बलात्कृत सम्झनाको क्षतविक्षत शव

मिति : २०७७ असोज ७ गते बुधबार । स्थान : बझाङ जिल्लाको मष्टा गाउँपालिका वडा नं. २ थिकाला गाउँस्थित मिस देवताको थान । स्थानीय आधार भूत विद्यालयमा कक्षा ६ मा अध्ययन गर्दै गरेकी १२ वर्षीया बालिका सम्झना कामी घाँसदाउराका लागि डोकोनाम्लो र हँसिया बोकर सिम देवताको मन्दिर हुँदै जाँदै थिइन् । केही आपराधिक मनोवृत्तिका पात्रहरू सम्झनाको अपहरण गर्छन्, मन्दिरमा पुर्याउँछन्, बलात्कार गर्छन् र धारिलो हतियारले शरीरका विभिन्न भागमा प्रहार गरी बीभत्स हत्या गरेर क्षतविक्षत शव मन्दिरमै राखेर फरार हुन्छन् । एउटी बलात्कृत बालिकाको क्षतविक्षत शव देख्दादेख्दै देशका गृहमन्त्री भाषण गर्छन्– हत्या र बलात्कार र दिनदिनै हुने घटना हुन् ! वाः गृहमन्त्री, वाः कम्युनिस्ट नाउँको पार्टीको केपी वली सरकार ! यस्तो अवस्था देख्ता पनि नपग्लिने तिम्रो हृदय ढुङ्गा वा फलाम केले बनेको छ ? यस्तो अवस्थामा पनि मौनता साधेर बस्ने, अपराधी पत्ता लगाएर कारबाही गर्न विलम्ब गर्ने सरकारले समग्र श्रमिक जनता र देशका लागि के गर्न सक्छ भनेर आस गर्नु ?

यो सम्झना कामीको मात्र होइन, मुलुककै चित्र हो । आज मुलुक सम्झना कामीको क्षतविक्षत शवझैँ क्षतविक्षत बनिरहेको छ । आज राजनीतिक रूपमा सरकारले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषय उठान गरेर जनताको घरघरमा पुगेका नेकपाका नेता–कार्यकर्तालाई अपहरण गरेर यसैगरी हत्या गर्ने र नसके झूट्टा मुद्दा लगाएर जेल र हिरासतमा कोच्ने गरेको छ । देश र जनताका पक्षमा लड्ने निर्दोष क्रान्तिकारीहरूको हत्या, गिरफ्तारी, झूट्टा मुद्दा र निर्दोष बालिका सम्झनाका कामीको अपहरणपछि बलात्कार र हत्या अनि अपराधीहरूमाथि कारबाही नहुनु घटना पृथक भए पनि प्रकारान्तरले एउटै प्रवृत्ति हो । यता समाजमा मैमत्त रक्तपिपासु, यौनपिपासुहरू सल्बलाइरहेका छन् र सयौँ निर्मला र सम्झनाहरूको बलात्कारपछि हत्या गर्दै उन्मुक्ति पाउँदै आएका छन् भने उता सरकार नाउँका मैमत्त रक्तपिपासुहरू विद्रोहीहरूमाथि मृत्यु र हतकडी–नेल–जेल बोकेर जथाभाबी प्रयोग गर्दै हिँडेका छन् । यो मैमत्तपन पनि हँसिया हथौडाको लोगो भिरेको कम्युनिस्ट नाउँको पार्टीको सरकारले देखाउनु आफैँमा उदेक होइन, आक्रोश र प्रतिरोध गर्ने विषय बनेको छ ।

मुलुकमा राजनीतिक–सांस्कृतिक प्रतिक्रान्ति भएपछि सत्तामा बसेकाहरूबाट र सत्ताको आडमा यसप्रकारका अप्रिय, दुःखद्, खेद र भत्र्सनायोग्य कामहरू हुनु कुनै नौलो होइन । केपी वली सरकारले जनधनको सुरक्षा लिएको दाबी गरेको छ । मुलुकमा शान्ति, अमनचैन र समृद्धि ल्याउने ढोल पिटेको छ तर मुलुकका गृहमन्त्री साँढेझैँ कुर्लिन्छन्– हत्या र बलात्कार मुलुकमा दिनदिनै हुने घटना हुन् भनेर । शासकहरूका यस्तै गैरजिम्मेवार अभिव्यक्ति र क्रियाकलापका कारण मुलुकमा अराजकता बढिरहेको छ र मुलुक असफल बन्दै गएको छ ।

सम्झना दुर्गम स्थानको दलित समुदायकी बालिका हुन् । उनी विपन्न परिवारकी हुन् । सम्झना गाउँकै मष्टा आधारभूत विद्यालयमा ६ कक्षामा पढ्दै गरेकी छात्रा हुन् । उनका आमाबुबा रोजगारीका क्रममा भारत गएको चार वर्ष भयो । उनी बाबाआमाको अनुपस्थितिमा बाल्यकालमै घर धान्दै आएकी थिइन् । यो चित्रले के देखाउँछ भने यो व्यवस्था र सरकारले दलित, विपन्न, महिला, अभरमा परेका, दुर्गम वा पिछडिएका मानिसको सुरक्षा गर्न सक्तैन र पीडकहरूलाई तत्काल सजाय र पीडितहरूलाई न्याय दिलाउन सक्तैन । कम्युनिस्ट सरकार हुन्थ्यो भने दुर्गम क्षेत्रलाई सुगम बनाउँथ्यो । सामाजिक, सांस्कृतिक, आर्थिक रूपले हेपिएका, बहिष्करणमा पारिएका, तल पारिएका, विपन्न र महिलाहरूको क्षमता वृद्धि गथ्र्यो । समाजमा हुने नकारात्मक घटना र अपराधका दोषीहरूलाई कठघरामा उभ्याएर दण्ड दिन्थ्यो र पीडितलाई न्याय दिन्थ्यो तर यो बाघको खोल ओढेको स्याल हो । वंशले नै बाघ हुन्थ्यो भने देश र जनताले ऊबाट त्यसै किसिमका आशा र अपेक्षा गर्न सक्थे तर खोल मात्र बाघको र वंशचाहिँ स्यालको भन्दा पनि ब्वाँसोको भएकाले यो व्यवस्था र सरकारले विपन्न, महिला, दलित र अविकसित स्थानका मानिसको जीवन बाँच्ने अधिकारसमेत दिनसकेको छैन र दिने पनि छै न भन्ने कुरा यसप्रकारका अमानवीय हर्कत हुँदा पनि सरकार मौन भएर बस्नुले झन्झन् प्रमाणित गरिरहेका छन् ।

सम्झनाको बलात्कार र हत्याकाण्डका विरुद्ध देशका विभिन्न क्षेत्रहरूबाट आवाज उठ्न थालेका छन् । नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी महिलाहरू, विद्यार्थी सङ्गठनहरू र दलितका क्षेत्रमा काम गरिरहेका सङ्गठन तथा संस्थाहरूले सम्झनाका बलात्कारी र हत्यारालाई कारबाही गर्न र यसप्रकारका जङ्गली बर्बरता दोहोरिन नदिन सरकारसँग माग पनि गरेका छन् तर सरकार आँखा र कान बन्द गरेर बसेको छ । देश र जनताप्रति संवेदनशील सरकार हुन्थ्यो भने सम्झनाहरूले विपन्न, दलित र दुर्गम क्षेत्रकै भएका कारण बलात्कृत हुनुपर्ने र मारिनुपर्ने थिएन । यो पाशविक घटनाले रुकुमका दलितहरूको सामूहिक हत्याकाण्डलाई पनि सम्झाएको छ । कथित कम्युनिस्ट सरकार भएको समाजमा पनि दलित भनिएकैले बलात्कृत हुनुपर्ने, मारिनुपर्ने र अपराधीहरूमाथि कारबाही नहुने अवस्था आउनु भनेको घोर भत्र्सनायोग्य मात्र होइन, प्रतिरोधयोग्य अवस्था हो । सामन्ती युगमा जस्तै दलाल पुँजीवादी व्यवस्थामा पनि महिलामाथि जङ्गली र पाशविक अपराध घटेका छै नन् । यसप्रकारका जघन्य घटना दोहोरिन नदिन जनताप्रति जिम्मेवार र इमानदार राज्यव्यवस्था स्थापना हुनु आवश्यक छ । वैज्ञानिक समाजवादले मात्र महिला, दलित, विपन्न, अविकसित र दुर्गम क्षेत्रका जनता र समग्र मुलुकको रक्षा र विकास गर्नसक्छ । त्यसका लागि सम्झनाहरूको बलात्कार र हत्या हुँदा पनि मौनता साधेर बसिरहने र अपराधीहरूलाई दुरुत्साहन गरिरहने दलाल पुँजीवादी व्यवस्थाका विरुद्ध देशभरका उत्पीडितहरू विद्रोहमा सामेल हुनु अत्यावश्यक भइसकेको छ । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :