७० भन्दा बढी मुलुकले गरे चीनको समर्थन, हङकङ मामिलामा पाकिस्तान र क्युबाले थापे काँध

७० भन्दा बढी मुलुकले गरे चीनको समर्थन, हङकङ मामिलामा पाकिस्तान र क्युबाले थापे काँध

संयुक्त राष्ट्रसङ्घको जारी महासभामा चीनले हङकङ र सिनजियाङको विषयमा पछिल्ला केही महिनामा लिएको निर्णयलाई ७० भन्दा बढी मुलुकहरूले समर्थन गरेका छन् । चिनियाँ विदेश मन्त्रालयले महासभामा उक्त सफलता प्राप्त भएको जनाएको हो ।

पाकिस्तानले राष्ट्रसङ्घको जनरल डिबेटसम्बन्धी तेस्रो कमिटीको बैठकमा हङकङको बहानामा चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजिएको भन्दै ५५ वटा मुलुकहरूका तर्फबाट संयुक्त वक्तव्य जारी गरेको छ । उक्त वक्तव्यमा अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने संयुक्त राष्ट्रसङ्घको एउटा महत्वपूर्ण सिद्धान्त रहेको भन्दै हङकङमा चीनको एक मुलुक, दुई प्रणालीलाई समर्थन गरिएको छ ।

उक्त वक्तव्यमा केही समयअगाडि चीनले ल्याएको राष्ट्रिय सुरक्षा कानुनको पनि समर्थन गरिएको छ । त्यसैगरी क्युबाले ४५ वटा मुलुकहरूका तर्फबाट संयुक्त वक्तव्य जारी गर्दै चीनले सिनजियाङमा लिएको निर्णयको समर्थन भएको थियो । अमेरिका, बेलायतलगायत मुलुकहरूले भने हङकङको राष्ट्रिय सुरक्षासम्बन्धी कानुनको आलोचना गरिरहेका छन् । चीनले पश्चिमा मुलुकहरूले आफ्नो आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको बताउँदै आएको छ । पछिल्लो समयमा चीनले हङकङका मामिलामा आफूले दिएको निर्णयमा अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाइरहेको छ ।

एजेन्सीहरूको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :