शक्तिशाली जनआन्दोलन सुरु गर्न २१ दलबीच कार्यगत एकता

२१ राजनीतिक दलद्वारा नेकपामाथि लगाइएको प्रतिबन्ध हटाउन माग

शक्तिशाली जनआन्दोलन सुरु गर्न २१ दलबीच कार्यगत एकता

काठमाडौँ : दलाल पुँजीवादी व्यवस्था र सामाजिक फासिवादी केपी वली सरकारले देश र जनतामाथि निरन्तर राष्ट्रघात, अन्याय, अत्याचार र विभेद लादेपछि नेपालमा क्रियाशील २१ राजनीतिक दल/समूहले कार्यगत एकता गर्दै सङ्घर्ष घोषणा गरेका छन् । २१ दलले नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले लगाएको प्रतिबन्धको विरोध गर्दै उक्त प्रतिबन्ध अविलम्ब हटाउन पनि सरकारसँग जोडदार माग गरेका छन् ।

कार्यगत एकता गरी सङ्घर्ष घोषणा गर्ने २१ राजनीतिक दलमा मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल), मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), सीपी मैनाली नेतृत्वको नेकपा (माले), चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र), गुणराज लोहनी नेतृत्वको राष्ट्रिय जागरण मञ्च, रवीन्द्र श्रेष्ठ नेतृत्वको नेकपा (बोल्सेबिक), लोककृष्ण भट्टराई नेतृत्वको नेकपा माक्र्सवादी (पुष्पलाल), जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद्, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, राष्ट्रवादी केन्द्र नेपाल, एमसीसी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), माक्र्सवादी एकता अभियान, नेकपा (माक्र्सवादी), र नेकपा (माओवादी) रहेका छन् ।

२१ राजनीतिक दलको आसोज २४ गते सम्पन्न बैठकले नेपालमा फेरि अर्को जनआन्दोलनको आवश्यकता रहेको ठहर गर्दै सङ्घर्षका कार्यक्रमहरू घोषणा गरेका छन् । उनीहरूले कार्यगत एकता पनि घोषणा गरेका छन् ।

प्रधानमन्त्री केपी वली नेतृत्व सरकारको पालामा भएका तमाम प्रकारका राष्ट्रघात, जनघातबाट आक्रोशित नेपाली जनता परिवर्तनका पक्षमा लामबद्ध हुँदै गएको निष्कर्ष निकाल्दै यसका निम्ति फेरि अर्को जनआन्दोलनको आवश्यकता पनि सर्वत्र महसुस भइरहेको ठहर गरिएको छ ।

२१ पार्टीले घोषणा गरेको आन्दोलनअन्तर्गत आगामी असोज २९ गते १ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने हुने भएको छ ।

२१ दलका तर्फबाट सीपी गजुरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एमसीसीको खारेजी, नेपालको वास्तविक नक्साअनुसारको भूभाग हासिल गर्ने र भारतद्वारा गरिएका नयाँ अतिक्रमणको विरोध, कोभिड १९ मा सरकारबाट भएका भ्रष्टाचार, गैरजिम्मेवारीपन आदिको विरोध, निःशुल्क उपचारको व्यवस्था, भोकमरीबाट पीडित जनताका लागि खाद्यान्नलगायत न्यूनतम् आवश्यकताको परिपूर्ति, अविलम्ब रोजगारीको व्यवस्था, बलात्कार र हत्याजस्ता अपराधको नियन्त्रण, अपराधीमाथि कारबाहीलगायत माग गर्दै माइतीघर मण्डलामा सशक्त विरोध प्रदर्शन गरिनेछ ।’

त्यस्तै केन्द्रमा भएको समझदारी र स्थानीय समस्याहरूलाई समावेश गरी कार्यगत एकताको आह्वानमा स्थानीय स्तरमा पनि सङ्घर्ष अघि बढाउने सहमति गरिएको छ ।

२१ राजनीतिक सङ्गठनको कार्यगत एकता बैठकको प्रेस विज्ञप्ति

२० राजनीतिक सङ्गठनको कार्यगत एकताको बैठक यही २०७७ आश्विन २४ गते सम्पन्न भयो । उक्त बैठकले लिएका केही महत्वपूर्ण निर्णयहरूबारे यस प्रेस विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

१० केपी वली नेतृत्व सरकारको पालामा भएका तमाम प्रकारका राष्ट्रघात, जनघातबाट आक्रोशित नेपाली जनता परिवर्तनका पक्षमा लामबद्ध हुँदै गएको पाइएको छ । यसका निमित्त फेरि अर्को जनआन्दोलनको आवश्यकता पनि सर्वत्र महसुस भइरहेको छ । अर्कातिर कोरोनाको कहरबाट आक्रान्त नेपाली जनता सङ्क्रमण बढ्न जाने किसिमको आन्दोलनमा सावधानी अपनाउनुपर्ने विषयमा पनि सचेत भएको पाइन्छ । यी सबै पक्षमाथि ध्यान दिँदै हाललाई सङ्घर्षसम्बन्धी निम्न निर्णयहरू लिइएको छ :

(क) एमसीसीको खारेजी, नेपालको वास्तविक नक्साअनुसारको भूभाग हासिल गर्ने र भारतद्वारा गरिएका नयाँ अतिक्रमणको विरोध, कोभिड १९ मा सरकारबाट भएका भ्रष्टाचार, गैरजिम्मेवारीपन आदिको विरोध, निःशुल्क उपचारको व्यवस्था, भोकमरीबाट पीडित जनताका लागि खाद्यान्नलगायत न्यूनतम् आवश्यकताको परिपूर्ति, अविलम्ब रोजगारीको व्यवस्था, बलात्कार र हत्याजस्ता अपराधको नियन्त्रण र अपराधीमाथि कारबाही आदिको माग गर्दै यही आउँदो आश्विन २९ गते दिनको १ बजे माइतीघर मण्डलामा सशक्त विरोध प्रदर्शन गर्ने । यस दौरानमा कोभिड १९ सम्बन्धी मापदण्डको पूर्ण रूपमा पालना गर्ने ।

(ख) केन्द्रमा भएको समझदारी र स्थानीय समस्याहरूलाई समावेश गरी कार्यगत एकताको आह्वानमा स्थानीय स्तरमा पनि सङ्घर्ष अघि बढाउने ठेगान गरिएको छ ।

२) नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले लगाएको प्रतिबन्धको विरोध गर्दै उक्त प्रतिबन्ध अविलम्ब हटाउन यो बैठक सरकारसँग जोडदार माग गर्दछ ।

३) २० राजनीतिक सङ्गठनहरूको कार्यगत एकतामा नेकपा (माओवादी) लाई पनि समावेश गरिएको छ । अब यो २१ सङ्गठनको कार्यगत एकता बनेको छ ।

बैठकका सञ्चालक सीपी गजुरेलले यतिखेर नेपालमा विद्यमान सरकार र राज्यव्यवस्थाको समेत विकल्पको खोजी भइरहेको अवस्थामा आत्मगत शक्तिको तयारी गर्दै एउटा भरपर्दो विकल्प प्रस्तुत गर्ने काममा सक्रियतापूर्वक लाग्न सबैसँग अनुरोध र अपिल गर्दै बैठकमा उपस्थित भएर यसको सफलतामा योगदान पुर्याउनुहुने सबैलाई धन्यवाद दिँदै बैठकको समापन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :