बौद्ध इन्टरनेसनल स्कुलद्वारा विद्यार्थी र अभिभावकमाथि ज्यादती

बौद्ध इन्टरनेसनल स्कुलद्वारा विद्यार्थी र अभिभावकमाथि ज्यादती

काठमाडौँ : गोकर्णेश्वर नगरपालिकाको अत्तरखेलस्थित बौद्ध इन्टरनेसनल स्कुलमा विद्यालयले अभिभावकमाथि चरम ज्यादती गरेको पाइएको छ ।

स्कुल नखुलेको अवस्थामा लिने खाना, खाजा, खेलकुदलगायत शुल्क शीर्षकमा शुल्क लिएको भन्दै अभिभावकहरुले असहमति जनाएका छन् । विद्यालय र अभिभावकबीच छलफल गरिए पनि वार्ता बिनासहमति टुङ्गिएपछि विद्यालय र अभिभावकबीच दूरी बढेको जनाइएको छ ।

विवाद बढ्दै गएपछि विद्यालयले सात विद्यार्थी र तिनका अभिभावकविरुद्ध बौद्ध प्रहरी कार्यालयमा उजुरी नै दियो । छलफलमा आएका अभिभावकले प्लास्टिकका केही कुर्सी भाँचेको आरोप लगाउँदै विद्यालयले उजुरी गरेको हो ।

अभिभावकहरूले भने विद्यालय व्यवस्थापनले बाउन्सर लगाएर छलफल भाँड्न खोजेपछि विवाद बढेको बताएका छन् । छलफलमा बोलाएर गेटबाहिर तीन घन्टा उभ्याएपछि स्थिति तनावग्रस्त बनेको उनीहरूको भनाइ छ ।

विद्यालय र अभिभावकबीचको विवादमा विद्यार्थीलाई मुछेर विद्यालय व्यवस्थापनले अर्को गल्ती गरेको अभिभावकहरूले बताएका छन् ।

‘आफ्नै विद्यालयमा पढ्ने निर्दोष विद्यार्थीमाथि प्रहरीमा उजुरी दिनु अपराध हो’, निजी तथा संस्थागत अभिभावक सङ्घका अध्यक्ष सुवास भण्डारी भन्छन् । उनले भने, ‘विद्यालयले जुनजुन विद्यार्थी विरुद्ध उजुरी दिएका छन्, उनीहरू सोमबार अभिभावकसँग विद्यालय पनि आएका थिएनन् । जुन विद्यार्थीले विद्यालय नै टेकेका छैनन, उनीहरू विरुद्ध प्रहरीमा उजुरी गर्न मिल्छ ?’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :