नेकपाद्वारा खोकनाबासीको आन्दोलनलाई समर्थन

जनतामाथि अन्याय–अत्याचार गर्ने कुरा कदापि सह्य छैन : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी ललितपुरले खोकनाबासीले राखेका मागहरूको सरकारले उचित सम्बोधन नगरी जनतामाथि दमन गरी आफ्नो निहित स्वार्थ पूरा गर्न खोजेको भन्दै ऐतिहासिक धरोहर बिगारेर बाटो बनाउने कुरा कदापि सह्य नहुने बताएको छ । जिल्ला सेक्रेटरी विदुषीले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा खोकनाबासीमाथिको दमन र सरकारी ज्यादतीका कारण त्यहाँका जनताले गरिरहेको आन्दोलनप्रति पार्टीको ध्यानाकर्षण भएको र खोकनाबासी न्यायप्रेमी जनसमुदायहरूको अन्दोलनमा साथ, समर्थन र ऐक्यबद्धता जनाइएको छ ।

उनको विज्ञप्तिमा आफ्नो हकहित अधिकार र स्वाभिमानको रक्षाका निम्ति निरन्तर लाग्न पनि खोकनाबासी जनसमुदायहरूलाई हार्दिक आह्वानसमेत गरिएको छ ।

जिल्ला सेक्रेटरी विदुषीको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो जनप्रिय तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी राष्ट्रियता, जनतन्त्र र जनजीविकाका निम्ति निरन्तर सङ्घर्षरत रहेको कुरा यहाँहरूलाई सर्वविदितै छ । यतिबेला विश्व महामारी कोभिड १९ सँग जुधिरहेको छ । जनताको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा र जनताको सुरक्षामा लाग्नुभन्दा पनि केपी–पीकेद्वारा सञ्चालित कथित कम्युनिस्ट भ्रष्ट सरकार दलाली, कालोबजारी, भ्रष्टाचार, सत्ता र कुर्सीको लुछाचुँडीमा व्यस्त देखिन्छ ।’

विदुषीको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यतिखेर ललितपुर जिल्ला खोकनाबासीमाथिको दमन र सरकारी ज्यादतीका कारण त्यहाँको जनताले गरिरहेको आन्दोलनप्रति हाम्रो ध्यान आकर्षित भएको छ । हामी विकासविरोधी हैनौँ र कदापि हुने छैनौँ तर खोकनाबासीले राखेका मागहरूको सरकारले उचित सम्बोधन नगरी जनतामाथि दमन गरी आफ्नो निहित स्वार्थ पूरा गर्न खोज्नु गलत कुरा हो । ऐतिहासिक धरोहर बिगारेर बाटो बनाउने कुरा कदापि सह्य हुनेछैन, बरु त्यसको विकल्प खोजिनु पर्दछ । जनतालाई बुझाएर बाटोको विकल्प रोजी काम अगाडि बढाउनुको सट्टा यो भ्रष्ट सरकार जनताको आस्थाको धरोहरमाथि कुल्चिँदै पिट्ने, धरपकड गर्ने अनि दलाल र भ्रष्टहरू कालोबजारियाहरूलाई छूट दिने काममा लागिपरेका छन् । यो जनतामारा सरकारलाई जनतामाथि अन्याय, अत्याचार गर्ने कुरा कदापि सह्य छैन ।’

विदुषीको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘अतः हाम्रो पार्टीका तर्पmबाट खोकनाबासी न्यायपे्रमी जनसमुदायहरूको आन्दोलनमा साथ, समर्थन र ऐक्यबद्धता छ । आफ्नो हकहित, अधिकार र स्वाभिमानको रक्षाका निम्ति निरन्तर लाग्न पनि हामी खोकनाबासी जनसमुदायहरूलाई हार्दिक आह्वान गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :