नेतृत्वका कार्यभारहरू

नेतृत्वका कार्यभारहरू

सामान्यतः नेतृत्व भन्नाले निश्चित लक्ष्य–उद्देश्य प्राप्त गर्नका निम्ति निर्माण गरिएको पार्टी सङ्गठन वा कुनै पनि सङ्घ–सङ्गठन अर्थात् समूहविशेषको नाइके वा मुख्य मान्छे भन्ने बुझिन्छ । यसलाई अङ्ग्रेजी भाषामा लिडरसिप/कमान्डर भनिन्छ । नेतृत्व सही भएमा सङ्गठनले राखेका लक्ष्य–उद्देश्यहरू प्राप्त गर्न सहज हुन्छ । नेतृत्व गलत भएमा सङ्गठनका लक्ष्य–उद्देश्यहरू प्राप्त गर्ने होइन, बरु आफ्नै अस्तित्व समाप्त हुने गर्छ । यो वैज्ञानिक नियम सामान्यतः सम्पूर्ण विज्ञानका क्षेत्रमा लागू भए पनि विशेष र मुख्य रूपले राजनीतिक विज्ञानका क्षेत्रमा लागू हुन्छ । यसर्थमा राजनीतिक विज्ञानमा पुरानो राज्यसत्ता वा आफ्नो विरोधी वर्गमाथि विजय हासिल गर्न नयाँ पुस्ता वा क्रान्तिकारी शक्तिले सीमित नेता–कार्यकर्ताको परिचालन गरेर सम्भव हुँदैन, बरु समाजका आमजनवर्गलाई जागृत गरेर मात्र सम्भव छ । त्यसैले राजनीतिक विज्ञानको प्रयोगका सन्दर्भमा सही र गलत नेतृत्वले निर्णायक भूमिका निर्वाह गर्ने भएको हुँदा त्यसको विशेष अर्थ र महत्व रहेको हुन्छ । यहाँ मूलतः राजनीतिक सङ्गठन र त्यसको नेतृत्वका बारेमा सङ्क्षिप्त चर्चा गर्ने कोसिस गरिएको छ ।

लेखक : अमर झाँक्री ‘सञ्जीव’

राजनीतिक पार्टी वा सङ्गठनहरूमा नेतृत्व छनोट गर्दा जनतासँग प्रत्यक्ष जोडिएका प्रारम्भिक तहका प्रतिनिधिहरूले आफ्नो तहको नेतृत्व छनोट गर्छन् र तिनले क्रमशः माथिल्लो तहका नेतृत्व छनोट गर्दै केन्द्रीय महाधिवेशन र सम्मेलनको तहसम्म पुगेर नेतृत्व छनोटको प्रक्रिया अन्त्य हुन्छ । नेतृत्व छनोट गर्दा सङ्गठनले निश्चित गरेको सेलेक्सन वा इलेक्सनकोे प्रक्रियाद्वारा गरिन्छ भने त्यसबाट निर्वाचित भएको नेतृत्वले आफ्नो तहको पार्टी समिति वा सङ्घ–सङ्गठन वा समूह विशेषप्रति पूर्ण रूपले जबाफदेही भएर कुशल नेतृत्व प्रदान गर्न सक्नु पर्छ । त्यसैले भन्ने गरिन्छ, नेतृत्वमा दूरदृष्टि, लक्ष्य–उद्देश्यप्रतिको अटल विश्वास, सामूहिक भावना, उच्च स्तरको अनुशासन र बलिदानी भावनाले समर्पित आधारभूत गुणहरूद्वारा युक्त हुनुपर्छ । यी गुणहरूको अभावमा नेतृत्व वास्तविक नभई औपचारिक मात्र हुन जान्छ । जब नेतृत्व औपचारिकतामा सीमित हुन्छ, तब उसले नेतृत्व गर्ने क्षेत्र वा सङ्गठनमा सिर्जनशील विकासको प्रक्रिया अवरुद्ध हुन जान्छ र त्यहाँ क्रमशः सुधारवाद हाबी हुन जान्छ । सुधारवादको दार्शनिक, राजनीतिक र सैद्धान्तिक विशेषता भनेको विकासको गतिमा गुणात्मकता होइन, मात्रात्मक गतिको नियम लागू हुनु हो । यसर्थमा सुधारवादले घुमाइफिराइ समाजको परिवर्तनतर्फ होइन, बरु यथास्थितिवादमा पुर्याउँछ र प्रकारान्तरले समग्र सङ्गठनको विसर्जन हुन जान्छ । यसले के देखाउँछ भने नेतृत्व समग्र सङ्गठनका लागि मानवशरीरको मुटुझैँ संवेदनशील रहेको हुन्छ । कुनै पनि राजनीतिक सङ्गठन र त्यसमा पनि अझ समाजका क्रान्तिकारी सङ्गठनको सञ्चालनका लागि छनोट गरिएका सबै स्तरका कुशल तथा दक्ष नेतृत्व वर्गले मुख्यतः निम्नकार्यभारहरू पूरा गर्नुपर्छ :

नेतृत्वमा दूरदृष्टि, लक्ष्य–उद्देश्यप्रतिको अटल विश्वास, सामूहिक भावना, उच्च स्तरको अनुशासन र बलिदानी भावनाले समर्पित आधारभूत गुणहरूद्वारा युक्त हुनुपर्छ । यी गुणहरूको अभावमा नेतृत्व वास्तविक नभई औपचारिक मात्र हुन जान्छ । जब नेतृत्व औपचारिकतामा सीमित हुन्छ, तब उसले नेतृत्व गर्ने क्षेत्र वा सङ्गठनमा सिर्जनशील विकासको प्रक्रिया अवरुद्ध हुन जान्छ र त्यहाँ क्रमशः सुधारवाद हाबी हुन जान्छ । सुधारवादको दार्शनिक, राजनीतिक र सैद्धान्तिक विशेषता भनेको विकासको गतिमा गुणात्मकता होइन, मात्रात्मक गतिको नियम लागू हुनु हो ।

पहिलो : सही योजना निर्माण

नेतृत्वको चेतना र वास्तविक बुझाइ उसले निर्माण गर्ने योजनासँग अन्तर्सम्बन्धित रहेको हुन्छ । योजनाका आन्तरिक र बाह्य गरी विभिन्न पक्ष र क्षेत्रहरू हुन्छन् । एउटा कुशल नेतृत्वले सही योजना निर्माण गरेर आफ्नो मातहतको सङ्गठनलाई चलायमान बनाइरहेको हुन्छ । योजनाको सहीपना त्यतिखेर मात्र सम्भव छ जतिखेर नेतृत्वले वस्तुगत र आत्मगत परिस्थितिको सही विश्लेषण गर्न सक्छ । वस्तुगत परिस्थितिअन्तर्गत राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिका विशेषताहरू र शक्ति सन्तुलनहरू केकस्ता छन् ? आफ्नो विरोधी शक्ति कति बलियो छ ? उसका रणनीति र कार्यनीतिहरू कसरी विकास भइरहेका छन् ? उसको भौतिक र प्राविधिक शक्ति कति सशक्त छ ? उसको मनोबल कस्तो छ ? सामाजिक अन्तर्विरोध र अन्तर्सम्बन्धहरू कसरी अगाडि बढिरहेका छन् ? आदि विषयहरूको सूक्ष्म अध्ययन जरुरी हुन्छ भने आत्मगत परिस्थितिअन्तर्गत आफ्नो सङ्गठनको भौतिक र प्राविधिक शक्ति, त्यसको मनोबल, जनताको पुरानो राज्यसत्ताप्रतिको घृणा र तिरस्कार कुन स्तरमा पुगेको छ ? जनताले नयाँ परिवर्तन चाहेका छन् कि छैनन् ? सङ्गठनले पुरानो राज्यसत्ताका विरुद्ध सञ्चालन गरिने सङ्घर्षको नेतृत्व गर्ने हैसियत र क्षमता राख्छ कि राख्दैन ? यसप्रकारका विषयहरूको गहिरो अध्ययन र संश्लेषण जरुरी हुने गर्छ । यी वस्तुगत र आत्मगत यथार्थको अभावमा निर्माण गरिने योजनाहरू स्वतः अवैज्ञानिक हुन जान्छन् । यस्तो अवस्थामा सङ्गठनले राखेका लक्ष्य–उद्देश्य प्राप्त गर्नतर्फ होइन, बरु सङ्गठन आफैँले ठूलठूला धक्का र क्षति बेहोर्दै विसर्जनतर्फ जानुको विकल्प रहँदैन । त्यसैले हरेक स्तरका राजनीतिक नेतृत्वहरूले आफ्नो सङ्गठनको विजयअभियानका लागि आत्मगत र वस्तुगत परिस्थितिको वस्तुनिष्ठ अध्ययनसहित कुशलतापूर्वक योजना निर्माण गर्नुपर्छ ।

दोस्रो : योजनाको रक्षा र कार्यान्वयन

सही योजनाको निर्माण गरिसकेपछि त्यसको दृढतापूर्वक रक्षा र प्रभावकारी कार्यान्वयन आवश्यक पर्छ । योजनाका समग्र पक्षहरूमाथि विरोधी शक्तिबाट हुनसक्ने विभिन्न हमलाहरूबाट रक्षा गर्नु, त्यसका मूल पक्षहरूलाई मातहतका तहहरूमा सम्प्रेषण गर्नु र त्यसको कार्यान्वयन गर्नु र गराउनु नेतृत्वको महत्वपूर्ण जिम्मेवारी हो । नेतृत्वले सधैँ हेक्का राख्नुपर्ने विषय के हो भने योजना निर्माण गरिसकेपछि त्यसको रक्षा र कार्यान्वयन अरू कसैले गरिदिऊन् भनेर उदासीन बनिदिनु हुँदैन । त्यसप्रकारको समस्याले समग्र योजना कमजोर हुने, कार्यान्वयनका क्षेत्रमा कैयौँ नकारात्मक प्रभावहरू पर्न गई अन्ततः सङ्गठन नै विसर्जनको दिशा समात्न पुग्छ । यसप्रकारको समस्या निकै घातक सिद्ध हुन्छ । योजनाको रक्षा र कार्यान्वयनका क्षेत्रमा नेतृत्वले आफ्नो सक्रिय सहभागिताबेगर कोठामा बसेर मनोगतवादी तरिकाले मात्र निर्देशन गर्नु हुँदैन । त्यसलाई एकलकाँटे तरिका भनिन्छ । एकलकाँटे तरिकाले सङ्गठन र योजनालाई संयोजन गर्नुको विपरीत पृथक गरिदिन्छ । फलतः त्यहाँ योजनाको लक्ष्य–उद्देश्य प्राप्त हुँदैन, बरु चौतर्फी अराजकता र भद्रगोलले मात्र संस्थागत रूप लिँदै जान्छ । हरेक योजनाले निर्धारण गरेका लक्ष्य–उद्देश्यहरू हासिल गर्न सबै तहका नेतृत्वहरूले आफूले निर्माण गरेका योजनाहरूको दृढतापूर्वक रक्षा र प्रभावकारी कार्यान्वयनका लागि अग्रभागमा रहेर प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कार्यान्वयन गर्नुपर्छ र यसप्रकारको कार्यपद्धतिलाई जीवनपद्धतिका रूपमा विकास गर्नुपर्छ । यसप्रकारको कार्यपद्धतिले समग्र सङ्गठनमा निरन्तर उत्साह पैदा गरिरहेको हुन्छ ।

सही योजनाको निर्माण गरिसकेपछि त्यसको दृढतापूर्वक रक्षा र प्रभावकारी कार्यान्वयन आवश्यक पर्छ । योजनाका समग्र पक्षहरूमाथि विरोधी शक्तिबाट हुनसक्ने विभिन्न हमलाहरूबाट रक्षा गर्नु, त्यसका मूल पक्षहरूलाई मातहतका तहहरूमा सम्प्रेषण गर्नु र त्यसको कार्यान्वयन गर्नु र गराउनु नेतृत्वको महत्वपूर्ण जिम्मेवारी हो ।

तेस्रो : अध्ययन, अनुगमन र रिपोर्ट

हरेक तहका नेतृत्वहरूले कुनै पनि वस्तुको गहिरो अध्ययन गर्नुपर्छ । अध्ययनको अभावमा पैदा हुने अज्ञानताले मूर्खशिवाय केही बनाउँदैन । अध्ययन र जाँच–पड्तालबिना निकालिने निष्कर्षहरूले मनोगतवादमा मात्र पुर्याउँछ । मनोगतवादले राजनीतिक विज्ञानमा डरलाग्दो विषको काम गर्छ जसले आन्दोलन तथा सङ्घर्षहरूमा उत्ताउलोपना मात्र व्यक्त गर्छ । त्यसबाट बच्नका लागि नेतृत्वले राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थिति, वर्ग शक्ति सन्तुलन, सामाजिक क्षेत्रमा रहेका अन्तर्विरोधहरूका अतिरिक्त आफ्नो विचार–राजनीति, सिद्धान्त र नीति–कार्यक्रमहरूको अध्ययन र तिनको आत्मसातीकरण गर्नुपर्छ । त्यसका साथै हरेक तहका नेतृत्वहरूले आफ्नो मातहतका निकायहरूको समग्र कामहरूको सुपरीवेक्षण तथा अनुगमन गर्नुपर्छ । सुपरीवेक्षण तथा अनुगमनले समग्र योजनाको कार्यान्वयनमा प्रभावकारी भूमिका निर्वाह गर्छ । समग्र योजनाको कार्यान्यनका क्षेत्रमा देखापर्न सक्ने विभिन्न सीमा तथा कमजोरीहरूलाई सच्याउन र तिनको प्रभावकारी कार्यान्वयन गर्न पनि अनुगमन तथा सुपरीवेक्षणले प्रभावकारी भूमिका निर्वाह गर्छ । अक्सर स्वास्थ्य विज्ञानमा भन्ने गरिन्छ, ‘रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु बुद्धिमानी हुन्छ ।’ हरेक सङ्गठनहरूमा बेलाबखत देखापर्न सक्ने गैरजिम्मेवारीपन वा सङ्गठनको मूल अन्तर्वस्तु गुण वा अनुशासनविपरीत नियतवस वा अज्ञानताका कारण व्यक्त हुने सीमा तथा कमजोरीहरूलाई सच्याउन पनि अनुगमन तथा सुपरीवेक्षणले मद्दत गर्छ । त्यस्तै रिपोर्ट योजना निर्माणका लागि एउटा अनिवार्य पक्ष हो । हरेक तहका नेतृत्वहरूले रिपोर्ट पेस गर्दा तथ्यहरूमा आधारित भएर पेस गर्नुुपर्छ । रिपोर्टहरू तयार पार्दा वा संश्लेषण गर्दा एकद्वारको विधि मात्र होइन, बहुआयामिक क्षेत्रहरूको सञ्चालन र परिचालन गर्नुपर्छ र आफ्नो प्रत्यक्ष अध्ययन–अनुगमनमा आधारित हुनुपर्छ जसले निर्धारण गरिएका लक्ष्य–उद्देश्यहरू हासिल गर्नका लागि समग्र योजना निर्माणमा वस्तुवादी र वैज्ञानिकता साबित गर्न सकोस् ।

चौथो : अन्तर्विरोधहरूको समाधान

हरेक विज्ञान त्यसमा पनि मुख्यतः राजनीतिक विज्ञानमा अन्तर्विरोधहरूको समयमै र सही रूपले समाधान गर्न सकिएन भने त्यहाँ गत्यावरोध उत्पन्न हुन पुग्छ र त्यसले सिङ्गो समाज र सङ्गठनलाई नै तहस–नहस बनाउन पुग्छ । त्यसप्रकारको अवस्थामा नेतृत्वले अन्तर्विरोधहरूको सूक्ष्म अध्ययन र तिनको सचेततापूर्वक समाधानमा ध्यान दिनुपर्छ । त्यसैले नेतृत्वलाई साँचो (key) भन्ने गरिन्छ । समाजमा विद्यमान पुँजीपति वर्ग र सर्वहारा–श्रमिक जनताबीचको अन्तर्विरोध शत्रुतापूर्ण अन्तर्विरोध हो जसको समाधान वर्गसङ्घर्ष वा वर्गयुद्धको तरिकाद्वारा गरिन्छ । त्यस्तै समान लक्ष्य–उद्देश्य बोकेका एक सङ्गठन र अर्को सङ्गठन, एउटा व्यक्ति र अर्को व्यक्तिबीचको अन्तर्विरोध मैत्रीपूर्ण अन्तर्विरोध भएकाले त्यसको समाधान मैत्रीपूर्ण अन्तरसङ्घर्षको माध्यमबाट गरिन्छ । यो राजनीतिक विज्ञानको अनिवार्य नियमभित्र पर्छ । इतिहासमा सञ्चालन गरिएका ठूला–ठूला अन्तर्विरोध, सङ्घर्ष र युद्धका बीचबाट विज्ञहरूले संश्लेषण गर्दै भनेका छन्, ‘जब लडाइँमा सिपाही वा सदस्यको दिमागले काम गरिरहन्छ, तबसम्म कमान्डर वा नेता सुतिरहे पनि हुन्छ जब सिपाही वा सदस्यको दिमागले काम गर्न छोड्छ तब कमान्डर वा नेताको काम अग्रभागमा आइपुग्छ ।’ भनाइको तात्पर्य त्यहाँ विकसित भएका अन्तर्विरोधहरूको समाधान सामान्य ढङ्गले हुँदैन । त्यसबखत नेतृत्वले समाधान दिनुपर्छ । त्यसैले भन्ने गरिन्छ नेतृत्वको क्षमता, नैतिकता, धैर्य र शालीनता आफ्ना सदस्यहरूको तुलनामा कैयौँ गुणामाथि रहनुपर्छ र त्यसको निरन्तर विकास गरिरहनुपर्छ भने आफ्ना सदस्यहरूले त्यसलाई नेताका ती गुणहरू निरन्तर पछ्याइरहनुपर्छ जसले नेतृत्वको निर्माण र विकासमा निरन्तर सहयोग पुर्याउन सकोस् । यसले हरेक तहका नेतृत्वलाई समाज र सङ्गठनमा निरन्तर नयाँ र उच्चस्तरमा विकास भइरहने अन्तर्विरोधहरू समाधान गर्न सक्षम तुल्याउँदै लैजानेछ । भनाइको अर्थ सबै स्तरका नेताहरूले आफ्नो तहमा पैदा हुने अन्तर्विरोधको समाधान गर्नुपर्छ ।

अध्ययन र जाँच–पड्तालबिना निकालिने निष्कर्षहरूले मनोगतवादमा मात्र पु¥याउँछ । मनोगतवादले राजनीतिक विज्ञानमा डरलाग्दो विषको काम गर्छ जसले आन्दोलन तथा सङ्घर्षहरूमा उत्ताउलोपना मात्र व्यक्त गर्छ । त्यसबाट बच्नका लागि नेतृत्वले राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थिति, वर्ग शक्ति सन्तुलन, सामाजिक क्षेत्रमा रहेका अन्तर्विरोधहरूका अतिरिक्त आफ्नो विचार–राजनीति, सिद्धान्त र नीति–कार्यक्रमहरूको अध्ययन र तिनको आत्मसातीकरण गर्नुपर्छ ।

पाँचौँ : नेतृत्व निर्माणको आधारभूत सर्त

सर्वहारा–श्रमिक वर्गका महान् गुरु तथा उनीहरूका मुक्तिदाता कमरेड माओ त्सेतुङले भनेका छन्, ‘हरेक राजनीतिक नेतृत्वको जन्म र विकास आमाको कोखबाट होइन, वर्गसङ्घर्षको मैदानबाट हुने गर्छ ।’ यो सत्य विगत इतिहासमा सञ्चालन गरिएका लामो सङ्घर्ष तथा युद्धका अनन्य शृङ्खलामा विकसित र संश्लेषण गरिएका ऐतिहासिक तथ्यहरूमा आधारित रहेको छ । कतिपय मानिसहरूले के सोच्छन् र तर्क गर्छन्, नेतृत्व सहजै निर्माण हुन्छ । म आफैँ पनि नेता बनिहाल्छु वा नेतृत्व गर्न सकिहालिन्छ आदी । वास्तवमा नेतृत्वको निर्माण त्यति सहजै हुने विषय होइन, बरु नेतृत्व आवश्यकता र आकस्मिकताको बीचबाट जन्मन्छ र लामो वर्गसङ्घर्षको प्रक्रियाबाट स्थापित हुन पुग्छ । विगत इतिहासको शिक्षा र वर्तमान आवश्यकताको कोणवाट अध्ययन गर्दा नेतृत्व निर्माणका आधारभूत सर्तहरू निम्नानुसार हुनुपर्छ–

(क) सङ्गठनको लक्ष्य–उद्देश्यप्रतिको अटल विश्वास, समर्पणभाव र क्रान्तिकारी जोश, जाँगर र गतिशीलताले युक्त हुनुपर्छ । (ख) निरन्तर नयाँ खोज, अध्ययन–अनुसन्धानमा रुचि राख्ने, वर्गीय विचार–राजनीति र सिद्धान्तप्रतिको बफादारी हुनुपर्छ । (ग) मुख्यतः कार्यक्षमतालाई जोड दिँदै सामान्यतः वरिष्ठता, आवश्यकता र क्षेत्रगत आवश्यकताको सन्तुलन र विशेषतालाई ध्यान दिनुपर्छ । (घ) जनवादी–केन्द्रीयतालाई सही रूपमा प्रयोग गर्ने र चार अनुशासन (राजनीतिक, आर्थिक, सङ्गठनात्मक र सांस्कृतिक अनुशासन) को कार्यान्वयन गर्ने र गराउने हुनुपर्छ । (ङ) असल काम गर्नेलाई पुरस्कार र गलत काम गर्नेलाई सजाय दिने विधिको कार्यान्वयन र विकास गर्ने हुनुपर्छ । (च) हरेक प्रतिकूलतालाई अनुकूलतामा बदल्न प्रयत्न गर्ने, हारभित्र जित देख्ने, उज्यालो भविष्यप्रति आशावादी रहँदै सङ्गठनको हितका निम्ति सम्पूर्ण रूपले बलिदानका लागि तयार रहने हुनुपर्छ । समाजको अग्रगामी र क्रान्तिकारी परिवर्तनको नेतृत्व गर्ने सङ्गठनका लागि छनोट गरिने नेतृत्वका लागि यी मुख्य र आधारभूत सर्तहरू हुन् ।

अन्तर्विरोधहरूको सूक्ष्म अध्ययन र तिनको सचेततापूर्वक समाधानमा ध्यान दिनुपर्छ । त्यसैले नेतृत्वलाई साँचो (पभथ) भन्ने गरिन्छ । समाजमा विद्यमान पुँजीपति वर्ग र सर्वहारा–श्रमिक जनताबीचको अन्तर्विरोध शत्रुतापूर्ण अन्तर्विरोध हो जसको समाधान वर्गसङ्घर्ष वा वर्गयुद्धको तरिकाद्वारा गरिन्छ ।

वास्तवमा नेतृत्वको सवाल निकै बृहत्तर र बहुआयामिक विषय हो । चाहे मानवयुगलाई मानवीय आवश्यकतामा बदल्न सक्ने राजनीतिक विज्ञान होस्, चाहे विश्व–ब्रह्माण्डअन्तर्गत अन्तरिक्षको खोज–अध्ययन र अनुसन्धान गर्ने खगोल विज्ञान होस्, चाहे पृथ्वीका विशाल मानव जातिलाई भूमण्डलीकृत गर्ने सञ्चार तथा प्राविधिक विज्ञान होस्, चाहे पृथ्वीलाई सयौँ टुक्रामा विभाजन गर्नसक्ने रसायन विज्ञान होस्, चाहे मानिसको मस्तिष्क र मुटुको प्रत्यारोपण गर्नसक्ने स्वास्थ्य विज्ञान नै किन नहोस्, आज हरेक विज्ञानमा भइरहेका खोज, अध्ययन–अनुसन्धानले मानव समुदायलाई नयाँ ठाउँमा पुर्याएको छ । खालि यति मात्र हो, हालसम्म वैज्ञानिकहरूले जेजति खोज र अध्ययन–अनुसन्धान गरेका छन्, त्यसको प्रयोगमा आमजनताको पहुँच पुगेको छैन, थोरै पुँजीपति वर्गको पहुँचमा मात्र रहेको छ । त्यसलाई आमजनताको पहुँचमा पुर्याउन विद्यमान पुँजीवादी विश्वव्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी–साम्यवादी विश्वव्यवस्थाको आवश्यकता रहेको छ । हालसम्म वैज्ञानिकहरूले जेजति विज्ञानहरूको आविष्कार, प्रयोग र विकासमा गरेका छन्, त्यसका पछाडि मानवीय सहयोग र सहभागिता रहे पनि मुख्यतः त्यसको आविष्कार गर्ने मुख्य नेतृत्वको प्रधान भूमिका रहेको छ । वर्तमान पुँजीवादी विश्वव्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी–साम्यवादी विश्वव्यवस्थाको स्थापनाका लागि नेपाल कम्युनिस्ट पार्टीका मुख्य नेतृत्व कमरेड विप्लवको नेतृत्वमा केन्द्रीय समितिले राजनीतिक विज्ञानमा नयाँ खोज, अध्ययन–अनुसन्धान अगाडि बढाएको छ । यसको प्रयोगमा रहेका हामी क्रान्तिकारी राजनीतिक सङ्गठनमा आबद्ध सबै स्तरका नेतृत्वहरूले इमानदारी र विनम्रतापूर्वक त्यसको प्रयोग गरौँ । यसमा नै उत्पीडित वर्गको भविष्य अन्तर्निहित रहेको छ । हामी राजनीतिक विज्ञानमा गरिरहेको नयाँ खोज, अध्ययन–अनुसन्धानमा नम्र र शिष्ट बनौँ र मुख्य रूपले क्रान्तिकारी बनौँ ।

(लेखक सञ्जीव नेकपाका केन्द्रीय सदस्य एवम् राप्ती ब्युरो इन्चार्ज हुन् ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :