क्रान्तिकारी आशावादले भरिपूर्ण गीतिकाव्य ‘जीवन झोलामा’

क्रान्तिकारी आशावादले भरिपूर्ण गीतिकाव्य ‘जीवन झोलामा’

जनप्रिय माइला लामा जनसाङ्गीतिक क्षेत्रमा विशिष्ट नाम हो । उहाँ प्रतिबद्ध र जुझारु युवानेता एवम् जनकलाकार, यौद्धिक कमान्डर र सफल गीतकार एवम् सङ्गीतकारको रूपमा सुपरिचित हुनुहुन्छ । उहाँले जनसाङ्गीतिक–यात्रामा गाउँ–सहरका जनतासँगको सामिप्य र तादात्म्यतालाई कुशलतापूर्वक संयोजन गर्दै जनताका बिचमा जनताकै गीत गाउँदै कैयौँ वर्ष बिताउनुभएको छ । जनताका घरआँगन, सहरका डबली, महाविद्यालय र विश्वविद्यालय तथा काठमाडौंको खुल्लामञ्चका विशाल जनसभामा उहाँले आफ्नो सशक्त उद्घोषणका साथ बृहत् साङ्गीतिक प्रस्तुति दिनुभएको छ । जनयुद्धको महान् प्रक्रियामा बन्दुक र मादलको तादात्म्यतालाई कुशलताका साथ संयोजन गर्न सफल उहाँले ऐतिहासिक बेथान मोर्चामा बहादुरीका साथ लड् नुभयो । युद्धभूमिमा उहाँले रक्तरञ्जित शरीरलाई पुछपाछ त पार्नुभयो तर आन्तरिक दुर्घटनामा परेर झन्डै झन्डै भौतिक शरीर गुमाउनु परोइन । उहाँले विचारको अगाडि भौतिक शरीरलाई कहिल्यै प्रधान ठान्नुभएन ! उहाँले क्रान्तिकारी गीत–सङ्गीतलाई आफ्नो जीवनको अभिन्न अङ्ग बनाइरहनुभयो । परिणामतः महत्वपूर्ण गीतिकाव्य जन्मियो– जीवन झोलामा ।

लेखक : खेम थपलिया

गीतकार माइला लामाको प्रस्तुत कृति ‘ जीवन झोलामा’ पुस्तकमा विभिन्न व्यक्तित्वहरूले आफ्नो मत अभिव्यक्त गर्नुभएको छ । प्रस्तुत पुस्तकमा मन्तव्य लेख्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले भन्नुभएको छ, “माइलाको गिरफ्तारीले देशलाई झकझकायो, पार्टी–पङ्क्तिलाई दुःखित पार्यो, शुभचिन्तकलाई मर्माहत पार्यो । फेरि पनि माइलालगायत सयौँजना नेता–कार्यकर्ताको त्याग, समर्पणले सिङ्गो श्रमिक वर्ग गौरवान्वित भएको छ । कस्तो अनौठो केपी–प्रचण्डहरूले जेलबाट विद्रोहको अन्त्य देखेका छन्, जुद्ध शमशेर र मोहन शमशेरले जस्तै । तर, उनीहरूले भुले, शोषक, उत्पीडकहरूले दमन चलाउँदासम्म जेल राजनीतिक प्रसूतिगृह हो । त्यहाँ नयाँ संसारले जन्म लिन्छ र त्यहीँबाट बाहिरी संसार चियाउँदै निस्किन्छ । आज माइलालगायत धेरै कमरेडहरू जेलमा छन्, सायद उनीहरूले यस्तै नयाँ भविष्य बोकर निस्किनेछन् ।” त्यस्तै, प्रस्तुत पुस्तकको भूमिका लेख्दै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव किरणले भन्नुभएको छ, “लामो समयदेखि नेपाली कम्युनिस्ट आन्दोलन, प्रगतिवादी सांस्कृतिक आन्दोलन र गीत– सङ्गीतका क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनुभएका क्रान्तिकारी योद्धा माइला लामासहितका कमरेडहरूद्वारा रचिएका गीति रचनाहरूको सङ्कलन गरी हालै एउटा महत्वपूर्ण पुस्तक प्रकाशित हुन गइरहेको छ । कमरेड माइला लामा सङ्घर्षको प्रक्रियामा अहिले पनि कारागारमा बन्दी जीवनयापन गरिरहनुभएको छ । कारागारमा रहेको अवस्थामा पनि उहाँमा गीत सङ्गीतको रचनात्मक ऊर्जा झनै प्रस्फुटित बन्न गएको छ । गीति रचनाका क्षेत्रमा यो एक ऊर्जाशील, प्रेरणादायी र उत्साहवद्र्धक कृति हो ।” प्रस्तुत पुस्तकमा आफ्नो भावना पोख्दै डा. सरोज धितालले भन्नुभएको छ, “हामी सबैले आ– आफ्ना रोजाइका रङ्गीन चस्मा लगाएका छौँ । जीवन–जगत्लाई त्यही चस्माको रङले पोतेर हेर्छौँ । त्यसरी नपोतीकन हेर्न सकिने भए माइलाका गीतरूपी लेन्सबाट के देखिँदो हो, यो कुतूहलपूर्ण यत्न गरेर हेर्दा मात्र उनले प्रयोग गर्ने शब्दावली, उनको शैली, उनको आग्रह आदि भन्दा पारि केही महत्वपूर्ण कुरा देखिन सक्छ, जो हाम्रो युगको निम्ति अत्यन्त महत्वपूर्ण प्रश्नको खानी हुन सक्छ ।”

राजनीतिक नेतृत्व तथा सामाजिक व्यक्तित्वहरूबाट प्रस्तुत विचारजस्तै राजनीतिक यात्राका ऐतिहासिक मोडहरूमा ऐतिहासिक भूमिका निर्वाह गर्नुभएका माइला लामा कहिल्यै निराश हुनुभएन । तत्कालीन नेतृत्वले गम्भीर धोका दिए पनि उहाँले गीत, सङ्गीत र नाटकका माध्यमबाट निरन्तर क्रान्तिको पक्षमा खबरदारी गरिरहनुभयो । यही खबरदारीका कारण उहाँले कतिपय सन्दर्भमा किनारीकृत पनि हुनुपर्यो । वर्गसचेत स्रष्टा– द्रष्टा हुनुको नाताले उहाँका गीतका आधारभूमि जनसमुदाय र वर्गसङ्घर्ष हुन् भने विचार त्यसको जरा हो । आफ्नो भौतिकवादी विश्वदृष्टिकोणमा सुस्पष्ट उहाँ कम्युनिस्ट–सर्वहारावर्गीय गीतकार हुनुहुन्छ । त्यसैले त गीतकार माइला लामाले प्रस्तुत पुस्तकको लेखकीयमा यसरी आफ्नो भनाइ राख्नुभएको छ, “श्रमचोरहरू सदैव सत्यदेखि डराउँछन्, न्यायदेखि तर्सन्छन्, उज्यालोबाट आतङ्कित हुन्छन् । यसैले परिवर्तनको आवाज मुखरित गर्ने, जनअधिकार र समानताको आशावादी दीप जलाउने कला–साहित्य र तिनका सर्जकहरूको सदैव हत्या गर्न निच र दमनकारी कदम उठाउँछन् शासकहरू । जसको सिकार भएको छु म पनि, र आज म बन्दी छु । महान् जनयुद्धमा क्रान्तिकारी साहित्यकार कृष्ण सेन ‘इच्छुक’ का कलमसँग सशङ्कित फासिवादी शासकहरूले उहाँको कलम खोसे र भाँचे । त्यतिले पुगेन उहाँका कविताहरू जलाइए । अझै रिस मरेन र उहाँको नै धड्कन बन्द गरिदिए । अशान्ति र अँध्यारोका हिमायतीहरू गायिका चुनु गुरुङका कर्णप्रिय आवाजसँग भयभीत भए । त्यसै ले उनको स्वर दबाए, गला अँठ्याए र क्रान्तिकारी आवाज बन्द गराउने दुस्साहस गरेर । तर यिनलाई के थाहा, विचारको हत्या हुँदैन भनेर ! सत्य दबिएन, न्याय हारेन र त्यो एकीकृत जनक्रान्ति भएर उठेको छ । कला–साहित्यमा विद्रोहको दुन्दुभि भएर उभिएको छ । ‘जीवन झोलामा’ यही दमन–प्रतिरोध र अँध्यारोको विरुद्ध झिल्को भएर प्रस्तुत भएको छ ।”

तत्कालीन नेतृत्वले क्रान्तिको रातो झन्डालाई दोबाटोमा अलपत्र छाडेर हिन्द–महासागरको यात्रा तय गरेपछि त्यही रातो झन्डालाई कमरेड विप्लवले सगौरव उठाउनुभयो । माइला लामा त्यही रातो झन्डाद्वारा निर्देशित महान् यात्रामा अझ बढी कुशलतापूर्वक एकीकृत जनक्रान्तिमार्फत् नेतृत्वदायी भूमिका निर्वाह गर्न थाल्नुभयो । सजातीयहरूले विजातीय रङ फेरेपछि नेपाली राजनीतिमा हुनु नहुनु हुन थाल्यो, त्यसको पछिल्लो कडी थियो कथित कम्युनिस्टको आबरणमा नेपाल कम्युनिस्ट पार्टीमाथिको राजनीतिक प्रतिबन्ध ! जसको शौर्य, समर्पण र बलिदानबाट जो–जो सत्तामा पुगे, उनै सत्तासीनहरूबाट क्रान्तिकारी तथा देशभक्त शक्तिमाथि हत्या, आतङ्क, गिरफ्तारीको श्वेतआतङ्क मच्चाइयो । यही क्रममा कथित समाजवादी सरकारले उहाँलाई मध्यरातमा गिरफ्तार गरेर झुट्टा मुद्दामा जेलमा कैद गरिराखेको छ । यो प्रकरण नेपाली राजनीतिमा मात्र होइन, विश्व कम्युनिस्ट राजनीतिमा पनि भयानक र भद्दा विद्रूपीकरण हो ।

प्रस्तुत कृतिमा ‘माइला लामाद्वारा रचित गीत खण्ड’ र ‘माइला लामाद्वारा सङ्गीतबद्ध गीत खण्ड’ गरी दुई खण्ड रहेका छन् । यसमा जम्माजम्मी १४८ वटा गीति–सिर्जना समाविष्ट छन् । प्रस्तुत पुस्तकको गीत खण्डमा ‘जीवन झोलामा’, ‘हार्छ अन्धकार’, ‘साथी म बन्दी छु’, ‘रणमैदानमा’, ‘उठ जाग’, ‘आऊ युवा’, ‘धोका, ‘आफ्नै मुटु’, ‘दाजु भाइ’, ‘कसरी सक्छु र म’, ‘क्रान्ति गीत गाउँदै छु’, ‘होसियार दलालहरू’, ‘राता मान्छेहरू’, ‘दुई जिब्रे’, ‘दोधार’, ‘विश्वासको पहाड’, ‘ प्रचण्डको याद आयो’, ‘हिजोआज यो सहरमा’, ‘ ज्यूँदा लासहरू’, ‘धन्दा राजनीति’, ‘बेसहारा हुनुभन्दा’, ‘धनको लालच’, ‘खोक्रो देशभक्ति’, ‘चिसो कालो रात’, ‘कामको बोझले थिचिएर’, ‘गद्दार’, ‘बिरामी बन्दी’, ‘बेरोजगार कैदी’, ‘तस्करलाई नछाड्नू’, ‘देश सुखी भए पो’, ‘माल्कोटे दाजु’, ‘दुख्छ कालापानी’, ‘प्रतिबन्धित समय’, ‘सहिद पत्नी’, ‘जेल’, ‘राता मान्छेहरू’, ‘विद्रोहको गीत’, रुक्छ कहाँ क्रान्तिकारी’, ‘ खोज्दछन् मेरा’ लगायत १०४ वटा गीतहरू समाविष्ट रहेका छन् । यी गीतहरूले विपिभन्न भाव बोकेका छन् ।

माइला लामाद्वारा विभिन्न भावधारामा लेखिएका गीतहरू प्रस्तुत गीतिकाव्यलाई समृद्ध बनाएको छ । ‘जीवन झोलामा’ प्रस्तुत पुस्तकको शीर्षगीत पनि हो । यो गीत निकै नै महत्वपूर्ण गीत हो । यो गीतले एकीकृत सफल पार्नका लागि नेता तथा कार्यकर्ताले अपनाउनुपर्ने कार्यशैलीलाई रोचक ढङ्गले प्रस्तुत गरेको छ । क्रान्तिको शान्तिचरणले बिग्रिएका हाम्रा कार्यशैली र आनीबानीलाई सपार्न आवश्यक छ । विचार र राजनीतिक कार्यदिशाका आधारमा सङ्गठन र तिनलाई परिचालन गर्ने तरिकाहरूमा पनि विकास गर्न आवश्यक हुन्छ । यो कुरालाई प्रस्तुत गीतले विशेष जोड दिएको छ । एक साक्ष्य,
घरदेखि बैठकसम्म बैठकदेखि डेरा
कोठा पुग्नै हतार हुन्छ कस्तो आदत हेर
यो शैलीले विस्तार हुन्न सङ्गठनको घेरा
जनतामाझ झाँगिदैन सम्बन्धको जरा
टोलटोलमा जाऊँ कमरेड सङ्गठन बनाऊँ । (जीवन झोलामा, पृ. २७)

नेपाली समाज विभिन्न प्रकारका समस्याबाट ग्रसित छ । यो सामन्ती शासकीय संरचनाले खडा गरिएका अन्याय, अत्याचार, विभेदलगायतका कारण छन् । जब सडेगलेको शासन व्यवस्था हुत्याउन जनता एकजुट हुन्छन्, तब यस्तो व्यवस्थाको गजुर गल्र्यामगुर्लुम लड्न पुग्दछ । त्यो गजुर ढाल्ने काम राता मान्छेहरूले गर्दछन् । वर्गदुश्मनका जस्तोसुकै चुनौती पनि झेल्न तयार राता मान्छेहरू आजको आवश्यकता हो । जनयुद्धकालीन निकै चर्चित र सफल प्रस्तुत गीतको एक साक्ष्य हेरौँ :
आँधीको बेगसरि योद्धाहरू
चट्याङ गर्जेझैँ सेनाहरू
राता झन्डा फहराउँदै तोप–गोला बर्साउँदै
हेर अघि बढिरहेछन् राता मान्छेहरू । (राता मान्छेहरू, पृ. ३९ )

क्रान्तिमा नीति र नेतृत्व निकै महत्वपूर्ण कुरा हो । कहिलकाहीँ नीति ठीक हुँदा पनि नेतृत्व गलत भयो भने क्रान्ति अवरुद्ध हुने रहेछ । कहिलेकाहीँ नेतृत्व ठीक हुँदा पनि नीति गलत भयो भने पनि क्रान्ति अवरुद्ध हुने रहेछ । नेतृत्व र नीति नै गलत भयो भने त कुरा अर्कै हो । यसै सन्दर्भमा अहिले एकीकृत जनक्रान्ति चलिरहँदा माइला लामाले जनयुद्धकालीन नेतृत्वको स्मरण गर्नुभएको छ, फरक कोणबाट ! जनयुद्धको त्यो नायक आज भयानक दुर्जन, भगौडा, जनसेनाको हातबाट बन्दुक खोस्ने र युवाहरूलाई खाडी पस्न बाध्य बनाउने पात्रको रूपमा स्मरण गर्नुभएको छ । नख्खुजेलभित्रबाट लेख्नुभएको प्रस्तुत गीतको हेरौँ एक साक्ष्य,
दुर्जनलाई देख्दा आज प्रचण्डको याद आयो
क्रान्ति सम्भव छैन भन्ने भगौडाको याद आयो
जनसेनाको हातबाट बन्दुक खोस्या याद आयो
बर्बाद् भई युवाहरू खाडी पस्दा याद आयो । (प्रचण्डको याद आयो, पृ. ४५)

माइला लामाको प्रस्तुत पुस्तकमा राष्ट्रिय स्वाधीनताका गीतहरू पनि समावेश गरिएका छन् । यतिबेला नेपाली राष्ट्रियता गम्भीर सङ्कटमा परेको छ । दलाल सत्ताका कारण नेपाली राष्ट्रियता महासङ्कटमा परेको हो । भारतीय फासिवादी शासकले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नो सिमानाभित्र पारेको नक्साङ्कन गरेपछि नेपाली जनतालाई अत्यन्त आक्रोशित बनाएको छ । नख्खुजेलभित्रबाट यसबारे माइला लामाले यसरी सशक्त गीत सिर्जना गर्नुभएको छ । हेरौँ साक्ष्य,
मानेभन्ज्याङ दुख्छ उस्तै सुस्ता महेशपुर
आजादीको आशमा छिन् रे मेरी लिम्पियाधुरा
झस्किन्छन् रे सगरमाथा पनि बारम्बार
यो धर्तीमा हुने हो कि बुद्धको नि हार । (दुख्छ कालापानी, पृ. ७४)

ओली सरकारले नेपाली जनताको राजनीतिक अधिकारमाथि धावा बोल्दै प्रतिबन्ध लगाएको छ । महान् जनयुद्ध र सबै किसिमका जनताका विद्रोहबाट प्राप्त अधिकारको घोर हनन गर्दै ओली सरकारले लगाएको प्रतिबन्धका विरुद्ध नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा भीषण प्रतिरोध पनि भइरहेको छ । यस्तो सङ्कटको बेला क्रान्तिकारीहरूले विशेष ख्याल पुर्याउन आवश्यक हुन्छ । यसलाई परास्त गर्नुको कुनै विकल्प छैन । यही आवश्यकतालाई मध्यनजर राख्दै माइला लामाले सशक्त गीतका रचना गर्नुभएको छ । हेरौँ अर्को एक साक्ष्य,
समानताको आशा दीप बाल्नेहरू हो
विजयका निम्ति बलि चढ्नेहरू हो
जबरजस्त प्रतिरोधको कदम बढाऊ
प्रतिबन्धित समयलाई हार चखाऊ । (प्रतिबन्धित समय, पृ. ८१)

माइला लामाद्वारा सङ्गीतवद्ध गीत खण्डमा ‘ निक्कै नै टाढा’, ‘प्रतिबन्ध’, ‘देशको मुहार’, ‘उठ साथी हो’, ‘चेले भन्नुभएको’, ‘जागै बस’, ‘हामी माओवादी’, ‘तुफानमा जिउने’, ‘पोख्न त गाह्रो’, ‘कसले बनायो’, ‘मातृभूमि’, ‘यस्तो पनि’, ‘भुल्नुहुँदैन कमरेड’, ‘एक वर्ग, एक जाति’, ‘क्रान्तिकारीको जीवन’, ‘उज्यालो भएकै छैन’, ‘आफ्नो गल्ती’, ‘आकाशमा गर्जेको’, ‘ लाग्छ आधा’, ‘यात्री जिन्दगीको’, ‘क्षितिजमा’, ‘युगको आह्वान’, ‘कसरी सुनाऊँ’, ‘अर्काे नयाँ अभियान’, ‘ कोशी बगर (दोहोरी गीत)’ लगायत ४४ वटा गीतहरू समाविष्ट रहेका छन् ।

माओले लेख्नुभएको ‘निक्कै नै टाढा’ गीतलाई पनि यहँ समावेश गरिएको छ । क्रान्तिकारी नेता, कार्यकर्ता तथा जनमुक्ति सेनालाई ऊर्जाशील बनाइरहन माओले यो गीत लेख्नुभएको थियो । क्रान्तिकारी हुन त्यति सजिलो विषय हुँदै होइन । यसका निमित्त सबै किसिमका चुनौतीको सामना गर्न तयार रहनुपर्ने हुन्छ । क्रान्तिकारीहरू आफ्नो लक्ष्यमा नपुञ्जेल निरन्तर सङ्घर्षको मैदानमा खटिरहेका हुन्छन् । तिनै भाव रहेको प्रस्तुत गीतको एक साक्ष्य,
निक्कै नै टाढा पुग्नु छ राता सिपाहीहरूले
गाह्रो र साह्रो भन्दैनन् आँटी छोरा र छोरीले
हजारौँ नदी हजारौँ पहाड अगाडि तेर्सिऊन्
लडाइँ खेल्ने वीरका निम्ति ती केही होइनन्
तातुको साङ्लो फलामे पुल जति नै तातो होस्
यी राता राता मान्छेले छुँदा उड्दै छ तिनको होस् । (निक्कै नै टाढा, पृ. १४७)

प्रस्तुत जीवन झोलामा पुस्तकमा कृष्ण सेन ‘ इच्छुक’ द्वारा लेखिएको ‘प्रतिबन्ध’ गीत पनि समाविष्ट छ । कृष्ण सेन जनयुद्धका महान् सांस्कृतिक सहिद पनि हुनुहुन्छ । उहाँ नेपालको जनसांस्कृतिक आन्दोलनको तत्कालीन नेतृत्व पनि हुनुहुन्थ्यो । सत्तासीनहरूले जतिसुकै प्रतिबन्ध लगाए पनि जनताले त्यसलाई असफल पारिदिने उद्घोष यो गीतमा गरिएको छ । ओली सरकारले लगाएको प्रतिबन्धको आजको अवस्थामा यो गीत निकै सान्दर्भिक र महत्वपूर्ण रहेको छ । जनताले आफ्नो वाक्–स्वतन्त्रताको कुनै पनि हालतमा प्रयोग गरेरै छोड्नेछन् । एक साक्ष्य,
तिमी जतिसुकै हुकुम र फर्मानहरू जारी गर
तिमी जतिसुकै जुलुम र उत्पीडनहरू सुरु गर
सक्छौ भने हाम्रा चेतनाहरूमा प्रतिबन्ध लगाऊ
र सत्यलाई कैद गर
तर ओ शासकहरू
तिम्रा बर्बर स्वेच्छाचारका विरुद्ध
हामी भने निरन्तर आवाज उठाइरहन्छौँ । (प्रतिबन्ध, पृ. १४९) ।

कमरेड माओ, कमरेड विप्लवलगायत अन्य स्रष्टाद्वारा रचित तथा माइला लामाद्वारा सङ्गीतवद्ध गीतहरू पनि यहाँ समेटिएका छन् । यी सबै गीति–रचनाले भविष्यका उदात्त र सुन्दर सपना बोकेका छन् । यिनमा सामूहिक आक्रोश र जीवन बदल्ने समवेत स्वर छ । यसले इतिहासको गौरवलाई नवीनीकृत गर्ने चाह राखेको छ । रातोखबर प्रकाशन गृहद्वारा प्रकाशित प्रस्तुत गीतिकाव्य ‘जीवन झोलामा’ नेपाली माक्र्सवादी गीतिक्षेत्रमा एउटा महत्वपूर्ण प्राप्ति हो ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवद्वारा रचित ‘उठ साथी हो’ गीतलाई पनि यहाँ समावेश गरिएको छ । देशमा स्थापना भएको वर्तमान शासन व्यवस्था जनताको नभएकोले अब वास्तविक जनताको व्यवस्था ल्याउन उठ्नुपर्ने भाव यो गीतले व्यक्त गरेको छ । जनताको जीवन निकै कष्टकर बन्दै गएको छ । यो दलाल तथा संसदीय व्यवस्थाबाट देश र जनताको मक्ति सम्भव छैन । यो अन्यायी र विभेदकारी छ । अन्तिम युद्धका निमित्त सबै लाई सबैतिर उठ्न आह्वान् गरिएको प्रस्तुत गीतको एक साक्ष्य हेरौँ,
हामीले बास खोजेको यहाँ बास छैन
हामीले गाँस खोजेको यहाँ गाँस छैन
यहाँ शोषण छ, शोषण फाल्न उठ
यहाँ दमन छ, दमन फाल्न उठ
उठ भाइ उठ, उठ बैनी उठ
सङ्घर्ष गर्नलाई उठ
नयाँ दिन हेर्नलाई उठ । (उठ साथी हो, पृ. १५०) ।

भयानक भ्रम छ कि नेपालमा कम्युनिस्टहरूको सरकार छ । नेपालीहरूमा मात्र होइन, यो भ्रम विदेशीहरूमा पनि रहेको देखिन्छ । यस्तो भ्रम चिर्न कमरेड विप्लवले ‘यस्तो पनि सरकार’ शीर्षकको गीत लेख्नुभएको छ, जसलाई प्रस्तुत पुस्तकमा समाविष्ट गरिएको छ । यसमा नेपालमा कम्युनिस्ट सरकार नभएको चर्चा गरिएको छ । सत्तासीनहरूले प्रयोग गर्दै आएको झन्डा पनि कम्युनिस्टकै छ तर पनि यथार्थतः यो सरकारको कम्युनिस्टको हुँदै होइन । यो सरकारले बुर्जुवाहरूले पनि नगरेको र गर्न नहुने काम गरिरहेको छ । आज सबैतिरबाट यस्तो पनि सरकार कम्युनिस्टको हुन्छ र भन्ने प्रश्न उठेको छ । यही भावलाई यो गीतमा व्यक्त गरिएको छ । यो सरकारले देशभक्तहरूलाई गोली चलाएको छ । यो सरकार भ्रष्ट छ, यो सरकार आफैँ तस्कर बनेको छ । यसले जनताको आधारभूत अधिकारको हनन गरिरहेको छ । एक साक्ष्य,
सर्वहारा भन्दै हेर करोडपति बन्दै
कम्युनिस्ट हुँ भन्दै हेर पुँजीवादी बन्दै
सुविधाका कुरा मात्रै कागजमा लेख्ने
करमाथि कर थपी जनतालाई सेक्ने । (यस्तो पनि सरकार, पृ. १५८)

माइला लामाको प्रस्तुत पुस्तकमा ‘उज्यालो भएकै छैन’ गीत पनि समाविष्ट रहेको छ । यसका रचनाकार मित्रलाल पंज्ञानी हुनुहुन्छ । यहाँ नेपाली जनताको व्यवस्था नआएकोले उज्यालो भएको छैन भन्ने कुरालाई अभिव्यक्त गरिएको छ । जाली शासकहरूले निरन्तर जनतालाई झुक्याउँदै आएका छन् । जनताले बगाएको रगतको अवमूल्यन गरिएको छ । सहिद परिवारको बिजोकको अवस्था रहेको छ । श्रमजीवी जनताको बेहाल छ । नेतृत्वले गलत बाटो लिएपछि हुनेहार नेपालमा भइरहेको छ । हेरौँ एक साक्ष्य,
एउटा बिउ कुहिए पनि अरू बिउ बाँकी
छरिवरि उमारिन्छ हिँडिदैन छाडी
हाम्लाई सुम्पिगएका छन् सहिदले भारा
पूरा गर्छाैँ नरोऊ आमा रोक आँसु धारा । (उज्यालो भएकै छैन, पृ. १६४) ।

प्रस्तुत गीतिकाव्यमा भूपाल राईद्वारा लिखित ‘ लाग्छ आधा’ गीत पनि समावेश गरिएको छ । यो निकै नै चर्चित र सशक्त बन्न सफल भएको गीत पनि हो । नेपाली सस्ता लुटिएको कुरालाई यहाँ सशक्त ढङ्गबाट प्रस्तुत गरिएको छ । मातृभूमिको सङ्कटको चर्चा पनि यहाँ छ । यहाँ कालापानी र महेशपुर लुटिएको कुरा छ । यहाँ काँगडा र टिस्टाको स्मरण पनि छ । राष्ट्रवादी भावनाद्वारा ओतप्रोत प्रस्तुत गीतको एक साक्ष्य हेरौँ,
उता हेर्छु मानेभञ्ज्याङ भाङ्ग्रो च्यातिएकी
दसगजामा देब्रे छाती झन् झन् काटिएकी
यस्तो बेला मस्तसँग सुत्नेहरू धिक्कार
जसले गर्छन् नसुनेझैँ आमाका यी चित्कार । (लाग्छ आधा, पृ. १७०) ।

जनताले स्वाधीनता र देशले स्वतन्त्रता खोजिरहेको यतिबेला जनप्रिय कलाकार झुट्टा मुद्दामा जेलमा कुँजिनुपरेको छ । दलाल तथा सामाजिक फासिवादी सत्ताले जनताका सच्चा हिमायती क्रान्तिकारीहरूलाई जति थुने पनि उहाँहरूको सिर्जनाशक्तिलाई कमजोर बनाउन सक्तैन; उहाँहरूको वैचारिक तथा सैद्धान्तिक दृढतामा कुनै असर पुर्याउन सक्तैन भन्ने कुराको पछिल्ला साक्षी बन्नुभएको छ, माइला लामा । त्यसको साक्ष्य हो, प्रस्तुत गीतिपुस्तक ‘जीवन झोलामा’ । घाइते शरीर तर ऊर्जाशील जनताका कलाकार, जननेताको सघन बिम्ब बन्नुभएको छ, माइला लामा । माइला लामाको प्रस्तुत पुस्तक ‘जीवन झोलामा’ सङ्गृहीत गीतहरूमा वर्गसङ्घर्षको राँको र समुन्द्रको उर्लंदो छाल देख्न सकिन्छ । यहाँ जनयुद्धकाल, सङ्क्रमणकाल र एकीकृत जनक्रान्तिकालमा रचिएका गीतहरू समाविष्ट छन् । कमरेड माओ, कमरेड विप्लवलगायत अन्य स्रष्टाद्वारा रचित तथा माइला लामाद्वारा सङ्गीतवद्ध गीतहरू पनि यहाँ समेटिएका छन् । यी सबै गीति–रचनाले भविष्यका उदात्त र सुन्दर सपना बोकेका छन् । यिनमा सामूहिक आक्रोश र जीवन बदल्ने समवेत स्वर छ । यसले इतिहासको गौरवलाई नवीनीकृत गर्ने चाह राखेको छ । रातोखबर प्रकाशन गृहद्वारा प्रकाशित प्रस्तुत गीतिकाव्य ‘जीवन झोलामा’ नेपाली माक्र्सवादी गीतिक्षेत्रमा एउटा महत्वपूर्ण प्राप्ति हो । अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय अध्यक्ष माइला लामाको यति महत्वपूर्ण पुस्तक प्रकाशन हुनु सङ्गठनका लागि खुसीको विषय त हुँदै हो, जनसांस्कृतिक आन्दोलनको नवीन सिर्जन– सार्थकता पनि हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :