नेकपा सेती–महाकाली ब्युरोद्वारा निडरप्रति श्रद्धाञ्जली

नेकपा सेती–महाकाली ब्युरोद्वारा निडरप्रति श्रद्धाञ्जली

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी सेती–महाकाली ब्युरोले शोक वक्तव्य जारी गरी नेकपाका पूर्वसेती–महाकाली स्वायत्त जनपरिषद् प्रमुख, केन्द्रीय सदस्य र पार्टीका केन्द्रीय सल्लाहकार रहिसकेका नेता धनबहादुर मल्ल ‘निडर’ प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । ब्युरो कार्यालय सचिव छविलालले बिहीबार जारी गरेको शोक वक्तव्यमा जीवनभरि राज्यको कुनै पनि सेवासुविधा नलिई सधैँ क्रान्तिका पक्षमा उभिएका नेता निडरको निधनले कम्युनिस्ट आन्दोलनलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

छविलालको शोक वक्तव्यमा भनिएको छ, ‘२०७७ असोज २९ गतेका दिन बझाङ जिल्ला केदारस्यु गापा ४ सैन्सु निवासी आदरणीय कमरेड धनबहादुर मल्ल ‘निडर’ मिर्गौला रोगबाट पीडित भई उपचारका क्रममा रहेको बेला ६७ वर्षको उमेरमा भएको उहाँको असामयिक निधनले हाम्रो सम्पूर्ण पार्टी पङ्क्तिलाई दुःखी र स्तब्ध बनाएको छ । सुदूरपश्चिमको कम्युनिस्ट आन्दोलनका अभिभावक तथा हाम्रो पार्टीको अछाम जिल्ला सचिव क. भरत मल्लका बुबा कमरेड धनबहादुर मल्लले विगतमा पार्टीको सेती–महाकाली स्वायत्त जनपरिषद् प्रमुख, केन्द्रीय सदस्य र पार्टीको केन्द्रीय सल्लाहकारको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । जीवनभरि राज्यको कुनै पनि सेवासुविधा नलिई सधैँ क्रान्तिका पक्षमा उभिएका क. धनबहादुर मल्लको निधनले कम्युनिस्ट आन्दोलनलाई अपूरणीय क्षति भएको छ ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘दुःखको यस घडीमा शोकसन्तप्त सम्पूर्ण परिवारजनमा हाम्रो सेम ब्युरो पार्टीका तर्फबाट गहिरो संवेदना व्यक्त गर्दछौँ । मृतक आदरणीय अभिभावक कमरेड धनबहादुर मल्ल ‘निडर’ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । कमरेड धनबहादुर मल्लले कम्युनिस्ट आन्दोलनमा बाँचेको आदर्श र नैतिकताको जीवनका साथै उहाँले देखाएको इमानदारी, त्याग, समर्पण र निष्ठाले हाम्रो अधुरो क्रान्ति पूरा गर्ने एकीकृत जनक्रान्तिको यात्रामा थप हौसला प्रदान गर्नेछ र हामी त्यही कम्युनिस्ट आदर्श र नैतिकताको बाटोमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :