नेकपाद्वारा धनबहादुर मल्ल ‘निडर’ प्रति श्रद्धाञ्जली व्यक्त

नेकपाद्वारा धनबहादुर मल्ल ‘निडर’ प्रति श्रद्धाञ्जली व्यक्त

अछाम : नेपाल कम्युनिस्ट पार्टी अछामले शोक वक्तव्य प्रकाशित गरी विगतमा पार्टीको सेती–महाकाली स्वायत्त जनपरिषद् प्रमुख, केन्द्रीय सदस्य र पार्टीको केन्द्रीय सल्लाहकार रहिसकेका बझाङ केदारस्यु ४ सैन्सुका धनबहादुर मल्ल ‘निडर’ को निधन भएको भन्दै निडरप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेको छ । जिल्ला इन्चार्ज नवीनद्वारा जारी वक्तव्यमा निडरको असामयिक निधनले सम्पूर्ण पार्टी पङ्क्तिलाई दुःखी र स्तब्ध बनाएको छ पनि उल्लेख छ ।

वक्तव्यमा भनिएको छ, ‘२०७७ असोज २९ गते हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी अछामका पार्टी सचिव कमरेड भरत मल्लका बुबा, हाम्रो पार्टीका अभिभावक, विगतमा पार्टीको सेती–महाकाली स्वायत्त जनपरिषद् प्रमुख, केन्द्रीय सदस्य र पार्टीको केन्द्रीय सल्लाहकारको जिम्मेवारी निर्वाह गरिसक्नुभएका बझाङ जिल्ला केदारस्यु गापा ४ सैन्सु निवासी आदरणीय कमरेड धनबहादुर मल्ल ‘निडर’ को ६७ वर्षको उमेरमा भएको असामयिक निधनले हाम्रो सम्पूर्ण पार्टी पङ्क्तिलाई दुःखी र स्तब्ध बनाएको छ ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘दुःखको यस घडीमा शोकाकुल सम्पूर्ण परिवारजनमा हाम्रो जिल्ला पार्टीका तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछौँ । मृतक आदरणीय अभिभावक कमरेड धनबहादुर मल्ल ‘निडर’ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछाैँ । कमरेड निडरले कम्युनिस्ट आन्दोलनमा देखाएको सरल जीवनशैली र त्यागको संस्कृतिको अनुसरण गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :