनसुन २८ गतेसम्म सक्रिय रहने भएकाले देशैभर बाढीपहिरोको जोखिम अझै उच्च रहेको छ । यस्तै नदीहरूमा पनि पानीको बहाव बढिरहेकाले तटीय क्षेत्रका बस्तीहरूमा बाढीको जोखिम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :