भौतिक संचरना निर्माणमा मनोमानी नगर्न अखिल क्रान्तिकारीको माग

काठमाडौँ : अखिल (क्रान्तिकारी) अर्घाखाँचीले जिल्लाका सरकारी विद्यालयहरूमा भौतिक संरचना पुनर्निर्माणको कार्यक्रम प्राप्त गरी सम्झौतासमेत सम्पन्न गरेका विद्यालयहरूले निर्देशिकाविपरीत घटाघट गरी अघोषित रूपमा ठेक्कापट्टा गर्न निर्माण समिति गठन गरेर जिम्मा दिनेजस्ता कार्य गरेको भन्दै खेद व्यक्त गरेको छ ।

अखिल क्रान्तिकारीले विज्ञप्तिमा जिल्लामा आयोजना कार्यान्वयन एकाइ (शिक्षा) अर्घाखाँचीबाट मिति २०७७।०५। २२ मा सूचना जारी गर्दा पनि एउटा जिम्मेवार निकायको सूचनालाई गलहत्याउँदै प्राचार्य, व्यवस्थापन समिति र स्थानीय जनप्रतिनिधि मिलेर ठेक्का दिँदा सरकारी निकाय मौन बस्नुले यो देश दलालहरूको घेरामा रहेको भन्दै शिक्षालाई दलालहरूको हातमा सुम्पिन नहुने उल्लेख गरेको छ ।

क्रान्तिकारीका जिल्ला अध्यक्ष नवीन खडकाले सोमबार जारी गरेको विज्ञप्तिमा गैरजिम्मेवार कार्य नगर्न–नगराउन सम्बन्धित सबैलाई चेतावनी दिइएको छ । पछिल्लो समयमा काम गर्न थालेका ठेक्का रद्द गरी व्यवस्थापन समितिमार्फत काम गर्न र सम्पन्न भएका स्कुलहरूको हिसाब १५ दिनभित्र सार्वजनिक गर्न विज्ञप्तिमा सबै विद्यालयहरूलाई अनुरोधसमेत गरिएको छ ।

साथै वीरेन्द्र आधारभूत विद्यालय धारापानीलगायत सम्पन्न भइरहेका विद्यालयहरूमा एउटा ठेकेदारले ठेक्का लिने र फेरि त्यही ठेकेदारले अर्कोलाई कमिसन राखेर काम दिने कार्य गरेको भन्ने जनगुनासो आएको हुँदा तत्काल काम रोकी छानबिन गरेर कारबाही गर्न विज्ञप्तिमा जोडदार माग गरिएको छ ।

मागलाई बेवास्ता गरिएमा यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धित निकाय हुने क्रान्तिकारीको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :